
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले चालूतर्फ १२ अर्ब एक करोड र पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेका हुन्।
वित्तीय हस्तान्तरतर्फ ३ अर्ब ४२ करोड रुपैयाँ छुट्याइएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो। कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड र पुँजीगततर्फ २४ अर्ब ५८ करोड छ भने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड बजेट ल्याएको थियो। २०८०/०८१ मा प्रदेश सरकारले ४० अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।
मन्त्री कार्कीले आगामी वर्ष गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक भन्ने अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । लुम्बिनीमा पर्ने मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्गको छेउमा बस्ती विकासको सम्भाव्यता अध्ययन गर्ने भएको छ। कृषकका गरा सधै हराभरा भन्ने नारा राख्दै सिँचाइको सुविधा पुर्याउने भएको छ। भौतिक पूर्वाधारतर्फ आगामी वर्ष लुम्बिनीमा २०० किमि कालोपत्रे सडक र ३० वटा मोटरेबल पुल निर्माण गरिने उल्लेख छ।
हेर्नुस् बजेट
जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ। प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको अनुमान पेश गरेका हुन्।
मधेश प्रदेश सरकारले चालूतर्फ १६ अर्ब ७२ करोड ०५ लाख १७ हजार रुपैया अर्थात ३५.८९ प्रतिशत, पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रुपैया अर्थात ६४.११ प्रतिशत विनियोजन गरेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा ६.१३ प्रतिशत बढीले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको हो।
बजेटमा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिइएको छ । प्रादेशिक सडक कार्यक्रम, प्रादेशिक पुल कार्यक्रम, एक निर्वाचन एक सडक कार्यक्रममा पुराना सम्पन्न गरिने थप नयाँ कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर पक्की सडक निर्माण गरिने, सहिद लोकमार्ग निर्माण गरिने जस्ता भौतिक पूर्वाधारलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ। भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधारमा प्रदेश सरकारले १५ अर्ब ८८ करोड ७१ लाख ८५ हजार रुपैया विनियोजन गरेको छ।
प्रत्येक जिल्लामा कम्तीमा दुई ओटा सतह सिंचाइ आयोजना सञ्चालन गरिने, भूमिगत सिंचाइको उपयोग गरिने, वनजंगलका वन्यजन्तुका लागि पनि खानेपानीको व्यवस्था गरिने, वैकल्पिक तथा सौर्य ऊर्जाको क्षेत्रमा नदीको बगरको उपयोग गरिने प्रदेश सरकारले मुख्य कार्यक्रम घोषणा गर्दै बजेट विनियोजन गरेको छ।
यसै गरी प्रदेश सरकारले ऊर्जा, खानेपानी तथा सिंचाइको लागि आकर्षक बजेट ल्याएको छ। यसै गरी युवा स्वरोजगार कार्यक्रम, खेली मधेश जिती मधेश नाराके साथ मधेश खेलकुद दिवस मनाइने भएको छ। यसको लागि १ अर्ब ६८ करोड ७३ लाख रुपैया विनियोजन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्याको क्षेत्रमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसै गरी प्रादेशिक अस्पतालहरुलाई प्रविधिमैत्री बनाइने, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी संचालन गरिने गरी बजेट विनियोजन गरिएको छ। स्वास्थ्य तथा जनसंख्यातर्फ आगामी आर्थिक वर्षको लागि ६ अर्ब ४५ करोड ६१ लाख रुपैया बजेट विनियोजन गरिएको अर्थमन्त्री यादवले प्रदेश सभालाई जानकारी गराएका छन्।
मधेश प्रदेशले सरकारी कर्मचारीहरुलाई दिने महंगी भत्ता बढाएको छ। प्रदेशका अर्थमन्त्री यादवले प्रदेश सरकारले प्रदान गर्दै आएको महंगी भत्तालाई बढाएर ५ हजार पुर्याएको उल्लेख गरेका हुन्। सरकारी कर्मचारीहरुले पाउँदै आएको महंगी भत्तालाई वृद्धि गरी मासिक ५ हजार पुर्याइएको बजेटमा उल्लेख छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले यसअघिका सबै सरकारको छानबिन गर्ने सरकारको प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएका छन्।भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको विरोध भइरहँदा अघि बढेको आइतबारको प्रतिनिधिसभा बैठकमा पुनले यस्तो प्रष्टीकरण दिएका हुन्। सरकारले ३० दिनभित्र छानबिनका लागि आवश्यक संरचना बनाउने प्रतिबद्धतासमेत जनाएको उनको भनाइ थियो।
‘माननीय गृहमन्त्री ज्यूले अहिले राजीनामा दिन्नँ, तर बाँकी सबै सरकारको तर्फबाट छानबिनका लागि हामी तयार छौँ भनेर प्रतिबद्धता सरकारले गर्यो । त्यसैगरी ३० दिनभित्र आवश्यक छानबिनको संरचना तयार गरी यो विषयलाई अगाडि बढाउने प्रतिबद्धता आएपछि हामी यो सदन नियमित गर्न सहमत भयौँ,’ उनले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निष्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको उनले बताएका छन्।
‘माओवादी गलेको कुरामा कुनै सत्यता छैन’ उनले भने। माओवादी उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा उठाएका विषय एक ढंगले सम्बोधन भएको भनेर छलफलमा भाग लिन आग्रह गरे । रास्वपा नयाँ दल रहेको उल्लेख गर्दै उनले अनुभव संगाल्दै अगाडि बढ्न आवश्यक रहेको बताए। उनले सत्तापक्षका सांसदहरू समेत संयमित ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन्।
