
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले भोलि निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो।
मन्त्रालयले त्यस्ता गतिविधि भए कानुनअनुसार कारबाही हुनेबारे सचेत गराएको छ।
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गरेका हुन् । उनले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने बताए ।
उनले मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताए । २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गरे ।
उनले भने– ‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन । जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त ? ०८२ सालको जेठको १५ गते हुन्छ । त्यही हो कुरा । आन्दोलन कसरी जाने भन्नेकुरा सबै आत्तिसक्नुभएको छ । अर्को फोरममा भनौँला । मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्छ । यो गणतन्त्र आएको जेठको १५ गते र यो अब जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ । २०८२ को जेठको १५ मा । हाम्रो अभिष्ठ सिद्धि हुनेछ ।’
उनले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको बताए । राज्यलाई थाम्ने दायित्व राजाको भएको बताए ।
राजालाई सचेत गराउने काम नागरिकको भएको बताए । पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको बताए ।
तीन राजनीतिक दलका शिर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा ऐक्यवद्धता जनाएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।
उनकाअनुसार छलफलमा देशको विद्यमान परिस्थितिको बारेमा कुराकानी भएको छ । विद्यमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताए ।
संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको उल्लेख गरे ।
उनले भने– ‘आजको छलफल समसामयिक राजनीतिक विषयसँग गाँसिएको छ । देशको विद्यमान परिस्थितिको बारेमा तीन शिर्ष नेताहरु प्रधानमन्त्रीको नेतृत्वमा छलफल भयो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शिर्ष नेताहरुबीच विद्यमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ । संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ ।’
छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामको बारेमा छलफल भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय कहीं न कहीं आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन्। उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको बताएका छन्। नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए ।
उनले राजावादीहरूलाई लक्षित गर्दै भने, ‘तपाईहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ । त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस जस्तो गरेका छन्। त्यो सफल हुने छैन ।’ उनले प्रतिगामी षड्यन्त्रविरुद्ध एकजुट हुन आह्वान गरे । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाली विशेषताको समाजवादको भ्रुण नेवारहरुको इतिहास, संस्कृति, भाषा र गुठीमा रहेको बताएका छन्।
उनले नेवाको भाषा, संस्कृति र इतिहास अध्ययन गरेर मात्रै नेपाली समाजवादको सुरुवात गर्न सकिने विचार राखे । ‘समाजवादको भ्रुण नेवा समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुको गुठी लगायत संस्था, जे संरचना बनेका छन्, नेपाली विशेषताको समाजवाद त्यही छ,’ प्रचण्डको भनाइ छ, ‘नेवा समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा संस्कृतिबारे जानकारी लिएर मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ ।’
काठमाडौं । यु १९ वर्ल्डकपमा अफगानिस्तान छनोट भएको छ । आज (शनिबार) नेपाल र अफगानिस्तानबीच मूलपानी मैदानमा प्रतिस्पर्धाको समय तालिका भए पनि मौसमका कारण खेल हुन नसकेपछि नेट रन रेटको आधारमा अफगानिस्तान छनोट भएको हो ।
मूलपानीमा आइसीसी यू–१९ विश्वकपअन्तर्गत एसियन छनोट खेल आयोजना भइरहेको छ । छनोटको अन्तिम दिनमा अफगानिस्तान विश्वकपमा पुगेको छ। खेल रद्द भएसँगै नेपाल यू–१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो।
प्रतियोगितामा अफगानिस्तान र नेपाल दुवैले युएई, हङकङ र ओमानलाई पराजित गरेको थियो । दुवै टोलीले तीन–तीन खेल जिते पनि रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा थियो। खेल रद्द भएपछि शीर्ष स्थानमा कायम रहँदै उसले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने नेपालले विश्वकप खेल्नसक्ने अवसर गुमाएको छ। पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो। आइसीसी यू–१९ विश्वकप आउँदो वर्ष जिम्बावेमा हुँदैछ।
