
काठमाडौं – यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।
एक महिनाको शर्त राखेर आन्दोलन फिर्ता लिएको उनले बताए। ‘गण्डकी प्रदेशको पत्र आयो। अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ’, उनले भने। अब बेलुकादेखि नै गाडी चल्ने चल्ने व्यवसायीले बताएका छन्। गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव नेपालले बताए।
उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं। अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं। अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’
काठमाडौं । संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावना विपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।
काठमाडौँको टोखा नगरपालिका–८ निवासी अधिवक्ता डा. प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अधिकारीहरूलाई भेटेर सोमबार उजुरी दर्ता गरेका हुन् । निवेदनमा आयोगमा दर्ता भएर संघीय संसदमा प्रतिनिधित्व गर्दै आएको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीविरोधी सडक प्रदर्शन गरिरहेका र सो संविधान र कानुन विपरीत भएको जिकिर गरिएको छ ।
संविधानको धारा २६९ (१) मा ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानुनको अधिनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचारप्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्ने भनिएकाले सोको परिपालना हुनुपर्ने निवेदनमा उल्लेख छ ।
यस्तै, संविधानको धारा २७४ मा संविधानको संशोधन गर्दा समेत ‘जनतामा निहीत सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधानको संशोधन गर्न नसकिने’ कुराको सुनिश्चितता गरिएबाट नेपालको संविधानको आधारभूत संरचना, चरित्र र संवैधानिक प्रबन्ध लोकतान्त्रिक, गणतान्त्रिक रहेको स्पष्टै रहेकाले संवैधानिक प्रबन्धलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत २०८२ जेठ १५ गतेदेखि गरेको आन्दोलनको नाममा गम्भीर प्रकारले उल्लङ्घन गरेकाले कारबाही गर्न माग गरिएको छ।
अधिवक्ता डा. सिलवालले विधानसमेत पेस गरेको उक्त दलसँग स्पष्टीकरण लिई आन्दोलनका नाममा भएका संविधान तथा कानुनविरोधी कार्य रोक्न र त्यस्ता कार्य गरेकाले दलको दर्ता खारेजी गर्ने सम्मको कानुनी कारबाहीका लागि नेपाल सरकारको तर्फबाट आयोगमा लेखी पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि निवेदन दिएको जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अहिले ‘जनयुद्ध’ को समय नरहेकाले भ्रममा नपर्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन्। राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्।
हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नोमुनि राख्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुन लिङदेनले प्रचण्डलाई आग्रह गरे । आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभएर गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भएको उनको जिकिर छ।
आन्दोलनविरुद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्ने उनले दाबी गरे । निषेधाज्ञा विस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधानविपरीत रहेकाले यस्ता निर्णय फिर्ता लिन अध्यक्ष लिङदेनले सरकारलाई आग्रह गरे। राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रबाहेक सबै स्थानलाई ‘निषेधित क्षेत्र’ घोषणा गरिसकेको छ।
काठमाडौं- गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकारले उक्त निर्णय गरेको प्रदेश सचिव कमल कुमार अधिकारीले बताए।
‘जेठ २० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भई आएकाले यसपूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरू)लाई वार्ताका लागि पुन: आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ,’ गण्डकी प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राइड सेयरिङ सेवामार्फत हजारौं युवाले रोजगारीको अवसर पाइरहेको र यसमार्फत हजारौं युवाहरूलाई स्वरोजगारको अवसरसमेत सिर्जना हुने गण्डकी प्रदेश सरकारको बुझाइ छ। ‘सम्मानित सर्वौच्च अदालतको फैसला कार्यान्वयन गर्न नेपाल सरकारबाट प्रदेश सरकारलाई लेखिआएको हालको अवस्थामा प्रदेश सरकारले हालः सञ्चालनमा रहिरहेका राइड सेयरिङ सेवा प्रयोग गर्ने यात्रुको सुरक्षाको प्रबन्ध र अधिकतम भाडादर लागू गरी नागरिकको गुनासो सुनुवाई गर्नुपर्ने अवस्था छ। यसका अलवा सरकारको करोडौंको राजस्व गुमिरहेको अवस्था विद्यमान छ। त्यसकारण गण्डकी प्रदेश सरकारले आम उपभोक्ताको माग, सेवा छनौटको अधिकार र प्रविधिको विकासलाई आत्मसाथ गर्न यस सेवालाई व्यवस्थित र नियमन गर्न खोजेको हो,’ गण्डकी प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् । काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले आज पेलेर जान खोजेपछि आफूहरूले नदिएको बताए।
अध्यक्ष प्रचण्डले भने, ‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्याउने हाम्रो कोशिस भइरहेको छ। आज उनीहरूले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ ? भनेपछि अहिले सदन स्थगित भयो ।’
