२०८३ कार्तिक ८ गते शनिबार
२०८३ कार्तिक ८ गते शनिबार

नेपालमा फेरि मौसम बदलीको संकेत, एनपिएलका खेल प्रभावित हुनसक्ने

जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भए पनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो ।

गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार उक्त न्यून चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ । यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ ।

यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्न सक्ने आँकलन गरिएको छ । हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलवारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको छ । कात्तिक ८ गतेपछि कुनै पनि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ ।

उनले भने, ‘आगामी कार्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा वर्षाको सम्भावना न्यून छ । कार्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन । यसबाट कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ । धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला ।’

उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्न सक्ने देखिएको छ । आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।