
सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारवाहीमा परेका छन् ।
उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
उनीहरूलाई जिम्मेवारीबाट हटाएर थप अनुसन्धान भइरहेको गिरिले बताएका छन् ।
चार जना ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यो भिडियो शेयर गर्दै धेरैले प्रहरीलाई कारबाहीको माग गरिरहेका छन् । उक्त भिडियोको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन समेत अघि बढाएको छ । भिडियोमा एक जना ट्राफिक प्रहरीले लात्तैलात्ताले युवकलाई कुटपिट गरेको देखिन्छ ।
सँगै रहेका अन्य तीन जना ट्राफिकले छुट्याउने प्रयास समेत गरेको देखिँदैन । भिडियोमा कीर्तिपुर रुटमा चल्ने बस देखिएको छ । अन्य मोटरसाइकलहरू कुदिरहेका देखिन्छन् । एक जना ट्राफिकले कालो चस्मा लगाएर यताउता हेरेर निगरानी गरेको जस्तो पनि देखिन्छ। कुटाइ खाने युवकको हातमा हेल्मेट छ । जसबाट उनी मोटरसाइकल चालक हुन् भन्ने अनुमान गर्न सकिन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, एसपी दीपक गिरीले भिडियो बाहिरिएसँगै छानबिन शुरू भएको बताए ।
‘भिडियो अलि पुरानो जस्तो छ, कीर्तिपुर रुटमा चल्ने बस देखिएकाले त्यहीँ आसपासको हो कि भन्ने ठानिरहेका छौं’, एसपी गिरीले भने, ‘भिडियोमा देखिएका ट्राफिक प्रहरीको परिचय खुलाउने प्रयास भइरहेको छ । भिडियो जहिलेको भए पनि छानबिन हुन्छ । दोषीलाई कारबाही हुन्छ ।’ उनले भने, ‘काठमाडौंको जस्तो देखिए पनि यकिन भएको छैन । जाडोमा लगाउने युनिफर्म ज्याकेट लगाएकाले यो भिडिओ अहिलेको नभएर जाडोयामको हुनसक्छ,’ गिरीले भने, ‘यद्यपि भिडिओ सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको छ ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रियामा अर्बौको नीतिगत भ्रष्टाचार भएको खुलासा गरेका छन्। आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले यो प्रकरणले महानगरलाई एक अर्ब बढी आर्थिक क्षति हुने र ठेकेदारलाई अर्बौको फाइदा हुने तथ्य सार्वजनिक गरेका हुन् ।
मेयर शाहका अनुसार, २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले न्यून आर्थिक लाभ हुने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार चौथो वर्षसम्म वार्षिक ९८.३३ लाख र ३०औं वर्षमा ३.९० करोड रुपैयाँ मात्र महानगरले प्राप्त गर्ने उल्लेख छ । तर, १२ तलालाई १९ तला बनाउँदा थप ७ तलाको क्षेत्रफल १.२८ लाख वर्गफुट हुन्छ । जसबाट वार्षिक २३ करोड बढी भाडा आउनुपर्ने उनको दाबी छ ।
‘३० वर्षमा प्रतिवर्गफुट भाडा ६७० रुपैयाँ पुग्छ, जसबाट थप ७ तलाले मात्रै एक अर्बभन्दा बढी आम्दानी गर्नुपर्ने हो,’ उनले भने, ‘तर सम्झौताअनुसार महानगरले ३ करोड मात्र पाउँछ, जसले ठेकेदारलाई अर्बौ फाइदा हुन्छ ।’ शाहले भवन निर्माणमा धेरै अनियमितता र अवैधानिक काम भएको पनि बताए । उनका अनुसार, काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७२ मा १२ तलाभन्दा माथि नजाने गरी अनुमति दिएको थियो ।
तर, १९ तला बनाउँदा प्राधिकरणको राय र वातावरणीय प्रभाव मूल्याङ्कन नलिई नक्सापास गरिएको छ । ‘स्ट्रक्चरल इन्जिनियरको हैसियतले मैले हेर्दा NBC १०५ः२०२० मापदण्डअनुसार १९ तलाको डिजाइनमा ७० प्रतिशत भन्दा बढी column fail हुन्छ,’ उनले भनेका छन् । उनले नक्सापास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले गम्भीर त्रुटि गरेको आरोप लगाएका छन् । ‘आधिकारिक EBPS प्रणाली बिना, विभागीय प्रमुखलाई जानकारी नदिई गुरागाईले हाजिर भएको दोस्रो दिनमै नक्सापास गरे,’ शाहले भने, ‘यो नीतिगत भ्रष्टाचारको अंश हो ।’
उनले गुरागाईलाई सरकारले विशेष ‘म्यान्डेट’ दिएर पठाएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् । मेयर शाहले यो प्रकरणमा छानबिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्न तयार रहेको बताए । ‘महानगरको आधिकारिक प्रणालीमा अहिलेसम्म नक्सापास भएको छैन, यो कागजलाई मान्यता दिँदैनौँ,’ उनले भने, ‘हिल्टनको नक्सापास पनि गुरागाईले त्यही दिन गरेको रहेछ, यसको पनि छानबिन हुँदैछ ।’ उनले अनियमितता देख्ने जोसुकैलाई महानगरमा सूचना दिन आह्वान गर्दै परिचय गोप्य राख्ने प्रतिबद्धता जनाए । लोकतन्त्र दिवसको अवसरमा शाहले भ्रष्टाचाररहित समाजको शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं– आन्दोलनरत शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् ।
