
२ जेठ, काठमाडौं । सरकारले अघि बढाएको महत्वकांक्षी परियोजना ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ प्रति सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार फेडेरेशन अफ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान फेडेरेशन)ले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क २.० र कार्यान्वयन विषयक अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।
क्यान महासंघले आइसिटी नीति निर्माता, आइटी सल्लाहकार, एसियाली विकास बैंक, वर्ल्ड बैंक, प्रधानमन्त्रीका आइटी सल्लाहकार, डेटा सेन्टरका अनुसन्धानकर्ता, नेपाल चेम्बर अफ कमर्सका सरोकारवालाहरूसँग प्यानल डिसकसन गरेर छलफल गरेको थियो । जसमा उनीहरूले निजी क्षेत्र डिजिटल नेपाल फ्रेमवर्क २.० लाई अब राजनैतिक मुद्दा मात्रै नबनाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान माग गरे ।
नेपाल चेम्बर अफ कमर्सकाका सूचना प्रविधितर्फका अध्यक्ष विज्ञान श्रेष्ठले युवाहरूलाई प्रविधि क्षेत्रमा वातावरण नबनाइदिँदा उनीहरूलाई रोक्ने कसैगरी नसकेको तितो अनुभव सुनाए । उनले भने, ‘अहिले युवाहरू किन धमाधम बाहिरिएका छन् भनेर खोज्दा उनीहरूलाई प्रविधिमा गर्न सक्ने न आधार छ न त वातावरण नै छ । उदाहरणका लागि कुनै युवाले आइटी कम्पनी खोल्दा सरकारको कुन निकायमा दर्ता गर्ने भनेर ठोस कानुन छैन। जिम्मेवार सबै हो भन्छन् । तर अधिकार खासमा कस्लाई हो त्यो नै थाहा हुँदैन। यसले युवाहरू सरकारी कार्यालयका कोठामा चक्कर काट्दा काट्दा कम्पनी नै दर्ता गर्न पाउँदैनन् । अनि विदेश पलायन भइदिन्छन्।’
उनले सरकार प्रविधि कम्पनीलाई सबैभन्दा धेरै करको दायरमा ल्याएर युवारूमा काम गर्ने जोशजागर मारिरहेको गुनासो गरे । ‘अहिले सरकारको आँखा तारो सुरूमै प्रविधि कम्पनीका युवाहरूमाथि छ। ती प्रविधि कम्पनीमा सरकारले मनलाग्दी कर लिइदिन्छ। यसले उनीहरूको कम्पनी कर तिर्दातिर्दै तितरवितर हुन्छ,’ उनले गुनासो सुनाउँदै भने, ‘सरकार बोलीमा स्टार्टअप कम्पनी खोल भन्छ तर व्यवहारमा ३९ प्रतिशत जबरजस्ती कर पनि लिन्छ। यसले त कुनै पनि युवा देशमा बस्दैन नि ?’ उनले अब सरकारले आउने बजेटमा आइटी क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न पनि करको दायरा घटाउनुपर्नेमा जोड दिए ।
नेपालले कागजमा डिजिटल नेपालको फ्रेमवर्कमा असल काम गरेको देखाए पनि व्यवहारमा भने निक्कै पछाडि परेको तितो यथार्थ सुनाइन् डिजिटल अर्थशास्त्री एवम् सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड ईनोभेसन (सीआरई) की मानार्थ उपाध्यक्ष अमृता शर्माले। उनले भनिन्, ‘हामीले डिजिटल नेपाल फ्रेमवर्क ल्याएको २०७६ मा हो। जसरी कागजमा स्वरुप देखायौं। अझ हामीले सानदारका साथ होटल सोल्टीमा अब कायापलट हुन्छ भनेर प्रतिवद्धता जनायौं। तर, आज व्यवहारमा डिजिटल नेपालको काम त्यो गतिमा गर्न सकेनौं। हामीले अझै धेरै गर्नुपर्ने,’ उनले निराश हुँदै भनिन् ।
उनले नेपालले छिमेकी देशबाट पनि सिक्न नसकेको गुनासो गर्दै अब त्यो पनि समय नरहेको बताइन् । ‘हामीले जुन स्वरुपमा डिजिटल नेपालको ड्राफ्ट लिएर आएका थियौं, त्यो स्वरुपमा विल्कुलै काम गर्न सकेका छैनौ, ‘ उनले भनिन्, ‘कम्तीमा छिमेकमा भएको प्रविधिको विकासलाई पनि पछ्याउन सकेनौं। कागजमा कायापलट तर, व्यवहारमा नतिजा शून्यप्राय: । यो दु:खद पक्ष हो।’
विश्व बैंककी रूची पाण्डे पनि डिजिटल नेपाल बनाउन हाम्रो धरातल नै कमजोर रहेको बताइन् । उनले डिजिटल नेपालको फ्रेमवर्कको कार्यान्वयन गराउन सबैभन्दा पहिले देशभर डिजिटल साक्षरता अभियान अनिवार्य रुपमा चलाउनुपर्नेमा जोड दिइन् । ‘हामी अझै डिजिटल साक्षरता र कनेक्टिभीटीमै कमजोर रहैछौं,’ उनले भनिन्, ‘नेपालमा अझै पनि डिजिटल जागरणका कार्यक्रमहरू ल्याउनु जरूरी छ। धेरै ग्रामिण भेगमा यसबारेमा कुनै जानकारी नै छैन। यसका लागि सरकारले निजी सहकार्य गर्दा राम्रो हुन्छ।’
उनले डिजिटल साक्षरता र कनेक्टिभिटीबारे सरकारले चाँडै बजेटमा एजेण्डा बनाउनु पर्नेमा जोड दिइन् । ‘हामीले अब मुख्यतया डिजिटल लिटरेसी र डिजिटल कनेक्सनमा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘यसको लागि सरकारले चाँडै बजेटमा यसबारेमा एजेण्डा सेट गर्नुपर्छ। नत्र नेपाल धेरै पछि पर्नेछ।’
आफूहरूले गरेको सर्भेमा नेपालमा अझै डिजिटल साक्षरताको कमी र डिजिटल कनेक्शन अर्थात डिभाइडको ठूलो ग्याप पाएको भन्दै यसबारेमा सरकार र निजी क्षेत्रले पूर्ण रुपमा सहकार्य गर्नुपर्ने बेला आएको स्पष्ट पारिन् । ‘यदि यो काम हुन सकेन भने नेपालको प्रगतिमा सुधार आउन धेरै समय लाग्छ र हामी विश्व प्रविधिको प्रयोग र विकासका नवीनतम उपब्धीहरू हासिल गर्न पछाडि पर्नेछौं।’ उनको चिन्ता थियो।
यस्तै डेटा सेन्टरका अनुसन्धानकर्ता प्रदीप लामिछानेले भने सरकार कछुवाको प्रविधिमा गतिमा हिँडिरहेको गुनासो गरे । उनले डिजिटल नेपालको फ्रेमवर्कमा सरकारभन्दा धेरै निजी क्षेत्रले काम गरेको दाबी गरे । उनले भने, ‘यो डिजिटल नेपाल फ्रेमवर्कमा सरकारले कुनै काम गरेको छैन। यसमा त बरू निजी क्षेत्रका हामी जस्ताले काम गरेर खाका तयार गरका हौं। हाम्रा अनुसन्धानकर्ताहरूले बसेर यो सबै कन्सेप्ट तयार गरेका हौं।’
