काठमाडौं । शनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ भन्दै । ‘तिमीलाई’को सट्टा कोही ‘हजुरलाई’, कोही ‘तँलाई’, कोही ‘मलाई’, कोही ‘उनलाई’ सम्बोधन गरिरहेका थिए । सन्दर्भ थियो, जीवनकुमार प्रसाईंले लेखेको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’को लोकार्पण ।
नेपालयले आफ्नै प्रांगण आरशाला, कालिकास्थानमा आयोजना गरेको दुई दिने पुस्तक मेलाको आरम्भ प्रसाईंको पुस्तक लोकार्पणबाट भएको थियो ।
आजका मानिसको भागदौड, आपाधापी, हस्याङफस्याङ, निराशा, एक्लोपन, उदासी धेरै देखेकाले आफूले नयाँ पुस्तक लेखेको लेखक प्रसाईंले बताए । ‘नाम मेरो जीवन, मेरो लेखन पनि जीवनकै वरिपरि घुमेको छ,’ लेखक प्रसाईंले भने, ‘जीवन वरदान हो, तर हामीले जीवनलाई नचाहिँदो तनाव बोकाएका छौँ ।’
सबतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा छ तर अब इमोसनल इन्टेलिजेन्स (ईआई) पनि महत्वपूर्ण सवाल भएको बताउँदै लेखक प्रसाईंले भने, ‘भावनात्मक बुद्धिमताविना समूहमा कार्य गर्न, सामाजिक हुन गाह्रो हुन्छ ।’
लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन जिउने काइदा’ पाठकको अत्यधिक रोजाइको पुस्तक हो, जसको नवौं पुनःमुद्रण भर्खरै बजारमा आएको पब्लिकेसन नेपालयले जनाएको छ ।
वैज्ञानिक अनुसन्धाता प्रसाईंका ‘सधैँ तन्नेरी’, ‘वरिपरि नै सर्वोपरि’, ‘धेरैको धपेडी’ पुस्तक पनि नेपालयबाटै प्रकाशित छन् ।
हलमा उपस्थितमध्ये अनिता कोइरालालाई लेखकले पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । अनिता कोइराला साहित्यकार तथा समीक्षक हुन् ।
‘फुल टाइम राइटिङ गर्छु भन्नेहरुका लागि जीवनकुमार प्रसाईं जस्ता लेखक चुनौती र दृष्टान्त एकसाथ हुन्,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘वैज्ञानिक सन्दर्भ र उद्धरण दिँदै अत्यन्त सजिलो र रसिलो सूक्तिमय भाषामा लेख्न सक्ने प्रसाईं राम्रो रचना, मीठो नेपाली भएका नेपाली लेखकमध्ये पर्नुहुन्छ ।’
२३१ पृष्ठको पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकमबाट तथा विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् ।
काठमाडौं । कवि तथा कलाकार जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान गरिएको छ ।
गत शनिबार २६औं जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापनको क्रममा खत्रीलाई सम्मान गरिएको हो ।
खत्री सहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलिप बान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवको क्रममा रातो कार्पेट सहित सम्मान गरिएको थियो ।
जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो । सन् २०२० मा कोरियामा रहेर कविता लेखिरहेका ३५ नेपाली कविहरूको ७० कविता वटा कविताको संग्रह ‘यो मेशिनको सहर हो’ प्रकाशित भएको थियो । त्यही कृतिको आधारमा डकुमेन्ट्री ‘मेशिनको देशमा’ निर्माण गरिएको थियो । लि गिजु र मोहन कार्कीले कोरियन भाषामा अनुवाद र कवि पराजित पोमुले सम्पादन गरेको यो कृतिले चर्चा पाएको थियो ।
आयोजकका अनुसार चलचित्र महोत्सव लागि विश्वभरबाट २ हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए । महोत्सवमा ५७ देशका २२४ चलचित्रहरू (१४८ फिचर चलचित्रहरू र ७६ छोटो चलचित्रहरू) प्रदर्शन गरिएका थिए । ३० अप्रिलदेखि ९ मेसम्म भएको अन्तर्राष्ट्रिय महोत्सवमा ‘मेसिनहरूको देशमा’ ले उत्कृष्ट हुँदै समापन शो पाएको थियो ।
१२ वर्षदेखि कोरियामा रहेका खत्री रोजगारीसँगै साहित्य क्षेत्रमा सक्रिय छन् । आफूले अपेक्षा गरेको भन्दा बढी ‘रेड कार्पेट सम्मान’ पाएको कवि खत्रीले बताए ।
‘यो सम्मान पुस्तकमा समावेश सबै कवि, कोरियामा रहेर कविताकर्म गरिरहनु भएका आम नेपाली कविहरूको पनि हो । यो सम्मान, नेपालकै सम्मान हो,’ उनले भने ।
बादल लागेपछि सर्ग (आकाश) गर्जन्छ । बादल लागेकै बेला चिर्को पर्छ । हुरी चल्छ । आँधी आउँछ । असिना पर्छ । बादल विना न चिर्को (चट्याङ) पर्छ न असिना झर्छ ।