उनले राजावादीहरू जहाँ पुगेपनि आक्रामक ढङ्गले प्रस्तुत भइरहेको बताएका छन् । उनले भने, ‘हामी अहिले शान्तिपूर्ण संघर्षमा छौँ । तर, राजावादीको वितण्डा जसरी देखियो त्यसबारे युवा र विद्यार्थीहरूलाई भनेका छौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण भनेका छौँ । यदि राजावादीहरू हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुस् भनेका छौँ । उनीहरूको कुतर्कको सही जवाफ दिएर पर्दाफास गर्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले आफूहरूले उत्पीडित वर्ग–समुदायसँग गहिरो सम्बन्ध नबनाएसम्म नहुने निष्कर्ष निकालेको बताएका छन् । ‘समग्रमा उत्पीडित वर्ग–समुदायसँग गहिरो सम्बन्ध नबनाएसम्म पार्टीलाई जीवित बनाउन, रूपान्तरण गर्न नसकिने रहेछ भनेर हामीले निष्कर्ष निकालेका छौँ, दस्ताबेजीकरण गरिएको छ,’ उनले भने । माओवादी केन्द्र आफ्नो वर्गतिरै फर्किएको उल्लेख गर्दै प्रचण्डले अब पार्टीले समाजवादको नेतृत्व गर्ने पार्टी बन्ने दाबी गरे । ‘कार्यक्रमिक रूपमा भन्दा हामी स्वायत्तता र पहिचानको पक्षमा छौँ,’ उनले भने ।
यस्तै प्रचण्डले नेपाली समाजवाद नेपालमा आधारित नै हुनुपर्ने बताए । ‘समाजवाद भन्ने कुरा कुनै किताब, कसैका अनुभव; चीन, भियतनामबाट आउँदैन। उनीहरूका अनुभवहरू रेफेरेन्स त हुन्छ तर, हाम्रो लागि हाम्रै ज्ञान चाहिन्छ। नेपाली समाजवाद नेपालमै आधारित हुनुपर्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले माओवादीमा सामेल हुने लहर चलेको दाबी समेत गरेका छन् । पार्टीको अभियानका क्रममा कांग्रेस, एमाले, मधेसवादी दलहरूको नेतृत्वमा रहेका पालिकाहरूले पनि स्वागत गरेको र नेताहरू आफ्नो पार्टीमा सामेल भएको उनले बताए। ‘जनताका लागि फेरि उठ्ने भन्ने हाम्रो संकल्प देखेर धेरै नेताहरू पार्टीमा सामेल हुनुभएको छ, लहर चलेको छ,’ उनले भने ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाएका छन्। राजु पाण्डे कम्तीमा ६ महिनाका लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले जोशीलाई उक्त जिम्मेवारी दिएका हुन्।
उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रुपमा कामकाज गर्न पत्र दिइएको छ। यसको बोधार्थ मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति समेत गठन गरेका छन्।
गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाई महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो। यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगर प्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन्। यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।
सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोक प्रिय युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्माले जुन मानवीय सहयोग गर्नु भएको छ, त्यसले सम्पूर्ण सर्लाहीवासीको हृदय छोएको छ।
हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलिको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज ( केएमसी अस्पतालमा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो। दुर्भाग्यवश, उहाँको केही दिनअघि निधन भयो। तर, अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनका श्रीमान् अंगेश यादवले उपचार खर्च तिर्न नसक्दा आफ्नै श्रीमतीको शव अस्पतालबाट निकाल्नसमेत असमर्थ भएका थिए।
यही गम्भीर अवस्थालाई बुझेर मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री तथा नेपाली कांग्रेस क्षेत्र नं. २ सर्लाहीका सभापति माननीय श्री कौशलकिशोर रायको अनुरोध र पहलमा सांसद डा. सुनिल शर्माले १० लाख रुपैयाँ मिनाहा गरी मृतक पविता यादवको शव उनका श्रीमानलाई बुझाएर अन्तिम संस्कारका लागि पठाउने व्यवस्था मिलाउनु भयो।
यो सहयोगले पीडित परिवार मात्र होइन, सम्पूर्ण सर्लाहीवासीलाई एक गहिरो भावनात्मक राहत दिएको छ। डा. शर्माको यो कदमलाई भगवानको दूतले दिएको जीवनको सबैभन्दा ठूलो साथको रुपमा लिइएको छ।
मन्त्री कौशलकिशोर रायले भावुक हुँदै भन्नुभयो:
“आज हामी सर्लाहीवासीका लागि डा. सुनिल शर्मा भगवानसरह भएका छन्। यो दुःखद घडीमा गरिब र बेसाहारा परिवारलाई उहाँले जुन अभिभावकत्व देखाउनुभयो, त्यसप्रति म व्यक्तिगत रूपमा र सर्लाहीको तर्फबाट कोटि-कोटि धन्यवाद ज्ञापन गर्दछु। हामी सदैव ऋणी रहनेछौं।”
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पक्राउ परेका छन्। रोशी गाउँपालिका–७ र नमोबुद्ध नगरपालिका–६ को सीमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। उक्त खोलाले बगाएको फलामका पार्टपुर्जाहरू चोरी गरेको आरोपमा प्रहरीले जेठ १२ गते चार जनालाई पक्राउ गरेको थियो ।
अनुसन्धानकै क्रममा प्रहरीले सोमबार वडाध्यक्ष गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए। ‘अनुसन्धानका लागि हामीले हिजो पक्राउ गरेका छौं,’ उनले भने । प्रहरीले जेठ १२ गते चार जनालाई दुई वटा टिपरमा फलामका रडहरू लोड गर्दैगर्दा पक्राउ गरेको थियो ।
यस्तै, दुई जना टिपर चालकलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पक्राउ पर्नेमा भारतका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीका ३९ वर्षीय जितेन्द्र पासवान, टिपर चालकहरू काभ्रेका ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामा छन्। उनीहरूमाथि प्रहरीले चोरी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन् । मन्त्री दाहालले सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भए पनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको बताएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने यातायात व्यवसायीको तर्क पनि गलत भएको मन्त्री दाहालको भनाइ छ । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् ।
मन्त्री दाहालले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता संघीय सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पु¥याएकाले बाँकी कुरा विधेयकमार्फत सम्बोधन हुने बताए ।
काठमाडौँ । कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ ।