उनले प्रविधिमा लाग्न चाहने युवाहरूलाई सरकारले कुनै पनि सहयोग नगरेको जिकिर गरे । प्रविधि कम्पनी खोल्ने युवाहरूलाई त झन सरकारले छानी-छानी कर लादेको गुनासो गरे । ‘ यहाँ उद्योगीहरूलाई बिजुलीमा राहत दिइन्छ। तर, कुनै युवाले प्रविधि कम्पनी खोलोस् त सरकारले करमाथि कर लगाएर राजश्व असुल्छ। अनि युवा भाग्दैन त विदेश ?’ उनले भने।
उनले आफ्नो कम्पनीले अहिले एआईको जीपीयू बनाएर अमेरिकामा बेचिरहेको तर नेपालमै कसैले नकिनेको गुनासो गरे । ‘ मेरो कम्पनीले एआई बनाएर अमेरिकालाई १६ सय डलरमा बेचिरहेका छौं। तर नेपालीलाई ४ सय डलरमा दिँदा पनि किनिदिएको अवस्था छैन। अब तपाईं आफैँ भन्नुस् नेपाल कहाँ छ ?’ उनले प्रविधिमा नेपालमा युवाहरू धेरै स्मार्ट भए पनि सरकारले लगानीको वातावरण नबनाइदिएका कारण विदेशिनुपरेको जिकिर गरे ।
आइसिटी क्षेत्रमा काम गर्दै आएका आइसिटी विज्ञ सूचना विवेक राणाले डिजिटल नेपालको बारेमा सरकारसँग २५औ पटक कुरा गर्दा पनि नसुनेको भन्दै अब आफूहरूले हार मानिसकेको आक्रोश पोखे । उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कमा दुइटा धारहरू छन्, एउटा धार हो डोनर। हामी डोनरहरू डिजिटल नेपाल फ्रेमवर्कमा हार मानिसक्यो काम गर्न। हामीले २५औ चोटी कुरा गरिसक्यौं। अर्को धार डिजिटल नेपाल काम गर्दा पैसा कति आउँछ भनेर कुरेर बसेका छन्। ‘
कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले डिजिटल नेपाल फ्रेमवर्कमा गर्न सकिने थुप्रै कामहरू चाहेर पनि गर्न नसकेको स्वीकार गरे । उनले मन्त्रीको शपथ खाने बेलामै काम गर्छु भनेर वाचा गरेता पनि कर्मचारीको असहयोगले डिजिटल नेपालको सपना पूरा गर्न नसकेको सुनाए ।
उनले भने, ‘हामी डिजिटल रुपान्तरणका लागि हरसम्भव रूपमा लागिरहेका छौं। तर मन्त्रालयकै कर्मचारीहरूबाट असहयोग भइरहेको छ । एउटा ड्राफ्ट तयार गर्नै ३ महिना लगाइदिन्छन्, अनि घुमाको घुमाकै गरेर समय र ऊर्जा सबै सत्यानाश बनाउँछन्। कर्मचारीहरुको अल्छीपनले केही काम नभएको हो।’
सञ्चारसचिव राधिका अर्यालले डिजिटल नेपाल फ्रेमवर्क २.० लाई १०/१५ दिनमै मन्त्रिपरिषद्मा स्वीकृतिका लागि लैजान तयारी भइरहेको बताइन्। उनले त्यसका लागि सूचना प्रविधिका सबै जानकार विज्ञहरू तथा सरोकारवालाहरू सुझाव लेखेर मन्त्रालयमा पठाउन अनुरोध समेत गरिन् ।
सरकारका आइटी सल्लाहकार अस्गर अली र सूचना विभागका निर्देशक रमेश शर्मा पौडेलले आफूहरूले पनि डिजिटल नेपाल फ्रेमवर्कमा काम गरिरहेको बताए । निर्देशक पौडेलले यसपटको डिजिटल नेपाल फ्रेमवर्कमा सबै क्षेत्रलाई समेट्नेगरी कार्यक्रम ल्याएको दावी गरे । ‘हामीले कोही नछुटुन् भनेर सबै क्षेत्रलाई जोड्नेगरी तथा प्रविधिमा पहुँच पुर्याउनेगरी काम गरिरहेका छौं। कुनै क्षेत्र छुटे हामीलाई सुझाव दिनुहोला,’ उनले भने ।
प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीले सरकार डिजिटल फ्रेमवर्कलाई कार्यान्वयन गराउन नागरिक एपमार्फत सबैलाई जोडिरहेको दाबी गरे । उनले भने, ‘हामीले जनताको हातहातमा नागरिक एपको पहुँच पुर्याएका छौं। यसले पक्कै पनि डिजिटल नेपालमा केही राहत दिन्छ।’ उनले ब्लू प्रिन्टको काम पनि भइरहेकाले अब चाँडै स्वीकृत हुने डिजिटल नेपालको फ्रेमवर्क २.० मा सहयोगी साबित हुने दावी गरे ।
क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सरकारले अवसर दिए निजी क्षेत्र, क्यान महासंघ मिलेर प्रविधि क्षेत्रका हरेक काम गर्न तयार रहेको बताइन् ।
यस्तै, क्यान महासंघका उपाध्यक्ष तथा नेपालको अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी अधिकारीले यस महत्वाकांक्षी फ्रेमवर्कको बारेमा विस्तृत जानकारी गराए । उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्क २.० ले नेपालको डिजिटल परिदृश्यमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यो २०१९ मा सुरु भएको डिजिटल नेपाल १.० को जगले अब नयाँ भर्सनमा पनि उद्यमशीलतालाई बढावा दिने, सरकारी सेवालाई अझ सहज बनाउने र डिजिटल प्रविधिको माध्यमबाट नागरिकलाई सशक्त बनाउने उद्देश्य राखेको छ।’
डिजिटल पूर्वाधारको विकास, देशभर उच्च गतिको इन्टरनेट, फाइभ जी नेटवर्क र क्लाउड कम्प्युटिङ जस्ता आधुनिक प्रविधिहरूको विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
प्रविधिहरूको प्रयोग, कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, इन्टरनेट अफ थिङ्स (आईओटी) र वास्तविकतामा वृद्धि (एआर) जस्ता नवीनतम प्रविधिहरूलाई सार्वजनिक र निजी क्षेत्रमा समाहित गर्नुपर्नेमा उनको जोड थियो ।
साथै, डिजिटल सरकारी सेवा, एकीकृत नागरिक सेवा पोर्टल र ई-गभर्नेन्सको माध्यमबाट सरकारी सेवालाई अझ छिटो, छरितो र पारदर्शी बनाउनुपर्ने बेला आइसकेको उनले बताए । अब पनि डिजिटल नेपाल फ्रेमवर्क जनतासँग नजोडिए यो केवल एउटा ‘मन्त्रालयको डकुमेन्ट’ मात्र बन्न सक्ने उनको भनाइ थियो ।
‘डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) जनतासँग जोडिएन भने यो केवल एउटा ‘मन्त्रालयको डकुमेन्ट’ मात्र बन्न सक्छ। डिजिटल नेपालको निर्माण सरकारले एक्लै गर्न सक्दैन यसका लागि निजी क्षेत्र, प्रविधि विशेषज्ञ, युवा, ग्रामीण समुदाय, र प्रत्येक नागरिकको सहभागिता आवश्यक छ,’ उनले भने ।