बादल विना न सर्ग गर्जन्छ न त आँधी आउँछ न असिना झर्छ, न हिउँ पर्छ । बादल दौडेकै बेला गड्याङगुडुङ गर्जन गति पछ्याउँदै चिर्को पर्छ । असिना झर्छ । हुरी चल्छ । बादलसँगै लर्को लाग्छ– हिउँ, हुरी, झरी, आँधी, असिना, चिर्को ।
धर्तीभन्दा कति माथि र सर्गभन्दा कति तल बादल बस्छ ? जवाफको जिम्मा जानभानलाई । सर्वसाधारणलाई यति थाहा छ कि, बादल बास सर्ग हो ।
पचास दशक थालनीको कुनै दिन बादल धर्तीमा झरेको छ भन्ने रोल्पा रुकुमतिर खासखुस चल्यो । संयुक्त जनमोर्चा, नेपाल खलकमा चलेको खासखुस खल्लीबल्ली दिन दुई गुना त रात चौगुना बढ्यो ।
जनमोर्चा भनेको संयुक्त जनमोर्चा नेपाल थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र)को चुनावी मोर्चा । जसको मूली शुरूमा पम्फा भुसाल थिइन्, पछि डा. बाबुराम भट्टराई ।
आफ्नै गाउँमा बादल आउला भनेर कल्पेकै थिएनन् । देख्नु त पल्नुढिक थियो । तिनले देखेको र थाहा पाएको बादल सर्गमा बस्थ्यो । जो कहिले पूर्व त कहिले पश्चिम दौडन्थ्यो । कहिले उत्तर त कहिले दक्षिण फर्केर गर्जन्थ्यो । जसको अनुहार कहिले निक्खर कालो हुन्थ्यो कहिले खैरो कहिले राँघेमाघे त कहिले सेतो भेडाको ऊन जस्तो । सर्गवासी बादल अन्यत्र पनि देखिएला भन्नु सर्वसाधारणका लागि कल्पना बाहिरको कुरा थियो ।
बादल लाग्दा कहिले पानी पर्थ्यो कहिले असिना झर्थ्यो, कहिले चिर्को पर्थ्यो, कहिले हुरी चल्थ्यो त कहिले आँधी आउँथ्यो ।
हो, बादल आफ्नै गाउँ टोलमा आएको ‘सनिस’ एक कान दुई कानहुँदै रोल्पा रुकुममा बादल मैदान भयो ।
गाउँ पुगेका बादल त खुलमखुल्ला सर्गमा बेतालले दगुर्ने बादल थिएनन् । गोप्य ठाउँमा बस्ने भूमिगत । भन्थे, बादल त ‘सेल्टर’मा बस्छन् । जनमोर्चा खलकका पनि जानभानले मात्र बादल देख्न, भेट्न र कुरा गर्छन् भने । बादललाई देख्ने, भेट्ने साइत जुरेकाले सोध्थे, ‘बादल भनेको मानिस पो हो !’
‘हो ।’
‘मानिस मात्र होइन नि !’
‘हो र !’
‘कमरेड बादल ।’
‘कमरेड बादल !’
‘बड्डा त जातिबित्ती सप्र्या रैछन्’ पहिलो पालि देख्ने आश्चर्यचकित हुन्थे, ‘कस्तो ज्यान परेको है !’
सप्र्याको भन्नुको मतलब सप्रेको, हेन्डसम हो ।
यसो भन्नुको कारण थिए ।
एक, उनी सेते थिए । गोरे थिए ।
नेपालको मूलधारे सौन्दर्यशास्त्र अनुसार सुन्दर, हेन्डसम र सप्रेको हुनुको एउटा तत्व अनुहारको रंग सेतो, गोरो रङ पनि थियो । शासक सौन्दर्यशास्त्रीय भाष्य आँखाले बादललाई सुन्दर देखे ।
दोस्रो, उनको अनुहार सफासट थियो । गोलोगोलो थियो ।
मगर बहुल रोल्पा रुकुममा मूलधारे सौन्दर्यशास्त्रले त्यसबेलासम्म पूर्णरूपले कब्जा जमाइसकेको थिएन । अनुहार र छाती रौंले भरिएको मर्द, हेन्डसम, हिरो, सुन्दर भन्ने मूलधारे सौन्दर्यशास्त्रले पूरापूर पुरेको थिएन ।
माथि उल्लिखित दुई कारणले रोल्पा, रुकुमका तन्नेरीले कमरेड बादललाई भव्य देखे । सुन्दर देखे । हेन्डसम देखे । हिरो देखे ।
त्यो त बादलको बाहिरी आवरण थियो । आवरणमा नदेखिएका गुणबारे कमरेड बादलको बखान गरिसाध्य थिएन । जस्तोः रसियामा पढ्दापढ्दै गरिब, दलित, आदिवासी र कुनाका मानिसका सुनौलो दिन ल्याउन नेपाल फर्केका पढालेखा कमरेड । नेपाली जनताको मुहार फेर्न आएका कमरेड बादल । लाहुरेपुत्र बादल नपुगी नसरी रोल्पा रुकुममा दुःख काट्न आएका होइनन्, जनसेवा गर्न आएका हुन् । गरिब जनताको दिन फिराउन आएका हुन्, आदि आदि ।
बादल बखान यति व्यापकता भयो कि, बादल देखेर भेटेर सुनेर रोल्पा रुकुमका तन्नेरी माओवादीको ‘क्रान्तिकारी’ रङले रंगिए । रूसको त्यत्रो पढाइ र घरको सुखसयल त्यागी नेपाली जनक्रान्तिमा होमिन बादल नै आएपछि हामी नलागी भयो त ? त्यसपछि तिनका सपनामा पनि विपनामा क्रान्ति नै क्रान्ति देखे । परिवर्तनको पारिलो घाम आफ्नै पालामा आफ्नै आङमा लाग्ने आश पलायो । आफैंले आफ्नै जिन्दगीमा देख्ने र भोग्ने गरी आमूल परिवर्तनको सपना सजाए ।
अनि त्यसपछि के भयो ?
