२०८२ फाल्गुन २४ गते आईतवार
२०८२ फाल्गुन २४ गते आईतवार

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट सफाइ पाएका छन् ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठेको रकम दुरुपयोग गरेको भन्दै धुर्मुस–सुन्तलीविरूद्व अख्तियारमा उजुरी परेको थियो। धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई चितवन क्रिकेट संघमा तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले गत २०७८ साल माघ २ गते मुद्दा दायर गरेका थिए ।

सहयोग रकमलाई फाउन्डेसनले प्रक्रियागतरूपमा नै खर्च गरेको अख्तियारको ठहर छ । फाउन्डेसनले प्राप्त गरेको सरकारी रकमलाई नियम र प्रक्रियासंगतरूपमा नै खर्च गरिएको पाइएकाले उजुरीलाई तामेलीमा राखिएको हो अख्तियारले जनाएको छ । देश–विदेशमा रहेका नेपालीहरुबाट संकलित चन्दा र भरतपुर महानगरलगायत सरकारी कार्यालयबाट ५७ करोड बढी रकम उठाएको र त्यसको दुरुपयोग गरेको उनको दाबी थियो । तर, अख्तियारको तीन वर्ष लामो अनुसन्धानबाट फाउन्डेसनले गरेको खर्च प्रक्रियामा कुनै कैफियत नदेखिएको जनाएको हो ।

अख्तियारका अनुसन्धान अधिकृत विमलकिशोर केपीले अधिकारीको उजुरीमा अनुसन्धान पूरा भई तामेलीमा राखिएको जानकारी गराउँदै केही दिनअघि भरतपुर महानगरपालिकालाई पत्र पठाएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले जनसहयोगबाट निर्माण सुरू गरेको रंगशालामा ३९ करोड ८० लाख बराबरको नगद तथा जिन्सी संकलन भएको थियो। यसमध्ये करिब १२ करोड सरकारी निकायहरुबाट प्राप्त भएको हो। रंगशालामा फाउन्डेसनले ५७ करोड ९२ लाख खर्च गरेको छ । रंगशालाको ३९ प्रतिशत काम भइसकेपछि थप स्रोत जुटाउन नसक्दा फाउन्डेसले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदनअनुसार फाउन्डेसनले हस्तान्तरण गर्दा रंगशालामा ६३ करोड २२ लाख रूपैयाँ बराबरको काम भएको थियो । यसमध्ये १८ करोड रुपैयाँ बराबरको निर्माण सामग्री फाउन्डेसनले उधारोमा लिएको थियो । महानगरले ६३ करोडको संरचना फाउन्डेसनबाट लिए पनि १८ करोड उधारो भने तिर्न मानेको छैन । उधारोमा निर्माण सामग्री आपूर्ति गरेका व्यवसायीहरूले धुर्मुसविरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) पुनः सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

नेमकिपा स्थापनादेखि विजुक्छे पार्टी अध्यक्ष छन् । बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो।

खाना पकाउने एलपि ग्यासको मूल्य प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीबीच मंगलबारको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।

आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएपनि उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच ५ बुँदे सहमति भसंगै नेपाल एलपि  ग्यास उद्योग संघका सम्पूर्ण विरोधका कार्यक्रमहरु स्थगित भएका छन् ।

ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो ।

बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा आएको हो ।  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले स्थानीय र प्रहरी टोलीले आगो निभाएको बताए ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका थिए । फायर स्टेङ विसरको सहयोगमा निभाइएको उनले बताए ।

एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो । पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको थियो ।

टीकाथली खानेपानी तथा सरसफाई आयोजनाले खानेपानीका लागि यहाँ बोरिङ खनेको थियो। २७५ मिटर बोरिङ खनिएको र त्यहीँबाट आगोको ज्वाला निस्किएको  वडा नम्बर ५ का अध्यक्ष कपिल केसीले जानकारी दिए।

