
क्षमताभन्दा बढी सार्वजनिक ऋण लिएको भन्दै आलोचना खेपिरहेको सरकारले त्यस्तो ऋण पुँजी निर्माणमा भने प्रयोग नगरेको पाइएको छ । रोजगारी सिर्जना, आम्दानी वृद्धि जस्ता पुँजी निर्माणका गतिविधिमा ऋणको उपयोग हुनुपर्नेमा चालु प्रकृतिकै काममा ऋणको प्रयोग भएको पाइएको हो ।
सरकारलाई वित्तीय हस्तान्तरण तथा प्राकृतिक स्रोतको न्यायोचित वितरणमा सिफारिस तथा सुझाव दिने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले नै आन्तरिक ऋण परिचालनबाट पुँजी निर्माण हुने र अर्थतन्त्रको विस्तारमा अपेक्षित योगदान पुग्ने अवस्था नदेखिएको जनाएको हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा सिफारिस गर्दै आयोगले आन्तरिक ऋणको उपयोगका सन्दर्भमा प्रश्न उठाएको हो ।
आयोगले आन्तरिक ऋणको अत्यधिक प्रयोग त्यसअघिको ऋणको साँवा भुक्तानीमा हुने गरेको उल्लेख गरेको छ । यसले गर्दा आन्तरिक ऋणको खुद परिचालन अत्यन्त न्यून हुन पुगेको आयोगको ठहर छ । “ऋण सेवा खर्च बढ्दै गएकाले परिचालित अधिकांश आन्तरिक ऋण, पुरानो ऋण भुक्तानीमा प्रयोग भएको देखिएकाले उक्त ऋण परिचालनबाट पुँजी निर्माण हुने र अर्थतन्त्रको विस्तारमा अपेक्षित योगदान पुग्ने अवस्था देखिएन,” ऋण सिफारिस गर्दै आयोगले उल्लेख गरेको छ ।
आयोगले विगतमा सिफारिसको सीमाभित्र रहेर आन्तरिक ऋण परिचालन भए पनि अधिकांश सुझाव कार्यान्वयनको अवस्था भने कमजोर रहेको पनि उल्लेख गरेको छ । खास गरी खर्च अनुमान तयार गर्दा त्यस्तो खर्चको शीर्षक र स्रोतगत विवरणमा आन्तरिक ऋण उल्लेख गर्नुपर्ने सुझाव दिए पनि त्यसको कार्यान्वयन नभएको आयोगले जनाएको छ । त्यसो त सरकारले लिने आन्तरिक ऋण कुन कुन क्षेत्रमा खर्च हुन्छ भन्ने तथ्याङ्क सरकारसँग नै छैन । त्यसो नहुँदा त्यस्तो ऋण कहाँ परिचालन भइरहेको छ र त्यसको लाभको यकिन हुन नसकेकोप्रति आयोगले बारम्बार सरकारलाई जानकारी गराउँदै आएको छ । ऋणलाई पुँजी निर्माण हुने किसिमका आयोजनामा परिचालन गर्नुपर्ने सुझावसमेत सरकारले बेवास्ता गरेको पनि आयोगले जनाएको छ ।
आयोगले सरकारले आन्तरिक ऋण लिँदा सकेसम्म दीर्घकालीन प्रकृतिका लिन सुझाव दिएको छ । कम अवधिका आन्तरिक ऋणभन्दा दीर्घकालीन उपकरणको उपयोग गर्ने गरी नीतिगत व्यवस्था नै गर्नुपर्ने आयोगको सुझाव छ । पछिल्लो समय अल्पकालीन प्रकृतिका भन्दा दीर्घकालीन प्रकृतिको आन्तरिक ऋणको हिस्सा बढेकोलाई सकारात्मक मान्दै आयोगले यसैलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।
आयोगले उल्लेखित सुझावसहित आगामी आवका लागि आन्तरिक ऋणको सीमा पनि सिफारिस गरेको छ । जस अनुसार आगामी आवका लागि अनुमानित कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतमा नबढ्ने गरी खर्च संरचना अन्तर्गत पहिलो प्राथमिकता प्राप्त आयोजनाका लागि नेपाल सरकारले आन्तरिक ऋण उठाउन सक्ने आयोगले जनाएको छ । त्यस्तै प्रदेश सरकारले नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण लिन सक्ने सीमा आयोगले सिफारिस गरिदिएको छ । त्यस्तै स्थानीय सरकारका लागि नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र स्थानीय सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको १२ प्रतिशत नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने आयोगले जनाएको छ ।
काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ ।
अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटा भट्टा बन्द गर्न आदेश दिएको हो ।
स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्त्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । हाल पाँचखालमा आठ वटा इँटा भट्टा सञ्चालनमा छन् ।
यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटा भट्टालगायत उद्योगलाई सुधारात्मक ढंगले अघि बढाउने नीति अवलम्बन गरेको मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार साँझको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।
सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेकोे विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।
सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरूको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसद्को बैठक आह्वान गरेको स्पष्ट पारेको छ ।
मेषः तपाईंका लागि आजको दिन सामान्य छ। दैनिक काममा अवरोध हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। यात्रामा समस्या हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।
वृषः आजको दिन तपाईंका लागि राम्रो छ। व्यापारमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा नियुक्तिको सम्भावना रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मिथुनः दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुने दिन छ। तपाईंको काममा विपक्षी साथीकोसमेत साथ मिल्नेछ। आफन्तसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारमा नाफा आर्जन गर्ने योग छ।
कर्कटः आज तपाईंका लागि दिन राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा गरेको काम सफल बन्ने योग छ। राजनीतिक क्षेत्रमा भन्दा तपाईंलाई व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ।
सिंहः आज तपाईंका लागि दिन सामान्य राम्रो छ। एकल भन्दा समूहिक निर्णय गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने योग छ।
कन्याः दिन राम्रो छ। धनलक्ष्मी योग परेकोकाले सम्पत्ति आर्जन हुनेछ। सञ्चित धन खर्च गर्ने समय छ। लगानी गर्ने भए सामूहिकतामा अगाडि बढेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।
तुलाः दिन निकै नै राम्रो छ। विरोधी कमजोर भएकाले हरेक काममा सफलता मिल्नेछ। सामान्य अवरोध देखिए पनि कामलाई निरन्तरता दिनुपर्नेछ। संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ।
वृश्चिकः आज तपाईंका लागि दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। छोटो दूरीको यात्राले मन शान्त बन्नेछ।
धनुः आजको दिन तपाईंका लागि सामान्य छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाका क्षेत्रमा प्रगति देख्न लामो समय संघर्ष गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।
मकरः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ।
कुम्भः दिन राम्रो छ। आज तपाईंले गरेको व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
मीनः तपाईंका लागि आजको दिन सामान्य छ। जे जस्तो भए पनि दैनिक काममा रमाउनुपर्ने बाध्यता छ। संकटमा साथीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।



