
काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिम बाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको छ।
आज पाठकले आफूविरूद्वको पक्राउ पूर्जीविरुद्ध दायर गरेको रिटमा न्यायाधीस ऋषिराज भण्डारीको इजलासले अल्पकालीन आदेश दिएको हो ।
इजलासले असार ५ गते दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ। प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।
उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा. भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए। अहिले राज्य प्रेस र आलोचकप्रति अनुदार रूपमा प्रस्तुत भइरहेको र साइबर कानुनको गलत प्रयोग पनि गरिरहेको भन्दै पत्रकारमाथिको धरपकड रोकिनु पर्ने माग उनीहरूले इजलासमा गरेका थिए। राज्यशक्तिमा भएका व्यक्तिहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउन खोजेको अवस्थामा अदालतले संवैधानिक हक संरक्षणका लागि भूमिका खेल्नुपर्ने उनीहरूको जिकिर थियो।
काठमाडौं । बिराटनगरको कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ ।
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर बालाजुमा सकुशल भेटिएका छन्।
सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेट्टाएको हो। जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेको थियो। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको हो।
उनलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरी परिसर काठमाडौँ कार्यालयमा ल्याउँदै छ। त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले बताएका छन् । रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरीटेण्डेण्ट श्रेष्ठले फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए। उनले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा, मलाई माफ गरिदिनु भन्दै लेखेका थिए।
डा. श्रेष्ठ बिहान ९ बजेर ४७ मिनेटमा चाबहिलस्थित गोपीकृष्ण फिल्महल नजिकैबाट स्टाटस पोस्ट गरेको ‘लोकेट’ भएको थियो । त्यसपछि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर लगायतका प्रहरीका विभिन्न युनिट खोजीमा जुटेका थिए ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् ।
बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन्। आजको बैठक सुरुभए लगत्तै आकस्मिक समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्ष दलहरुको विरोधकै बीच संसद् अघि बढ्दा आफ्नो दलले बहिष्कार गर्ने बताएका थिए।
‘संसदमा रहेका राजनीतिक दलहरुबीच गणितमा फरक होला तर कुनै पनि विचारलाई निषेध गर्ने व्यवस्था संविधानमा छैन, सभामुख एक सिट भएका राजनीतिक दलको पनि अविभावक हो। अहिले दुई दलले विरोध जारी राख्दा बैठक सञ्चालन गरिनु संसदीय मर्यादा अनुकल हुँदैन’, लिङ्देनले भने, ‘जबसम्म जबरजस्ती बैठक सञ्चालन हुन्छ, राप्रपाले बहिष्कार गर्छ। बहिष्कार गरेको बैठकको भत्ता सरकारको राजस्वमा जम्मा गर्ने व्यवस्था गर्न आग्रह छ।’
आकस्मिक समयमा रास्वपा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठनको माग दोहोर्याए। बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ। बजेटमाथिको छलफल जारी छ।
एक सरकारी चिकित्सकले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूले आफूलाई भ्रष्टाचार, अन्यायपूर्ण सरुवा र चरम मानसिक यातना दिएर मर्न बाध्य पारेको भन्दै सामाजिक सञ्जालमा मार्मिक स्टाटस लेखेपछि नेपाल प्रहरीले उनको तत्काल उद्धारको प्रयास थालेको छ ।
रामेछाप जिल्ला अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठले फेसबुकमार्फत आफूले भोगेको पीडा र अन्याय सार्वजनिक गर्दै ‘जिन्दगीबाट हार खाएको’ उल्लेख गरेपछि प्रहरीले यसलाई गम्भीरतापूर्वक लिँदै उनको खोजी र उद्धार कार्य सुरु गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले डा. श्रेष्ठको स्टाटसबारे जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरिएको पुष्टि गरे । उनले भने, ‘उहाँको स्टाटस हाम्रो जानकारीमा आउनासाथ हामीले लोकेसन पत्ता लगाएर उद्धार गर्ने काम सुरु गरिसकेका छौं । प्रहरीको टोली सक्रिय रूपमा खटिएको छ ।’
के थियो डा. श्रेष्ठको स्टाटसमा ?
‘मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगेँ,’ भन्दै सुरु गरिएको डा. श्रेष्ठको स्टाटसमा मन्त्रालयका प्रशासकीय अधिकृत कुमार पोखरेलले अमानवीय व्यवहार गरेको र आफूलाई हेटौँडाबाट जबर्जस्ती रामेछाप सरुवा गरिएको उल्लेख छ । उनले लेखेका छन्, ‘मलाई जबरजस्ती गरेर हेटौँडामा अल्पत्र पारे… मलाई धेरै दुःख दिए, अहिले यो दुःख/पीडा सहन अनि सोच्न पनि सकेको छैन । मैले जिन्दगीबाट नै हार खाएँ ।’
आफ्नो सरुवामा आर्थिक चलखेल भएको र आफूलाई अन्यायपूर्वक कारबाहीको भागीदार बनाइएको आरोप लगाउँदै उनले आफूलाई यो अवस्थामा पुऱ्याउनेहरूलाई कानुनी कठघरामा ल्याउन समेत अन्तिम अपिल गरेका छन् ।
- हेर्नुहोस् पूरा स्टाटस :-
सबै जनालाई अलविदा
मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले । करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो ।
डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए । केदार कार्कीले(रामेछाप-०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुख-मुखै लागेर morning conference मा प्रस्तुत भई । तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो ।
केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD को comission को deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो ।
अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका ४,५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने?मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो । शरीरमा १६ ओटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाण्डौ आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे । नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टा पछी ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ?
हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे। सरुवा गरिएको छ हेटौडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा। मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनि सोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए। कतै बाट केही साथ/सहयोग पाउन सकिन।
डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन । मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान ।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए ।
मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु। मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir हजुरहरू लाई धेरै धन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए। तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए ।१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु ।
नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन ।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु ।
फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी !
काठमाडौं । सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ। केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ।
सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन्। गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन्। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले रु एक अर्ब ७५ करोड र मधेस प्रदेशले रु दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन्।
कर्णाली प्रदेश
प्रतिपक्षी दलको अवरोधका कारण कर्णाली प्रदेशसभा बस्न नसकेपछि वार्षिक राजस्व र व्ययको अनुमान पेस गर्ने कार्यसूची प्रभावित भएको थियो । आइतबार मध्यरातमा प्रदेशसभा बैठक सञ्चालन भएपछि त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गरे ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो । कूल विनियोजनमध्ये चालुतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ ।
पुँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ६१ करोड ५० लाख अर्थात् कूल विनियोजनको १.६६ प्रतिशत बजेट छुट्याइएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।
उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट रु ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट रु पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने रु १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । वित्तीय समानीकरण अनुदानबाट रु १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट रु चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट रु ५३ करोड ९७ लाख र विशेष अनुदानबाट रु ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू ३३ अर्व ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ। आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेस गरे। यो प्रदेशले ल्याएको आगामी आर्थिक वर्षको कूल बजेटमध्ये चालुतर्फ रू १० अर्व २० करोड ८१ लाख ४२ हजार अर्थात् ३०.४९ प्रतिशत, पुँजीगततर्फ रू १९ अर्व ८३ करोड दुई लाख छ हजार अर्थात् ५९.२५ प्रतिशत र अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत रु तीन अर्व ४२ करोड ७७ लाख अर्थात् १०.२४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ रू एक करोड छुट्याएको छ ।
सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरेको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रू एक अर्व ६५ करोड, सङ्घ सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने रू नौ अर्व ८७ करोड २५ लाख, सङ्घीय रोयल्टी बाँडफाँट वापत प्राप्त हुने रकम रू आठ करोडलाई बजेटको स्रोत देखाइएको छ।
त्यसैगरी सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रू आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने अनुमानित रकम रू सात अर्व ६६ करोड ६३ लाख ४८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रू चार अर्व १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रू ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने रू ५१ करोड ६० लाखलाई आगामी आर्थिक वर्षको व्ययको स्रोत अनुमान गरिएको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरे । लुम्बिनीले आगामी आर्थिक वर्षका लागि कूल रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । जसमध्ये, चालुतर्फ रु १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ रु २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत छ ।
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रु सात अर्ब ७८ करोड ४ लाख नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी रु ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजस्व रु दुई अर्ब ८२ करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट रु चार अर्ब ६६ करोड १५ लाख, समपुरक अनुदानबाट रु ५१ करोड ४० लाख, विशेष अनुदानबाट रु ४० करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट रु दुई अर्ब परिचालन गर्नेगरी बजेटको स्रोत देखाइएको छ ।
गण्डकी प्रदेश
आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले रू ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ। आइतबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान पेस गरे।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्चमध्ये चालुतर्फ रू १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कूल विनियोजनको ३९.५ प्रतिशत रहेको छ । पूँजीगततर्फ रू १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कूल विनियोजनको ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कूल विनियोजनको ०.८ प्रतिशत छ । यो प्रदेशले आगामी वर्षमा रू एक करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।
गण्डकी प्रदेशका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटको स्रोतमध्ये केन्द्र सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट रू नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ रू तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ रु ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ रू ४९ करोड ८६ लाख प्राप्त हुने गरी स्रोतको अनुमान गरिएको छ ।
