२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । आज (शुक्रबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा प्रधानमन्त्री समक्ष सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नु हुन्छ ।’

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर सभापति देउवाले भने थाइल्याण्ड भ्रमणबाट शुक्रबार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका थिए । उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका थिए ।

रघुजी पन्त शिक्षामन्त्री बनेपछि शिक्षक महासंघसँग वार्ता गर्ने सरकारको पहिलो प्रयास नै असफल भएको छ ।

वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरूको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थित नभएपछि वार्ता प्रयास असफल भएको हो । मन्त्रालयले छलफलका लागि बोलाएपछि शिक्षक संघ–संगठनका केही प्रतिनिधि शुक्रबार मन्त्रालय पुगिसकेका थिए । महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी थिइन् ।

तर, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि जाने क्रममा रहे पनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका थिए । उनले भनेको विशेष कारण वार्ता टोली सरकारका तर्फबाटै गठन हुनु थियो । त्यस्तै मन्त्रालय पुगेका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुदकुमार सिंहले सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्षलगायतको टोली मन्त्रालयको गेटबाटै फर्किएको जानकारी दिए । वार्ताको लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली आफूहरुले तयार नगरेको भन्दै महासंघले बैठक बहिष्कार गरेर गेटबाटै फर्केको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

‘आज नव नियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ अध्यक्ष सुवेदीले भने । मन्त्रालयले २५ सदस्यीय टोली बनाएको भनेर महासंघले आपत्ति जनाएको छ । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंह सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि आजको वार्ता भाँडिएका बताए ।

यसैबीच शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधिलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गरेका छन् । शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरी समस्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताए। आफूहरूसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षक महासंघ निरन्तर आन्दोलनमा छ । शुक्रबार २४औँ दिन पनि उनीहरूले बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको जिकिर गरे । लिङ्देनले आफूसँग सो विषयको रेकर्ड समेत भएको जिकिर गरेका छन् ।

‘हामीसँग रेकर्ड छ, गृहमन्त्री ज्यू । भाटभटेनीको लुटपाटमा तपाईकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्, किन छाड्नु भयो तुरुन्तै ?’ उनले पक्राउ परेका सहमहामन्त्रीका छोराको नाम भने खुलाएनन् । सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताए । ती कपडा लिएर जाने व्यक्तिले कुरा खोलिदिने भनेर धम्क्याएपछि उनलाई पनि दुई घण्टामा नै प्रहरीले छाडेको लिङ्देनेको दाबी छ ।

‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो,’ उनले भने, ‘पछि थाहा भयो, तपाईंको प्रहरीले भिडियोमा हेरे पक्रियो । तर, नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नु भयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो ।’ लिङ्देनले उक्त विषयबारे सत्यतथ्य सार्वजनिक हुन जरुरी रहेको बताएका छन् ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए ।

उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए। मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमन्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे । उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए।

उनले भने, ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीं समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नु पर्दैन ? पर्छ नि । तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरें, त्यसपछि फेरि सूचना जारी गरें । तेस्रो पटक फेरि सूचना जारी गरेँ, अस्ती भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्नँ मैले । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिँड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र ? इत्ति। हाम्रो संस्थाभन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।’ उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले दैनिक सरकार परिवर्तनको हल्ला चलाएर देशमा अस्थिरता सिर्जना गर्ने प्रयत्न भइरहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले धमिलो पानीमा माछा मार्ने प्रयत्न भएको बताए । ‘दैनिक सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदै छ। विभिन्न वादका नाममा अशान्ति मच्चाएर धमिलो पानीमा माछा मार्ने प्रयत्न विभिन्न कोणबाट भइरहेको देखिन्छ’, उनले भने, ‘त्यसलाई परिवर्तनका पक्षधर सबै शक्तिले निस्तेज पार्न आवश्यक छ।’

उनले नेपालको राजतन्त्रमा संवैधानिक भएर बस्ने स्वभाव नभएको बताए । ‘नेपालको राजतन्त्रमा संवैधानिक भएर बस्ने स्वभाव नै छैन । राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले मुलुकलाई गणतन्त्रमा पुर्‍याएको हो’, उनले भने, ‘नेपाली कांग्रेसलाई दिशा बदल्न बाध्य पारिएको हो । यसका लागि राजतन्त्र आफै दोषी छ ।’

घिमिरेले राजावादीलाई आन्दोलन गरेर पूर्वराजालाई नारायणहिटीमा पुर्‍याउने नसोच्न चेतावनी दिए । उनले चिना, टिपन हेर्न आवश्यक नभएको बताए । ‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने नसोचे हुन्छ, चिना टिपन नहेरे हुन्छ । त्यसका लागि गरिएको सम्पूर्ण प्रयत्न व्यर्थ हुनेछन्’, उनले भने । घिमिरेले राजनीतिक आन्दोलन केटाकेटीको खेल नभएको टिप्पणी गरे ।