बोरिङ खनिसकेर अन्तिमचरणको काम गर्दै गर्दा ग्यास निस्किएर आगोको ज्वाला निक्लिएको हो। ‘बोरिङको सबै काम सकेर अन्तिमचरणको सिल कोटेसन भन्छ त्यही सिल गर्नेबेलामा चाहीँ ग्यास निस्किएर आगोको ज्वाला निस्किएको हो’, अध्यक्ष केसीले भने।

उनकाअनुसार ग्यास हिजो-अस्ति पनि देखिएको थियो। आगोको ज्वाला आज बोरिङ सिल गर्दा निस्किएको हो।

काठमाडौँ- थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए । पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ ।

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ ।

विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन्।

अस्पतालमा एक्स-रे, प्रयोगशाला र दमका सेवाहरू सञ्चालनमा कठिनाइ भएको उनले बताइन् । दैनिक दर्जनौँ बिरामी मर्कामा पर्ने गरेका छन् । अस्पतालमै विद्युत् अनियमित भएपछि बिरामीहरूलाई दिनभर कुराउनाका साथै टाढाबाट आएकाहरू बढी समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

तीन, चार दिनयता घाम नलागेर बाक्लो बादल लागेका कारण अस्पतालको सौर्य ऊर्जाले काम नगरेको र हेल्दुम वितरण केन्द्रले ‘लोडसेडिङ’ १४ घण्टासम्म गर्नले थप समस्या भएको हो । अस्पतालका शय्यामा भर्ना भएका ६ जना दमका बिरामीलाई अक्सिजन दिन समस्या भएको छ । अधिकांश दमका बिरामीलाई फर्काउने अवस्था आएको अस्पतालले जनाएको छ ।

विद्युत् कार्यालयले भने खोलामा पानी कम भएका कारण सदरमुकाम सिमकोटसहित आसपासमा विद्युत् भारको कटौती जनाएको छ । विद्युत् कार्यालय प्रमुख जीतेन्द्र शाहले अस्पतालमा नियमित विद्युत् उपलब्ध गराएको दाबी गरे । “अस्पतालको आन्तरिक समस्याले विद्युत् लाइन उपलब्ध नभएको हुनसक्छ, हामीले अस्पताललाई विद्युत् कटौती गरेका छैनौँ”, प्रमुख शाहले भने ।

अस्पताल मात्रै नभएर अन्य कार्यालय, स्थानीय उद्योग र स्थानीयसमेत विद्युत् कटौतीको मारमा परेका छन् ।

धनुषा । मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिएका छन् । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

उनले त्यहाँ बान्ता गरेको भेटिएको छ। मृत्युको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेर १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो । 

काठमाडौं । सरकारले भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबारको प्रतिनिधि सभामा स्वीकृतिका लागि पेस गर्ने भएको छ । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सत्ता साझेदार दलहरूको बीचमा बुधबार बस्ने प्रतिनिधि सभामा भूमिबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सहमति भएको जानकारी दिएका छन् ।

‘भूमिबाहेक बाँकी पाँच अध्यादेश बुधबार (फागुन २१) गतेको प्रतिनिधि सभा बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्छौं । सत्ता साझेदार दलहरूबीच यही समझदारी भएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको हो,’ उनले भने ।

आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा उपेन्द्र यादवसहित सत्तापक्षको छलफल भएको थियो । छलफलमा फागुन २१ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने सहमति जुटेको हो । राष्ट्रिय सभामा भने फागुन २२ गते स्वीकृतिका लागि पेस हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक पनि बिहीबार नै तय भएको छ ।

सहमतिअनुसार आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णार्थ प्रस्तुत हुनेछन् ।

यी अध्यादेश सरकारले गत पुस २७ गते जारी गरेको थियो । प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको साथ आवश्यक थियो । जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश देशको हितमा नरहेको भन्दै फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अप्ठ्यारोमा परेको थियो । अहिले यादवलाई विश्वासमा लिएर भूमिबाहेका बाँकी अध्यादेश अघि बढाउने साझा निष्कर्षमा पुगेको बर्तौलाले बताएका छन् ।

 
 
 
 
 
 
 

 थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडकसमेत अवरुद्ध भएको छ ।

थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो  ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।