
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी, बचत अपचलन र हिनामिनामा झुटा मुद्दा लगाएको भन्दै प्रतिशोधविरूद्ध न्यायका लागि वृहत अभियान चलाउने भएको छ ।
आज (सोमबार) को सचिवालय बैठकले संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान गर्दागर्दै सभापति लामिछानेलाई फसाउने नियतले सरकारले झुटा मुद्दा लगाएको निचोड निकालेको हो ।
‘पार्टी सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक राज्य संयन्त्र र कानुनलाई अस्त्रीकरण गर्दै लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाको पछिल्लो अवस्थाका सम्बन्धमा पार्टी सचिवालय बैठकमा छलफल भयो,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’सहकारी बचतकर्ताका करोडौं, अर्बौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरू १०–२० लाख रूपैयाँ धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासत समेत नबसी अदालतबाट रिहा हुने, तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुटा मुद्दा, प्रतिशोधविरूद्ध न्यायका लागि वृहत अभियान अन्तर्गत हस्ताक्षर अभियानलाई व्यापक बनाउने निर्णय भएको छ ।’
बुटवलको सुप्रिम बचत तथा सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याएपछि सभापति लामिछाने अहिले पुर्पक्षका लागि थुनामा छन् । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना र ठगी प्रकरणमा उनीविरूद्ध मुद्दा चलिरहेको छ ।
सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको आज (सोमबार) को दोस्रो वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र व्यवसायीबीचको १४ घण्टा लामो वार्ता निष्कर्षविहीन भएको हो ।
मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सञ्चालन सम्बन्धी नियमावली संघको ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने व्यवसायीको मागमा सरकार तयार नहुँदा वार्ता टुंगोमा पुग्न नसकेको हो । यातायात महासंघका महासचिव भरतराज नेपालले गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको जानकारी दिएका छन् ।
‘हामीले मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली संघीय ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने माग राखेका हौं’, उनले भने, ‘उहाँले यो काम हामीबाट हुन सक्दैन। माथिल्लो निकायबाट पहल गर्नुपर्छ भनेपछि वार्ता स्थगित भयो।’ पुनः भोलि बिहान १० बजेका लागि वार्ताका लागि बोलाइएको महासविच नेपालले जानकारी दिएका छन्।
उनले भने, ‘हाम्रो मागप्रति सरकार तयार भए राति पनि वार्ता हुन सक्छ।’
गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सञ्चालनसम्बन्धि नियमावलीको खारेजीको माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेका छन्। उनीहरुले आजदेखि देशैभर सार्वजनिक यातायात बन्द गरेका छन्। यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ।
काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् ।
काठमाडौं । दरबार हत्याकाण्डमा मारिएका राजा–रानीसहित परिवारका सदस्यको सम्झनामा काठमाडौं कमलादी गणेश मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ।
हिमानी ट्रष्टले दीप प्रज्ज्वलन आयोजना गरेको थियो। जहाँ पूर्व युवराज्ञी हिमानी शाह र हृदयन्द्र शाहको उपस्थिति थियो। यसअघि नारायणहिटी दरबार परिसरमा रहेको नारायण मन्दिरमा दीप प्रज्वलनको तयारी गरिएको भए पनि कमलादीमा गरिएको थियो। दीप प्रज्ज्वलनमा पूर्वराजा ज्ञानेन्द्र शाह भने अनुपस्थित थिए। २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित परिवारका सदस्य मारिएका थिए।
उनीहरूसँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजावादी नेता–कार्यकर्ताहरू पनि कमलादी पुगेका छन्। दीप प्रज्वलन कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा रानीको तस्बिरमा माल्यार्पण गरेका थिए । उनीपछि राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले गरेका छन् ।
संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । ‘हामीले सुशासनलाई जोड दियौँ । हामीले जो विषयवस्तु राखेका छौ त्यो यथावत रहेको छ’, उनले भने, ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो ।
मङ्गलवारबाट संसद्मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
काठमाडौं । संसदमा देखिएको गतिरोधलगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख तीन दलका शीर्ष नेताहरूको छलफल जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। राजीनामा नआएसम्म संसद चल्न नदिने उनीहरूको अडान छ । प्रतिपक्षीले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री ओलीले शीर्ष तीन दलका नेताहरूलाई छलफलमा बोलाएका हुन् । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस भने गृहमन्त्री लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।
काठमाडौं– सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन् । यात्रुहरू यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बसिरहेका थिए । यातायात व्यवसायीले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न नौ सदस्यीय समिति गठन गरिएको र वार्ता सुरु भएको जानकारी दिए ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।
दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।
पोस्टर बाहेक पनि स्टाटस लेखिएको छ । जहाँ ओलीले झोले आरोपबाट नडराउन कार्यकर्तालाई प्रोत्साहन गरेका छन् । ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन पर्छ’, ओलीले लेखेका छन् ।
केही दिन अगाडि सार्वजनिक भाषण मार्फत् पनि आफू झोलेको भएको बताएका थिए ।
आजै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।
काठमाडौं – सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो ।
यातायात व्यवसायी तथा मजदुरका आठ संगठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् ।
गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।
काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औं स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो ।
त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।
दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् ।
पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ । यो २४ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य खुलेन।राजसंस्था अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेर राजसंस्था अन्त्य गरेका थिए ।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने । अहिले उनै ज्ञानेन्द्र वा ज्ञानेन्द्रका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने मागसहित राजावादीहरुले आन्दोलन गर्दै आएका छन् ।