
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
रवीन्द मिश्रसँगै दुर्गा प्रसाईको पनि पाँच दिन म्याद थपिएको छ । राजसंस्था पुनस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईमाथि पनि यही कसुरमा म्याद थप भएको हो । यसअघि अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौं पटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो । अहिले तीनकुने घटनामा ५६ जना प्रहरीको हिरासतमा छन्। जसमध्ये २५ जनामाथि राज्यविरूद्धको कसुरमा र अन्य बाँकीविरूद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको छ । प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ ।
काठमाडौं । सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा विकल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलसहित म्याक्स इन्टरनेशनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गरेको हो ।
विशेषले अख्तियारको दावीबमोजिम ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसला गरेको छ । जसमा विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनलाई जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरी प्रतिवादीबाट असुलउपर गर्नुपर्ने फैसला गरेको छ ।
अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ करोड ३४ लाख १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ । पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ ।
अन्य प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापालाई भने विशेषले सफाइ दिएको छ । उनीहरु खरिद प्रक्रियामा संलग्न देखिए पनि खरिद कार्यमा कुनै निर्णायक भूमिका नदेखिएको फैसलामा उल्लेख छ । सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ३० वैशाखमा पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिको ओज खस्किन थालेको बताएका छन्। आज (आइतबार) सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले विभिन्न ‘अनियमितता’ बारे निष्कर्षमा पुग्न नसक्दा समितिको गरिमा घटिरहेको बताएका हुन् ।
‘डेडिकेटेड र ट्रंकलाइनको छलफल भयो, तर त्यसको कुरा कहाँ पुग्यो ? एनसेलको कुरा कहाँ पुग्यो ? यसरी प्रत्येक दिन हाम्रो ओज कम हुँदैछ । लेखा समितिले भ्रष्टाचार नियन्त्रणभन्दा बढाउने काम भयो । डन्डी र सिमेन्टको भाउको कुरा के भयो ?’, सिंहले प्रश्न गरे ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सबैलाई थाहा भए पनि समितिले सम्बोधन गर्न नसकेको आरोप लगाए । पछिल्लो समिति ’व्यापारीको साथी’ बनिरहेको उनको आरोप छ। ‘पोखरा विमानस्थलमा भ्रष्टाचार भएको सबैलाई थाहा छ । दलको नेता र सरकार समस्यामा पर्छ भनेर समितिमा पर्न थाल्यो । व्यवस्थामाथि कुरा उठेको भ्रष्टाचारले हो । रेगुलर मिटिङ राखेर यो इस्यू सम्बोधन गर्नुपर्छ । लेखा समिति अहिले व्यापारीहरूको साथी भएको छ’, उनले भने । सांसद सिंहले पोखरा विमानस्थलको छानबिन चाँडो सक्नुपर्नेमा जोड दिए ।
धादिङको गजुरी गाउँपालिका–२ मा श्रीमतीको हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन्। प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको छ।
चूडामणि कँडेलको दुईतले घरको भुइँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट तथा बाथरुमभित्र शव भेटिएको थियो । घाँटीमा डोरी कसिएको अवस्थामा भुइँमै कँडेलको शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कँडेलको हत्या गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान पक्राउ परेको धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । ‘प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट, थिङ र मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका– ७ बाट पक्राउ गरिएको हो । ‘तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ उनले भने ।
‘मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबीच बोलचालै बन्द हुने गरी सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ ‘सुपारी’ दिएका रहेछन् । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएका रहेछन्,’ प्रहरी नायब उपरीक्षक हमालले भने, ‘सुस्मितालाई मार्ने धेरै पटक प्रयास गरे । लामो समयसम्म प्रयास गर्दा पनि उनीहरूले सुस्मितालाई मार्न सकेनन् । उनीहरूको योजना विफल बन्यो ।’
प्रहरी नायब उपरीक्षक हमालका अनुसार श्रीमती मार्ने सुपारी लिएकाले काम गर्न नसकेपछि कँडेलले उनीहरूलाई छिटो काम गर्न दबाब दिएका थिए । काम गर्न नसके चार लाख रुपैयाँ फिर्ता गर्न समेत दबाब दिइएको पाइएको छ । धेरै नै दबाब दिएपछि सुपारी दिने कँडेललाई नै मार्ने योजना बनाएर उनको घरमा गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, प्रजाको कोठाबाट कँडेलले दिएको एक लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफपाइन्ट, अभियुक्तहरूले मृतक कँडेलको फुटाएर फालेको फोन प्रहरीले बरामद गरेको छ । घटनापछि अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । फरार भएपछि स्थानीय बजारबाट तीनै जनालै एकै किसिमको जुत्ता किनेको समेत प्रहरीले पत्ता लगाएको छ ।