‘अलिकति बल प्रयोग जस्तो, जबरजस्ती जस्तो भयो। प्रमुुख प्रतिपक्षी दल आइसक्यो, यसलाई पेले पनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन’ पुनले भने। संसदीय अंकगणित कहिले कसैको ठूलो, कहिले अर्को ठूलो हुन सक्ने भन्दै उनले विगतमा रहेको प्रतिशोध अहिले नै साधौं जस्तो गर्न नहुने बताए। सभामुखले संवादको वातावरण बनाउन थप पहल लिनुपर्ने आग्रह गरे। संवाद गर्दै रास्वपालाई समेत बजेटमाथि धारणा राख्ने वातावरण बनाउन सभामुखलाई उनले अनुरोध गरे। यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल लिनुपर्ने उनको आग्रह छ।
काठमाडौं । इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। दूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन भनेको छ।
‘आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं’, दूतावासले भनेको छ। गएको बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो। त्यसपछि यी दुई देश लगातार आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन्। तनाव बढ्दै जाँदा दुवै देशमा ठूलो जनधनको क्षति भएको छ।
जारी युद्धमा इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको नेपाली दूतावासले जनाएको छ। यो स्थितिमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका निम्ति लगातार अध्यावधिक निर्देशन जारी गरिएको पनि दूतावासले जनाएको छ। त्यहाँ शैक्षिक संघसंस्थासहित अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने र सभा÷भेला नगर्न समेत निर्देशन जारी गरिएको छ। दूतावासले स्थानीय सुरक्षा ‘प्रोटोकल’ को पालना गर्न पनि आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, हाल इजरायलमा पाँच हजार ५०० र इरानमा १२ देखि १५ जनासम्म नेपाली नागरिक छन् । इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२५३५३६०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२५४५५८२०७७ मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज (आइतबार) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन्।
बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका हुन् । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ। रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै आएको हो।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् बहिष्कार गरेको छ । नियमाली अनुसार संसद् नचलेकाले भन्दै बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए। त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए। नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको आग्रह नसुनी सभामुख देवराज घिमिरे अगाडि बढिरहे । यस्तो अवस्थामा प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन संसदबाटै नेकपा एकीकृत समाजवादी र राप्रपाले सभामुख घिमिरेलाई आग्रह गरे। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधिसभाको बैठक रोकेर सहमतिको लागि पहल लिन आग्रह गरेका थिए। तर, सभामुखले मानेनन्।
सभामुखले समय दिएपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न गरे, ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ?’ संसद्मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए। अन्यथा, विरोधका बीच संसद् चलाउनु दादागिरी हुने उनको आग्रह छ। ‘यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन। यो दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ प्रमुख सचेतक शाहीले भने। तर, सभामुखले शाहीको आग्रह मानेनन् । प्रतिनिधिसभामा आकस्मिक समय चलाएर सभालाई कार्यसूचीमा अगाडि बढाए। यस्तो अवस्थामा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाए। त्यसपछि राष्ट्रिय सभाबाट पारित भएर पुगेको विधेयकको सन्देश सुनाए।
आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रस्तुत गर्न समय दिए। त्यसपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद्को बैठक नै स्थगित गर्न आग्रह गरे। अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले सभामुखसँग समय मागे। सभामुखले समय दिएपछि पाण्डेले भने, ‘सभामुखज्यु, रोष्ट्रममा अर्थमन्त्रीज्यु महत्वपूर्ण कुरा सुनाइराख्नुभएको छ। तर, प्रतिपक्षमा रहेकामध्ये एउटा दल नारावाजीमा छ। यो नाराबाजीले मन्त्रीले भनेका कुरा हामी सुनिरहेका छैनौं।’ सभा कसरी चलाउने हो त्यसबारे छलफल आवश्यक रहेको उनले दोहोर्याए।
‘कसरी सभा चलाउने हो ? यो सभा चलाउने अहिलेको यो तरिका भएन सभामुख महोदय’ पाण्डेले थपे, ‘यो बैठक स्थगित गरेर, सहमति गरेर र एउटा टुंगोमा पुगेर मात्रै अगाडि बढाइयोस् ।’ फेरि पनि प्रतिपक्षी दलले गरेको आग्रह सभामुखले सुनेनन्। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरिसकेपछि सांसदहरूलाई त्यसमाथि धारणा राख्न समय दिए। हाल प्रतिनिधिसभामा विरोधका रहेको दल नाराबाजी गरिरहेको छ भने विरोधमा नरहेका दल आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राखिरहेका छन्।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसदको बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन्। आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन्।
बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन्। उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शकदिर्घामा गएर बसेका हुन्। उनी संसद्को हाजिर गरेर दर्शकदिर्घामा गएका हुन्। केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन्।प्रतिनिधि सभाको बाल्कोनी दर्शक र पत्रकारहरूलाई छुट्टयाइएको हुन्छ। आगन्तुहरूलाई पास दिएर त्यहाँको लहरमा बसाइन्छ। सामान्यतया त्यहाँ प्रतिनिधि सभाका सांसदहरू भने जाँदैनन्। विरोध लगत्तै सांसद बजगाईले नोट पनि जारी गरेका छन्।
‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ। नेपालका अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ ! भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालजी, तपाईंले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन,’ उनले भनेका छन्।
भौतिक मन्त्रीले गोरखाको बिना सडकको पुल निर्माण गर्ने तत्कालीन पूर्वाधारमन्त्रीको पक्षपोषण गरेको पनि आरोप लगाएका थिए। ‘बजेटको विरोध दर्शक दीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुखद विषय हो,’ उनले भनेका छन्, ‘प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री माननीय देवेन्द्र दाहालले न त प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन्, न त देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन्।’
भौतिक मन्त्री दाहाल गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिएको उनले आरोप लगाएका छन्। ‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भत्र्सना गर्दछु। पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ-जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ उनले भनेका छन्, ‘मैले संसदभित्र मात्र होइन, आम दर्शक–श्रोतामाझ पनि बजेटको यो विकृति विरुद्ध आफ्नो विरोध सार्वजनिक रूपमा प्रकट गरेको छु।’
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले सहकारी ठगीलगायत पाँच वटा मुद्दा खेपेको व्यक्तिलाई पार्टी सभापतिबाट नहटाएको रास्वपाले अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने भन्दै कटाक्ष गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाले अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने बताएका हुन्।
‘सहकारी ठगीको मुद्दा खेपिराखेका व्यक्तिलाई पार्टी सभापतिको पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ? पाँच वटा मुद्दामा जेलमा रहेका व्यक्तिलाई सभापतिबाट हटाउन नसक्नेले नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ?,’ उनले भने ।
घिमिरेले मन्त्रालयको एक कर्मचारी पक्राउ परेको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्नु आपत्तिको विषय भएको बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने मागसहित विपक्षी दलले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन्। शुक्रबारदेखि माओवादी केन्द्र संसद् खोल्न सहमत भएपछि रास्वपा र राप्रपाले विरोध जनाइरहेका छन् । रास्वपा सांसदको नाराबाजीका बाबजुद सभामुखले संसद्को बैठक अगाडि बढाएका छन्। संसद्मा बजेटमाथि छलफलको कार्यसूची छ।
काठमाडौं । आज (आइतबार) देखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु भएको छ। सरकारले नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु गरेको हो।
गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् गए राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो। गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुशीको क्षण भएको बताए। ‘बंगलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो’, मन्त्री खड्काले भने।
नेपालले हरेक वर्ष पाँच महिना वर्षातको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ।गत वर्ष बंगलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो । यो वर्षभने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत निर्यात गर्नेछ।
उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउनसक्ने प्रमुख क्षेत्र भनेको विद्युत क्षेत्र भएको बताए। नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गत वर्ष सम्झौता भएको थियो। आजदेखि बंगलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए।
पाँचथर । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।
गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ।
२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो। जडान नसकिँदै बेलिब्रिज खसेको हो। बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए। हेवाखोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्छ।





