मंसिर ८,कैलाली । पत्रकार आक्रमणको विषयलाई लिएर नेपाल पत्रकार महासंघ कैलाली शाखा धनगढीले प्रमुख जिल्ला अधिकारलाई आज ज्ञापनपत्र बुझाएको छ ।
मंसिर २ गते शनिबार कैलालीका स्थानीय पत्रकार लक्ष्मी जैसीको घरमा अज्ञात समूहले गरेको आक्रमणको विषयलाई लिएर दोषीलाई कारवाहीको माग गर्दै महासंघले कानूनी दायरामा ल्याउन जिल्लामा आबद्ध सञ्चारकर्मीसहित टोली आज जिल्ला प्रशासन कार्यालय कैलाली पुगी प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाइएको हो ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित बौनियामा आफ्नै घरमा सुतिरहेको अवस्थामा राति १ बजेतिर अज्ञात समूहले ढोका फुटालेर पत्रकार लक्ष्मीसहित उनकी आमा, श्रीमतीसहित घरका चारजनालाई सांघातिक हमाला गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएको भन्दै महासंघले त्यसको घोर विरोध जनाउँदै जतिसक्दो चाडो दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन भन्दै महासंघले प्रमुख जिल्ला अधिकारसमक्ष ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
मुलुक शान्तिपूर्ण रुपमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको बेला घरमै सुतिरहेको अवस्थामा पत्रकार र परिवारका सदस्यलाई आक्रमण गर्नु प्रेस स्वतन्त्रता र सिंगो पत्रकारितामाथि आक्रमण भएको महासंघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
पत्रकारमाथि भएको सांघातिक आक्रमणपछि जिल्लामा क्रियाशील पत्रकारले असुरक्षित महसुस गरिरहेको अवस्थामा दोषीलाई पक्राउ गर्न ढिलाइ गर्न नहुने नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताए ।
पत्रकारहरुको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आक्रमणको विषयमा सुरक्षा निकाय गम्भीर भएको र इलाका प्रहरी कार्यालयको खोजी अनुसन्धान मात्रै पर्याप्त भएको नपाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनाको सुक्ष्म अध्ययन गरिरहेको प्रतिक्रिया दिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले दोषीलाई ढिलोचाँडो सार्वजनिक गर्न विशेष रुपमा तीन÷चारवटा टोली खटाएको जानकारी गराए। उनले यो निन्दनीय अपराध भएकाले दोषीलाई कुनैपनि हालतमा उम्किन नदिने काम गरिहेको जानकारी दिए ।
पत्रकार जैसीको घरबाट लुटेरा समूहले पाँच लाख नगद तथा पाँच तोला सुनसमेत लुटेर लगेको नेपालगन्जमा उपचार गराइरहेका पत्रकार जैसीले बताए ।