त्यसक्रममा मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल बीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन्, एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन। कँडेल मारिनु दुई साता अघि मात्र उनी गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएकी थिइन्। त्यही कारण पनि स्थानीयले श्रीमतीमाथि पनि अनुसन्धान गर्न भनेका थिए । तर, जाँचका क्रममा कँडेलकै अर्को आपराधिक योजनाको पटाक्षेप भयो । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन् भने पोष्टमार्टपछि परिवारले अन्त्येष्टि गरेका छन् । कँडेल गाउँमा खेती किसानी गर्थे । छोरा क्यान्डामा थिए भने छोरी काठमाडौंमा बसेर पढ्दै थिइन् ।
काठमाडौं । माध्यमिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौँमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।
त्यसैगरी आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए। यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ।
यसैबीच, काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेण्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुने । उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उर्तीण गरेकी थिइन् । उनका श्रीमान विद्यालयका शिक्षक छन् ।
तीनकुने घटनामा संलग्न ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट कक्षा १२ को परीक्षा दिइरहेका छन् । १९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए। बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो चैत १५ मा भएको प्रदर्शनमा भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका थिए ।
मातहतका प्रहरी वृतमा रहेका थुनुवाहरूलाई पनि भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षामा सहभागी गराएको एसपी बोहराले जानकारी दिए। परीक्षामा दिनेहरूमा सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन छन् ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै ‘उत्सवको मुडमा घुमीघुमी हिँडेको’ टिप्पणी गरेका छन्।
आफूले गर्ने सरकारको आलोचना प्रधानमन्त्रीलाई असफल बनाउने उद्देश्यले नभएको पनि उनले बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीको आलोचना गर्ने क्रममा बिँड तात्ने, ताप्के नतात्ने गरेको भनेर टिप्पणी गरेका छन् ।
आफूहरुलाई बिँड र प्रधानमन्त्रीलाई ताप्केको संज्ञा दिँदै उनले भनेका छन्, ‘हामी चाहन्थ्यौँ प्रधानमन्त्रीले युद्धस्तरमा काम गरुन्,् युद्धस्तरको अर्थ नै फरक हुन्छ मनोविज्ञान नै फरक हुन्छ, उसलाई यति धेरै परिणामको भोक हुन्छ, चिन्ता र डर हुन्छ उसले अरू कुनै पनि सुविधाको प्रयोग गर्दैन, त्यसैले सोच्छ, फोकस हुन्छ । यसरी काम गर्नुपर्छ भनेर हामीहरूमा छटपटी भइरहेको बेलामा हामी बिँड तात्ने, ताप्के पूरै उत्सवको मुडमा छ, आनन्द छ, घुमीघुमी हिँडेको छ, प्राथमिकता पनि छैन ।’
उनले प्रधानमन्त्रीले आफूसँग वर्षौंसम्म समय उपलब्ध छ भने जस्तो ठानेको समेत टिप्पणी गरेका छन् । ‘जे मन लाग्छ बोलेको छ, कता हिँडेको हो थाहा छैन । वर्षौंसम्म समय उपलब्ध छ भनेको जस्तो ठानेको छ,’ थापाले भनेका छन् । अघिल्ला प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार जस्तै अहिलेको सरकारले पनि ढिलासुस्ती गरिरहेको आरोप उनले लगाए । ‘हिजो प्रचण्डको सरकार सफल बनाउन खोजियो तर बिँड तात्यो ताप्के तातेन के गर्ने ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘ठ्याक्कै अहिले पनि त्यस्तै भइरहेको छ ।’ उनले आफूहरूमा जस्तो छटपटाहट जिम्मेवारी बोकेकाहरुमा नभएकाले सरकारको आलोचना गर्ने गरेको प्रष्ट्याएका छन् । उनले भनेका छन्, ‘मैले बेलाबेलामा राख्ने प्रश्नहरू सरकार असफल बनाउँ, यसलाई न्याकौं भनेर होइन ।’ आफूले प्रश्न गर्दा कतिपयलाई असहज लागे पनि केपी शर्मा ओली नेतृत्वको सरकार सफल होस् भन्ने चाहेको उनले बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरुसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
ध्यानाकर्षणपत्रमा दलीय भागवण्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने माग गरेका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।
प्रधानमन्त्री ओलीले आफूले द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसका प्रक्रियामा अविश्वास नगर्न आग्रह गरे । राजनीतिक असमझदारीका कारणले यो प्रक्रिया लामो समय लिएको स्पष्ट गर्दै बलात्कार जस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने उदघोष गरे । ‘मलाई पीडितहरुसँग खेल्नु, छक्याउनु र अल्मल्याउनु छैन । संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने दिशामा जाउँ भन्ने मात्रै मेरो ध्यान हो ।’