यता, महालेखा परीक्षकको कार्यालयले तयार पारेको ६२औँ वार्षिक प्रतिवेदनले महत्वकांक्षी परियोजना ‘डिजिटल नेपाल फ्रेमवर्क’ अलपत्र परेको ठहर गर्दै कार्यान्वयन योग्य बनाउन सरकारलाई सुझाव दिएको छ ।
‘…डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि जिम्मेवार निकायको किटान नगरेको, विनियोजित बजेट यकिन नभएको, फ्रेमवर्क परिमार्जन गर्ने वार्षिक कार्यक्रम रहेकोमा परिमार्जन हुन नसकेको स्थिति देखिन्छ । उल्लिखित अवस्थामा सुधार गरी कार्यान्वयनयोग्य फ्रेमवर्क तयार गरी कार्यान्वयन गर्नुपर्दछ,’ बुधबार सार्वजनिक महालेखा प्रतिवेदनमा भनिएको छ ।
काठमाडौं । स्मार्टफोन निर्माता सामसुङले आफ्नो एस सिरिजको नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङ ग्यालेक्सी एस २५ एज मोडेलको उक्त स्मार्टफोन पातलो र हलुका छ । यसको मोटाइ जम्मा ५.८ एमएम तथा वजन १६३ ग्राम रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ एज सामसुङको ग्यालेक्सी एस सिरिजको सबैभन्दा पातलो अर्थात् स्लीम स्मार्टफोन हो । कम्पनीले यो फोनलाई विश्व बजारभरका लागि लञ्च गरेको छ ।
यो मोडेलका लागि कम्पनीले २०० मेगापिक्सेलको शक्तिशाली क्यामेरा स्लिम साइजमा तयार गरेको छ । फोनमा टाइटेनियमको फ्रेम प्रयोग गरिएको छ, जसले यो ह्याण्डसेटलाई टिकाउ बनाउन मद्दत गर्नेछ । यसमा प्रयोगकर्तालाई प्रिमियम लुक्स, शक्तिशाली क्यामेरा तथा अत्याधुनिक फिचर्स उपलब्ध छन् ।
विशेषता के छ ?
यो फोनको सुरुवाती मूल्य १०९९ डलर तोकिएको छ । फोनको प्रि अर्डर सुरु भैसकेको छ । यो मोडेलमा कम्पनीले दुईवटा भेरिएन्ट उपलब्ध गराउनेछ, जसमा १२ जिबी र्याम र ५१२ जिबी स्टोरेज भएको एउटा र अर्को चाहिँ समान र्याममा २५६ जिबी स्टोरेज अप्सन उपलब्ध छ ।
सामसुङ ग्यालेक्सी एस२५ एजमा ६.७ इन्चको क्यूएचडी डाइनामिक एमोलेड टु एक्सको डिस्प्ले रहेको छ । जसमा १२० हर्ज, एचडिआर १० प्लस तथा २६०० निट्सको पिक ब्राइटनेस उपलब्ध छ । स्क्रिनको सुरक्षाका लागि कोर्निंग गोरिल्ला आर्मर टु राखिएको छ । यो फोनमा क्वालकोम स्नापड्रागन ८ एलिट चिपसेटको प्रयोग गरिएको छ ।
क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप छ । जसमा २०० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १२ मेगापिक्सेलको दोश्रो क्यामेरा रहेको छ । मुख्य क्यामेरामा रात्रीकालीन फोटोग्राफी तथा सामसुङ लग भिडियो फिचर उपलब्ध छ । यसका अतिरिक्त यो फोनमा एउटा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि रहेको छ ।
यो फोनमा प्रयोगकर्ताले फोटोग्राफी गर्दा पृष्ठभूमिमा रहेको अनावश्यक दृश्यहरुलाई हटाउने फिचर प्राप्त गर्नेछन् । यो फिचर केवल फोटोमा मात्र नभएर भिडियोमा पनि उपलब्ध हुनेछ । फोनमा इमेल आदि लेख्नका लागि ग्यालेक्सी एआईको सहयोग लिन सकिनेछ भने फोनको सुरक्षाका लागि कम्पनीले Knox दिएको छ ।
यो फोनमा ३९०० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ, जसले २५ वाट फास्ट चार्जर सपोर्ट गर्दछ । ग्यालेक्सी एस२५ एजमा एन्ड्रोइड १५ मा आधारित OneUI 7 अपरेटिङ्ग सिस्टम रहेको छ ।
–एजेन्सीको सहयोगमा
३१ वैशाख, काठमाडौँ। सरकारले अघि बढाएको महत्वकांक्षी परियोजना ‘डिजिटल नेपाल फ्रेमवर्क’ अलपत्र परेको छ ।
बुधबार महालेखा परीक्षकको कार्यालयले तयार पारेको ६२औँ वार्षिक प्रतिवेदनले महत्वकांक्षी परियोजना ‘डिजिटल नेपाल फ्रेमवर्क’ अलपत्र परेको ठहर गर्दै कार्यान्वयन योग्य बनाउन सरकारलाई सुझाव दिएको हो ।
‘…डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि जिम्मेवार निकायको किटान नगरेको, विनियोजित बजेट यकिन नभएको, फ्रेमवर्क परिमार्जन गर्ने वार्षिक कार्यक्रम रहेकोमा परिमार्जन हुन नसकेको स्थिति देखिन्छ । उल्लिखित अवस्थामा सुधार गरी कार्यान्वयनयोग्य फ्रेमवर्क तयार गरी कार्यान्वयन गर्नुपर्दछ ।’ महालेखा प्रतिवेदनमा भनिएको छ ।
डिजिटल प्रविधिको उपयोग गरेर मुलुको आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्ने उद्देश्यले तत्कालीन मन्त्रिपरिषद्ले २०७६ कात्तिक ५ गते डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको थियो जसमा ८ क्षेत्रका ८० वटा विविध विधाका पहलहरू समावेश भए थिए ।
उक्त महत्वकांक्षी योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगले ५ वर्षको समयसीमा तोकेर एक खर्ब सात अर्ब ५० करोड बजेट अनुमान गरिएको थियो । त्यसअन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तारको कामहरू समावेश गरिएका थिए । तर, पछि त्यो पूर्ण रुपमा कार्यान्वयन हुन सकेन।
सूचना प्रविधि क्षेत्रमा कानुनी व्यवस्था गर्न सुझाव
यस्तै महालेखा परीक्षकले सूचना प्रविधि क्षेत्रका सबै पक्षलाई समेटेर कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । ‘विद्युतीय कारोबार र सूचनाको सुरक्षा, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङको उपयोग, विद्युतीय प्लेटफर्महरूलगायतका सबै प्रकारका सूचना प्रविधि क्षेत्रलाई लागु हुने गरी आवश्यक कानुनी व्यवस्था गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।
यस्तै सूचनाको गोपनीयता, साइबर सुरक्षाको निगरानी, सुचना प्रविधिसम्बन्धी लेखापरीक्षण तथा संकट व्यवस्थापन र निरन्तर सेवा सञ्चालन गर्ने कुनी व्यवस्था गर्नसमेत सरकारलाई महालेखाले सुझाएको छ ।