२०१३ मा कम्युनिष्ट पार्टी जन्मेको थबाङ (माओवादी मक्का मानिने रोल्पाको थबाङ) छिमेकी गाउँ र रुकुम (पूर्व) सदरमुकाम रुकुमकोटबाट करिब २५ किलोमिटर उत्तरपूर्व गुनामका काइँला जिते कामी (६४) (नाउँ त उनको जितेन्द्र शिर्पाली हो) कमरेड चिर्को भए । उनका भाइ, भतिजा जति थिए, ती पनि कमरेड भए । तीमध्ये कति युद्धमा मारिए त कति घाइते भए । दलित, मगर र नेवार समुदाय बस्ने गुनाममा कमरेड चिर्कोलाई माओवादीले भन्यो, ‘भोलि त बम पड्कनेवाला छ, पुलिसले नचिन्ने नाम राख्नुपर्छ ।’
‘मैले नाम चिर्को राखें । चिर्को भएपछि पुलिसले सितिमिति पत्ता लगाउन नसक्ने भयो नि’ उनले पार्टी नाम चिर्को राखेको समय सम्झिएका थिए, ‘गुनाममा एकान्त घरमा बैठक थियो । त्यसैबेला राखेको नाउँ हो, चिर्को ।’
युद्ध सुरु नहुँदै जिते कामी कमरेड चिर्को भएका थिए । युद्धकालमा महत गाजस(गाउँ जनसरकार) प्रमुख भए । युद्धकालमा रोल्पा रुकुमका वनपाखाले पनि कमरेड चिर्को भनेर चिन्यो ।
‘पार्टीले जहाँ खटाए पनि ज्यान फालेर पुग्थें । कामकाजमा असाध्यै खट्ने नि म त । जसरी सर्ग गर्जियो कि चिर्को पर्छ त्यसरी नै फलानो ठाउँमा चिर्कोलाई पठाएपछि चिर्को पारेरै छाड्छ भनेर कमरेडहरूले भन्थे’, उनले सम्झिए ।
लेखपढ पनि नभएका, आर्थिक अवस्था पनि कमजोर रहेका र जातीय विभेदको खाडलमा भासिएर उकुसमुुकुसिएका जिते जनयुद्ध जितेर ‘मानिस’ भएर मानिस जिन्दगी जिउन चाहन्थे । त्यसैले त कमरेड चिर्को भएका थिए ।
रोल्पा रुकुममा चिर्को पर्छ । चट्याङ पर्दैन । रोल्पा रुकुमको चिर्को नै खस नेपाली मानक भएर चट्याङ कहलिएको थियो । रोल्पा रुकुमतिर त गाली गर्दा पनि चिर्को नै पर्छ । गाली नै छ, ‘तेरो घरमा चिर्को बजाङ्ङो परोस् ।’
कमरेड चिर्कोको छिमेकी जिल्ला रोल्पा सदरमुकाम लिबाङसँग जोडिएको धबाङका दुर्गालाल बिक (४३) कमरेड चट्याङ भए । कमरेड चट्याङ सुन्नेबित्तिकै गाउँका जानभान, मुक्खे, कांग्रेस–एमालेका बलियाबांगा थरर्र थर्कन्थे ।
‘चट्याङलाई जिम्मा दिए ठीक पार्छ भन्थे कमरेडहरूले’, कमरेड चट्याङले आफू चट्याङहुँदाखेरिका चट्याङकालीन दिन सम्झिएका थिए, ‘त्यतिबेला दलितको हैसियतले म त शोषितपीडितको पार्टी भनेर माओवादीमा लागें ।’
उनले माओवादीलाई आफ्नो जे जति खुशी, पसिना र समय जे थियो, सबथोक बुझाए ।
२०६२ को एक रात । जुनबेला माओवादी युद्ध उत्कर्षमा थियो । जनयुद्धसँगै कमरेड चट्याङ पनि ।
त्यस रात लिबाङछेवैको धबाङको सर्गमा जूनतारा थिए । त्यसै बेला एउटी महिलालाई व्यथाले च्याप्यो । बच्ची पाइन् । उनै जूनतारा आँखामा लिएर एउटा युवा सुत्केरीछेउ पुगे । सुत्केरी सिहार्न भेला भएकाले भने, ‘छोरीको बाउ भइस् ।’
एकदिन दुई दिन गर्दै न्वारानको दिन आयो ।
‘के नाउँ राख्ने ?’
जूनतारा झलल लागेको बेला जन्मेकी बच्चीको नाउँ के राख्ने ?
