
काठमाडौं । बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गए राति उनका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् । उनीहरुले हिजै बेलुकादेखि देशभरि शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका बीबीसीले जनाएको छ ।
उनीहरुले शेख मुजिबुर रहमानको भित्ते चित्रहरू बिगारेका थिए । भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम अघि हिंसा शुरू भएको थियो । शेख हसिनाको बङ्गलादेश विरोधी गतिविधिका कारण प्रदर्शन भएको बङ्गलादेशका सञ्चार माध्यमले बताएका छन् । शेख हसिनाका विपक्षीहरूले उनी भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् । गएको वर्ष बङ्गलादेशमा आरक्षणविरुद्ध विद्यार्थीको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छाडेर भारत जानुपरेको थियो । हसिना नेतृत्वको आवामी लिग पार्टीले ६ फेब्रुअरीबाट आफ्ना कार्यकर्तालाई सडकमा उत्रन अपिल गरेको थियो ।
बुधबार शेख हसिनाले बंगलादेश छोडेको ६ महिना पूरा भएको छ । ६ फेब्रुअरी राति ९ बजे हसिनाले आफ्ना समर्थकलाई अनलाइनबाट सम्बोधन गर्ने कार्यक्रम थियो । ‘जुलाई क्रान्ति’ को नेतृत्व गरेका विद्यार्थी संगठनले यसको विरोधमा राति ९ बजे बुलडोजर मार्च निकाल्ने घोषणा गरेको थियो । यसको प्रचार सामाजिक सञ्जालबाटै गरियो । जहाँ शेख हसिनाको पिताको घर भत्काउने योजना सार्वजनिक गरिएको थियो । तर प्रदर्शनकारी ८ बजे नै त्यहाँ पुगे र तोडफोड सुरु गरे । उनीहरू त्यहाँ पुग्दा ‘शेख हसिनालाई फासी दे’ को नारा लगाइरहेका थिए । उनीहरूले आवामी लिग पार्टीका नेताहरूलाई बंगलादेशमा बस्न नदिने उद्घोष समेत गरेका थिए ।
तोडफोड गरिएको त्यही घर हो जहाँ १५ अगस्ट १९७५ मा शेख मुजीब, उनकी पत्नी, छोरा, बुहारी र अरु कैयौ नातेदारको हत्या गरिएको थियो । उक्त हत्याकाण्डपछि त्यो घरलाई संग्रहालयमा रुपान्तरण गरिएको थियो । ५ अगस्ट २०२४ शेख हसिनाले देश छाड्नुअघि पनि यो घरमा आक्रमण गरिएको थियो । बङ्गलादेश सरकारले जुलाईमा भएका हत्या घटनाहरूलाई कारण देखाउँदै हसीनाको पासपोर्ट रद्द गरिसकेको छ। साथै, बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनको गिरफ्तारी वारन्ट जारी गरेको छ। हसिनालाई १२ फेब्रुअरीभित्र उपस्थित हुन आदेश दिइएको छ।
बङ्गलादेश सरकारले भारतलाई हसीनालाई डिपोर्ट गर्न अनुरोध गरिसकेको छ । तर, भारत सरकारले उनको भिसावधि बढाइसकेको छ, जसले उनी बङ्गलादेश डिपोर्ट नहुने संकेत गरेको छ । बङ्गलादेशको प्रमुख अखबार ‘द डेली स्टार’का अनुसार सोशल मिडियामा भाइरल पोस्टका आधारमा यो प्रदर्शन शेख हसिनाको ‘बङ्गलादेशविरोधी गतिविधि’ का कारण गरिएको बताइएको छ । विरोधीहरूले शेख हसिनाले भारतबाट बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् ।
काठमाडौँ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो ।
मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ ।
तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा.खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ ।


काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संसदमा पेस नहुने भएका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका लागि मौका परीक्षाको फारम खुलाएको छ । त्रिविले बिहीबार सूचना प्रकाशित गरी २०५८ सालदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि एक पटकका लागि मौका परीक्षाकाको फारम खुलाएको हो ।
‘वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति २०८१ साल माघ २४ गतेदेखि २०८१ साल फागुन २३ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुर सहित आवेदन फाराम भरी बुझाउनुहुन अनुरोध छ,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ ।

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएका छन् ।
राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।
बिहीबार दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
न्यौपानेका अनुसार काँग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। चितवन निकुञ्ज कार्यालयका अनुसार गोली लागेर दाह्रा नहुने भाले जंगली हात्ती मकुना मरेको हो ।