यसैगरी विद्युतीय प्रणाली र विद्युतीय यन्त्र उपकरण खरिदको नम्स र लागत अनुमान तयार गर्ने कार्यलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । ‘ सूचना प्रविधि प्रणालीको आवश्यकता पहिचान गरी डिजाइन, विकास र मर्मतसम्भार सम्बन्धमा पर्याप्त अध्ययन र लाभ लागत विश्लेषण गरी प्रणाली तयार गर्नुपर्दछ।’
महालेखाले सूचना प्रविधिमा विकसित भएका सार्वजनिक निकायहरूको योजनालाई एकीकृत रुपमा व्यस्थित प्रयोग र सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गरेको छ । ‘ विभिन्न सार्वजनिक निकायहरूले छुट्टाछुट्टै डेटा सेन्टर सञ्चालन गर्ने कार्यमा सुधार गरी व्याकअपसहित एकीकृत डेटा सेन्टरको विकास गरी सबै निकायले सेवा लिन सक्ने व्यवस्था गर्नुपर्दछ।’ महालेखाको प्रतिवेदनले औल्याएको छ ।
सूचना प्रविधिलाई प्रभावकारी बनाउन, नियन्त्रण गर्न र सुरक्षामा एकद्वार प्रणाली लागू गर्न उत्प्रेरकको व्यवस्था गरी छुट्टै ज्ञान केन्द्र (नलेज सेन्टर) स्थापना गर्नसमेत सुझाव दिएको छ
सरकारी निकायले सञ्चालन गर्ने सबै सूचना प्रणालीको आधिकारिक नियकायमा दर्ता तथा नवीकरणको व्यवस्था मिलाउन भनेको छ भने भल्नरेबलिटी एसेसमेन्ट एणड पेनिट्रेशन टेष्ट (भीएपीटी) लगायतका परीक्षण गरी मापदण्ड बनाएर प्रयोगमा ल्याउन महालेखाले आग्रह गरेको छ ।
यसका साथै एकै प्रकारको कामको लागि भिन्नाभिन्नै सूचना प्रणाली खरिद गर्ने कार्यमा नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ ।
त्यतिमात्रै होइन डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी सुरक्षित, सुलभ र सजिलो प्रणाली विकास गरी सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट हुने व्यस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गरेको छ ।
यसैगरी सार्वजनिक निकायले प्रयोग गरेका वेबसाइट र मोबाइल एप्लिकेशनमा एकरुपता कायम गरी विद्युतिसय माध्यमबाट सूचना प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
यस्तै सबै सरकारी नियकायमा सूचना प्रविधिको पुर्वाधार तयार भई सञ्चालनमा रहेका अवस्थामा सूचना प्रविधि लेखापरीक्षण गर्न आवश्यक जनशक्ति तथा पुर्वाधार निर्माण गर्न पनि सरकारलाई महालेखाले सुझाव दिएको छ ।
२९ वैशाख, काठमाडौं । तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन् ।
तोक्मा टेक्नोलोजीजले अल इन वान एप अर्थात सुपर एपको रूपमा तोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्ड ल्याएको हो ।
सार्वजनिक कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्डले नेपालको डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
‘यी प्रडक्टले डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान दिने छन् । यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ,’ घिसिङले भने, ‘यस्ता प्रविधिले दैनिक काममा समेत इफिसेन्सी ल्याउँछन् । त्यसैले तपाईहरू पनि प्रयोग गर्नुहोस् ।’
तोक्मा टेक्नोलोजीका सह-संस्थापक सञ्चमान राईले ३ वर्षको अनुसन्धान गरेर प्रडक्ट ल्याएको जानकारी दिदै सुझाव अनुसार परिवर्तन गर्दै जाने बताए ।
त्यस्तै तोक्मा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सागर आङ्गेदम्बेले तोक्मा एप र जीकार्ड एउटा प्रविधि मात्र नभएर देश परिवर्तनको संवाहक भएको बताए ।
शहरी यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुबेर नेपालीले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङ अनिवार्य र सहजता भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले आजको युगमा इन्नोभेसन अनिवार्यता भएको बताए । ‘हामी यस्तो युगमा बाँचिरहेका छौं, जहाँ नवप्रवर्तन विकल्प होइन, अनिवार्यता हो,’ उनले भने, ‘अब स्टार्टअपहरू केवल साना व्यवसाय होइनन् । आशा, सम्भावना, नेतृत्व र डिजिटल नेपालका संवाहक हुन् ।’
त्यसैगरी तोक्मामा ब्राण्ड एमबास्डर विल्सन विक्रम राईले स्वदेशी प्रविधि प्रयोग गर्न सबैलाई आग्रह गरे ।
तोक्मा एपमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा रहेका छन् । जीकार्डले भौतिक रूपमा भिजिङ कार्ड बोकेर हिड्नुपर्ने बाध्यतालाई जीकार्डले अन्त्य गर्नेछ ।
जीकार्ड भएपछि एनएफसी सपोर्ट गर्ने मोबाइलमा ट्याप गरेर आफ्नो व्यक्तिगत र व्यवसायीक विवरण सजिलै शेयर गर्न सकिने छ । साथै आफ्नो आवश्यकता अनुसार जिकार्डमा विवरण पनि परिवर्तन सकिने छ । यसले वातावरणलाई जोगाउन पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।
२८ वैशाख, काठमाडौं । यही वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा कन्क्लेभ हुन लागेको हो ।
होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तरक्रिया हुनेछ । कार्यक्रममा ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरुको सहभागिता रहने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ ।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुतीसँगै ६ बढी विषयमा छलफल र बहस हुनेछन् । मधेश प्रदेशमा केन्द्रित विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाहरुको शोकेश र प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ । यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइट www.madhesh.digital मार्फत डिजिटल सोलुसन/आइडियाको बारेमा जानकारी दर्ता गराउन सकिनेछ ।