जूनतारा आँखामै लिएर गएका ती युवाले भने, ‘जूनतारा ।’ जूनतारा राखिदिने कमरेड चट्याङ थिए । जूनतारा चट्याङपुत्री ।
स्मरणीय त के भने, कमरेड चट्याङले आफ्नो कान्छो छोराले लामो जिन्दगी जिओस् भनेर नाउँ राखिदिए, जीवन ।
चट्याङले दिल दिएर घरजम बसालेका थिए । जन्मेको उनको जेठो छोरालाई चट्याङमाताले नाम राखिदिएकी थिइन्, दिलकुमार ।
…
कमरेड चिर्को र चट्याङका दिलमा कमरेडहरू बसेका थिए । तिनीहरूले रुकुम चुनबाङ लाखरखोलाका कमरेड चट्याङ (दयालसिंह पुन) सम्झिए । चुनबाङसँगै जोडिएको रोल्पा जुमाराङ्सी र मिरुलका कमरेड चट्याङ पनि । दक्षिण रोल्पा बुढागाउँका कमरेड चट्याङ (रेशम पुन) सम्झिए । रोल्पा थबाङकी कमरेड असिना (सम्झना घर्तीमगर)लाई पनि सम्झिए । तिनीहरूले सम्झेका रुकुम (पूर्व)का कमरेड आगो र रोल्पा ढाङढुङ मिरुलका कमरेड झिल्को पनि थिए ।
…
चिर्को र चट्याङ क्रमशः जिते कामी र दुर्गालाल बिकका पार्टी नाम थिए । माओवादीले भन्थ्यो– टेकनाम, उपनाम, पार्टी नाम, कमरेड नाम । माओवादी नेता व्याख्या गर्थे, ‘टेकनाम, पार्टी नाम राख्नु, नयाँ मानिस बन्नु हो । आफू बदलिनु हो, दुनियाँ बदल्नु हो ।’ अध्यात्मवादी रुझानवालाका वाक्य सापटी लिएर भन्ने हो भने माओवादी नाम राख्नु त नयाँ जुनी फेर्नु थियो ।
माओवादी भाषामा भन्दाखेरि दुश्मनको दुनियाँमा चिर्को पारी नयाँ जुनी फेर्न जिते र दुर्गालालहरूले चिर्को, चट्याङ, आगो, असिना, आँधी, हुरी, झिल्को जस्ता विस्फोटक नाम राखेका थिए । राजनीतिक व्यवस्था बदल्न त्यति भयानक नाउँ राखेका थिए । दुवैका लागि यो राजनीतिक व्यवस्था यति प्रतिकूल र यति उकुसमुकुस थियो कि, चिर्को नपारी तिनले सास फेर्ने कल्पना पनि गर्न सक्तैनथे । नेपालको जात व्यवस्थाले पिंधमा पेलेको समुदाय र वर्गका ती दुवैलाई आजको आज नै जनवाद चाहिएको थियो । चिर्को नपारी तिनका जीवन फेरिनेवाला थिएन/छैन । ठाउँको ठाउँ नफेरी भएको थिएन । तिनलाई आफ्नै जीवनमा परिवर्तन चाहिएको थियो । त्यसैले ठाउँको ठाउँ परिवर्तन चाहिएको थियो । आजको आजै परिवर्तन खाँचो थियो । तिनका आँखामा र तिनकै जीवनमा परिवर्तन नभई भएको थिएन । त्यसैले न कमरेड चिर्को र कमरेड चट्याङ भएका थिए ।
माओवादी आधार इलाका रोल्पा रुकुमका करिब सय जना कमरेडका कमरेड नाम खोजेको थिएँ । तिनका नाउँबारे संवाद गरेको थिएँ । चिर्को जस्ता नाम राख्ने प्रायः नेपालको जात व्यवस्था र जात व्यवस्थामा उभिएको राज्यसत्ताले सबभन्दा पिंधमा पारिएका थिए । वर्गको हिसाबले गरिब थिए ।
जिते र दुर्गालालहरूले आफ्नो वरपरका तर भयानक चिज पार्टी नाम रोजेका थिए । प्रकृतिसँगको सामीप्यमा रहेका चिज नै नाम छानेका थिए । भन्नुहोला, किन विस्फोटक, भयानक, भयंकर, भय र भत्काउने चिज नाम रोजे ? त्यसको पछाडि तिनका पृष्ठभूमिवाल समाजशास्त्र थियो । नेपाली समाज उभिएको जात र वर्ग संरचनाले तिनका घाँटी अठ्याएर सास न बास भएका थिए ।
भन्छन्, नाममा के छ र ? नाममा केही छैन । हुन पनि नाममा के छ र ? केही छैन । चिन्ने संकेत न नाम हो । यति भनेर सुख भने कसरी पाइनु र ? जे छ नाममै त छ । नामले नै मानिसको मनोविज्ञान, आनीबानी, चिन्तन, वर्ग, जात र चरित्र चियाउँथ्यो ।
रोल्पा रुकुमका माओवादी नाममा गरेको मेरो खोजमा जात वा वर्ग वा लिंगका कारण पिंधमा पारिएका नै कमरेड गर्जन भएका थिए । कमरेड हुरी भएका थिए । कमरेड झरी भएका थिए । कमरेड असिना भएका थिए । कमरेड आँधी भएका थिए । कमरेड आगो भएका थिए । कमरेड झिल्को भएका थिए । कमरेड सनासो भएका थिए । कमरेड चिर्को भएका थिए । कमरेड चट्याङ भएका थिए । ती ‘बहिष्करण’मा परेका समुदाय, वर्ग र लिंगबाट आएका माओवादी कमरेड थिए । नेपालको राज्य व्यवस्थाले व्यावहारिक रूपमा मानिस पनि नमानिएका मानिस थिए । राज्य संरचना र व्यवस्थाले मान्छे नै नगनेका मान्छे थिए । कति त अर्धमानिस पनि नमानिएका मानिस थिए ।
