
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए।
जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गरे। यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ थियो ।
“बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौँ”, अध्यक्ष दाहालले भने, “तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आएको छु ।” तराइ मधेस जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताए ।
मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए । मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताए ।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ की भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताए । माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पुर्याएको उनले बताए।
अध्यक्ष दाहालले भने, “जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका र जनताका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पुर्याउने लक्ष्य लिएको उनको भनाइ थियो । मध्यपहाडी लोक मार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने अध्यक्ष दाहालले बताए ।
दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उनले बसाइसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए । पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरूको उपस्थिति रहेको थियो । यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान सुरु भएको हो ।
काठमाडौं । काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप चार दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्। आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताएका छन्।
प्रहरीले उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यसअघि शुक्रबार मात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।
प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनस्र्थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो ।
काठमाडौं । रसुवाबाट साढे सात किलो सुन बरामद भएको छ । रसुवाको गोसाइकुण्डबाट गाउँपालिका–१ बाट साढे सात किलो सुनसहित एक जना पक्राउ परेका हुुन् । केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे सात किलो सुन बरामद गरेको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिएका छन् ।
उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि रसुवाकै हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार तस्करीको सुन बरामद गरेर अहिले यकिन तौल लिने काम भइरहेको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीले कडा निगरानी बढाएपछि उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।
विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प–झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । झ्याप्प–झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ । उनले पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिक रूष्ट रहेको बताइन् ।
जसकारण पनि सरकारको बिरोध भइरहेको उनको भनाइ छ । उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् । सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य काममा काबिल रहेको जिकिर गरेका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी लेख्दै उनले हितेन्द्र प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार रहेको पनि बताएका छन् । तर, बलेको बत्तीमुनि बसेर पोष्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइएको उनको भनाइ छ। यसमा सजग हुन रिमालले शाक्यलाई अनुरोध गरेका छन्।
‘बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो । देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ ।’
अहिले समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा रहेका रिमालको टिप्पणी छ। यस्तो बेलामा शाक्यले इमान्दार प्रयास गर्दा पनि, त्यो ‘फिड’ मा नदेखिने उनले उल्लेख गरेका छन्। ‘किनकी त्यो ‘फ्रेम’ को हिस्सा होइन । त्यसैले, सजग रहनुस्–काम गर्नुस्, तर ध्यान दिनुस्– कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्’, रिमालले थपेका छन्, ‘कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।’