‘अमेरिका जस्तो देश खोजेर नेपालमा सम्भव छैन’
सत्तारुढ नेपाली कांग्रेसले देशमा व्यवस्था मात्रै परिवर्तन नभइ अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको दाबी गरेको छ। आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको जिकिर गरे।

‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन,’ उनले भने, ‘व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं।’ संसारको तुलना गर्ने हो भने अमेरिका जस्तो देश नेपालमा खोजेर सम्भव नहुने तर्क उनले गरे।

‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्‍यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं,’ घिमिरेले भने, ‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला।’

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन गर्न खोजेको चर्चापछि प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच फोनवार्ता भएको छ ।

देउवाकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले थाइल्याण्डबाट फर्किने क्रममा गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन् । यूएनस्क्यापको सम्मेलनमा अध्यक्ष राष्ट्रको हैसियतमा आरजुको भ्रमणमा देउवा संलग्न भएपछि उनको स्वास्थ्य उपचारको वहानामा ‘राजनीतिक उपचार’ को खोजी भएको चर्चा भएको थियो ।

‘अलिकति क्वायर्ड भएपछि अलिअलि इन्टरटेनमेन्टका लागि पनि यस्तो न्युज आउँछ । तर, सरकार परिवर्तन गर्ने त नेपालभित्रै बसेर गर्ने होला, विदेशमा बसेर त यहाँको सरकार परिवर्तन हुँदैन’, परराष्ट्रमन्त्री राणाले भनिन्, ‘यसबारे हिजो (बिहीबार) बेलुका सभापति र प्रधानमन्त्री ज्युको कुराकानी भएको छ । यस्तो केही पनि छैन ।’ ओलीले के हो भन्दै प्रश्न गरेपछि आफूहरू छक्क परेको आरजुले बताइन् । देउवा र ओलीको कुराकानीबारे उनले भनिन्, ‘उहाँले (देउवा) ले के हो के हो भन्नुभयो ।’

थाइल्याण्डमा कुनै पनि दुई पक्षीय भेटघाट नभएको बताउँदै उनले सभापति देउवाको व्यक्तिगत भ्रमण तथा उपचारका लागि गएका र आफू कार्यक्रमका लागि त्यहाँ गएको बताइन् । त्यसअघि बिमस्टेक बैठकमा गएका बेला दुई पक्षीय भेटघाट भएको तर यो भ्रमणमा केही पनि नभएको उनले बताइन् ।

जनकपुरधाम । धनुषामा विष सेवन घटनामा तीन छोराछोरीको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो।

जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् । गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित आमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैं पनि सेवन गरेको खुलेको छ ।

९ महिनाकी गर्भवती पवितालाई बिष सेवनपछि शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए। पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन् ।

काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ ।

ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले भने, ‘हामीले पनि भिडियो हेर्‍यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’

यसअघि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ । उनीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो । त्यसक्रममा त्यो भिडियो केही महिना पुरानो भएको खुलेको थियो ।

त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएको हो ।

 

अमेरिकाको ‘सरकारी दक्षता विभाग’ले खर्च कटौतीका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अन्तर्गतका केही परियोजनाहरू बन्द गरिने निर्णय गरे पनि नेपालसहित चार देशमा भने विकासका कामहरू यथावत् रूपमा अगाडि बढ्ने भएका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्कको नेतृत्वमा रहेको डोजले हालै एमसिसीका कर्मचारीहरूलाई इमेलमार्फत परियोजना स्थगनसम्बन्धी सूचना पठाएको थियो । त्यसपछि एमसिसी अनुदान प्राप्त गरेका देशहरूमा परियोजना रोकिने वा नरोकिने भन्ने अन्योल उत्पन्न भएको थियो । तर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एमसिसीका एक कर्मचारीलाई उद्धृत गर्दै नेपाल, मंगोलिया, सेनेगल र आइभोरी कोस्टमा परियोजना नरोकिने निश्चित भएको जानकारी दिएको छ ।

नेपालमा एमसिसी परियोजना विकासको दीर्घकालीन योजनाका रूपमा अघि बढिरहेको छ । अमेरिकी सरकारले प्रदान गर्ने ५० करोड अमेरिकी डलर अनुदान सहयोग अन्तर्गत नेपालले विद्युत प्रसारण लाइन निर्माण तथा पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । त्यसअनुसार, ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन विस्तारमा खर्च गरिनेछ, जसले देशको ऊर्जा प्रणालीलाई सुदृढ बनाउने विश्वास लिइएको छ । बाँकी ५ करोड २० लाख डलर डोटीको धानखोला, भालुवाङ, लमही हुँदै शिवखोला खण्डको राजमार्ग स्तरोन्नति कार्यमा प्रयोग गरिने छ । यी कामहरूका लागि ठेक्का प्रक्रिया समेत अघि बढिसकेको एमसिसीले जनाएको छ ।

