
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।
नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको जानकारी दिए ।
उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन् । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन् ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
“शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन,” उनले भने, “प्रधानमन्त्रीलाई दिएको भन्ने छ तर प्रधानमन्त्रीलाई जानकारी छैन । बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर छाड्नुभएको ।”
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ । बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ ।
शिक्षक आन्दोलनका कारण बोर्डले हिजो मात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।
हेर्नुस् तालिका
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंककले घटेको छ । आज नेप्से १.२० प्रतिशतले घटेर २६५५.९४ विन्दुमा झरेको छ । आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर कारोबार भएको छ ।
२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार १४० पटक शेयर किनबेच भएको छ ।
आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समुह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३९ अंककले बढेको छ भने म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी विकास बैंक समूह २.०९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.३० प्रतिशतले घटेको छ ।
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने भएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती विधेयकमा रहेको उक्त व्यवस्थामा सहमति जुटेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखित किर्ते, राज्य विरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, शरीर बन्धक, जबरजस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारीमा अदालतबाट कसुरदार ठहरेमा निवृत्तिभरण नपाउने विषयमा सहमति जुटेको हो ।
यसअघि भ्रष्टाचार गरेको पुष्टि भएका अवकाशप्राप्त सरकारी कर्मचारीले पेन्सन पाइरहेको थिए । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४६ मा बहालमा रहेको बेला भ्रष्टाचार गरेको पाइए पूर्वसरकारी कर्मचारीविरुद्ध पनि मुद्दा चलाउन सकिने व्यवस्था छ । तर अवकाश पाइसकेका कर्मचारीको हकमा के हुने भन्ने उल्लेख छैन ।
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनंकित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका कर्मचारीसहितले आज (बुधबार) विज्ञप्ति निकाल्दै आफूहरूले उठाएका माग पूरा नभएसम्मका सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
कर्मचारीहरूले वर्तमान सन्दर्भमा एकातिर सरकारी सेवा प्रवाह प्रभावकारी नभएको जन गुनासो समेत गरिएको छ । १८÷२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने बाध्यता, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा समेत विभेद, समायोजनबाट सिर्जित समस्या अन्तर प्रदेश सरुवाको अभाव अपारदर्शी सरुवा प्रणाली तथा न्यून सेवा सुविधालगायतका कारण कर्मचारीहरूको मनोबल अत्यन्तै कमजोर भएको उनीहरूको भनाइ छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती सेवा विधेयकमा पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने, सबै तहमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम गरी अन्य पदमा रहेको साविक नि.से. ऐन, २०४९ बमोजिमको पदपूर्तिको व्यवस्था कायम गर्दै रा।प। तृतीय श्रेणीको पदपूर्तिमा खुला प्रतियोगिताबाट ५० प्रतिशत, बढुवाबाट ४० प्रतिशत र आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत कायम गर्नुपर्ने, उपसचिव÷सहसचिवको प्रतिस्पर्धाका लागि साबिकको व्यवस्थाबमोजिम ५ वर्ष ७ वर्ष सेवा अवधि कायम गर्नुपर्ने र खुलातर्फको विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने माग छ ।
यस्तै तीनै तह (संघ, प्रदेश र स्थानीय तह) मा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तर प्रदेश सरुवाको व्यवस्था) लागु गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारी को परिभाषामा समेट्नुपर्ने, समायोजन पुनरावलोकन तथा समायोजित कर्मचारीको प्रदेश र स्थानीय कानुनले प्रदान गरेका पेन्सन समेतका सेवा सुविधालाई मान्यता दिनुपर्ने, प्राविधिक कर्मचारीको शैक्षिक योग्यतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, श्रेणीविहीन पदमा तह संख्या थप गरी तह वृद्धि गर्नुपर्ने, करारका कर्मचारीलाई समुचित व्यवस्थापन एवम् आवश्यक सेवा सुविधाको व्यवस्था गर्नुपर्ने र क्षतिपूर्तिसहितको नागरिक सेवाको सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखेका छन् ।
उत्पन्न हुने असहज परिस्थितिको आंकलन गरी आन्दोलनको अवस्था सिर्जना हुन नदिन लागि माग सम्बोधनमा संवेदनशील भई आवश्यक पहल गर्न नेपाल सरकारसमक्ष जोडदार माग रहेको कर्मचारीहरूको भनाइ छ ।
काठमाडौं- प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदा बाहेक बाँकी सबै दिन सञ्चालन हुने भएको छ ।
संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए ।
बैठकले सभामुखको उक्त प्रस्ताव अनुमोदन गरेको छ । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने आवश्यक देखिएको उनको भनाइ थियो । सोही अनुसारको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने सहमति पनि बैठकमा भएको छ ।
बैठकमा सभामुख घिमिरेले भने, ‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नु भएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नु भएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनु पर्दछ ।’ संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन शुक्रबार सुरु हुँदैछ ।
रूपन्देही । भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो ।
आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको उनका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए । सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।
गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेको वडाअध्यक्ष न्यौपानेले बताए ।
सुदीपका बुवा बुटवल-१४ बेलबरियामा विक्षिप्त अवस्थामा छन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको काका दधिरामले बताए ।
‘शवलाई कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौं पुगिसकेको छु १२ बजे कश्मिरबाट उड्ने समय छ,’ उनले सुनाए ।
जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा उनी परेका हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दूकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।