विगत २३ दिनदेखि माइतीघर–नयाँबानेश्वर सडक खण्डमा नाराबाजी, नाचगान गरेर आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले आज रक्तदान गरेका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् ।
शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन ।
आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि वैशाख २१ गते सारिएको छ भने एसइईको उत्तर पुस्तिका समेत परीक्षण सुरु हुन सकेको छैन ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकता घोषणा हुने भएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ । एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’
यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए । यसअघि वैशाख १५ गतेभित्र एकता गर्नेगरी तयारी गरेको थियो । तर, विभिन्न अडचन आएको राउतले बताएका छन् । दुवैपार्टी बीच एकतका लागि कार्यदल गठन गरिएको थियो । कार्यदलले दुई पार्टीबीच एकतापछि हुने पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न लगायतका विषय टुंग्याएको छ । कार्यदलका अनुसार एकतापछि नयाँ पार्टीको नाम नागरिक जनमत हुनेछ भने ढकिया चुनाव चिह्न रहनेछ । पार्टीको संरक्षक रेशम चौधरी रहँदा कार्यकारी अध्यक्ष सिके राउत रहनेछन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ सहअध्यक्ष रहने छिन् ।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन् । यस्तै, नाउपाका ४ जना छन् । एकतापछि नयाँ पार्टी प्रतिनिधिसभामा १० सिटको पार्टी हुनेछ । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए । यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए । पार्टी गठन गरेको एक वर्षमै नाउपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सांसद जितेको थियो । उता जनमत पार्टी त प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बन्यो । प्रत्यक्षमा राउतले जितेका थिए । बाँकी ५ सांसद समानुपातिकतर्फका हुन् । मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन् ।
सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।
सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् । आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबीच माइतीघरमा धकेलाधकेल भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबीच धकेलाधकेल भएको हो ।
विगत २९ दिनदेखि आन्दोलन गर्दै आइरहेका उनीहरु आज स्वास्थ्य मन्त्रालय जान लागेका थिए। तर प्रहरीले भने उनीहरुलाई रोकेको छ । न्यूनतम पारिश्रमिक माग गर्दै २९ दिनदेखि आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आइरहेका छन् । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।
आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् । उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । उनीहरू भन्छन्, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’ आवासीय चिकित्सकहरु सेवा सुविधाको माग गर्दै २८ दिनदेखि प्रदर्शनमा छन् ।
काठमाडौं । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । जम्मू–कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न आदेश दिएको हो ।
४८ घण्टाको समयसीमा सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ । भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ । बैठकपछि निर्णय सुनाउँदै भारतीय विदेशमन्त्रालयका सचिव अजय मिस्रीले अब त्यस्ता भिसाबाट पाकिस्तानीहरूले भारत यात्रा गर्न नसक्ने व्यवस्था गरिएको बताएका छन् । त्यस्ता भिसा प्राप्त पाकिस्तानीहरूलाई ४८ घण्टाभित्र भारत छाड्न भनिएको उनले बताएका छन् ।
अन्य पाकिस्तानीहरूलाई मे १ अगाडि भारत छाड्न भनिएको छ । भारत र पाकिस्तानबीच सिधा हवाइ उडान सञ्चालनमा छैन । जमिनबाट आवतजावत गर्ने एक मात्रै अटारी नाका पनि मंगलबारको बैठकले बन्द गर्ने निर्णय गरेको छ । त्यसअघि भारतमा रहेका पाकिस्तानीहरूले उक्त नाका प्रयोग गर्दै आफ्नो देश फर्कन सक्ने विदेशसचिव मिस्रीले बताएका छन् ।
