
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका थप १ जनाको मृत्यु भएको छ ।
काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति पौने १२ बजे मृत्यु भएको हो । उनीसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको काठमाडौँ जिल्ला परिसरले जनाएको छ ।
उक्त ग्यास विस्फोटमा परी १४ जना घाइते भएका थिए । त्यसमा गम्भीर घाइते भएका ११ जनालाई कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । जसमा ४ जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ ।
बर्दिया । बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणमा परी साढे दुई वर्षीय बालकको मृत्यु भएको छ ।
घरको आँगनमा खेलिरहेका बालक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई गुहार मागेका थिए। खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।
प्रहरीका अनुसार नेपाल–भारत सिमास्थित कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका–५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपियाँले घटाएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६७ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपियाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपियाँ कायम गरिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.५८ बढेर र डिजेलमा ३.५९ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बसेका छन् । गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार नहुँदा यस्तो समस्या भएको हो ।
सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलर लामो समयदेखि मधुमेह रोगबाट पीडित थिइन् । उनको शनिवार देहावसान भएको छ । गाउँमा विश्वकर्मा लोहार, चुनारा, सार्कीलगायत दलित र अन्य गैर दलित समुदायका परिवार भए पनि दलितभित्रै जातीय विभेद भएकाले माना टेलरको शव उठ्न सकेको छैन । गोरखापत्र दैनिकमा समाचार छ ।
सुनसरी । सुनसरीको इटहरीमा एक महिलाको सुनको सिक्री लुटेर निलेको आरोपमा ११ वर्षीय बालकसहित दुई पक्राउ परेका छन् । लुटिएको सिक्री निलेका बालकलाई प्रहरीले निगरानीमा राखेको छ ।
शनिबार इटहरी–३ की ४७ वर्षीय वेदकुमारी खड्काको सुनको सिक्री लुटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज–२० का २२ वर्षीय सुनिलकुमार राय र सोही ठाउँका ११ वर्षीय बालकलाई नियन्त्रणमा लियो । अनुसन्धानका क्रममा बालकले सिक्री निलेको खुल्न आयो ।
बालकले लुटिएको सिक्री निलेको बताएपछि प्रहरीले उनलाई तुरुन्तै इटहरीस्थित वेदान्त अस्पतालमा भर्ना गर्यो । एक्स–रे गर्दा करिब एक तोलाको सिक्री पेटमै रहेको देखियो । चिकित्सकहरूको अनुसार सिक्री प्राकृतिक रूपमा निस्किने सम्भावना भएकाले उनलाई प्रहरीको निगरानीमा राखिएको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले केही दुःख पनि पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूको साथ–सहयाेग जुट्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वार्थका लागि नजिकिनेहरू बढ्नेछन्। कामका चुनौती पन्छाउन निकै मेहनत गर्नुपर्ला। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। केही सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। भेटघाटले अवसर दिलाउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। तर आलस्य त्यागेर मिहिनेत गर्दा लाभ उठाउन सकिनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले हात झिके पनि काम सम्पादन हुनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति समेत आउन सक्छ। राम्रै आम्दानी भए पनि परिस्थितिले खर्च गराउनेछ। सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पछिका लागि गरिएको लगानी भने फाइदाकारक रहनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जाेखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही चुनौती देखिए पनि सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। सोखले फजुल खर्च बढाउन सक्छ। आतिथ्य पनि खर्चिलो हुनेछ।