यो प्रदेशले आगामी आर्थिक वर्ष आन्तरिक राजस्व रू पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार उठाउने अनुमान गरेको छ । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने रकमलाई पनि बजेटको स्रोत देखाइएको छ । बाँकी रु एक अर्व ७५ करोड आन्तरिक ऋण उठाउने गण्डकी प्रदेश सरकारको योजना छ ।
बागमती प्रदेश
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गरे। बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि प्रस्तावित सरकारका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट छुट्याएको छ। कूल विनियोजनमध्ये चालुतर्फ रु २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ रु ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ । कूल विनियोजन मध्ये चालुतर्फ ३८.६० प्रतिशत र पुँजीगततर्फ ६१.४० प्रतिशत हुन आउँछ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट रु २८ अर्ब ८७ करोड ८२ लाख १ हजार र अन्य राजस्वबाट रु ६ अर्ब ७९ करोड चार लाख १३ हजार उठाउने लक्ष्य राखेको छ। सङ्घीय वित्तीय हस्तान्तरणबाट प्राप्त हुने रु १४ अर्ब ८१ करोड ९३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्तिबाट रु १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार व्यहोरिने अनुमान गरिएको छ।
मधेस प्रदेश
मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले आइतबार मधेस प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे। यो प्रदेशले आगामी आर्थिक वर्षका लागि कूल रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ। कूल विनियोजनमध्ये चालुतर्फ रु १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ रु ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको बजेटको तुलनामा ६.१३ प्रतिशत बढी हो ।
मधेस प्रदेशको आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु नौ अर्ब ५० करोड ८३ लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । सङ्घ सरकारबाट जाने वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ७२ करोड १९ लाख तथा शसर्त अनुदानबाट रु चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान बाट रु ३९ करोड ४५ लाख र समपुरक अनुदानबाट रु ३५ करोड ८२ लाख गरी जम्मा रु १२ अर्ब ७३ करोड ६४ लाख बराबर वित्तीय हस्तान्तरणमार्फत जाने रकमलाई आगामी आर्थिक वर्षको बजेट स्रोतका रूपमा देखाइएको छ ।
सङ्घीय राजस्व बाँडफाँटवाट रु १२ अर्ब ३५ करोड ८४ लाख प्रापत हुने र गत वर्षको नगद मौज्दातबाट रु १० अर्ब ३८ करोड दुई लाख ५१ हजार बराबर स्रोत व्यहोरिने अनुमान गरिएको छ । बाँकी अपुग रु दुई अर्ब रकम आन्तरिक ऋण उठाएर पूर्ति गर्ने गरी मधेस प्रदेशले बजेट स्रोत देखाएको छ ।
कोशी प्रदेश
कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि रू ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ। कूल विनियोजनमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पूँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०.३ प्रतिशत रहेको छ। कोशी प्रदेशको यो बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा १.७ प्रतिशतले बढी हो। कूल विनियोजनमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणतर्फको रकम रु चार अर्ब ७० करोड ७२ लाख रहेको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये कोशी प्रदेश सरकारको आन्तरिक राजस्वबाट रू पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रू १२ अर्ब ३९ करोड ६० लाख र सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू चार अर्ब ९८ करोड ३४ लाखलाई बजेट स्रोत देखाइएको छ । सशर्त अनुदानबाट रु चार अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट रु ३९ करोड़ १७ लाख र विशेष अनुदानबाट रू ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रू ३२ अर्ब ७४ करोड र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु ३५ करोड ९९ लाखलाई बजेट स्रोत देखाइएको छ।
बाँकी अपुग रकम नगद चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको बजेट मौज्दातबाट रू तीन अर्ब १३ करोड ब्यहोर्ने गरी स्रोतको अनुमान गरिएको छ। कोशी प्रदेशसभामा त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेका थिए । कोशी प्रदेशले आगामी आर्थिक वर्ष ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य बजेटमार्फत् राखेको छ।
काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वत ८१ र बाग्लुङमा ७८ मिलिमिटरभन्दा धेरै पानी परेको छ। पाल्पा, म्याग्दी, लमजुङ, बाँकेलगायतका ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ।
पर्वतको पन्चासे वर्षामापन केन्द्रमा ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागका अनुसार हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ।
मनसुनजन्य सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ। प्राधिकरणका अनुसार मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई सम्प्रेषण गरिएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । परिश्रम र प्रयास गर्ने दिन हो, दृढ इच्छाशक्ति राख्नुपर्छ, नयाँ जिम्मेबारी वा दायित्व वहन गर्न पाइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पद प्रतिष्ठामा बृद्धि हुनेछ, धनवैभव जुटाउने अनुकूलता मिल्नेछ, आफ्नो कुलघरान र खानदानको इज्जत बढाउने कुनै कार्यक्रममा सहयोग गर्न मन लाग्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । चिन्ता÷शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुख-सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । लगनशील भएर काम गर्नसके पदप्रतिष्ठा, स्वाभिमान र सम्पत्ति फिर्ता आउनसक्छ, कुनै प्रशासनिक समस्या छ भने प्रयास गरेमा हल हुने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । तपाईंको आन्तरिक सामर्थ्य र तीक्ष्ण बुद्धिको प्रयोगले कुनै महत्त्वपूर्ण काम बन्ने समय छ । सन्तान वा भाइबहिनीको उन्नतिप्रगतिका लागि केही धनराशि खर्च गर्नुपर्ने हुन्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुख सुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पर्द्धाको दौडमा अग्रणी हुन सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मुख छुचो हुने दिन छ, देखेको कुरामा प्याच्च बोल्नु हुँदैन, नत्र बेकारको लफडा र तनावमा पर्न सक्नुहुन्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।




