२०८३ जेष्ठ ६ गते बुधबार
२०८३ जेष्ठ ६ गते बुधबार

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहालविरुद्ध झुटा मुद्दा लगाइएको छ ।

दाहालविरुद्ध आपराधिक उव्द्रव र साङ्गठनिक अपराधसम्बन्धी गम्भीर अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सम्पादक दाहालले आफूले घटनास्थलमा “पत्रकारिताको धर्मअनुसार” मात्र रिपोर्टिङ गरेको दाबी गर्दै भनेका छन्, “मैले एक्सक्लुसिभ भिडियो खिचें, त्यसबाहेक मेरो कुनै संलग्नता थिएन। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्न नसकेको कमजोरी ढाकछोप गर्न मलाई गलत रूपमा फसाइएको हो।”

उनले घटनास्थलमा खिचिएका तस्बिर र भिडियोहरू अनुसन्धानका प्रमाणका रूपमा प्रयोग गरिएको जनाउँदै, त्यसै आधारमा आफूलाई अभियुक्त बनाइएकोमा आपत्ति जनाएका छन्।

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाअनलाइन टिभी पत्रकार संघ, नेपालले संयुक्त रूपमा कडा विरोध जनाएका छन्।

नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका दाहालले संकलन गरेका प्रशस्त तस्बिर तथा भिडियो सामग्रीहरू सार्वजनिक घटनाको अनुसन्धानका लागि प्रयोग भइरहेको अवस्थामा लगाइएको यो आरोपलाई महासंघले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप र प्रहारको रुपमा लिएको छ ।

‘महासंघ यो हस्तक्षेपप्रति खेद प्रकट गदैं कडा आपत्ति प्रकट गर्दछ । र, घटनाको छानबिन गरी महासंघका सदस्य दाहालमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरणका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्पादक दाहालमाथिको मुद्दा व्यक्तिगत अधिकारमाथिको हस्तक्षेप मात्र नभई स्वतन्त्र प्रेसमाथि नियोजित हमला हो।”

महासंघले सरकारलाई मुद्दा तत्काल फिर्ता लिन आग्रह गर्दै चेतावनी दिएको छ, “यदि मुद्दा फिर्ता लिइएन भने सम्पूर्ण पत्रकार समाज, नागरिक समाज र लोकतान्त्रिक मूल्यमा विश्वास राख्ने जनसमुदायको संयुक्त प्रतिवादका साथ संघीय तहमा संघर्ष सुरु गरिनेछ।”

वक्तव्यमा सरकारले पत्रकार सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुपर्ने, प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने संवैधानिक दायित्वको सम्मान गर्नुपर्ने र स्वतन्त्र पत्रकारितामाथि भएको आक्रमण फिर्ता लिनुपर्ने माग गरिएको छ।

अनलाइन टिभी पत्रकार संघले पनि विज्ञप्ति जारी गर्दै दाहालले स्वतन्त्र पत्रकारको हैसियतमा घटनास्थलबाट प्रत्यक्ष प्रसारणमार्फत आम नागरिकलाई तथ्यपरक जानकारी दिने प्रयास गरेको उल्लेख गरेको छ। “पत्रकारिताको धर्मअनुरूप गरिएको कार्यलाई अपराध ठहर गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीतको कार्य हो,” विज्ञप्तिमा भनिएको छ।

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण नेपाल सरकारको संवैधानिक दायित्व हो। स्वतन्त्र रिपोर्टिङ गर्ने पत्रकारमाथि आपराधिक अभियोग लगाइनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन र अभिव्यक्तिको अधिकारमाथि प्रत्यक्ष आक्रमणको रूपमा लिइएको छ।

सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धीकरण मुद्दामा  जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । 

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए । 

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु. पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । 

उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर आज फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् । 

राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि सुनिश्चित गरी निम्तो दिइएका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् ।

आयोगले १५ दिन अघि नै साढे ११ बजे प्रधानमन्त्री ओलीको  पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको थियो । तर, कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने पनि जानकारी नगराइएको आयोगका एक कर्मचारीले बताए।

