
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कसैले फोहोर गर्छ र जरिवाना तिराउँछु भनेर नबसेको बताएका छन्।
बल्खुमा राप्रपा कार्यकर्ताले विरोध सभापछि फोहोर टिपिरहेको फोटो सेयर गर्दै सामाजिक संजालबाट बालेनले यस्तो प्रतिक्रिया दिएका हुन्। विरोध सभाका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोहोर आफैं टिप्ने भन्दै हिरो भएर पत्र नकाट्न बालेनलाई आग्रह गरेका थिए।
त्यसको जवाफमा लिङ्देनको नाम उल्लेख नगरी बालेनले भनेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।’
आजको कार्यक्रममा राप्रपाले आफैँ सरसफाइ गरेको भन्दै मेयर शाहले धन्यवाद दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।
काठमाडौँ जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
त्यसैगरी आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएकाहरुविरुद्ध भने १५ दिनको म्याद थप भएको छ । प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।
राजावादी समूहका तर्फबाट १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्ताको लागि आव्हान गरेको छ। यसअघि मन्त्रालयले चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षकहरुलाई बोलाएको थियो । सो बार्तामा शिक्षकहरु सहभागी भएनन् । मन्त्रालयले पुनः भोलि (बुधबार) शिक्षहरुलाई वार्ताका लागि बोलाएको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै प्रकारका शिक्षक कर्मचारीहरुको प्रतिनिधिलाई वार्तामा बस्न आग्रह गरेको छ । ‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श हुन सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि २७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक÷कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिनेछ ।’
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा छन्। यसअघि भएको सहमती समेत कार्यान्वयन गरी यथासिघ्र शिक्षा ऐन आउनुपर्ने शिक्षकहरुको अडान छ। उनीहरुले कुनै पनि वार्तामा नबस्ने र सिधैं ऐन ल्याएपछि मात्रै आन्दोलन स्थगन गर्ने बताउँदै आइरहेका छन्।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफूहरूलाई निषेधको राजनीति गरेको आरोप लगाएका छन् । काठमाडौंको बल्खुमा आज (मंगलबार) पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुरे रहेछ भन्ने देखाउन बल्खु आएको बताएका छन् ।
‘राप्रपालाई बल्खु, सिफल, कलंकी जता जाऊँ भन्यो राप्रपा पछि हट्यो भन्ने नठान्नु होला । हाम्रो शान्ति र अहिंसालाई कमजोरी नठान्नुहोस् केपी ओली र रमेश लेखकज्यू,’ लिङ्देनले भने, ‘हामी राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको माग राखेर चुनावमा जाँदा पाँचौं भएको पार्टी हौं । भृकुटीमण्डपमा आमसभा गर्दा ढल्ने कस्तो गणतन्त्र हो ? यसैले तपाईहरूको गणतन्त्र कति लुरे रहेछ भन्ने देखाउन बल्खु आएका हौं । हामीले आह्वान गरेर यस्तो जुलुस चारैतिरबाट आए कसले छेक्छ ? बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौं ।’
केही हजार मान्छेको र्याली निस्कन्छ भनेर सरकार डराएको उनको आरोप छ । उनले भने, ‘हामी शान्तिपूर्ण प्रदर्शन नै चाहन्छौँ । तर हामीले चारतिरबाट जुलुस हेल्दिने हो भने के हुन्छ । हामीले बालुवाटारलाई चारतिरबाट घेरा हालेर भातपानी बन्द गर्दिन सक्छौँ ।’ राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न उनले माग गरे । त्यस्तै राजा चाहिने भन्नेलाई थुन्ने हो भने लाखौं मानिसलाई थुन्न जेल खाली गर्न पनि उनको माग छ ।
‘शान्तिको कुरा गर्दा हामीलाई हेप्ने र हाम्रो कमजोरी ठान्ने हो भने तपाईहरूसँगै सल्लाह गरौंला,’ उनले भने ‘एउटा भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर युद्ध थालेको माओवादीले देशलाई कहाँ पुर्यायो । के राजा चाहिनका लागि २-४ हजार मानिस जंगल पस्नलाई तयार छैनन र ? तर, हामी शान्तिको पक्षधर हौं ।’ उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए । राप्रपाले प्रदेशस्तरमा गरिरहेको सभामध्ये देशभर ६ वटा सभा सम्पन्न गरेर मंगलबार बागमती प्रदेशस्तरीय सभा काठमाडौंमा गरेको हो ।
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको जानकारी दिए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे ।
महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको जानकारी दिए । उनले प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउन सक्ने बताए ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताए ।
बैठकमा सहभागीहरुले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसूरजन्य सम्पत्ति लगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए ।
नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिष्टमा परेको थियो ।
काठमाडौँ । विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
मंगलबार दिउँसो काठमाडौँको नयाँ बानेश्वर-माइतीघर सडक खण्ड, बल्खु क्षेत्र, शान्तिबाटिका-बालुवाटार सडक खण्ड र जावलाखेल-माइतीघर सडक खण्डमा प्रदर्शन भइरहेको छ ।
जसका कारण यी क्षेत्रका सवारीसाधन आवतजावतमा समस्या भएको हो ।
नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरिरहेको छ ।
उता, शान्तिबाटिका-बालुवाटार सडक खण्डमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रिय जनमोर्चाले भने जावलाखेलबाट जुलुस निकालेर अहिले माइतीघरतर्फ अघि बढिरहेको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा बाहेक अरु विकल्प नभएको बताएका छन् । काठमाडौं बल्खुमा आयोजित राप्रपाको बृहत जनसभामा बोल्दै नेता सिंहले राजाले मात्रै नेपाली समाज र देशलाई एकजुट र एकीकृत गर्नसक्ने दावी गरे ।
‘धर्म, संस्कृति र संस्कार जोगाउनका लागि राजसंस्था अपरिहार्य छ,’उनले भने, ‘देश बचाउनका लागि राजाबाहेक अरु विकल्प छैन ।’ उनले मुलुक भ्रष्टाचारमा डुबिसकेको भन्दै यसलाई बचाउन सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए । ‘देश समाप्त हुने अवस्थामा पुगिसकेको छ । देश भ्रष्टाचारमा डुबिसकेको छ,’ उनले थपे, ‘यसकारण मुलुक बचाउन सबै राजनीतिक दल एकजुट हुनैपर्छ ।’
नेता सिंहले राजनीतिक खिचातानीका कारण नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अवकाश पाइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेको बताए । वर्तमान सरकार सुघ्रिएन भने नेपाली जनताले श्रीलंका र बंगलादेशको अवस्था ल्याउने दावी गरे । उनले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई निशर्त छोड्न पर्ने बताए । उक्त घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको माग छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने चेतावनी दिएकी छिन्।
आज बल्खुमा आयोजित राप्रपाको आमसभामा बोल्दै उनले गणतन्त्रवादीहरूले देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी हुन् । उनले प्रहरी हिरासतमा रहेका दुई नेताहरूलाई तत्कालै रिहा गर्न पनि उनले माग गरेकी छन्। यदि आफ्नो माग पूरा नभएमा ७ गतेदेखि सडकमै खाने बस्ने र सुत्ने उनको भनाइ छ।
उनले भनिन्, ‘आज हाम्रो रगत तातेको छ । हाम्रा नेता गणहरूलाई थुनेर राखेका छन्। उहाँहरूलाई तुरुन्तै, आजै रिहा गर भन्न चाहन्छु । यो आज हाम्रो सुरुवात हो । अब ७ गतेदेखि खाना पनि यहीँ पकाएर खान्छौँ, यहाँबाट चल्दैनौं । राजसंस्था नभएसम्म हामी सडकमै हुन्छौं ।’ उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गरिन्।
‘आजै तिमिहरू भागिहाल नत्र घरबाट थुतेर राष्ट्रवादी साथीहरूले कुट्ने छन्,’ पोखरेलले भनिन्, ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।’ उनले आगामी ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरिन् । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर मंगलबार बल्खुमा प्रदर्शन गरेको छ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ।
भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी आज (मंगलबार) चेक हस्तान्तरण गरेका हुन्। तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई युवाको ज्यान गएको थियो । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पु¥याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए। त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए।
गुल्मीमा दुई महिनादेखि सम्पर्कविहीन एक व्यक्तिको टाउको कुकुरले गाउँमा ल्याएको छ । कुकुरले मृतकको टाउको गाउँमा ल्याएपछि ती व्यक्तिको मृत्यु भएको खुलेको हो ।
सोमबार राति करिब साढे ९ बजेतिर गुल्मी दरबार गाउँपालिका–६ बेलपोखरी बस्ने ५५ वर्षीय रतन शाहीको अस्थिपञ्जर फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार उनी दुई महिनादेखि बेपत्ता थिए । मंगलबार बिहान प्रहरीले टाउको भएको स्थानभन्दा ५०० मिटर पर कंकाल फेला पारेको हो । त्यहाँ कपडाहरू पनि फेला परेका थिए ।
त्यही कपडाको आधारमा रतनका छोरा केहरसिंह शाहीले सनाखत गरेको प्रहरीले जनाएको छ । मृतक दुई महिनादेखि बेपत्ता थिए । उनी घरमा एक्लै बस्ने गरेको र मानसिक अवस्था पनि सामान्य नभएको प्रहरीले जनाएको छ । रतनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धानका लागि इन्सपेक्टर भुपेन्द्र थापाको कमाण्डमा प्रहरी परिचालन भएको छ ।




