
सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्ने गरी गृहकार्य अघि बढाएको छ। सम्भवतः आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ।
मन्त्रिपरिषदको बैठक आज अपरान्ह बस्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले आजको बैठक नियमित भएको बताए।
गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सिफारिस समितिले आज बिहान सिफारिस गर्ने तयारी छ। सरकारले गठन गरेको सिफारिस समितिमा पूर्वगनर्भर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल छन्।
पूर्वगभर्नरहरूले व्यवसायी र राजनीतिक दलको लबिइङमा परेका व्यक्तिभन्दा अर्थशास्त्र बुझेका र अहिलेको सुस्त अर्थतन्त्र उकास्न सक्ने व्यक्ति नियुक्त गर्न सुझाव दिएका छन्।
गभर्नरमा डेपुटी गभर्नर नीलम ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट मुख्य उम्मेदवारको सूचीमा छन्। राष्ट्र बैंककै हाल सञ्चालक सदस्य रवीन्द्र पाण्डे र पूर्वमूख्यसचिव राजेन्द्र किशोर क्षत्री पनि प्रतिस्पर्धामा छन् । हालसम्म गभर्नर प्रतिस्पर्धाका लागि यी चारजना प्रमुख दावेदारकारूपमा अघि छन् ।
त्यस्तै राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, भर्खरै राजीनामा दिएर गभर्नरको दौडमा आएका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठ र नबिल बैंकको सीईओबाट गभर्नर बन्नकै लािग राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना पनि दाबेदारको रूपमा छन्।
आन्दोलनरत शिक्षकहरुले आजदेखि शैक्षिक हड्ताल गरेका छन् ।
नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ। चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकहरुले आजदेखि आन्दोलन थप सशक्त बनाउन लागेका हुन्।
आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तहलगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक–कर्मचारीमा महासंघले आह्वान गरेको छ।
विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप चर्काउने महासंघको घोषणामा विभिन्न राजनीतिक दल निकट १५ शिक्षक संगठनले पनि ऐक्यबद्धता जनाएका छन्।
हिजो सिठी जुलुस गरेका शिक्षकहरुले आज आन्दोलनको छैटौं दिन मौन जुलुस निकाल्ने तयारी गरेका छ। कालोे मास्क लगाएर मौन जुलुश निकालिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो। जुलुस बिहान ११ बजे माइतीघर मण्डलाबाटै शुरु हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जेल चलान गरिँदैछ । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराई प्रक्रिया पुर्याएर थुनामा पठाइन लागिएको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार भैरहवा लगिएको थियो ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । प्रक्रिया पूरा भएपछि थुनामा पठाइने प्रहरीले जनाएको छ ।