प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुँदा नहुँदै पनि मेरो पार्टी नेकपा (एमाले) पनि एक प्रकारले पीडित पार्टी हो । शान्तिका पक्षमा लाग्दा लाग्दै हाम्रा नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको छ । समग्रमा भन्ने हो हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ । त्यसबेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन् । पीडक पनि त्यहीँभित्र छन् । देशै पीडित छ । अब यस्ता शृङ्खला सँधैका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो, यो प्रक्रियामा नआत्तिएर धैर्यपूर्वक, असल र सही परिणाम ल्याउनका निम्ति एक भएर लाग्न म आग्रह गर्छु ।’ भेटमा प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट शेयर गरेपछि क्याथोलिक समुदायबाट कडा विरोध भएको छ।२१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा रहेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउने फोटो सार्वजनिक गरेका हुन् । ट्रम्पले शेयर गरेको उक्त तस्वीरमा उनी पोप जस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् । तस्वीरमा उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएका छन् ।
न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि उनीहरूको आस्थाको मजाक उडाएको आरोप लगाएको छ । केही दिन अघि ट्रम्पले पत्रकारहरूसँग हाँसो गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु ।’ यद्यपि राष्ट्रपति ट्रम्प यसरी विवादमा तानिएका पहिलो पटक भने होइन। एक वर्षअघि पूर्व राष्ट्रपति जो बाइडनले प्रो–एबोर्शन ¥यालीमा ‘साइन अफ द क्रस’ बनाएका कारण क्याथोलिक समुदाय रुष्ट भएको थियो ।
भ्याटिकनले भने हालसम्म ट्रम्पको उक्त तस्वीरमा कुनै प्रतिक्रिया दिएको छैन। भ्याटिकनमा बुधबारदेखि नयाँ पोपको चयन प्रक्रिया सुरु हुन लागेको छ । न्यूयोर्क क्याथोलिक सम्मेलनले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘मिस्टर प्रेसिडेन्ट, यो फोटोमा केही पनि रमाइलो छैन । हामीले भर्खरै आफ्ना प्रिय पोपलाई बिदा गरेका छौँ र अब एक गम्भीर निर्वाचन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो आस्थाको मजाक नउडाउनु होस् ।’
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएको, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।
आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे । घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गंगाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमित्रा विसी थिए ।
प्रिसा साहको मृत्युबारे संसद्मा गृहमन्त्रीसँग जवाफ माग
सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन्। भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी छन् ।
यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाया साहको मृत्यु प्रकरणपछि सरकारले समयमै चासो देखाएको बुझिएको बताए । केआईआईटी विश्वविद्यालयमा करिब १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गरे। चासो देखाएर मात्रै नहुने अवस्था आएको हो कि भन्नेमा ख्याल गर्न उनको आग्रह छ । नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलबासे सरकारले गम्भीर रुपमा चासो लिएर त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताइन् ।
‘म गृहमन्त्रीसँग जवाफ माग गर्दछु’ उनले भनिन्, ’ उनले भनिन्, ‘किन बारम्बार घटना भइरहेका छन ? यसबारे समिति बनाएर छानबिन गरियोस् ।’ नेकपा एमालेकी सांसद सुमित्रा बिसी भविष्य बनाउँछु भनेर विदश पढ्न गएकाहरूको सुरक्षामा नेपाल सरकारले पनि ख्याल गर्नेपर्ने आग्रह गरिन् । नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साह केआईआईटी विश्वविद्यालयमा कुनै न कुनै समस्या रहेको बताउँछिन् । सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने उनको आग्रह छ ।
‘जुन देशमा, जुन विश्वविद्यालयमा, जुन शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन् । सुरक्षाको अनुभुति छैन, प्रत्याभूति छैन त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न । एनओसी दिनुहुन्न भन्ने माग राख्न चाहन्छु ।’ उनले भनिन् । अन्याय नेपाल सधैं सहन तयार नरहेको भन्दै उनले एनओसीको विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । केआईआईटी विश्वविद्यालयमा विद्यार्थी नपठाउन अभिभावकलाई समेत उनको आग्रह छ। ‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपढाउनको लागि म यही सभामार्फत नेपाली अभिभावक सबैलाई अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु’, उनले भनिन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि केआईआईटी विश्वविद्यालयमा उस्तै घटना चार महिनामै दोहोरिएको भनेर सरकारको ध्यानाकर्षण गरे ।
काठमाडौं । हेटौँडामा शुक्रवार गुड्दा–गुड्दै सडकमा भासिएको गाडी अझै भेटिएको छैन ।