डिजिटल मधेश कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआइ र डेटा सुरक्षा, स्टार्टअप र इन्निभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ ।
आयोजक आइसिटी फाउन्डेसन नेपालले गत बैशाख ९ र १० गते सुर्खेतमा २ दिने डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरेको थियो । प्रादेशिक कन्क्लेभको रुपमा आयोजना भइरहेको यस कार्यक्रममा प्रदेश सरकारहरुको प्रत्यक्ष आयोजकको रुपमा सहभागिता रहेको छ ।
कन्क्लेभले आउदै गरेको आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको लागि डिजिटल तथा आइसिटी क्षेत्रलाइ प्राथमिकतामा राख्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ । पहिलो पटक आयोजना हुने डिजिटल मधेश कन्क्लेभमा सम्पूर्ण स्थानीय पालिका, मन्त्रालय र आइसिटी सम्वन्धि सरोकारवालाहरु सहित ३ सय बढीको सहभागिता रहनेछ ।
प्रविधि क्षेत्र विश्वका अन्य व्यवसायिक क्षेत्रहरूभन्दा फरक देखिन्छ, किनभने यसमा नेतृत्वदायी भूमिकामा धेरैजसो युवाहरू छन् । विश्वभरका प्रविधि कम्पनीहरूमा नयाँ पुस्ताको उल्लेखनीय उपस्थिति बढ्दो रहेको तथ्यांकले देखाउँछ । वित्त, उत्पादन वा स्वास्थ्यजस्ता परम्परागत क्षेत्रहरूभन्दा प्रविधि क्षेत्रमा युवापुस्ताका उद्यमी र युवा नेतृत्वकर्ता बढी सक्रिय छन् । उनीहरूको नयाँ सोच र आधुनिक नेतृत्वशैलीले कम्पनीहरूलाई नयाँ उचाइमा पुर्याउन सहयोग गरिरहेको छ ।
परामर्शदाता संस्था कर्न फेरीको हालैको प्रतिवेदन अनुसार, विश्वव्यापी रूपमा प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको औसत उमेर अन्य ठूला उद्योगका सीईओहरूको तुलनामा धेरै कम देखिएको छ । प्रविधि क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतहरूको औसत उमेर झण्डै ३५ देखि ४५ वर्षको बीचमा छ, जबकि वित्त वा ऊर्जा जस्ता परम्परागत उद्योगहरूमा यो औसत उमेर ५० वर्षभन्दा माथि छ ।
केही चर्चित उदाहरणहरूले यो परिवर्तनलाई स्पष्ट रूपमा देखाउँछन् । मार्क जुकरबर्गले केवल २० वर्षको उमेरमै फेसबुक (हालको मेटा) को स्थापना गरेका थिए र उनी फोर्च्युन म्यागेजिनले प्रकाशन गरेको विश्वका शीर्ष ५०० कम्पनीका सिइओमध्ये इतिहासकै कान्छा सीईओ बन्न बने ।
त्यसैगरी, इभान स्पिगेलले २१ वर्षको उमेरमा स्न्यापच्याटको स्थापना गरे र छोटो समयमा नै यसलाई एक विश्वव्यापी प्लेटफर्ममा रूपान्तरण गरे ।
पछिल्लो उदाहरणको रुपमा १९ वर्षको उमेरमै इथेरियम बनाउने भिटालिक बुटेरिन पनि छन्, जसले ब्लकचेन प्रविधिको माध्यमबाट परम्परागत वित्त प्रणालीमा ठूलो परिवर्तन ल्याएका छन् ।
चुस्त र अनुकूलनशील
प्रविधि क्षेत्रमा युवा नेतृत्व बढ्नुको एक मुख्य कारण भनेको यो क्षेत्र निरन्तर नवप्रवर्तन र तीव्र परिवर्तनसँग जोडिएको हुनु हो । यस्तो कुरा प्रायः युवापुस्ताले सजिलै आत्मसात् गर्छन् । कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, सामाजिक सञ्जालजस्ता नयाँ प्रविधिहरूप्रति युवा पुस्ता बढी जानकार र सहज देखिन्छन् । यस्ता युवा नेतृत्वकर्ताहरू प्रायः लचिलो, परिवर्तनशील र जोखिम लिन तयार हुन्छन्, जुन प्रविधिको द्रुत गतिमा परिवर्तन हुँदै जाने स्वभावसँग मेल खान्छ ।
प्रविधि कम्पनीहरूमा युवा नेतृत्वकर्ताहरूले प्रायः लचिलोपन, विविधता र सिर्जनात्मकतालाई प्राथमिकता दिने कार्यसंस्कृति विकास गर्छन् । यो कुरा युवा कर्मचारीहरूद्वारा अधिक मूल्यांकन गरिन्छ ।
युवा कार्यकारीहरूले नेतृत्व गर्ने कम्पनीहरूमा प्रायः कर्मचारी सन्तुष्टि र संलग्नताको स्तर उच्च रहेको हुन्छ र खासगरीमिलेनियल र जेन जेड पुस्ताबीचमा यो प्रवृत्ति अधिक देखिन्छ । उनीहरू यस्तो कार्यसंस्कृति मन पराऊँछन् जसले समावेशिता, व्यक्तिगत विकास र व्यत्तिगत जीवन तथा काम सन्तुलनमा जोड दिन्छ ।
विश्वव्यापी परिवर्तन
कोभिड महामारीपछि अझ तीव्र भएको डिजिटल रूपान्तरणतर्फको विश्वव्यापी प्रवृत्तिले युवा नेतृत्वकर्ताहरूलाई अझ सशक्त बनाएको छ । सानैदेखि क्लाउड कम्प्युटिङ, भर्चुअल रियालिटी र मोबाइल प्रविधिहरूमा जानकार ‘डिजिटल नेटिभ’ पुस्ता महामारीले सिर्जना गरेको अवसरका कारण स्वाभाविक रूपमा नेतृत्वकर्ताको भूमिकामा अगाडि आएका छन् । व्यवसायहरूलाई द्रुत र गहन डिजिटल परिवर्तन आवश्यक परेको बेलामा युवाको यस्तो हस्तक्षेपकारी भूमिका सर्वथा अत्यावश्यक भयो ।
तर, युवा नेतृत्वको बढ्दो प्रभावसँगै केही चुनौतीहरू पनि देखापरेका छन् । संकट व्यवस्थापनको अनुभव, परिपक्वता र दीर्घकालीन रणनीतिक सोँचजस्ता विषयमा बेलाबखतमा प्रश्न उठ्ने गर्छन् । नवप्रवर्तनशील र उत्साही भए पनि युवा नेताहरूले कहिलेकाहीँ विश्व बजारको जटिलताको बुझाइ वा आर्थिक मन्दी सामना गर्नसक्ने क्षमताका बारेमा आलोचना भोग्नुपर्ने हुन्छ ।
त्यसैले, धेरै कम्पनीहरूले युवा नेतृत्वहरूको नवीन सोचलाई अनुभवी सल्लाहकार वा गुरुहरूसँग मिलाएर सन्तुलन कायम गर्छन् । यस्तो हाइब्रिड नेतृत्व मोडेलले युवाको जोश र नयाँ सोचसँगै अनुभवको मार्गदर्शनलाई पनि समेट्छ । यसका लागि प्रायः कम्पनीहरूले गैर कार्यकारी निर्देशक नियुक्त गर्छन्, जसले परिपक्वताको प्रभाव सुनिश्चित गरी लगानी र करोडौं डलरको आम्दानी सुरक्षित राख्न मद्दत गर्छन् ।
