२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

ताप्लेजुङ । पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले फेरि छलफलका लागि बोलाएको छ ।

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधाका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्तामा आउन अपिल गरेका हुन् ।

सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकाल्दै आन्दोलनरत् समूहलाई संवादमा आएर समाधान खोज्न आग्रह गरेका हुन् । सरकारले केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधान गर्न भट्टराईको संयोजकत्वमा माघ २० गते वार्ता टोली गठन गरेको थियो । ‘नो केबलकार’ समूहले पनि अमर तुम्हाङ्गको संयोजकत्वमा वार्ता समिति बताएको थियो ।

दुई पक्षबीच २-३ चरणमा वार्ता भएपनि समाधान निस्किएको छैन । आन्दोलनरत् पक्षले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने माग राख्दै आएको छ । केबलकार निर्माण स्थलमा पछिल्लो समय झडप समेत हुँदै आएको छ । आन्दोलनरत समूहले शुक्रबार पनि काफ्लेपाटीमा नारा जुलुससहित कोण सभा गरेको छ ।

काठमाडौं । सरकारसँग नौं बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । चिकित्सकको सेवा सुविधा सम्बन्धमा शुरु भएको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्तापछि मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो ।

शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल चिकित्सक संघ र मन्त्रालयका अधिकारीहरुबीच वार्ता भएको थियो । सहमतिपछि मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रक्रिया थाल्ने घोषणा गरेका थिए ।

वार्ताका क्रममा सरकारको प्रचलित नियम अनुसार इन्टर्नसीप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुबिधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताको लागी आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ । संघले राखेको स्नातकोत्तर सिट संख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७ औ बैठकबाट निर्णय समेत भइसकेको छ ।

यस्तै संघले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौं तहसरह उपलब्ध गराउने विषयमा पनि आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवालासमक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ । मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रि परिषद्को निर्णयबाट पूर्व स्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवंम स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्ने विषय सर्भे पुरा गरी मन्त्रिपरिषद बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ ।

यस्तै विकास समितिका कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासन तर्फको उप–सचिव (१ ज्ना) र नेपाल चिकित्सक संघका प्रतिनिधि १ जना रहने गरी ३ सदस्यीय कार्यदलले १ हप्ता भित्र कार्यविधि तयार गरि पेश गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकमा अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत सबै चिकित्सकहरुलाई जोखिम भत्ताका लागि तीन महिनाभित्र आवश्यक कानुन तर्जुमा गर्नेसमेत मन्त्रालयले प्रतिबद्धता जनाएको छ । बन्दै गरेको ‘चिकित्सक ऐन’को मस्यौदामासमेत चिकित्सकका मागहरु समेट्ने प्रतिबद्धता जनाएको छ । संघले आफ्ना माग पुरा नभएको भन्दै आन्दोलन थालेपछि मन्त्री पौडेलले माग पूरा गर्न वार्ता गर्न टोली खटाएका थिए । दुई चरणको वार्तापछि शुक्रबार साँझ सहमति भएसँगै अब नियमित रुपमा चिकित्सकहरु आन्दोलन छाडेर कार्यस्थलमा खट्ने भएका छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

त्यस्तै उम्मेदवारहरूको लागि चैत २ गते राति १२ बजेपछि मौन अवधि लागू हुनेछ । मतदान भने चैत ५ गते हुनेछ । चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

हेर्नुस् तालिका

 
 
 
 
 

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान सुरु भएको छ । सामुहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा आठ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनले भने, ‘यस घटनाका विषयमा हामीले सुरुबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ । पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानको लागि झन् सहज भएको छ ।’

 

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामुहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले गत मङ्गलबार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगि प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताए । उनले भने, ‘घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन् । भिडियो-फोटाेबाट पहिचान गरेर खोजी गरिरहेका छौँ ।’

रिंकुका बुबा बिजुलिया सदाय छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे । यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहास्थित विभिन्न सामाजिक संघ–संस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा पीडितपरिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ । मृतकका परिवारलाई भेट्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले दोषीलाई कानुनको कठ्घरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेशमा बलात्कार जस्तो आपराधिक घृणित कार्यमा संलग्नलाई जोगाउन राजनीतिक दलका नेताहरू सक्रिय रहेको बताएका छन् । उनले दलका नेताहरूले त्यस्ता अपराधीलाई लाख‚ दुई लाखमा बचाउन लागिपरेको पनि स्पष्ट पारेका छन् । गत माघ ३० गते सिरहा नवराजपुरमा एक दलित किशोरी उपर भएको बलात्कार र हत्या घटनाबारे शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री लेखीले यस्तो जघन्य आपराधिक घटना मिलाउन, पञ्चायती गरी लाख‚ दुई लाखमै चुप लाग भनेर मिलाउन दलकै नेताहरू सक्रिय रहेको पाएको भन्दै दुःख व्यक्त गरे ।

काठमाडौं । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ३९ वटा संशोधन दर्ता भएका छन् । गृह मन्त्रालयले माघ १५ मा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो । फागुन ५ मा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ३९ संशोधन प्रस्ताव दर्ता भएको हो ।

गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न विधेयक संसदमा पेस गरिएको हो । प्रहरीसम्बन्धी ऐन नहुँदा प्रदेश प्रहरी गठन हुन सकेको छैन । सातवटै प्रदेशले प्रहरी ऐन चाँडो पारित गर्न संघीय सरकारलाई दबाब दिँदै आएका थिए ।

अब लाइसेन्स तथा बिना अनुमति वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्न नपाइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो । अब वाकिटकी लगायतका रेडियो उपकरणहरु विक्री बितरण तथा प्रयोग गर्न लाइसेन्स लिनुपर्ने छ ।

विभागले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाइसेन्स लिएर मात्र प्रयोग गर्न भनेको छ । अन्यथा लाइसेन्स नलिई प्रयोग गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

काठमाडौँ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् ।

आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताए ।

सबैभन्दा बढी कोशी प्रदेशमा आगलागी एक सय २९ वटा आगलागीका घटना भएको छ । त्यसपछि मधेशप्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता आचार्यले ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको छ ।

कूल दुई सय ४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।
 
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । ‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा रू एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुनआउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।
 
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३ प्रतिशत छ । माघ मसान्तसम्ममा आन्तरिक ऋण रू १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व रू १३ खर्ब २८ अर्ब २५ करोड छ । विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा रू ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ ।
 
सरकारले चालु आवका लागि रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । हालसम्म रू दुई खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३ दशमलव १२ प्रतिशत हो ।
 
चालु आवमा रू तीन खर्ब ३० अर्ब आन्तरिक र रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ । माघ मसान्तसम्ममा आन्तरिकतर्फ रू दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ रू ६१ अर्ब ४२ करोठ ऋण उठिसकेको छ । वार्षिक लक्ष्यका आधारमा हालसम्मको प्राप्ति आन्तरिकतर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८ दशमलव ३१ प्रतिशत बराबर हो ।
 
त्यस्तै, ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षमा रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । पछिल्लो सात महिनामा रू एक खर्ब ७८ अर्ब ७५ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च तीन दशमलव ३१ प्रतिशत हो ।

म्याग्दी । म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए । पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्व सञ्चालक हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाच्ने आधार दिन भन्दै स्टास लेखेका छन् । 

अमेरिका, इन्डिया र चिनले मनलाग्दी अमानवीय व्यवहार गरिरहेको भन्दै उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सो स्टास लेखेका हुन् ।

उनले लेखेका छन्, ‘अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

यो भन्दा अगाडि नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।