
काठमाडौँ । मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटघाट गरेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए ।
त्रिपाठीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि प्रतिशोधका शिकार भएको बताएका छन् ।
‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भनेका छन्। ‘खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीँ-चेतना भया ।’
त्रिपाठीको यो स्टाटसमा प्रतिक्रिया जनाउँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले धन्यवाद दिएका छन् ।
बारा । मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।
कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोलाएर दुर्व्यवहार गरेको अधिकृत जयसवालले बताएका छन् । मौखिक आदेशको भरमा कानुनविपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुःखेसो पोखेका छन् ।
कुटपिटको विषय लिएर प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् । सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् भने नगरपालिकाद्वारा प्रदान गरिने दैनिक काम लिएर जाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।
यस बर्ष लागेको बिश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवालगायत नगरको सरसफाई शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो । तर, मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक–पटक दवाब दिँदै आएका थिए । त्यसैगरी बोर्डको निर्णय बिना वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले बताए ।
गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोहको अगुवा महिला ममता शर्माले पटक–पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए । मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दवाव दिएको थियो । ‘मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याइएको छ अरु कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने भनेर मैले जवाफ दिए पछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरे,’ अधिकृत जैसवालले भने ।
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमुसेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छिन् । मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारीलाई आफ्नो घरायसी नोकरको जस्तो व्यबहार गर्ने गरेको बताइन् । ‘मेलाको लागि छुट्याइएको भन्दा बढी रकम प्रशासकीय अधिकृतले कसरी र कहाँबाट दिन्छ ? सरसफाइमा नेपाल प्रहरी सशस्त्र प्रहरीलाई र केही अतिथिलाई पानी ख्वाउन १९ लाख कसरी खर्च भयो ?’ उनको प्रश्न छ । जसका कारण कानुन बिपरित भुक्तानी नदिएकै कारण मेयर र उनको समर्थकले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको उपमेयर सेहरले दाबी गरिन् । सो कुटपिट पछि अधिकृत जैसवाल भाग्छन् र मेयर कलवारले आफ्नो पकेटका एक जना अधिकृत ल्याएर करोडौं कुम्ल्याउने दाउमा रहेको पनि उनको आरोप छ ।
यसरी मेयर र उनका समर्थकले कुरा नमान्दा एक महिना अघि योजना प्रमुखलाई समेत हातपात गरेको उपमेयर नजमु सेहरले बताएकी छिन् । मेयरका छोरा र उनको समर्थक योजना प्रमुख नन्दकिशोर साहसँग जथाभावी कार्यादेश मागेको र नदिएपछि अफिसको एकथान कम्प्युटर तोडफोड गर्नुका साथै कुटपिट गरेको उनले जानकारी दिइन् । अधिकृत कलवारलाई कुटपिट गरी मेयर कलवार अर्को अधिकृत ल्याउन मन्त्रालय गएका छन् । तर अब बजेट कार्यान्वयन गर्न दुई महिना मात्र समय बाँकी छ । मेयरले नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउँछ भने उनलाई नगरको गतिबिधि बुझ्नै एकमहिना लाग्छ यस्तोमा सबै रकम फ्रिज हुनुको बिकल्प नभएको उपमेयर सेहरको भनाइ रहेको छ ।
केही दिन अघि जिल्ला समन्वय समितिका सभापतिको रोहवरमा असार मसान्तसम्म नगरको प्रमुख प्रशासकीय अधिकृतमा हरिओम जैसवाललाई नै रहन दिने साउनमा अर्को अधिकृत ल्याउने छलफल भएको थियो तर जैसवालले भ्रष्टाचार गर्न जथाभावी भुक्तानी नदिएको कारण मेयरले मनपरी गरिरहेको उपमेयर सेहरले खुलासा गरेकी छिन् । नगर कार्यपालिका बोर्डमा रहेका २१ जनामध्ये २० जना आफूसँग भएपनी मेयर कलवार एक्लै आफ्नो निजी सम्पतिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन् ।
आफ्नो ब्यक्तिगत स्वार्थ पूर्तिका लागि प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने मेयर कलवारविरुद्ध कडा कारबाहीको माग गर्दै नगरका कर्मचारीहरु आन्दोलनमा छन् । आन्दोलित कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । मेयर किशोरीप्रसाद कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो।
https://dvprogram.state.gov/ESC मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका हो।
हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिन कार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५२ पैसा र बिक्रीदर २० रुपैयाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३२ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाएको छ ।
काठमाडौं । देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । आज (आइतबार) कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
गए राति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । गए राति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताए ।
आज देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सीसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । आज दिउँसो पनि काठमाडौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।
अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यस कारण बादल लाग्ने र पानी पर्ने भइरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मिहिनेतले समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना प्रारम्भ हुने समय छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सेयर तथा लगानीबाट लाभ मिल्नेछ। बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो भेटघाट तथा खानपानकाे आनन्द प्राप्त हुनेछ। तारिफयाेग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताकाे अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हाैसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिका लागि याेजना बनाउने समय छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मका प्रेरक र सहयाेगी बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि टाढै रहनुहाेला।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।





