मंसिर ८,काठमाडौं। निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा पार्टीको पक्षमा मत मागेकाले उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिले स्पष्टीकरण मागेका छन्।
मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि शुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोग प्रवक्ता नवराज ढकालले बताए ।