कार्यक्रममा सरकारका मुख्य सचिव, सचिवहरूको उपस्थिति रहने गरी कार्यक्रम तय गरिएको थियो । सरकारका उच्च पदस्थ व्यक्ति कोही पनि उपस्थित भएनन्। आयोगले वर्षेनी प्रधानमन्त्रीकै उपस्थितिमा वार्षिकोत्सव मनाउने गरेको छ।

आयोगले सोमबार मात्रै विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको भनाइमा टिप्पणी गरेको थियो। प्रधानमन्त्रीले जेठ १५ का लागि आफ्ना कार्यकर्तालाई गरेको आग्रह उत्तेजनापूर्ण भनेको थियो।

कार्यक्रममा आयोगकी सदस्य लिली थापाले स्वागत भाषण गर्दै सरकार मानवअधिकार आयोगप्रति कति उदासीन छ भन्ने कुरा आजको कार्यक्रमले देखाउने बताइन्।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसको फितलो कार्यान्वयन रहेको बताए। आयोगका सिफारिस कार्यान्वयन लागि सरकारलाई आग्रहसमेत गरे। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लिखित भाषण पनि तयार गरेका थिए।

यता प्रधानमन्त्रीको सचिवालयले मानवअधिकार आयोगको कार्यक्रम बिहान चाँडै भएकोले जान नसकिएको जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले प्रधानमन्त्री राति अबेरसम्म व्यस्त रहेकाले बिहानको कार्यक्रममा सहभागी हुन नसकेको बताए।

उनले भने,’मानवअधिकार आयोगको कार्यक्रममा जाने कार्य तालिका थियो। तर राति अबेरसम्म बस्नु परेको र आयोगको कार्यक्रम बिहान चाडै रहेकाले प्रधानमन्त्री ज्यु जानु भएन।’

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलाको पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध भएको छ ।

पुलको एकापट्टिको भागमा प्वाल परेपछि दुइतर्फी सवारी साधन रोकिएका छन् । प्रहरीले प्वाल पुरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

नागाढुङ्गा-पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो ११:३० देखि ३ बजेसम्म सवारी रोकिएपनि धार्के सितापाइला सडकबाट साना सवारीको आवगमन भइरहेको थियो ।

बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।

दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ ।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।

उनकाअनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् ।

बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउने बताएका छन् ।

आज (मंगलबार) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए । ‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन सरकारसँग पनि रिलेटेड छ’ प्रचण्डले भने, ‘कम्तिमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’

प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे । प्रचण्डले बाबुरामले धेरै तह उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नु मात्रै रहेको जिकिर गरे । उनले एकता प्रक्रियामा बाबुरामलाई आफूले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणी गरेका छन् ।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो । गृहमन्त्रीकै पार्टी कांग्रेसका कतिपय नेताले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् । तर सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले उनले राजीनामा दिनु नपर्ने जिकिर गरेको छ । गृहमन्त्री लेखक स्वयंले भने पार्टीलाई अप्ठेरो पर्ने अवस्था भए आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।

काठमाडौँ । प्रतिपक्षी दलहरुले मागे गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

आजको प्रतिनिधि सभाको बैठक शुरु हुना साथ माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका हुन् ।

पुनले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सिधै संलग्नता छ भनेर आफुहरुले नभन्ने तर छानबिन प्रभावित हुन सक्ने हुनाले राजीनाम दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।

काठमाडौं-  चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशले सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ। 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्क अनुसार चालु आवमा गण्डकी प्रदेशले ५ शलमव ५१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको हो। त्यसपछि बागमती प्रदेशको ५ दशलमव १८ प्रतिशत वृद्धिदर रहने अनुमान छ।

कर्णाली प्रदेशको आर्थिक वृद्धिदरमा गत आवको तुलनामा उल्लेख्य सुधार हुने अनुमान छ। गत आवमा ३ दशलमव २६ प्रतिशतको वृद्धिदर हासिल गरेको कर्णालीले चालु आवमा ४ दशलमव ७४ प्रतिशत वृद्धिदर हासिल गर्ने कार्यालयको अनुमान छ।