ताप्लेजुङमा प्रहरीले शौचालयमा थुनेर एमाले सचिव योगेश भट्टराईलाई सुरक्षा दिएको छ ।
हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका भट्टराईलाई ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गर्दै घेरा हालेपछि प्रहरीले शौचालयमा थुनेर सुरक्षा दिएको हो ।
कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा उनी शौचालय गएका थिए । भट्टराई भित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर नाराबाजी गरेलगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा दिन उनी शौचालय भित्रै रहँदा बाहिरबाट चुकुल लगाइदिएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा दिनका लागि भट्टराई शौचालय भित्रै रहँदा केही बेर चुकुल लगाइएको बताए । उनले भने, ‘माननीयज्यू शौचालय जाने बेलामा नाराबाजी भयो। हामीले सुरक्षा दिएका हौं। अरू केही होइन ।’
केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पु¥याएर सुरक्षित काठमाडौं पठाएको थियो ।
काठमाडौं । सरकारसँग वार्तापछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ। महासंघले आज (शनिबार) दिउँसो ३ः१५ मा रत्नराज्य मावि बानेश्वरमा बैठक डाकेको हो। समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ। बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ।
शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका शिक्षक महासंघका नेताहरु तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन्। त्यसैले उनीहरुले आन्दोलनलाई आज पनि जारी राखेका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँगको संवादबारे जानकारी दिँदै, शिक्षकका मागहरू स्पष्ट र शिष्टतापूर्वक राखिए पनि सरकारको दृष्टिकोणमा अपेक्षित परिवर्तन नदेखिएको उल्लेख गरेका छन् । ‘हामी एक–दुई साना माग पूरा भए भनेर चुप लाग्ने होइनौं । हाम्रो आन्दोलनको मूल उद्देश्य विगतका सहमति सम्बोधन गर्दै स्पष्ट ऐनमार्फत शिक्षकको हक र अधिकार सुनिश्चित गर्नु हो,’ अध्यक्ष सुवेदीले लेखेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा शिक्षक–कर्मचारीका माग, विद्यालय शिक्षा ऐन जारी गर्ने आवश्यकता र आन्दोलनका कारण उत्पन्न परिस्थिति लगायतका विषयमा गहन छलफल भएको थियो। प्रधानमन्त्री ओलीले सरकारले सम्बोधन गर्न सक्ने विषयमा छलफल गरेर निर्णय लिने र ऐन जारी गर्न तत्परता देखाउने आश्वासन दिए पनि महासंघले आन्दोलनको विकल्प अहिले देख्न नसकेको जनाएको छ ।
बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।
रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले बताए ।
स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ ।
घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक जना पक्राउ परेका छन् । सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गए राति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो। ३४ वर्षीय सिलवाललाई राति नै जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ । तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा उनी पनि सहभागी भएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्न तम्सिने र तम्साउनेमा उनी पनि एक भएको प्रहरीको भनाइ छ ।
राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । त्यसक्रममा भएको आगजनी र प्रहरीको गोली प्रहारबाट एक–एक जनाको मृत्यु भएको थियो । साथै पार्टी कार्यालय, सपिङ कम्प्लेक्स र अन्य सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । तोडफोड र आगजनीमा संलग्नहरुलाई खोज्ने क्रममा प्रहरीले सन्तोष सिलवाललाई पनि निगरानीमा राखेको थियो । सोही क्रममा सीआईबी टोलीले उनलाई काठमाडौं महानगरपालिका ३२ मा पर्ने कोटेश्वरको महादेवस्थानस्थित आफन्तको घरबाट नियन्त्रणमा लिएको थियो ।
तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। प्रहरीले सुरुवाती क्रमदेखि अहिलेसम्म करिब २ सय जनालाई पक्राउ गरे पनि स्क्रिनिङ गरेर धेरैलाई छाडेको छ। पक्राउ परेकामध्ये अपराधमा संलग्नलाई मात्रै म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार अहिलेसम्म ८२ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।
स्वास्थ्य सेवा विभागका अनुसार यस पटक ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।