तिनलाई आफ्नै जीवनमा आजको आजै परिवर्तनको खाँचो थियो । त्यसैले तिनले कमरेड चिर्को आफ्नो नाम राखेका थिए । त्यसैले तिनका माओवादी नामसँग तिनका हेडसर अर्थात् सुप्रिमो पुष्पकमल दाहालको कमरेड नाम प्रचण्डसँग पायक पर्दैनथ्यो । किरण, लालध्वज, गौरव, दिवाकर, पार्थ, पार्वती, अमरसिंह, प्रभाकर, सुदर्शन, बलदेवसँग नजिक लाग्दैनथे । धार्मिक ग्रन्थ (महाभारत, रामायण), संस्कृत र मानक खस नेपालीका ‘उच्च’ अर्थ बोकेका कमरेड नामसँग कमरेड चिर्कोको साइनो देखिन्नथ्यो ।
…
बदलाव ल्याउन लडिरहेको जनयुद्ध सम्झौतामा सकियो । तिनका जिन्दगीमा उलटपुलट लेला भन्ने सोचेर जिन्दगीका सिरिखुरी नै धरेको जनयुद्ध सकियो । मानिस भएर बाँच्न, नाच्न र साँच्न पाउने कल्पना, सपना र जपना पालेर चिर्को र चट्याङले जनयुद्धलाई जिन्दगीको सिरिखुरी नै सुम्पेका थिए ।
युद्ध सकिएपछि कमरेड चिर्को उही जिते कामी भए । गुनाम गाउँका जिते गुमनाम भए । रोजीरोटी खोज्दै गुनामबाट गुमनाम घोराही झरे । भरिया भए । सुरक्षागार्ड भए । चल्तापुर्जा कमरेड चिर्को जिते कामी भएर फेरि गुमनाम भए ।
कमरेड चट्याङ दुर्गालाल बिक भए । अरब उडे । अहिले घरमै बाख्रा चराउँछन् । चारभाइमा माइलो थिए । उनका जेठा दाजु, साइँला, जेठा छोरा, छोरीज्वाइँ भागिमन बिक खाडीवासी भएका थिए ।
शुक्रबार फोनमा चट्याङपुत्री जूनतारा सुनाउँदै थिइन्, ‘जरूरी परेपछि यही फोन हो । बाबाको फोन पनि छैन । नेटवर्क पनि लाग्दैन ।’
जूनतारा धबाङबाट ६ वर्षअघि काठमाडौं खाल्डोमा पसिन्, इँट्टाभट्टामा इँट्टा बोक्न ।
चन्द्रशमशेरले खानी बन्द गरेपछि रोल्पा रुकुमबाट कालापार शृंखला चुलिएको थियो । नेपालको पूर्वी भेगमा मुगलको मुग्लान जान्थे । मुगलको देश मुगलान जाने भएकाले मुगलानिया भएका थिए, पश्चिमतिर कालापार जाने कालापारे । पूर्र्वतिरका नेपाली भुटान, बर्मा, आसाम (वस्तुभाउ पाल्न) र मेघालय (कोइला निकाल्न) पुगे ।
कालापार भनेका भारतका हिमाचल प्रदेशका शिमला, रोडु, कोटखाई, बागी, नार्कान्डा, भगाल, खडापत्थर, जुब्बल जस्ता कति शहर त कति गाउँ थिए । उत्तराखण्डका पौडी, तिहरी गढवालका गाउँ र शहर थिए । कालापारमा कालापारेले धेरीमजुरी गरे । कम्द खने, स्याउको तौले खने, स्याउ टिपे र बोके । भत्केका कम्दमा गारो लगाए ।
२०३२ मा अमेरिकी दबाबमा तत्कालीन श्री ५ सरकारले गाँजा नाउँ दिएर भाङ्ङु खेतीमा प्रतिबन्ध लगायो । रोल्पा रुकुमका मानिसका जीउभरि भाङ्ङु नै भाङ्ङु थियो ।
लगाउने, खाने, औषधीमूलो, बाल्ने सबथोक भाङ्ङु थियो । रोल्पा रुकुमका सर्वसाधारण भाङ्ङु गोडाले हिंड्थे । भाङ्ङु आँखाले हेर्थे । भाङ्ङु कानले सुन्थे । कुल मिलाएर भाङ्ङुले नै सास फेर्थे ।
खानी बन्द, भाङ्ङु खेती पनि प्रतिबन्ध लागेपछि कालापार जाने गति तीव्र भयो । भारतका गल्ली पानीपँधेरा थिए । रोल्पा रुकुमका सर्वसाधारणलाई राजधानी काठमाडौं बिरानो थियो । अहिले पनि बिरानो नै छ । केही टाठाबाठा मात्र (मुद्दा लड्न र सिंहदरबार पसेका नगन्य संख्याका मानिस) काठमाडौं खाल्डो पस्थे ।
पचास दशककै वरपरबाट रोल्पाका गाउँमा नाइके पुगे । नाइके भनेको गाउँघरका महिला, पुरुष र केटाकेटी बटुलेर इँट्टाभट्टा लैजाने मानिस । मजदुरलाई लगेर साहुलाई बुझाउँथे र त्यसबापत नाइकेले साहुबाट कमिसन पाउँथे । तिनै नाइकेमध्ये एक जनाले जूनतारालाई काठमाडौं लगे । दक्षिण र मध्य रोल्पाका मगर, दलित र क्षेत्री काठमाडौं पसे । इँट्टा बोक्न र इँट्टा बनाउन झरे ।
जूनतारा पति भागिमन बिक खाडीमै थिए ।
जूनताराले फोनमा भनिन्, ‘कोहिनूरको बा (उनको श्रीमान्) दुबई जाँदा कोहिनूर तीन महिनाकी थिई । अहिले तीन वर्षकी भई । विदेश गएको एक महिनामै सासूआमा बितिन् । किरिया गर्न पनि आउन पाउनुभएन ।’
कालापार तनक्क तन्केर इँट्टाभट्टा, खाडी, तल्लो बाटो अमेरिका र रसियन सेनासम्म पुगेको थियो ।
…
जनयुद्ध सम्झौतामा सकिएपछि जनयुद्धलाई सिरिखुरी धरेका रोल्पा रुकुमका चिर्कोहरू फेरि जिते कामी भए । दिलकुमार, जीवन र जूनताराका के कुरा । जनयुद्धलाई जिन्दगीको सिरिखुरी बुझाएका कमरेड चिर्कोहरूले अचेल कुन आशाडोरीमा पइय खेल्दै सास फेरिरहेका होलान् हँ ?
