
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय अभ्यासमा आफूहरु अनुभवी भइसकेको दाबी गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सांसद मनिष झाले आफूहरु संसदीय अभ्यासमा अनुभवी भइसकेको बताएका हुन् ।
उनले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसाको प्रकरणमा संलग्नता रहेको कुरा सञ्चारमाध्यममा आइरहेको भन्दै बैठकमा सो बारेमा छलफल भएको बताए ।
सांसदहरुले बैठकमा आफ्ना धारणाहरु राख्नुभएको र नेताहरु रणनीति बनाउने काम गरिरहेको उल्लेख गरे । विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीले बिर्सिनुभएको बताए ।
उनले भने– ‘गृहमन्त्रीज्युको भिजिट भिसाको प्रकरणमा संलग्नता र आज विभिन्न दलहरुले गरेको बैठक, त्यसबाट आएको अभिमत, राजनीतिक स्टेटमेण्टहरु आएको छ, त्यसको बारेमा हाम्रो रणनीति के हुन्छ, त्यसको बारेमा आवश्यक छलफल गरेका छौँ । आज यथेष्ट रुपमा यो एजेण्डामा सबैले आफ्नो अभिमत राखेर सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौँ । हामी अब सदनमा अनुभवी भइसकेका छौँ । पहिला प्लान गर्दथ्यौँ । अब हामी रियलाइज गर्ने अवस्थामा पुगिसक्यौँ । विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीज्युले लगभग एक वर्षअघि सदनमा प्रश्तुत गर्नुभएको थियो । हामी उहाँलाई भोलि त्यो सम्झाउन चाहन्छाँै । ’
सांसद झाले आफूहरुले प्रश्न सोध्न पाउनुपर्ने र सोध्दै नसोधको प्रश्नको तयारी गरेर जवाफ दिन नमिल्ने बताए । संसदमा गृहमन्त्री लेखकलाई जवाफ दिएर लुसुक्क हिँड्ने काम गर्न नदिने बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभाप[ति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले अब न्याय माग्न म कहाँ जाऊ ? भन्दै भावुक भएकी छन् ।
सामाजिक सञ्जालमार्फत पौडेलले सर्वोच्च अदालतले आफुलाई न्याय नदिएको उल्लेख गर्दै अब, न्याय माग्न म कहाँ जाऊँ ? भन्दै प्रश्न गरेकी हुन् ।
उनले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्-
त्रास अझैं बाँकी छ …!
जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले । अन्याय हुँदैन भन्ने लागिरह्यो ।
हाम्रो तर्फबाट बहस राम्रो भयो । बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ । बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें । न्यायप्रतिको विश्वास झनै बढ्यो । करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे । केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता) को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए । आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।
‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन । आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए । ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता । बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु । म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।
शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन । भोलिपल्ट (शनिवार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला । कसरी उहाँको अगाडि पुगें, थाहा छैन । सायद जिउँदो लास भएर हिंडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किए ।
केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ?
गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ । थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ ।
सोमबार आयोगका सहसचिव प्रवक्ता डा टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
उक्त विज्ञप्तिमा उल्लेख छ ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको छैन । यस परिस्थितिमा अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’
विज्ञप्तिमा जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुने उल्लेख गरिएको छ ।
देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई रहेको बताइएको छ ।
जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरू व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक कार्यक्रमबिच जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
आगामी जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको सन्दर्भलाई इङ्गित गर्दै उनले यस्तो भनेका थिए ।
त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा डा. शेखर कोइराला, राजेन्द्र बजगाईं र डा. सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएपछि डा. शर्माले कडा प्रतिक्रिया जनाएका छन्।
बैठकमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टी नेताहरूलाई बोलाएर कुराकानी गर्न सुझाव दिइएको थियो। नेता शशांक कोइरालाका अनुसार, सभापतिलाई ती नेताहरूसँग भेटेर स्पष्ट पार्न आग्रह गरिएको भए पनि देउवाले यसबारे कुनै जवाफ नदिएको बताए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो। तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ।
