२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

राजसंस्था पुनर्स्थापना जनआन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईका दाजु राकेश पक्राउ परेका छन्। पेरिसडाँडास्थित राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएएपछि सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।

आइतवार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताएका छन् । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।

‘राकेश पनि दुर्गा प्रसाई जस्तै अन्टसन्ट बोलेर सामाजिक सञ्जालतिर भाइरल व्यक्ति हुन् । उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो । मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला’, प्रहरी स्रोतले भन्यो । दुर्गा प्रसाईका जेठ दाइ लक्ष्मी, माइला राकेश हुन् भने दुर्गा साइला हुन् । अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलिया बस्छन् ।

तीनकुनेको ट्राफिक लाइट फुटाउने र जडीबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् ।

गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा उनले ट्राफिक लाइट फुटाएको र जडीबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो ।

 

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद प्रवेश गराएका थिए ।

शुक्रबार कार्यालय पुगेलगत्तै उनले कर्मचारीको रोकिएको तलब निकाशा गर्ने फाइलमा तोक लगाएका थिए।

काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।

तीनकुने प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। टोलीले उनलाई ललितपुरबाट आज पक्राउ गरकेो हो ।

कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री समेत हुन् । 

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबार कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन् ।

आजैदेखि नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ । सरकारले आफ्ना मागमा बेवास्ता गरेपछि चैत २० देखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै सोमबारबाट शैक्षिक हडतालको घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् ।

सरकारले वार्ता, संवाद र छलफलको आह्वान गर्दा पनि महासंघले अस्वीकार गर्दै आएको छ । शिक्षक महासंघमा काँग्रेस, एमाले, माओवादीलगायत विभिन्न राजनीतिक दल आबद्ध शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, विद्यार्थी-कर्मचारी संघका घटकहरू आबद्ध छन् । महासंघले घोषणा गरेको शैक्षिक हडतालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ ।

हडतालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसइईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने भएको छ । चैत महिना विद्यालयहरूमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीको नतिजा प्रकाशनसहित नयाँ भर्ना र शैक्षिक सत्र सञ्चालन गर्ने समय हो ।

२०८० असोजमा पनि शिक्षकले काठमाडौँमा ३ दिन प्रदर्शन गरेका थिए । सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धतासहित सहमति गरेपछि शिक्षक विद्यालय फर्केका थिए । विधेयक पारित गर्न ढिलाइ भएको हुँदा माग र सहमतिहरू ऐनमा समावेश हुने सुनिश्चित नभएकाले आन्दोलन घोषणा गर्नुपरेको आन्दोलनमा सहभागी शिक्षकहरूको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) ले प्रदेशका सह इन्चार्जको पद हटाउने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यस निर्णयसँगै, प्रदेश सह इन्चार्जका पदहरू हटेर प्रदेश समन्वय कार्यालय गठन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

कोशी प्रदेश
सावित्रीकुमार काफ्ले
अजम्बर काङवाङ
धर्मशीला चापागाईँ
सुरेशुकमार राई

मधेश प्रदेश
विश्वनाथ साह
प्रल्हाद बुढाथोकी
जोगबहादुर यादव
महेन्द्र पासवान

बागमती प्रदेश
अञ्जना विशंखे
सूर्य सुवेदी
हितबहादुर तामाङ
शालिकराम जमरकट्टेल

गण्डकी प्रदेश
हरिराज अधिकारी

लुम्बिनी प्रदेश
कुलप्रसाद केसी

कर्णाली प्रदेश
टेकबहादुर बस्नेत
महेन्द्रबहादुर शाही

सुदूरपश्चिम प्रदेश
खगराज भट्ट
विना मगर

उपत्यका विशेष प्रदेश
मोहन कार्की
रमेश मल्ल
रामप्रसाद सापकोटा

सम्पर्क समन्वय प्रदेश
झक्कुप्रसाद सुवेदी
देवेन्द्र पराजुली
मानबहादुर बुढा

सार्क प्रवास प्रदेश
ईश्वरी भण्डारी

एसिया प्रवास प्रदेश
डिबी क्षेत्री

पश्चिम अन्तर महादेशीय प्रवास प्रदेश
सुरेन्द्र भुसाल
मोहनमान स्वाँर
कृष्णकुमार राई

बैठकले प्रदेश समन्वय कार्यालयलाई थप क्रियाशील बनाउन र यसको जिम्मेवारीलाई प्रदेश समन्वय कार्यालयलाई दिने निर्णय गरेको छ । यसका साथ, पार्टी केन्द्रीय समितिप्रति जबाफदेही रहने र प्रदेश समन्वय कार्यालयको कामलाई विगतका मापदण्ड अनुसार सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने निर्णय भएको छ ।