अन्ततः प्रविधि क्षेत्रमा युवा नेतृत्वको बढ्दो उपस्थिति एउटा व्यापक सामाजिक परिवर्तनको संकेत हो । आजभोलि प्रविधिले हाम्रो दैनिक जीवनलाई तीव्र रूपमा प्रभावित गरिरहेकाले यो क्षेत्रको विकासको नेतृत्व पनि क्रमशः युवाहरुको काँधमा गईरहेको छ । यसले प्रविधि क्षेत्रको अग्रगामी, नवप्रवर्तनशील र लचिलो स्वभावलाई प्रतिबिम्बित गर्छ ।
हेर्दै अत्यासलाग्दो झोलुङ्गे पुलबाट खोलामा जिउँदै कुकुरलाई फालेको सनसनीपूर्ण भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । झट्ट हेर्दा सौयौं फिट अग्लो झोलुङ्गे पुल देखिन्छ । तल कहालीलाग्दो खोला छ । माथिबाट हेर्दा चक्कर लाग्छ झैं देखिने खोलामा एक पुरुषले कुकुरलाई उचाल्दै फाल्छन् । स्थानीय जातको कालो कुकुरलाई खोलामा फालेपछि उनी ठूलो बहादुरी गरेझैं खुसी मनाएको देख्न सकिन्छ ।
कुकुरलाई बाँधेर त्यहाँसम्म ल्याएको छ । एउटा मात्र होइन अरु पनि कुकुरलाई त्यसरी नै एक-एक गर्दै खोलामा फालेको हुनसक्ने धेरैले आशंका गरेका छन् । किनभने झोलुङ्गे पुलमा बाँकी चार वटा कुकुरलाई लस्करै राखिएको छ ।
तीन जना व्यक्ति मिलेर यस्तो कृत्य गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । कुकुर उचाल्दै फ्याक्नेसँगै एक पुरुष देखिन्छ भने अर्कोले भिडियो बनाएका छन् । तिनीहरूले योजनावद्ध भिडियो बनाएर कुकुरमाथि यस्तो हिंसा गरेको प्रस्ट हुन्छ ।
उनीहरूले किन यस्तो कृत्य गरे ? त्यसबारे भिडियोमा कुनै उल्लेख छैन । पृष्टभूमिमा गीत राखेर सो भिडियो पोस्ट गरिएको छ । झट्ट हेर्दा उनीहरूले रमाइलोका लागि त्यस्तो उच्छृङ्खल भिडियो बनाएको झैं लाग्छ । सो भिडियो ‘चिरन’ नामको टिकटकबाट पोस्ट भएको हो ।
कुकुर फालेको भिडियो पोस्ट गर्दै स्नेहा केयर्सले लेखेको छ, ‘हामी यो क्रुरताको हृदयविदारक भिडियोले एकदम बिचलित छौँ । यस्तो अमानवीय कृत्य बारम्बार देख्नु असह्य छ । यदि कसैले यो व्यक्तिलाई चिन्छ वा कुनै जानकारी छ भने कृपया बताइदिनुहोस् । सानो विवरणले पनि न्याय दिलाउन मद्दत गर्नेछ । कसैले पनि निर्दोष आत्माहरूलाई चोट पुर्याएर उम्कन हुँदैन, पाउने छैन पनि । आउनुहोस् एकजुट भएर यो व्यक्तिलाई जवाफदेही बनाऔं ।’
त्यो झोलुङ्गे पुल कहाँको हो ? कुन ठाउँमा यस्तो कृत्य गरिएको हो ? अहिलेसम्म पत्ता लगाइएको छैन । यद्यपि गण्डकी क्षेत्र अर्थात बाग्लुङ आसपासको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
जिल्ला प्रशासन कार्यलय बाग्लुङका प्रमूख कुमान सिंह गुरुङले भने यस विषयमा कुनैपनि जानकारी नभएको बताए । ‘यस क्षेत्रमा त्यस्तो कुनै घटना भएको थाहा भएन’ उनले भने, ‘तैपनि हामी सोधीखोजी गर्नेछौं ।’ उनले सो भिडियो अलि पुरानो र कर्णालीतिरको हुनसक्ने बताए ।
पशु अधिकारकर्मी इरफान खानले लेखेका छन्, ‘हालै एउटा भयानक भिडियो बाहिर आयो, जसमा चिरन नाम गरेको व्यक्तिले कुकुरलाई पुलबाट फाल्दै गरेको देखिन्छ । अझ दुःखलाग्दो कुरा, अन्य कुकुरहरू लाइनमा राखिए जस्तो देखिन्छ । मानौं उनीहरू पालो कुरिरहेका छन् । म यो व्यक्तिको खोजीमा छु । एक पटक मैले उसलाई फेला पारें, उसको खेल सकिन्छ ।’
पछिल्लो समय सोसल मिडियामा ‘लाइक र भ्युज’ पाउनका लागि पनि कतिपयले यस्तो कृत्य गरिरहेको उनको बुझाइ छ । ‘लाइक र भ्युजको लागि जनवारलाई यातना दिने र मार्ने घृणित प्रवृत्ति बढेको छ’ उनले भनेका छन्, ‘प्रेरणा र शिक्षा प्रदान गर्न बनाइएका सामाजिक सञ्जालहरू अब कायर र असंस्कृत मुर्खहरूले ध्यानआकर्षणका लागि क्रुरता प्रदर्शन गर्न दुरुपयोग गरिरहेका छन् ।’
पशुप्राणीका लागि कडा कानुन नभएको कारण यस्तो घटना दिनप्रतिदिन बढ्दै गएको पूर्व सञ्चारकर्मी एवं व्यवसायी प्रभात रिमालको टिप्पणी छ । यसले समाजलाई नै कुरुप र भयानक बनाउँदै लगउको उनी बताउँछन् ।
कसैले यस्तो कृत्य गरेपछि सामाजिक सञ्जालमा चर्चा हुने, पशु अधिकारकर्मीहरूले बिरोध जनाउने, मिडियाले लेख्ने भएपनि कडा कारबाही गराउन नसक्दा यस्तो प्रवृत्ति निरुत्साहित हुनुको साटो हौसिदै गएको रिमालले बताए ।
‘आज एउटाले पशुमाथि हिंसा गरेको खबर आउँछ, पक्राउ परेको पनि भनिन्छ तर उनलाई के कारबाही भयो ? कसैले सोधीखोजी गर्दैन’ उनी भन्छन्, ‘त्यही कारण उनीहरू सजिलै छुट्ने र यस्तो अपराध दोहोर्याउने भय छ ।’
अहिले पशुमाथि हुने हिंसा र क्रुरता फेसन जस्तो भइसकेको छ । हाम्रो कानुन र कारबाही गर्ने निकाय नै यसमा संवेदनसिल छैनन्’ रिमाल भन्छन्, ‘समायो, एक दुई दिनमा छाड्यो । भाष्य निर्माण चाहिँ के भयो भने के भयो त, प्रहरीले समायो भने एक दिन राख्ने हो ।’
जनचेतनाका लागि यस्ता भिडियोहरू सामाजिक सञ्जालमा शेयर गरिदिदाँ अपराधीहरू अझ हौसिएको उनको टिप्पणी छ । ‘यसो हुनुमा फितलो कारबाही र सजाय नै प्रमुख कारण हो’ रिमाल भन्छन्, ‘ अपराधीलाई ठूलो सजाय भएको कुनै उदाहरण छैन । यसले गर्दा पशुमाथि हुने क्रुरता घट्नुको साटो बढ्दै गएको छ ।’
पशु कल्याणका लागि बलियो कानुन र प्रभावकारी कार्यन्वयन नभएसम्म यस्तो कृत्य नघट्ने उनको तर्क छ ।
आखिरमा धरणीले मायाको सौगात पाउँछन्- ऊनको स्वीटर । गाढा रातो रङको फूलबुट्टे स्वीटर उनकी प्रियसी फूलले आफ्नै हातले बुनेकी थिइन् । के त्यो स्वीटर फूलजस्तै शीतल र न्यानो थियो ?
बाह्रैमास चिसो सिरेटो चल्ने एकलासे लेकमा धरणीलाई ऊनको स्वीटरले न्यानो बनाउँदैन, बरु विरहले पोल्छ । किन ?