कर्णालीपछि लुम्बिनी प्रदेशको वृद्धिदर ४ दशलमव ७० प्रतिशत हुने अनुमान गरिएको छ। उल्लिखित प्रदेशहरूको वृद्धिदर चालु आवका लागि अनुमान गरिएको राष्ट्रियस्तरको ४ दशलमव ६१ प्रतिशतको वृद्धिदरभन्दा बढी हो।

कार्यालयका अनुसार मधेश प्रदेशको वृद्धिदर ४ दशलमव ५० प्रतिशत हुने छ भने कोशी प्रदेशको ३ दशलमव ३४ प्रतिशतको हुने अनुमान छ। चालु आवमा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३ दशलमव ३२ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ।

अर्थतन्त्रको आकारका हिसाबले सधैँ जस्तै बागमती नै अगाडि रहेको छ । बागमतीले कुल अर्थतन्त्रमा एक तिहाइभन्दा बढी योगदान दिने अनुमान गरिएको छ। कार्यालयका अनुसार चालु आवका लागि मुलुकको कुल अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकामा बागमतीको मात्र ३६ दशलमव ५२ प्रतिशत योगदान रहने छ। 

त्यसपछि कोशी प्रदेशको १५ दशमलव ९० प्रतिशत, लुम्बिनी प्रदेशको १४ दशलमव २३ प्रतिशत, मधेश प्रदेशको १३ दशलमव १६ प्रतिशत, गण्डकी प्रदेशको ८ दशलमव ९८ प्रतिशत योगदान हुने अनुमान छ। सुदूरपश्चिम प्रदेशले ७ दशलमव ०३ प्रतिशत योगदान दिँदा कर्णाली प्रदेशको योगदान ४ दशलमव १९ प्रतिशत हुने अनुमान छ। 

गत आवको तुलनामा मुलुकको कुल अर्थतन्त्रमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान केही घट्ने पाइएको छ। मधेश र बागमतीको भने केही बढ्ने अनुमान छ।

बागमतीवासीले कमाउँछन् धेरै

प्रतिव्यक्ति आम्दानीका हिसाबले बागमती प्रदेशका बासिन्दाले सबैभन्दा धेरै कमाउने पाइएको छ। चालु आवमा यस प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय दुई हजार ६०१ डलर पुग्ने अनुमान छ। गत आवमा यस्तो आम्दानी दुई हजार ४९२ डलर थियो।

बागमतीपछि गण्डकी प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय सबैभन्दा धेरै हुने पाइएको छ। चालु आवमा यहाँका स्थानीयको आम्दानी एक हजार ६२० डलर पुग्ने अनुमान छ। बागमती र गण्डकीबाहेक बाँकी सबै प्रदेशको प्रतिव्यक्ति आम्दानी राष्ट्रियस्तरको प्रतिव्यक्ति आम्दानीभन्दा कम छ। चालु आवका लागि कार्यालयले नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ४९६ पुग्ने अनुमान गरेको छ।

तेस्रो स्थानमा रहेको कोशी प्रदेशका स्थानीयको प्रतिव्यक्ति आम्दानी एक हजार ४०१, लुम्बिनी प्रदेशको एक हजार २०१, सुदूरपश्चिम प्रदेशको एक हजार १५३, कर्णाली प्रदेशको एक हजार ८९ डलर पुग्ने अनुमान छ। सबैभन्दा कम प्रतिव्यक्ति आम्दानी भने मधेश प्रदेशको हुने अनुमान छ। मधेशका बासिन्दाको प्रतिव्यक्ति आम्दानी केवल ९३२ डलर हुने अनुमान छ। 

मधेशका स्थानीयको प्रतिव्यक्ति आयको तुलनामा बागमती प्रदेशवासीको आयमा करिब तीन गुणाको अन्तर छ।

कृषिकै योगदान बढी

चालु आवमा पनि बागमती प्रदेशबाहेक बाँकी सबै प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रकै योगदान सबैभन्दा बढी हुने अनुमान गरिएको छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी हुने छ। 

त्यसपछि घरजग्गासम्बन्धी कारोबारको सेवाको हिस्सा बागमतीमा दोस्रो स्थानमा छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा हुने अनुमान छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ पाँच पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७२ पैसा र बिक्रीदर २० रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रुपैयाँ ८५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ४१ पैसा तोकेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ। मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।