यसै सन्दर्भमा डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- “युग परिवर्तन गर्न, सत्य र न्यायका लागि लड्न पश्चिमा दर्शनका जनक सुकरातले हेमलट विष पिएर आधुनिक युगको प्रारम्भ गर्नुभयो। सबैलाई चेतना भया।”
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता भएको छ। ललितपुरको ग्वार्कोस्थित एक ब्यांक्वेटमा सोमबार दिउँसो दुई पार्टीबीच पार्टी एकता घोषणा भएको हो। एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन्। एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए।
समायोजन भएका गंगानाराण श्रेष्ठलाई केन्द्रीय सचिव र अन्यलाई सम्मानजनक रूपमा संगठनमा जिम्मेवारी दिइनेछ सहमति पत्रमा उल्लेख छ। २०७२ सालमा डा. बाबुराम भट्टराई माओवादीबाट अलग भएपछि गठन भएको नयाँ शक्ति नेपाल, संघीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएको थियो । तर, गंगानारायणसहितका नेता बाबुरामको नेसपाबाट पनि अलग भएका थिए।
नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर माओवादीमा फर्किएका हुन्।माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा सचिव पद पाएका छन्। उनीसहित प्रदेश सभाका दुई सांसद पनि माओवादीमा बिलय भएका छन्। उनीहरु गत चुनावमा माओवादीकै चिन्हबाट निर्वाचित भएका थिए।
.jpg)
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीको पदाधिकारी बैठकपछि मिडियासँग कुराकानी गर्दै कांग्रेसले प्रधानमन्त्री ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताएका हुन् ।
उनले जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनका विषयमा प्रवक्ता महतले कांग्रेस संबिधानको रक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो कब्जाको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।
उनले संबिधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संबिधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।
उनले भने-प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ । सबै उहाँले भनेका कुराको जिम्मेवारी हामीले लिने कुरा पनि भएन । हामी कब्जा सब्जाको पक्षमा छैनौं । हामी समग्रमा संबिधानको प्रतिरक्षाको पक्षमा छौं । संबिधानले दिएका अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ, त्यो शान्तिपूर्ण रुपमा राख्नुपर्छ । तर संबिधानकै खिलापमा जान्छौं भन्ने कुरा ठिक होइन भन्नेमा विश्वस्त छौं ।’
कांग्रेसको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषी नभएको निष्कर्ष निकालेको छ ।
काठमाडौं- नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।
सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन शुरु भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निष्कर्ष रहेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
उनले भने- ‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका छन्, चौतर्फी आवाज आइरहेको छ, यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, कांग्रेसका नेताहरुले समेत राजीनामा मागेका छन् । हाम्रो पार्टीको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’
प्रवक्ता सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ र जति ढिला भयो उती राज्यको साख गिर्ने बताए ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ।
आज (सोमबार) देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो।
बैठक गृहमन्त्रीको राजीनामामा प्रवेश नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महले जानकारी दिए । उनको भनाइ छ। ‘छानबिनको दायरामा गृहमन्त्री हुनु हुन्नु, उहाँमाथि उजुरी छैन। उहाँ दोषी भन्न मिल्दैन’ जो संलग्न छन् तिनीहरुमाथि कारवाही हुनुुपर्छ, बैठकपछि प्रवक्ता महतले भने । उनले लेखकलाई जब्बरजस्त जोडेर अफवाह फैलाइएको समेत बताएका छन्।
जनकपुरधाम । दुई साँढे जुधिरहेकै ठाउँमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ का अन्दाजी ५० वर्षीय सत्तार राइन छन् । स्कुटरबाट लडेर घाइते राइनको उपचारका लागि जानकी हेल्थ केयर लगेपछि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार राति करिब साढे ८ बजे राइन मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर घरतर्फ गइरहेका थिए । पेठियाबजारमा आपसमा दुई साँढे जुधिरहेका थिए । जनकपुरधाममा छाडा चौपायाको व्यवस्थापनामा चासो नदेखाएकाले जोखिम बढेकोमा स्थानीय सरकारको गुनासो हुँदै आएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने समय थप गरेको छ ।
एसईईमा समावेश हुन चाहने परीक्षार्थीहरूका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउने अन्तिम म्याद २०८२ जेठ ११ गतेसम्म तोकिएकोमा विद्यालय, विद्यार्थी र अभिभावकहरूको माग बमोजिम उक्त फाराम भर्ने अन्तिम म्याद २०८२ जेठ ३० गतेसम्म कायम हुने गरी समय थप गरेको हो ।
विद्यालयहरूले उक्त फाराम रुजु गरी राजस्व शीर्षक नं १४२२३ मा तोकिएको राजस्व रकम जम्मा गरेको भौचरसहित असार ८ गते आइतबारसम्म शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।
यस अघि कार्यालयले जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो।