फेरिने कमरेड चिर्कोका ‘सर’हरू र ‘हेडसर’ले नसुने जस्तो नदेखे जस्तो गरे पनि इतिहासले सोधिरहनेछ ।
प्रेम सुनार, गुल्मी : बिहीबार बिहान कुलोको विवादलाई लिएर बसेको छलफलमा गुल्मीको अर्जै गाउँका दुई जना व्यक्तिले वडाध्यक्षकै सामु भाई बुहारीलाई कुटपिट गरेका छन्। जिल्लाको मालिका गाउँपालिका-६, अर्जैका रामप्रसाद अर्याल र नेत्रप्रसाद अर्यालले भाई बुहारी युवाकला अर्याललाई कुटपिट गरेका हुन्।
बारीलाई खेत बनाएका बुहारी युवाकला र उनका छोरा लिलाराम अर्यालाई कुलाको सिञ्चाई गर्नबाट बञ्चित गरे पछि लिलारामले पाँच दिन अघि वडा नम्वर ६ को वडा कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आज दुबै पक्षलाई बोलाएर छलफल गर्ने क्रममा एक्कासी हातपात सुरु भएको र त्यस क्रममा महिला युवाकला अर्याल भुँईमा लडेको आफुले देखेको वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । उनले हातपात मै उत्रिएपछि त्यस्तो बेलामा छलफल नै गर्न नसकिने अवस्था आएको बताए ।
युवाकलाका श्रीमान तारापति अर्याल बैदेशिक रोजगारका लागि दुबइमा रहेका छन् । घरमा एक्लो परिवारलाई पटक पटक हेप्दै र कुटपिटको प्रयास गर्दै आईरहेको बेला आज निर्घात कुटाई खाएर आफू केहिबेर बेहोस् भई ढलेको युवाकलाले बताइन् ।
कुटाइबाट युवाकलाको दायाँ चण्डी सुनिएको छ । गुल्मी अस्पतालमा घा–चेक गराउन आएकी उनलाई टाउकोमा असर परेको हुन सक्ने भन्दै डाक्टरले सिटी स्क्यानका लागि पाल्पा वा बुटवल जान सुझाव दिएको युवाकलाले बताईन । युवाकला र उनका छोराले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कुटपिट बिरुद्धको उजुरी दिएको र भोली दुबै पक्षलाई बोलाइएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहलले बताए ।
कुटपिटमा संलग्न भनिएका रामप्रसाद संग आज विहान पनि पटकपटक फोनमा प्रतिकृया माग्न खोज्दा प्रतिकृया दिन मानेन । अहिले फोनमा प्रतिकृया लिन खोज्दा पनि उनले आफु अन्यायमा परेको भन्दै प्रतिकृया दिन मानेन । श्रोतका अनुसार अर्जै गाउँमा झै–झगडा र कुटपिट घटनामा यस अघि पनि रामप्रसाद संलग्न थिए । गाउँमा उनिसंग धेरै जसो मानिस बोल्न रुचाउँदैनन्।
बिहान भएको कुटपिट घटनामा रामप्रसाद लगायतका आक्रमक पुरुषहरुले पत्रकार बोलाए रक्तपात समेत हुने धम्की दिएका थिए । रामप्रसादले युवाकला आफ्नो खेतमा सिंचाई गरेको भन्दै ठूला–ठूला ढुङ्गा फालेर हुर्किदै गरेको धान खेती नष्ट गरि दिएपछि उनिहरु वडा कार्यालयमा न्याय माग्न गएका थिए।
प्रदेस सरकारद्वारा एकै परिवारलाई पाँच लाखको योजना
युवाकलाले ससुराको पाला देखिको पुरानो कुलोबाट सिचाई गरेकी थिईन भने उनिहरु जम्मा चार भाईले गत बर्ष प्रदेश सरकारबाट पाँच लाख रकम पारेर अर्को मुहानमा ट्याङकी बाँधेर सिधै पाईपबाट सिंचाई गरे पछि जिज्युबाज्येको पाला देखिको कुलो विस्थापित गराउन खोजिरहेका छन्।
पूर्व वडाध्यक्ष शोभाखर गिरिका अन्ुसार प्रदेश सरकारबाट युवाकला सहितका पाँच घरधुरीका लागि गत बर्ष ५ लाख बजेटको पत्थरे सिंचाई योजना परेर काम सम्पन्न भएको थियो।
तर कुटपिटमा संलग्न रामप्रासद सहित एकै परिवारका चार भाईले मात्रै उक्त सिंचाई योजना प्रयोग गरेर युवकलाको परिवारलाई वञ्चित मात्रै गरेनन, उनले पुरानो कुलोबाट सिंचाई गर्दा समेत अवरोध गरे पछि आफू वडा कार्यालयमा न्याय माग्न गएको युवाकला बताउँछिन्।
गुल्मी: सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा स्वर विमल परियार र अन्जना रायमाझीको रहेको छ भने म्युजिक भिडियोमा अभिनय सुनिल क्षेत्री र स्मृति रायमाझीको रहेको छ।
मौलिक नेपाली लोक भाकामा रहेको र उत्कृष्ट शब्द र संगीत रहेको यस गीतलाई शिव हमालले लेख्नुभएको हो भने आशिष अविरलले एरेन्ज गर्नुभएको हो।
यस गीतको म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गर्नुभएको हो भने छायांकन नवराज उप्रेतीले गर्नुभएको हो।
आउनुहोस्, हेरौँ:
छोडी गयौ तिमीले मलाई क्षितिजको माझमा
यो छातीको आगो निभाउन पिउँछु हरेक साँझमा।
प्रस्तुत हरफहरू भर्खरै रिलिज भएको प्रमोद खरेलको स्वरमा सजिएको र बैकुण्ठ रायमाझीले लेख्नुभएको आधुनिक गीत क्षितिज बाट लिइएको हो। उक्त गीतको म्युजिक भिडियो
सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
थुप्रै लोकगीतहरु गायन, लेखन र निर्माण गर्दै आउनुभएका स्रष्टा बैकुण्ठ रायमाझीको यो पहिलो सुगम संगीत हो। गीत नेपाली जनजीवनको यथार्थतामा रही रचिएको गीतकारले जानकारी दिनुभयो। आधुनिक नेपाली समाजमा फस्टाउँदै गएका विकृति र विसङ्गतिलाई चिर्न गीतले सहयोग पुर्याउने गीतकारले विश्वास व्यक्त गर्नुभयो। विशेषगरी रोजगारीको अवसरको खोजीमा श्रीमान विदेशिएपछि श्रीमती विलासिताको आशामा गाउँबाट शहर पस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गीतले भुमिका खेल्ने कुरामा गीतकार आशावादी रहेका छन्। यसरी उत्पादनशील र सक्रिय जनशक्ति गाउँबाट पलायन हुँदा गाउँको विकास चुनौतिपूर्ण हुने गीतकारको स्विकारोक्ति छ।
कर्णप्रिय स्वरका धनी चर्चित गायक प्रमोद खरेलको स्वरमा सुसज्जित गीतका शब्द र संगीतको संकलन र संयोजन बैकुण्ठ रायमाझीले गर्नुभएको हो। चर्चित मोडल द्वय ओबी रायमाझी र दिव्यानी ओलीद्वारा अभिनित म्युजिक भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी गरेका हुन्। यस गीतलाई एरेन्ज कमल सौराहा र रेकर्ड चर्चित रेकर्डिस्ट राजकुमार बगरले गरेका हुन्। गायिका रिता केसीको पनि विशेष भुमिका रहेको छ।
स्रोता तथा दर्शकवृन्दहरुले यो भिडियो लाइक, कमेन्ट र विभिन्न माध्यमबाट शेयर गरेर सहयोग गर्न अनुरोध गरिन्छ।
आउनुहोस्, उक्त म्युजिक भिडियो हेरौँ:
[ytp_video source=”0CAb_eo-k38″]
काठमाडौं । नेपाली महिलाहरूले १८ वर्षको उमेरमा पहिलोपटक यौन सम्पर्क राख्ने गरेको अध्ययनले देखाएको छ। हालै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ अनुसार २५ -४९ वर्षका महिलाहरूको पहिलो यौन सम्पर्क राख्दाको उमेर १८ छ भने पुरुषहरूको २० वर्ष रहेको देखाएको हो।
यस्तै भौगोलिक हिसाबले पनि पहिलोपटक यौन सम्पर्क राख्ने उमेर फरक देखिएको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणको नतिजामा भनिएको छ‚ ‘भौगोलिक क्षेत्रको आधारमा महिलाहरूले पहिलो यौन सम्पर्क राख्ने उमेरमा भिन्नता देखिएको छ। तराई क्षेत्रका महिलामा १७.८ देखि लिएर पहाडी क्षेत्रका महिलामा १९.० वर्षसम्म रहेको छ।’
यस्तै ३ प्रतिशत किशोरी र एक प्रतिशत किशोरले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेको समेत सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले २ प्रतिशत किशोरकिशोरीले १५ वर्षभन्दा कम उमेरमै यौन सम्पर्क राख्ने गरेको समेत देखाएको छ।
सर्वेक्षणले पछिल्ला वर्षहरूमा नेपालको प्रजननदर घटेको पनि देखाएको छ। विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्यांकले देखाएको हो। कुल प्रजननदर २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ। सन् २०१६ मा नेपालको प्रजजनदर २.३ थियो भने हाल २.१ छ।
त्यसैगरी किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको जसमा १५ देखि १९ उमेर समूहका १४ प्रतिशत किशोरी गर्भवती हुने अध्ययनले देखाएको छ।
नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५७ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा विधि प्रयोग गर्छन्। तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन वा विधि प्रयोग गर्छन्। विवाहित महिलाबीच सबैभन्दा लोकप्रिय आधुनिक साधन वा विधिमध्ये बन्ध्याकरण (१३%), त्यसपछि सुई (९%), र इम्प्लान्ट (६%) छन्। १५ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको परम्परागत विधि अपनाएका छन्‚ तीमध्ये १३५ ले वीर्य बाहिर खसाल्ने विधि र २ प्रतिशतले केही समय सम्भोग नगर्ने विधि अपनाएका छन्।
विवाहित महिलाहरूमा परिवार नियोजनको आधुनिक साधन वा विधिको प्रयोग शहरी क्षेत्र (४१%) मा भन्दा ग्रामीण क्षेत्र (४७%) मा बढी देखिन्छ। प्रदेशअनुसार विवाहित महिलामा परिवार नियोजनको आधुनिक साधन वा विधिको प्रयोग गण्डकी प्रदेशमा ३५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४७ प्रतिशतसम्म रहेको छ। बढ्दो शिक्षा र घरपरिवारको सम्पन्नतासँगै आधुनिक साधन वा विधिको प्रयोग सामान्यतया घट्दै गएको देखिन्छ।