यही प्रश्नले हामीलाई फ्ल्यासब्याकमा लैजान्छ र एउटा अतृप्त प्रेमकथा सुनाउँछ । पचासको दशकको समाज, समय र सन्दर्भमा घुमाउँछ । लेकको बयल र बेँसीको खोलाले सुसाउने उस्तै भाका सुनाउँछ । मायाको बारीमा धूमिल स्मृति बिछ्याएर ‘तुम कब आओगे’ शैलीमा कसैको प्रतीक्षा गरिरहेका धरणीसँग भेट गराउँछ ।
धरणी, उनी नै हुन् कथाका सूत्रधार ।
अधबैंसे र अन्तर्मुखी धरणीले फूलसँग पिरती गाँसेका थिए । उनीहरूको धेरै कुरा मिल्थ्यो- पारिवारिक स्थिति, उमेर र मन । तगारो एउटै थियो- सामाजिक परिबन्ध।
उनका साख्खै भाइ डम्बरेले लिम्बू खलककी छोरी इक्सालाई भगाएपछि धेरै कुरा गडबड भएको थियो । समाज भाँडिएको थियो । उनको इलम (मिस्त्री काम) खोसिएको थियो । आफ्नै भाइबन्धुबाट ‘कूल बिगारेको’ आरोप लागेको थियो । त्यसैले उमेर भएर होइन, उमेर ढल्केर पनि धरणीले मन मिल्ने जोडी बाँध्न सकेका थिएनन् ।
अरूको घर बनाइदिने उनको आफ्नै घरबार लथालिङ्ग थियो ।
यस्तै कटमिरो जिन्दगी बोकेर बाँचिरहेका धरणी आफ्ना भाइलाई खोज्न निस्किए । तर, खै किन हो, विरक्तिएर घर फर्किए । समय बित्यो । परिस्थिति बदलियो । एक साँझ डम्बरे घर फर्कियो, सँगै बुहारी इक्सा पनि ।
तब धरणीले भाइलाई छातीमा टाँसेर भने, ‘तैंले केही बिगारेको छैनस्, ठिक गरिस् कान्छा ।’
भाइकै कारण अनेक लफडा खेपेका धरणीले किन यस्तो भने ? सायद यो उनको अतृप्त प्रेमको मौन अभिव्यक्ति थियो । उनले आफ्नो असफल प्रेमलाई यही भावनाले अमर राख्न चाहन्थे ।
त्यसपछि, लेकको भेडीगोठ रित्तो बनाएर आफ्नै थातथलो फर्किएकी फूललाई खोज्दै धरणी सीमापारि लाग्छन् । तर, के उनीहरूको भेट हुन्छ ? त्यो प्रेमको पुनर्मिलन कस्तो होला ?
प्रेम कति अनौठो ! कहिले समाजलाई जोड्छ, कहिले तोड्छ । खासमा यो नेपाली समाजको त्यो विघटित कथा हो, जसलाई स्वच्छन्द प्रेमले एउटै फेरोमा बाँध्न खोज्छ । फरक जात, फरक संस्कृति, फरक रीतिथितिलाई एउटै आँगनमा समेटेर उत्सव मनाउन खोज्छ ।
त्यसैले प्रेमको मियोमा उनेर बनाइएको मिश्रित समाजको कथा हो- ऊनको स्वीटर ।
‘सेवारो, आदङ्वा आदङ्वासे’ भन्दै कुटुम्बेली रीत बुझाउन लिम्बूको आँगनमा पुग्छन् । पिताको मितेरी साइनो केलाउँदै लेकका गुरुङकहाँ आलु खोज्न जान्छन् । मनको बह पोख्न खोलाको बगरमा बस्ने दलितकहाँ पुग्छन्- ब्राह्मण कुलका धरणी ।
सम्बन्धको धागोले समाजलाई कति सौहार्दपूर्ण ढङ्गले एकाकार गर्छ ? नजानिँदो ढङ्गमा सिनेमाले यो कुरा भन्छ ।
यी कुरालाई निर्देशक नवीन चौहानले प्रतीकात्मक रूपमा व्यक्त गरेका छन् । जस्तो, एउटा दृश्यमा गुरुङ मितबाले धरणीलाई विभिन्न आलुका प्रजाति चिनाउँदै भन्छन्, ‘यो झ्याले, यो बिटे…।’ थरीथरीका यी आलु उही हावापानी, उही मलमाटोमा उब्जिएका हुन्, जसलाई उनले एकै ठाउँ समेटेर राखेका छन् ।
त्यसैले यो प्रेमको मात्र कथा होइन समाजले लुकाएको, गुमाएको र छुटाएको सन्दृश्य विवरण हो । गाउँले रौनक भर्ने मेला, काठको भाँडाकुँडा बनाउने चँदारा, हातेकागज बनाउने उद्यम, धागो कात्ने चर्खा, मित्रता गाँस्ने अटोग्राफ—यी यसका तन्दुरुस्त अवयव हुन् ।
फिल्मले पचासको दशक आसपासमा समयले हडपेको समाजको सौन्दर्य त देखाउँछ नै, त्यो पनि बिम्बात्मक शैलीमा ।
जस्तो, फिल्ममा अर्का पात्र छन्, बगरमा चँदारा चलाएर बसेका एक दलित । त्यो बगर पनि उनको आफ्नो होइन, काफ्ले खलकको विर्ता हो । दु:खसुखको कुरा गर्न बेलाबखत धरणी त्यहीँ पुग्छन् । लाग्छ, यी दुवैको जिन्दगी चँदाराको पङ्खाजस्तै हो- एउटै घेरामा फन्को लगाइरहेको ।
यस्तै सुन्दर शिल्पमा लपेटेर समाजको सूक्ष्म तत्त्वलाई ठेट कथ्य संरचनामा ढाल्न सक्नु नवीन चौहानको निर्देशकीय कुशलता हो । सरसर्ती हेर्दा यो फिल्म कुनै ग्रामीण जनजीवनको सग्लो चित्रकथा जस्तो लाग्छ।
लवाइखवाइ, बोलीचाली, चालचलनले मात्र होइन, प्राकृतिक प्रकाश, स्थानीय ध्वनि र क्यामेराको कोणले फिल्मलाई ‘अर्ग्यानिक’ बनाएको अनुभव हुन्छ। किनभने त्यहाँ घर, कुहिरो, खर्क, मेला, हिमाल, चौरी, खोला सबैले अभिनय गरेका छन् ।
हुन त ‘अर्ग्यानिक’ शब्द आफैँमा भारी र विरोधाभासपूर्ण लाग्छ । पारिस्थितिक प्रणालीअनुरूप जैविक खेतीपातीलाई जनाउने यो शब्द फिल्मको सन्दर्भमा कसरी प्रयोग हुन्छ ? प्रष्ट छैन। यद्यपि, प्राकृतिक गुण र स्वभाव कायम राख्दै रैथाने दृश्यभाषा निर्माण गर्नुलाई ‘अर्ग्यानिक’ भनिन्छ भने, ऊनको स्वीटरको हकमा यो निर्धक्क भन्न सकिन्छ ।
फिल्म हेरिरहँदा यसको सङ्गीतले दर्शकलाई थप भावनामा डुबाउँछ। सुजन चापागाईँको सङ्गीत संयोजन फिल्मको सुरम्य सौगात हो । निर्देशक नवीनले भनेजस्तै, यो उनको मात्र फिल्म होइन । यति जीवन्त परिवेश तयार गर्ने पान्थरेको हो, यति मधुर धुन भर्ने सुजन चापागाईँको हो र यति स्वाभाविक अभिनय गर्ने विपिन कार्कीको हो ।
फिल्म हेरिरहँदा तपाईं यस्तो सोच्नुहुन्न कि धरणीको ठाउँमा विपिनबाहेक अरू कोही हुन सक्थे । लजालु अधबैंसे, जो बोल्नुभन्दा नबोलेरै धेरै कुरा भन्छन् । अनुहारको मांसपेशी र आँखाको चालमा यस्तो भावभङ्गी अरू कसले ल्याउन सक्थे ?