अर्को निर्णयअनुसार, केन्द्रीय सदस्यहरूको कार्य विभाजन र विभागीय सदस्यहरूको संख्या थप/घट गर्नका लागि विभागीय प्रमुखको सिफारिसमा निर्णय लिने प्रक्रिया अपनाइने छ । केही जिल्लाका इन्चार्जहरूको नियुक्ति पनि गरिएको छ । यसमा सप्तरी, महोत्तरी, बाजुरा र जाजरकोटका इन्चार्जहरूको नियुक्ति गरिएको छ ।

 

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने सोमबार जिल्ला कारागार चलान गरिएको हो। आजै बिहान उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल प्राप्त भएपछि प्रहरीले उनलाई जिल्ला अदालत पेस गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीको नेतृत्वको टोलीले उनलाई अदालत पेस गरेको थियो । अदालत पुर्‍याउने बित्तिकै लामिछानेलाई थुनुवा पूर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरे लगत्तै कारागार चलान गरिएको हो । डीएसपी कार्कीको नेतृत्वमै लामिछानेलाई तत्काल कारागार पुर्‍याएको थियो ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको छ । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले जानकारी दिए । ‘उहाँको स्वास्थ्य अवस्था नर्मल छ,’ उनले भने, ‘पूर्व गृहमन्त्री लामिछानेलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं । अहिले उक्त ब्लकमा उहाँ मात्रै थुनुवा हुनुहुन्छ ।’

उच्च अदालतले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेपछि जिल्ला कारागारमा उनका लागि छुट्टै कक्ष तयार गरिएको स्रोतले जनाएको छ । लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

सोमबार बिहान अदालत लैजानु अघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै, जिल्ला कारागार परिसर र आसपासपनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

 धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सिंहदरवारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले सिंहदरवारको नाम मान्छे दरबार राखेको भए सिंहदरवार भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थिए भन्दै नाम परिवर्तन गर्नुपर्ने बताएका हुन ।

‘सिंहदरवार नभएर मान्छे दरवार नाम राखिदिएको भए त्यहाँ भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थें! नामै गलत छ दरबार को ! लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने लाग्छ, सेवा केन्द्र नाम राख्दा राम्रो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति लामिछाने पक्राउ परेका थिए । अदालतको आदेश लगतै प्रहरीले लामिछानेलाई शुक्रबार राति पक्राउ गरी शनिबार बिहान जहाजबाट भैरहवा पुर्‍याएको थियो ।

जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गएको माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

काठमाडौं । इस्लाम धर्मको गढ मानिने साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र पारिवारिक भिसाका साथै उमराह भिसामा पनि लागू हुने जनाएको छ ।

यो उल्लेखनीय छ कि क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले अन्य देशका मानिसहरूलाई दर्ता बिना हजमा भाग लिनबाट रोक्न यो प्रतिबन्ध लगाएको हो । तर, यो अस्थायी प्रतिबन्ध सबै देशहरूमा मध्य जुनसम्म अर्थात् यस वर्षको हज पूरा नभएसम्म मात्र जारी रहनेछ। त्यसपछि भिसा कार्यक्रम सामान्य रूपमा लागू हुनेछ ।

उमराह भिसा अप्रिल १३ सम्म उपलब्ध हुनेछ । साउदी अरेबियाका अधिकारीहरूले भने कि विदेशीहरू यस महिनाको १३ तारिख अर्थात अप्रिल १३ सम्म मात्र उमराह भिसाका लागि आउन सक्छन् । १३ अप्रिलपछि उमराह भिसा रोकिने छ। वास्तवमा, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गत वर्ष हजारौं मानिसको मृत्युलाई ध्यानमा राख्दै यस वर्ष भिसा प्रतिबन्धको यो निर्णय लिएका हुन् । गत वर्ष हजका क्रममा भागदौडमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश अनधिकृत हज तीर्थयात्री थिए ।

यस्तो अवस्थामा यस वर्षको यो अस्थायी भिसा प्रतिबन्धको कारण दर्ता नभएका हज यात्रीहरूलाई रोक्नु हो । त्यसैले साउदी युवराज मोहम्मद बिन सलमानले हजको समयमा व्यवस्था कायम राख्न १४ देशको भिसा नियम परिवर्तन गरेका हुन् । साउदी अरेबियाले भिसा प्रतिबन्ध लगाएको देशमा भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट, इन्डोनेसिया, नाइजेरिया, इराक, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन समावेश छन् । साउदी अरबको विदेश मन्त्रालयले यात्रा नियमलाई सरल बनाउन यो अस्थायी भिसा प्रतिबन्ध लगाइएको जनाएको छ । यसले हजको समयमा तीर्थ यात्रीहरूको सुरक्षामा सुधार हुनेछ र यात्रा धेरै सहज हुने अपेक्षा गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।