जमिनको नाका पनि बन्द गरेपछि भारत र पाकिस्तानबीच यातायात सिधा सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ । बैठकले सन् १९६० मा भएको सिन्धु जल सम्झौता पनि निलम्बित गर्ने निर्णय गरेको छ । विदेश सचिव मिस्रीले उक्त सम्झौतामा अस्थायी निलम्बन गर्ने निर्णय भएको बताए ।
‘सम्झौता तत्कालका लागि निलम्बन गर्ने निर्णय भएको छ । सीमापारि पाकिस्तानले आतंकवादलाई समर्थन नत्यागेसम्म निलम्बन जारी रहन्छ,’ मिस्रीले बैठकको निर्णय सुनाउँदै भने । विश्व बैंकको मध्यस्थतामा भएको उक्त सम्झौता दुई देशबीच युद्धको समयमा पनि कायम थियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । सन्धी निलम्बनले पाकिस्तानमा सिँचाईमा ठूलो प्रभाव पर्ने बताइएको छ ।
बैठकले नयाँ दिल्लीमा रहेका पाकिस्तानी उच्च आयोगका रक्षा र सैन्य सल्लाहकारलाई अस्वीकार्य व्यक्ति (पर्सोना नन ग्राटा) घोषित गरी एक हप्ताभित्र भारत छाड्न भनेको छ । इस्लामावादमा रहेका आफ्ना रक्षा र सैन्य सल्लाहकारलाई पनि फिर्ता बोलाउने निर्णय भएको बिबिसीले जनाएको छ । उच्च आयोगमा कर्मचारीको संख्या ५५ बाट घटाएर ३० जना मात्रै कायम गर्ने निर्णय भएको बताइएको छ । मंगलबार जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ पर्यटकहरूको मृत्यु भएको थियो । यो दुई दशक यताकै ठूलो आतंकवादी हमला रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
काठमाडौँ । भारतको जम्मू-काश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ। सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो।
बहिनी र ज्वाईं सहित घुम्न भन्दै कश्मिर गएका सुदिपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर मृत्यु भएको थियो। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्। सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।
ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो ।
विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।
सीएनएनको समाचारअनुसार विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख छ । सोअनुसार संस्थाका कर्मचारी पनि कटौती गरिनेछ । ९० दिनभित्र एमसीसीका सबै कार्यक्रमहरू बन्द गरिने जानकारी दिइएको सीएनएनले जनाएको छ ।
इमेलअनुसार ३२० जनाभन्दा बढी कर्मचारी भएको यो संस्थाले योग्य कर्मचारीहरूलाई स्वेच्छिक अवकाश र स्थगित राजीनामाको विकल्प दिएको छ । प्रस्तावमा रुचि राख्नेहरूलाई अप्रिल २९ सम्म इमेल पठाउन भनिएको छ । केही कर्मचारीहरूलाई मे ५ बाट बिदामा राख्न सकिने जनाइएको छ, यद्यपि यसबारे मिति स्पष्ट गरिएको छैन ।
सन् २००४ मा कंग्रेसद्वारा सिर्जना गरिएको एमसीसीले युक्रेन एल साल्भाडोर र नेपाललगायत दर्जनौं विकासशील देशहरूलाई पूर्वाधार र नीति सुधारका लागि सहयोग गर्दै आएको थियो । एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा स्थापना गरिएको थियो । एमसीसीलाई चीनको बेल्ट एण्ड रोड पहलप्रति अमेरिकी प्रतिक्रियाको रूपमा हेरिएको छ ।
नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ। लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो। आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हुने आयोजकले जनाएको छ।
कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुंगेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहनेछन्।
जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगाेल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्नेछन्।
‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नु हुनेछ, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने छ, झाँकीमा युवाहरू नै सहभागी हुन्छ, कार्यक्रममा युवाहरूले पाकाहरूलाई छपक्कै छोप्ने छन्’, उनले भने।
कार्यक्रममा आउनेको मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनि र ठूला बसका लागि टुँडिखेल र साना गाडीको लागि रंगशालामा व्यवस्था मिलाइएको छ। जहाँ कफीसप, फुडस्टल, युवाले उत्पादन गरेका समानको स्टल हुने आयोजकको दावी छ।