काठमाडौं । स्विडेन सरकारले यौन (सेक्स)लाई औपचारिकतासहित खेलको रूपमा घोषणा गरेको छ । यौनलाई खेल मान्दै आउँदो बिहीबार (जुन ८) देखि पहिलोपटक यौन प्रतियोगिताको आयोजना गर्दै छ ।
यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू यौनसत्रमा संलग्न हुनेछन्, जुन दैनिक ६ घण्टासम्म चल्न सक्छ । निर्णायकको प्यानल र दर्शकको भोटको आधारमा यौन प्रतियोगिताका विजेताहरू छानिनेछन् ।
६ हप्तासम्म चल्ने युरोपियन सेक्स च्याम्पियनसिपमा सहभागीहरूले आफ्नो खेलअवधिको आधारमा दैनिक ४५ मिनेटदेखि एक घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।
जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय गरिने बताइएको छ ।
विशेष गरी सेक्स र कामुकतासम्बन्धी संस्कृत शास्त्र ‘कामसूत्र’को ज्ञानले पनि निर्णय लिन भूमिका खेल्ने बताइएको छ । सहभागीहरूले ‘कामसूत्र’सम्बन्धी ज्ञानको आधारमा पनि अंक प्राप्त गर्नेछन् । यसबाहेक च्याम्पियनशिपले विभिन्न किसिमका सेक्सुअल ओरिएन्टेसनलाई समेत समावेश गरेको छ ।
यौन प्रतियोगिताको आयोजक स्विडिस सेक्स फेडरेसनले युरोपेली देशमा यो महत्वपूर्ण नयाँ सुरुआत हुने विश्वास व्यक्त गरेको छ । यो निर्णयको कतिपयले आलोचना गरेका छन् भने कति मौन छन् ।
आजसम्म हामीले मानिसबीच विवाह भएको सुनिएको र देखिएको छ । तर, आज हामी एक महिलाले बिरालोसँग दुईपटक विवाह गरेको बारेमा जानकारी दिनेछौ । स्पेनमा बस्ने ४८ वर्षकी बारबेरेला बुचनरले आफ्नो विवाहको १० औं वर्षगाँठ मनाएकी छन् । उनले यो वर्षगांँठ मानिससँग नभएर दुई बिरालोसँग मनाएकी हुन् ।
वास्तवमा ती महिला पछिल्लो १४ वर्षदेखि आफ्ना बिरालाहरु स्पाइडर र लुगोसीसँग वैवाहिक सम्बन्धमा छिन् । २००४ मा बारबेरेलाले दूई बिरालोसँग विवाह गरेकी थिइन् । त्यो समयदेखि आजसम्म आनन्दले जीवन बिताएकी छिन् । बिरालालाई नै आफ्ना पति स्वीकार गरेर बसेकी छिन् ।
उनले जिन्दगीको लामो समय मानिसमा माया खोज्नमा बिताएकी थिइन् । पछि मानिससँग माया खोज्नु र गर्नु बेकार सम्झेर बिरालोसँग विवाह गरेको बताउँछिन् । उनको अनुसार बिरालोलाई जति माया गर्दा खुशी अरुबाट पाइदैन । उनले बिरालोहरुलाई एक पत्नीले गरेको जस्तै स्याहार गछिन । बिरालोसँग विवाह गर्दा नै उनले कुनै पुरुषसँग विवाह नगर्ने घोषणा गरेकी थिइन् ।
भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा एक लाख भारु प्रतिकिलो रहेको छ ।
यो तरकारको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक शुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ ।
भारतका एक जना आईएस अफिसरले बिहीवार सवैभन्दा मंहगो र अनौठो उक्त तरकारीको तस्वीर सामाजिक सञ्जालमा ट्वीटरमा तस्वीर शेयर गरेपछि यसको यतिखेर सर्वत्र चर्चा परिचर्चा भइरहेको छ ।
उनले यसको साथै होप सुट्सको पहिलो पटक भारतमा खेती गर्ने प्रमाणपत्र तह उत्तिर्ण ३८ वर्षिय किसान अमरेश सिंहको तस्वीरसमेत शेयर गरेकि छन् । यतिखेर उक्त तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।
आईएस अफिसर सुप्रिया साहुका अनुसार यो खेती भारतीय किसानको लागि गेम चेन्जर सावित हुन सक्छ । कृषक अमरेश सिंहले काशीस्थित भारतीय सब्जी रिसर्च इष्टिच्यूटको कृषि विज्ञको रेखदेखमा यो खेतीको शुरुवात गरेका हुन् । उनले शुरुवात रुपमा पाँच कट्ठा जग्गामा उक्त खेती गरेका छन् ।
होप सुट्सको प्रयोग गरेर बनाएको औषधीले क्षयरोगको उपचार हुने बताइएको छ । यसको अलावा यसको फूलबाट रक्सी पनि बनाउन सकिनेछ । त्यसैगरी यसको डाँठ तरकारीका लागि प्रयोग गर्न सकिन्छ ।
यसको खासगरी यूरोपियन मुलुकमा अत्याधिक माग रहेको छ । जर्मनी,ब्रिटेन, आयरल्याण्ड, स्कटल्याण्ड लगायतका मुलुकका नागरिकले यसको तरकारी प्रयोग गर्न अत्याधिक रुचाउने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो तरकारीमा एण्टिबायोटिक अत्याधिक मात्रामा पाइने बताइएको छ ।
यसको सेवन गर्नाले दाँतको दुखाई कम हुने तथा क्षयरोगको विरामीका लागि पनि लाभदायक हुने बताइएको छ । यसको प्रयोग तरकारी खान, काँचै खान, सलादको रुपमा प्रयोग गर्न तथा अचार बनाउन पनि सकिने बताइएको छ । एजेन्सीहरु
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।