कार्यालयले आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको र उक्त गोली लागेर मकुनाको मृत्यु भएको जनाएको छ । बुधबार दिउँसो साढे तीन बजे तिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्ज कर्मचारी र मकुनाबीच जम्काभेट भएको थियो ।
निकुञ्जका सूचना अधिकारी समेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार उक्त हात्तीलाई निकुञ्जको भित्री इलाकामा पठाउन ५-६ वटा हात्तीमा निकुञ्जको पूर्वी सेक्टरका कर्मचारी र निकुञ्ज सुरक्षामा खटेको नेपाली सेनाको नयाँ गोरख गण ’क’ गुल्म सौराहाका सेनाहरु दैनिक गस्ती गर्दै आएका थिए ।
‘मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो । अन्य विकल्प नभएका कारण दुई राउण्ड हवाइ फायर भयो । त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तमाङ हात्तीबाट खसेका कारण ज्यानको सुरक्षा गर्न निकै कठिन भयो,’ निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यो बेला थप तीन राउण्ड हवाइ फायर गरेको निकुञ्जले जनाएको छ । उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको निकुञ्जले विज्ञप्तिमार्फत दाबी गरेको छ । स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको पनि निकुञ्जले जनाएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (बिहीबार) पनि चितवन अदालतमा उपस्थित गराइँदैछ । सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ । बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएको थियो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो ।
बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा दिएका दायित्वहरू समयमा निर्वहन गर्न सकिनेछ। आफन्तसंग रमाइलो समय बित्नेछ। नयाँ कार्यको प्रस्ताव मिल्नेछ। व्यापारमा धन आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मान सम्मानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ शिक्षण संस्थामा प्रवेश मिल्नाले मन उत्साहित रहनेछ। सम्बन्धमा पुरानो कुरालाई भुलाएर अगाडि बढ्नुहोस्। विरोधीहरूले खुट्टा तान्नेछन् सचेत रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा आफ्नो कर्तव्य निभाउन आलस्य नगर्नुहोला। विगतको सफलताले थप काम गर्नमा हौसला मिल्नेछ। प्रशासनिक वा राजकीय मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा आत्मविश्वास बनाएर राख्नुहोस्। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस्। रचनात्मक कार्य गर्ने समय रहेको छ। प्रयत्न गर्दा आयस्रोत बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बजेट हेरेर किनमेल गर्नुहोस् नभए ऋण लिनुपर्ला। विवादास्पद मामिलाहरूले तनाव बढ्नेछ। आफन्त वा बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इष्टमित्रहरूको सहयोगले गारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ। आयक्षेत्र सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनका कुराहरू व्यक्त गर्दा सम्बन्धमा मजबुती आउनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा थप लगानी बढाउनुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। नोकरी वा पेशामा कामको बोझ थपिनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आयस्रोत भढ्नाले आर्थिक पक्ष मजबुत रहनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक मुद्दा मामिलाहरू सुल्झिनेछन्। कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा अरूलाई सल्लाह दिनदेखि बच्नुहोस्। अरुको लागि श्रम र समय खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। अरुको झगडा सुल्झाउन हजुर अगाडि नबढ्नुहोस् नभएको आरोप लाग्नसक्छ। घर परिवारमा आफूभन्दा सानाको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४० रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ११ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १६ पैसा र बिक्रीदर चार रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्री दर ३१ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२ रुपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्री दर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८ रुपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।