नेपाल मात्र होइन, मंगोलिया, सेनेगल र आइभोरी कोस्टमा पनि एमसिसी परियोजना महत्त्वपूर्ण रूपमा अगाडि बढिरहेको छ । मंगोलियामा करीब ३५ अर्ब रुपैयाँ बराबरको लगानीमा अत्याधुनिक पानी प्रशोधन प्लान्ट निर्माणाधीन छ, जसले राजधानीमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्य राखेको छ । सेनेगलमा ५५ अर्ब रुपैयाँ लागतमा ग्रामीण क्षेत्रमा विद्युत् विस्तार गर्ने प्रसारण लाइन परियोजना सञ्चालनमा छ । यसले सेनेगलको दूरदराजका क्षेत्रमा ऊर्जा पहुँच पुर्‍याउनेछ । उता आइभोरी कोस्टमा भने शिक्षा क्षेत्रमा योगदान दिने उद्देश्यले विद्यालय निर्माण कार्य भैरहेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको सुरुवातमा विदेशी सहायता कार्यक्रमहरूको पुनरावलोकनका लागि कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि एमसिसीलाई ९० दिनको समीक्षा अवधिमा राखिएको थियो । यस क्रममा अधिकांश देशमा कार्यक्रमहरू स्थगित गरिने भनिए पनि नेपाललगायत चार मुलुकमा भने काम रोक्न आवश्यक नरहेको अमेरिकी सरकारको पत्रमार्फत स्पष्ट पारिएको हो ।

यही विषयमा नेपालमा एमसिसी परियोजना कार्यान्वयन गरिरहेको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए नेपाल) ले पनि गत चैत ८ गते अमेरिकाबाट आएको पत्रका आधारमा कामहरू यथावत् रूपमा सञ्चालन गर्न सकिने भनेर विज्ञप्ति जारी गरिसकेको छ ।

काठमाडौं । हालैको सुख्खा मौसम र भारतबाट रातको समयमा विद्युत् आयातमा आएको कमीका कारण देशभर विद्युत् आपूर्तिमा गडबडी देखिन थालेको छ । विशेषगरी साँझको ‘पिक आवर’ मा औद्योगिक क्षेत्र विद्युत् अभावमा परेको छ भने काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बारम्बार लोड जान थालेको हो ।

यो अवस्थाले सर्वसाधारणमा ‘लोडसेडिङ फर्किन लागेको त होइन ? ’ भन्ने चिन्ता बढाएको छ । कारण स्पष्ट छन्- नयाँ कार्यकारी निर्देशकको आगमनसँगै व्यवस्थापन पक्षमा कमजोरीको आशंका गरिएको छ, विशेषगरी अघिल्लो कार्यकालमा कुलमान घिसिङले विद्युत् व्यवस्थापनमा देखाएको चुस्तीको तुलनामा अहिलेको स्थिति फरक देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, हाल देखिएको विद्युत् आपूर्ति समस्याको पछाडि तीन मुख्य कारण छन् :-

१. प्राकृतिक प्रभाव – चैत १५ यता आएको हावाहुरी, वर्षा र आँधीका कारण विद्युत् लाइनमा समस्या देखिएको ।

२. प्राविधिक कामहरू – तार अन्डरग्राउन्डमा लैजाने परीक्षण, हाँगा काट्ने कामलगायत नियमित मर्मत ।

३. भारतबाट आपूर्तिमा कमी – पछिल्ला ४-५ दिनदेखि भारतले रातको समयमा आपूर्ति घटाएको ।

शिल्पकारले प्रष्ट पारे, ‘सर्वसाधारणको लाइन काटिएको होइन, प्राविधिक समस्या हो । मर्मतका लागि सूचना जारी भइरहेका छन्, जानकारी पनि दिइन्छ ।’ यहीबीच ढल्केबर र थानकोटका सबस्टेसनमा आगलागी हुँदा समस्या झनै चुलिएको छ। यसले विद्युत् प्राधिकरणको तयारी र व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ ।

भारतबाट बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत ३५० मेगावाटसम्म आपूर्ति हुने अनुमति भए पनि हाल जम्मा ५० मेगावाट मात्र आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । सुख्खा मौसममा नदीनालाको बहाव घट्दा आन्तरिक जलाशय र सौर्य ऊर्जा स्रोतहरू मिलाएर औसत उत्पादन १,१७५ मेगावाटमा सीमित छ । तर माग भने पिक आवरमा २,०७७ मेगावाट पुगेको छ । उत्पादन र मागको यो अन्तरले नियमित आपूर्ति असहज बनाइरहेको छ ।

हिमाल पग्लिँदै जाँदा माथिल्लो तामाकोशीमा उत्पादन बढेको र त्यसले केही राहत मिलाउने प्राधिकरणको विश्वास छ । ‘यो अवस्था अस्थायी हो, छिट्टै सामान्य अवस्थातर्फ फर्किन्छौं,’ शिल्पकारले भने । यसबीच, सर्वसाधारण र उद्योग दुवै क्षेत्रमा विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो बनाउन प्राधिकरणको व्यवस्थापन चुस्त बनाउने माग बढ्दो छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।