
काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।
सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।
‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।
त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।
आइतबार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत पक्राउ परेका थिए ।
उनीहरूमाथि प्रहरीले दमन गरेको आरोप राजावादी समूहले लगाएको छ ।
‘शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो त्यसको हामी निन्दा गर्दछौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ । राप्रपा सांसद दीपक सिंह प्रहरी परिसर काठमाडौँबाट पक्राउ परेका छन् । सिंह परिसर पुगेका बेला उनलाई पक्राउ गरिएको हो ।
राप्रपा महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको खबर पाएको बताएका छन् ।
यसअघि आइतबार राजावादीको आन्दोलन स्थल नक्सालको नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना पक्राउ परेका थिए ।
काठमाडौं । यातायात व्यवसायीले भोलि (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो । विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।
संघीय ऐनसँग बाझिने गरी प्रदेशहरूले ऐन ल्याउन लागेको र विशेषगरी गण्डकी प्रदेशले राजतन्त्रमा प्रकाशन गरी निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको (कालो प्लेट) सरह सञ्चालन गर्न लागेको, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेका लगायतका माग गरेर आन्दोलन गर्न लागिएको जानकारी सिटौलाले दिए । ‘सरकारले हाम्रा मागहरू नसुनेकै कारणले हामीले देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हौं, तर पनि हामी वार्ताका लागि तयार छौं, वार्ताको ढोका खुला छ,’ उनले भने ।
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको छ । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
गण्डकी । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुन:आह्वान गरेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो । ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू वार्तामा आएका थिएनन् ।
यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रदेश सरकारले जारी गरेको काननुनबाट कुनै पनि पक्षलाई असर पर्न गएको अवस्थामा त्यस सम्बन्धमा खुला छलफल गर्न प्रदेश सरकार सधैँ तयार रहेको प्रदेश सचिव एवं वार्ता समिति संयोजक इञ्जिनियर कमलकुमार अधिकारीले बताए।
यस्ता समस्याको निराकरण छलफलका माध्यमबाट नै हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताउँदै उनले हाल भइरहेका बन्द हडतालका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरे ।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकीलगायतका आठ संगठनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन् ।
मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारी साधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिन नहुनेलगायत विषय छन् । सार्वजनिक यातायात बन्दका कारण यही जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सर्वसाधारण समस्यामा परेका छन् ।
काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न सात बुँदे माग राखी आज (आइतबार) काठमाडौं माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका छन्।
सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन्। सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन्। सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।
यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण सर्वसाधरण यात्रु समस्यामा परेका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सम्बन्धी नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्दका कारण यात्रु अलपत्र परेका हुन्। शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा पुगेका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कर्टिङमा पर्यटक र स्कुल बसमा मुग्लिन पठाइएको छ। पोखरा बाहेक अन्य ठाउँमा पनि यात्रु अलपत्र परेका छन्।
रोल्पा । रोल्पाको खुमेलमा १३ दिनको पूण्य तिथि (शुद्ध कार्य) का अवसरमा पकाएको खाना खाँदा ११० जना बिरामी भएका छन्।
स्थानीय एक जना बृद्धको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रसादको रूपमा पकाइएको खाना खाँदा आगन्तुकहरु बिरामी परेका हुन्। प्रहरीका अनुसार पूण्य तिथिका अवसरमा शनिबार भेला भएर खाना खाएका १५० जनामध्ये ११० जना बिरामी भएका थिए । बिरामीलाई रातिसम्म रेउघास्थित रोल्पा अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । ‘बिरामीमध्ये अधिकांशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। धेरै बिरामी परेकालाई अस्पतालमा पठायौं,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले भने ।
रोल्पा नगरपालिका–३ चौरपानी स्थित तिलप्रसाद रोकाको घरमा उनकै ठूलो बुवा चित्रबहादुर रोकाको १३ औं पूण्य तिथिको अवसरमा खानपिन कार्यक्रम आयोजना गरिएको थियो । खाना खाएकाहरु दिउँसो ३ बजेदेखि बिरामी भएका थिए। बिरामी भएका अधिकांशले दालभात, तरकारी, पुरी, अचार खाने बित्तिकै उल्टी (वान्ता) गरेका थिए । घटनापछि १०२ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो भने गम्भीर अवस्थाका १२ जनालाई राति अबेरसम्म रोल्पा अस्पतालमा पठाइएको थियो। अस्पतालका चिकित्सक डाक्टर रिषभ गौतमले सबै बिरामीमा खानामा खराबी (फुड पोइजन) संक्रमण भएको बताए । ‘धेरै जनाको लागि पकाइएको खानामा किटाणुको संक्रमण भएको हुनुपर्छ।
उपचारपछि बिरामीको अवस्था सामान्य छ,’ डाक्टर गौतमले भने। उनका अनुसार गाउँमा धेरै जनाको लागि खाना तयार पार्ने क्रममा सावधानी अपनाउन नसक्दा किटाणु संक्रमित भएको हुन सक्छ । अस्पतालमा ल्याइएका १२ जनामध्ये चार जनालाई उपचार पछि घर पठाइएको छ भने ८ जनाको उपचार जारी छ। बिरामीमध्ये अधिकांशलाई बोमिट हुने र पखाला लाग्ने समस्या छ। उपचाररतमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज (आइतबार) देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले।
मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजे, पाएनन्। मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ। पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (आइतबार) दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।