
काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि हालसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरीरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न नमानेको स्रोतले जनाएको छ ।
‘राजावादी प्रदर्शनमा मृत्यु भएका दुई जनाकै शव पोस्टमार्टमका लागि पठाएका थियौं । एक जनाको पोस्टमार्टम भए पनि अर्को एक जना पत्रकारको भने पोस्टमार्टम हुन सकेको छैन’ परिसरका एक अधिकृतले भने, ‘गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान छ ।’
पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ । केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।
रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सुरेश महर्जनको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार पत्रकार रजकको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । ती चिकित्सका अनुसार, गोली लागे–नलागेको कुरा एक्सरेबाट मात्र थाहा हुन्छ । फरेन्सिक विभागमा एक्सरे मेसिनको व्यवस्था हुने बित्तिकै एक्सरे गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढाइनेछ । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको प्रहरीले प्रारम्भिकरूपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारलाई हस्तान्तरण गरिएको छ।
त्रिवि शिक्षण अस्पतालले मंगलबार पोस्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाएको हो।
पोस्टमार्टम प्रतिवेदनले महर्जनको शरीरमा एक गोली लागेको पुष्टि गरेको छ।
चैत १५ मा पूर्वराजा समर्थकहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का २९ वर्षीय महर्जनको मृत्यु भएको थियो।
उनी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजित प्रदर्शनमा सहभागी थिए।
तीनकुनेबाट कोटेश्वर चोकतर्फको उकालोमा तनाव बढ्दा प्रहरीले गोली चलाएको थियो।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ । रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
मन्त्रालयले दुई देशको सम्बन्धलाई झल्काउने खालका माफीका कार्यक्रमलाई उच्च सम्मान गर्ने बताएको छ। मन्त्रालयले आवुधाबीमा रहेको नेपाली दूतावासको आग्रह अनुसार यूएईले माफी दिइएको भन्दै धन्यवाद पत्र सार्वजनिक गरेको छ ।

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । आज बसेको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले १० पटकभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको सार्वजनिक गरेका छन् ।
त्यसमा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि रहेका छन्। देउवासहित अधिवेशन सात सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित रहेका छन्।
यस्तै मनोरमा शेरचन २७ दिन, लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन अनुपस्थित रहेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले पर्साको सानोपाइला सहकारीको मुद्दालाई सरकारले हतियारको रूपमा राखिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई मंगलबार भेटेर आफ्नो निलम्बन फुकुवाको माग गरेका थिए । सभामुखलाई भेटेर निस्किँदै गर्दा उनले सानोपाइला बचत सहकारीको मुद्दामा बिलम्ब गरिएको भन्दै असन्तुष्टी जनाएका हुन् ।
‘पर्साको बिलम्बलाई तपाईंहरूले कसरी हेर्नु भएको छ, आम जनताले जसरी हेरेको छ । मेरो हेराइ पनि त्यही भन्दा फरक कहाँ छ र ! सकेसम्म कानुनी प्रक्रियाहरू टुंगिउन, मुद्दा कहाँ–कहाँ लगाउने हो लगाऊन्। त्यो सबै सकेर अनि आउँ भनेर कुरेर बसेको,’ उनले भने, ‘किनभने अदालतलाई पनि सम्मान गर्नपर्यो । कतिपय प्रश्नहरू पनि आउला भनेर कुरिरहेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर, पर्सा चाँहि, हदम्याद छ, झुण्ड्याइराखेको छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई सबै थाहा छ नि ।’
लामिछाने पक्राउ परेपछि पर्सा प्रहरीले पनि बयान लिएको थियो । तर अझै पनि मुद्दा भने दर्ता गरेको छैन । त्यस्तै एकै पटक चार वटा मुद्दा दर्ता भएकाले एकै दिनमा चार वटा अदालतमा हाजिर हुन कठिन हुने पनि उनले बताएका छन् ।
कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत, रूपन्देही जिल्ला अदालत र चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भई उनी पुर्पक्षको लागि धरौटीमा छुटेका थिए । पुर्पक्षको लागि धरौटीमा छाड्ने आदेशलाई बदर गरी साधरण तारेखमा राख्न लामिछानेले र थुनामा राख्न माग गरी सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएका छन् ।
त्यसैको पेसीको विषयमा उनले एकै जना चार वटा अदालतमा धाउन कठिन भएको बताएका हुन् । ‘बिहीबारको दिन म एक जना मान्छे । चार–चार वटा अदालतमा, अर्को मुद्दा लागेपछि पाँच वटा हुन्छ । उच्च अदालतमा हाजिर हुनपर्छ । सम्भव छ ? एकै दिन । एउटा मान्छे एकै दिन चार ठाउँमा जान पर्छ, सम्भव छ ?,’ उनले भने ।
नेपाल सरकारले म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावित व्यक्तिहरूका लागि राहत तथा चिकित्सा सामग्री पठाउने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको जहाजमार्फत आवश्यक राहत, औषधि तथा मेडिकल उपकरणहरू आपूर्ति गर्ने निर्णय गरेको हो ।
चैत १५ गते ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण म्यानमारमा ठूलो जनधनको क्षति भएको छ । विपद्को यस घडीमा नेपाल सरकारले आफ्ना विभिन्न निकायहरूमा मौज्दात रहेका सामग्रीका साथै निजी क्षेत्रबाट प्राप्त मेडिकल सहायता तथा अन्य राहत सामग्री म्यानमार पठाउने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार राहत सामग्री ढुवानीका लागि आवश्यक खर्च अर्थ मन्त्रालयमार्फत नेपाल वायुसेवा निगमलाई उपलब्ध गराइनेछ । साथै, नेपाली सेनाको चिकित्सक टोली पनि सेनाको आफ्नै जहाजमार्फत अत्यावश्यक मेडिकल सामग्रीसहित म्यानमार पठाइने निर्णय गरिएको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।
सोमबार प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले बढेर एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।
निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू नेपालमै लुक्ने ठाउँ भेटेको बताएका हुन्।
शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भारत पुगेको हल्ला फैलिएको थियो।
तर, उनले आफ्नो फेसबुकमार्फत नेपालमै लुकेर भावी रणनीति तयार गरिरहेको बताएका हुन्। प्रसाईंले आफूलाई ‘सिंह’ को संज्ञा दिँदै आगामी कदमको तयारीमा जुटेको उल्लेख गरे।
उनले फेसबुकमा लेखेका छन् । शिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हटछ,अनि पुन:आक्रमण गर्छ!दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरु को मलामि लिएर आउदैछ,भ्रष्टाचारि हो! मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख! जय रास्टवाद!!
तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेपछि प्रहरीले प्रसाईंको खोजी तीव्र पारेको छ। उनी भूमिगत बनेको चर्चाबिच उनको यो दाबीले थप तरङ्ग ल्याएको छ।
प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ। प्रसाईंको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ।





