
काठमाडौं । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो ।
उक्त पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । उनकै नेतृत्वको अनुसन्धान टोलीले छेपारोका उक्त नयाँ प्रजाति फेला पारेको हो ।
उक्त अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र इशान अग्रवाल, जर्मनीका फ्रान्क तिल्लक तथा अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए ।
नयाँ फेला परेका प्रजातिमध्ये चितवनको उत्तरी क्षेत्र कविलास, शक्तिखोर, गैरीवारी, उपरदाङगढीलगायत तनहुँको बन्दीपुर र दमौलीदेखि भिमादसम्म फेला परेको प्रजातिको नामकरण ‘चितवन वेन्ट–टोड गेक्को’ भनेर नामकरण गरिएको छ ।
दोस्रो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने ल्वाङ्ग, घान्द्रुक क्षेत्र तथा कास्कीको नौडाँडा क्षेत्रमा फेला परेको प्रजातिको नाम अन्नपूर्ण संरक्षण क्षेत्रले समुदायमा आधारित जैविक विविधता संरक्षणमा खेलेको भूमिकाको कदरस्वरूप तथा अन्नपूर्ण हिमशृङ्खलाका नाममा ‘एक्याप वेन्ट–टोड गेक्को’ भनेर नाम राखेको छ ।
तेस्रो प्रजाति मनास्लु संरक्षण क्षेत्रमा भेटिएको थियो । सो प्रजातिको नाम नेपालकै वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको यागदानस्वरूप सो प्रजातिको नामाकरण ‘करण वेन्ट–टोड गेक्को’ भनेर राखिएको छ ।
यसरी फेला पारिएका नयाँ प्रजाति यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको विद्यावारिधि अध्ययनका क्रममा सन् २०२३ को अप्रिलदेखि सेप्टेम्बरसम्म भेटिएका थिए । उक्त प्रजाति पक्का गरेपछि जर्नलमा प्रकाशित गरी हालैमात्र सार्वजनिक गरिएको हो ।
वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालमा पहिले पनि तीन वटा प्रजाति फेला परेका र सो प्रजातिको नमुना विदेशका सङ्ग्रहालयमा राखिएकाले अहिले फेला परेका प्रजाति संसारमै नयाँ भनेर यकीन गर्न विदेशमा सङ्ग्रहित नमुनाको अध्ययन तथा तुलना साथै तिनीहरुकै आनुवंशिक अध्ययन गरी यकीन गरिएको हो ।
यसरी अध्ययन गर्न नेपाल, भारत, अस्ट्रेलिया र जर्मनीका अनुसन्धानकर्ताको टोली सामेल भएको थियो । साथै सो अध्ययन टोलीले इलामबाट पहिले फेला परेको भनिएका दुई प्रजाति अनुवांशिक अध्ययन गर्दा ती प्रजाति नभई एक प्रजाति भएको यकीन गरेको छ ।
गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभरि तीन सय ५० भन्दाबढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजातिमात्र पाइएको छ । सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिको रेकर्ड हुन बाँकी नै रहेको संरक्षणकर्मी बताउँछन् ।
सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन, अनुसन्धान तथा संरक्षणमा प्राथमिकीकरण गर्नुपर्ने देखिएको अध्ययन टोलीको नेतृत्व गर्नुभएका भट्टराईले बताए ।
काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।
२ बजेर ३५ मिनेट जाँदा आज शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको हो।
तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ र आसपासका जिल्लामासमेत महसुस भएको छ।
आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा सात जना किशोरहरु पक्राउ गरेको छ । गत माघ महिनाको ६ गते बिहान ८ः३० बजेको समयमा जिल्ला हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर नजिकै जंगलमा जबरजस्ती करणी गरेको भन्दै युवतीले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पीडित युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते हेटौंडाको विभिन्न स्थानहरुमा बस्ने आरोपित किशोरहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरहरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।
काठमाडौं । आज (शनिबार) नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् ।
केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो । त्यस्तै, बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।
सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।
सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।
नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।
यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ ।
समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ ।
सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अप्ठ्याराे काम थाल्नाले दिनभरि दाैडधुप गर्नुपर्ला। अध्ययन नगरी काम थाल्दा खर्च मात्र हुनेछ। सरसापटमा सञ्चित रकम बाहिरिन सक्छ। अर्थअभावले सताउने समय छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला। लगानीमा जोखिम बढ्ने समय छ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रतिफल प्राप्त गर्न समय लाग्नेछ र उपलब्धिका लागि धेरै समय लाग्नेछ। स्वास्थ्य कमजोर रहनाले यात्रा कष्टपूर्ण हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। साथीभाइसँग भेटघाट हुनेछ। तर सरसापटमा केही रकम बाहिरिन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। साथीभाइ टाढिन सक्छन्।