अरू कुनै कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन । इक्साको भूमिकामा परीक्षा लिम्बू सम्झनलायक छिन् ।
यद्यपि, फिल्म कमजोरीरहित छैन । खासगरी, सुरुवाती दृश्यहरूको सिलसिला टुट्दा दर्शक अलमलिन सक्छन् । पात्र र घटनाक्रम स्थापित गर्न केही समय लाग्छ । पटकथालाई कसिलो र छरितो बनाउने ठाउँ अझै छ । मिलेनियल पुस्ताको कथा भनिरहँदा जेन-जीको शब्दज्ञानले भ्रम पार्न सक्छ ।
फिल्मका मुख्य पात्र धरणीलाई गीताङ्गेका रूपमा चित्रित गरिएको छ, जो लुकीछिपी गाउँछन् । तर, सुजन चापागाईँको स्वरमा धरणीको स्वरको तालमेल मिलेजस्तो लाग्दैन। यद्यपि, निर्माण टिमले प्रेमध्वज प्रधानप्रति सम्मान जनाउन जानाजान यस्तो गरेको बताएको छ । त्यसैले धरणीले दिग्गज गायक प्रेमध्वजका गीतहरू गाउँछन्, जुन उनको भावनाको अभिव्यक्ति जस्तो लाग्छ ।
यस्तै, पचासको दशकका रोमान्टिक हिरो-हिरोइन दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान गर्न कतिपय प्रसङ्ग र दृश्यहरू जोडिएको बताइन्छ ।
फिल्मको यो कथा नयाँ होइन । समाजलाई साक्षी राखेर प्रेमको कथा धेरैपटक भनिएको छ। निर्देशकले आफ्नो कथालाई इमानदारीसाथ भने पनि त्यसमा पृथकपन ल्याउन सकेका छैनन् ।
अन्त्यमा,
‘बिगौती त बासी नै मिठो हुन्छ नि ?’
के प्रेम पनि बासी नै मिठो हुन्छ ? धरणी र फूलको जस्तै ।
दूरी र परिबन्धले टाढिएर पनि उनीहरू एक अर्कालाई पर्खिरहेका हुँदाहुन् । के उनीहरूको पुनर्मिलन होला ?
काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड सेरेसले नेपालका सडकमा आफ्ना ५ सयभन्दा बढी ईभी पुगेको घोषणा गरेको छ । यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गरेकाे कम्पनीले जनाएकाे छ ।
यस सफलताका अवसरमा शुक्रबार सेरेसले एक विशेष केक काट्ने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिको उपस्थिति थियो ।
‘नेपालका सडकमा सेरेस गाडीको संख्या ५ सयभन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नवीनतम ईभी सोलुसन्सको प्रमाण हो,’ सिकरियाले भने, ‘नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौं । सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिस डिजाइन नेपाली प्रयोगकर्ताको रोजाइसँग मेल खान्छ । यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ।’
सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशमा आफ्नो उपस्थिति कायम गरिसकेको छ र युरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ । यस ब्रान्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ ।
सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीमध्ये एक हो । सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १० करोड डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ ।
अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र ‘एम७’, ‘एम८’ र ‘एम८’ गरी तीन नयाँ ईभी मोडेल सार्वजनिक गर्ने छ जसले यसको इनोभेटिभ लाइनअपलाई थप विस्तार गर्ने छ ।
सेरेसको गुणस्तर र नवप्रवर्तनले अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता पाइरहेको छ । इन्डोनेसियामा सेरेसले ‘फेभरेट कार लन्च’, ‘मोस्ट अफोर्डेबल कार’ र ‘फेभरेट कमर्सियल भेहिकल’ जस्ता ३ प्रमुख ईभी अवार्ड जितेको छ । यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको छ ।
हालै ‘सेरेस ३’ लाई इन्डोनेसिया, हङकङ, रुस र नर्वेजस्ता देशमा सार्वजनिक गरिएको छ, जसले सेरेसको विश्वव्यापी प्रभाव अझ फराकिलो बनाएको छ ।
नेपालमा सेरेसले कठिन भौगोलिक चुनौतीमा आफ्नो शक्ति प्रमाणित गरिसकेको छ । ४ हजार ६ सय ६० मिटर उचाइमा रहेको कोरला पास पार गर्ने पहिलो ईभी बनेर सेरेसले चरम परिस्थितिमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ ।
नेपाल दिगो एवं वातावरणमैत्री भविष्यतर्फ अग्रसर भइरहँदा सेरेसले स्थानीय आवश्यकता सम्बोधन गर्दै विश्वस्तरीय मापदण्ड पनि पूरा गर्ने स्मार्ट, सुरक्षित र स्टाइलिस ईभी नेपाली प्रयोगकर्ता समक्ष ल्याइरहने जनाएको छ ।
काठमाडौं । डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ई–सेवा मनी ट्रान्स्फरले आफ्नो पाँच वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको छ ।
नेपालकै अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत ३० वैशाख २०७७ मा स्थापना भई सञ्चालनमा आएको ई–सेवा मनी ट्रान्स्फरले स्थापनाकालदेखि नै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै विश्वभरि रहेका २ सयभन्दा बढी देशबाट नेपालीले नेपालमा सजिलै पैसा पठाउने सक्ने सेवा उपलब्ध गराउँदै आएको छ ।
पाँच वर्ष अवधिमा ई–सेवा मनी ट्रान्स्फरले १ सयभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्दै एक बलियो तथा विश्वासिलो अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सफल भएको जनाएको छ ।
यस नेटवर्क मार्फत विदेशमा रहेका नेपालीले आफ्ना प्रियजनको ई–सेवा वालेट, बैंक खाता वा नगद भुक्तानी केन्द्रहरूमा सजिलै, सुरक्षित र प्रभावकारी तरिकाले रकम पठाउन सहज बनाएको छ ।
केवल पाँच वर्षको अवधिमै ई–सेवा मनी ट्रान्स्फरले सुलभ, छिटो, सुरक्षित र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीको मन जितेर उनीहरूको पहिलो रोजाइ बन्न सफल भएकोमा हामी अत्यन्त खुसी र उत्साहित छौं,’ पाँचौं वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने,
‘डिजिटल नेपालको हाम्रो उद्देश्यमा विश्वास राख्दै साथ दिनुहुने सबै साझेदार, ग्राहकवर्ग तथा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्याउनु भएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।’
एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले ई–सेवा मनी ट्रान्स्फरको पाँचौं वार्षिकोत्सव नेपालमा वित्तीय सेवा क्षेत्रको रूपान्तरण गर्ने दुरदृष्टि तर्फको एक महत्त्वपूर्ण पाइला भएको बताए ।
‘प्रविधिमा आधारित नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाहरूका माध्यमबाट हामी संसारभरि रहेका नेपालीलाई अझ नजिक ल्याउँदै, वित्तीय समावेशिताको अनुभूति दिलाउने हाम्रो यात्रा अविच्छिन्न रूपमा अगाडि बढिरहेको छ,’ उनले भने ।






