
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए ।विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान र थुनछेक भएको थियो ।
बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । अख्तियारले मुद्दा दायर गरेपछि बस्ने सांसद पदबाट निलम्बनमा परेका थिए ।
एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुआत गरेको छ ।
उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोल अन्तरले पराजित गर्यो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरिन् । साम्बाले कप्तानको रुपमा डेब्यु खेलमै शानदार प्रदर्शन गरिन् । यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एकएक गोल गरे ।
१२औं मिनेटमा अनिताको गोलबाट पहिलो अग्रता लिएको नेपालका लागि कप्तान साम्बाले ४४औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्यो ।
पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली अर्को चरणमा प्रवेश गर्नेछ ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाको विषयमा अनावश्यक टिप्पणी नगर्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका महासचिव घनश्याम भूसालले शुक्रवार विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालको मुद्दासम्बन्धी पार्टीको आधिकारिक धारणाविपरीत कुनै पनि अभिव्यक्ति सार्वजनिक रूपमा नदिन आग्रह गरेका छन् ।
‘पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रूपमा नबोल्न र नलेख्न सबै कमरेडहरूलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । ‘पार्टीभित्र आफ्ना कुरा राख्ने विधि र स्थानहरू छन्। तसर्थ, कुनै पनि बहानामा सार्वजनिक वादविवादमा नउत्रिन सबैलाई आग्रह छ ।’
यसअघि, पूर्वमन्त्री तथा पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको मुद्दालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उनले नेपालले मुद्दामामिलामा अल्झिनुपरेको भन्दै पार्टीको प्रारम्भिक महाधिवेशनमार्फत सङ्गठन पुनर्गठन गर्नुपर्ने माग राखेकी थिइन् । पार्टीले यस्ता विषयमा अनुशासित रहन र आधिकारिक धारणालाई मात्र प्राथमिकता दिन सबैलाई सचेत गराएको छ ।

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ यथावत राखेर पास गरिएको छ । राजनीतिक शक्तिसँग नजिकिएर जागिरे जीवनको अन्तिममा सरकारी नियुक्ति लिने प्रवृत्तिलाई निरुत्साहित गर्न राखिएको दुई वर्षे कुलिङ पिरियड यथावत् राखेर प्रतिनिधि सभाबाट निजामती विधेयक पास भएको हो ।
कुलिङ पिरियड हटाउन मूख्यसिचव एक नारायण अर्यालको नेतृत्वमा लबिङ गरिएको थियो । तर राज्यव्यवस्था समितिले हटाउन नमानेपछि कर्मचारीहरूले काम नगर्ने धम्की समेत दिएका थिए । त्यसका बाबजुद पनि संसद्ले संघीय निजामती विधेयकमा कुलिङ पिरियड राखेर पास गरेको छ । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताएका थिए । यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।
विधेयक ०८० फागुन २१ गते सदनमा पेस भएको थियो । सैद्धान्तिक छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो । गत असार १ गते समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । सो प्रतिवेदनमा छलफलपछि आइतबार विधेयक पारित भएको हो । विधेयकमा ट्रेड युनियन लगायतका व्यवस्थालाई यथावत् राखिएको छ । राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको त्यस्तै पास भएपछि संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ । यसलाई कुलिङ पिरियड भन्ने गरिन्छ । कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को सरकारी नियुक्ति नलिने भन्ने व्यवस्था हो ।
बुटवल । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाल लक्षित गर्दै गरेको कडा टिप्पणीले अहिले पार्टीभित्र ‘खेलाबैला’ मच्चिएको छ ।नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी थिइन् । पार्टी अध्यक्ष लक्षित उनको यस अभिव्यक्तिले अहिले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ । उनले अब पार्टी पुनर्गठनका लागि ‘अर्ली महाधिवेशन’ मा जानुपर्ने समेत बताएकी छन् । झाँक्रीको भाषणाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
‘तपाईहरूलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ ।’ उनले भनेकी छन्, ‘कहाँ हुन्छ यसरी ? म त भन्छु–अब अर्ली महाधिवेशन गरौं। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जोकोही पनि नेतृत्वमा आउन सक्छ ।’
कुनै समय अध्यक्ष नेपालको नजिकको नेता मानिने झाँक्रीले अहिले एकाएक कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीभित्र खैलाबैला भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा यही असार ११ गते मात्र विशेष अदालतमा ३५ धरौटी बुझाएका थिए । पतञ्जलि जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
झाँक्रीको अभिव्यक्तिको अंश :-
पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।
होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।
काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले निजामती सेवा विधेयक संसदको रोष्ट्रममै च्यातेका छन् । आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकलाई ‘गरिबमारा’ भनेर च्यातिदिएका हुन् । ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ’, उनले भने ।
सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए । ‘गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ’, उनले भने ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ ।
बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् । तत्कालीन मन्त्री बस्नेत नेतृत्वमा नेपाल दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रमबारे छलफल भएको थियो । त्यसपछि प्राधिकरणले बजेट र कार्यक्रम स्विकृत गर्ने प्रस्ताव मन्त्रालयमा पठायो । अर्थशास्त्री विमला पोखरेलको नामबाट शुरु भएको राय उपसचिव, सहसचिव हुँदै मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङ समक्ष पेस भएको थियो।
२३ भदौ २०७४ मा मन्त्री बस्नेतले दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गरिएको भनी लेखेका छन् । त्यही निर्णयमा एउटा वाक्य घुसाउँदै उनले थपेका छन्, ‘यसका साथै इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी (भ्वाईस ओभर इन्टरनेट प्रोटोकल, जसलाई बोलीचालीको भाषामा कल बाईपास भनिन्छ), नियन्त्रणका लागि उपयुक्त इक्युपमेन्ट र सिस्टम सञ्चालन गर्ने ।’ भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बयान दिँदा उनले कसैको गोपनीयता भंग गर्ने र कल डिटेल हेर्ने उद्देश्यले आफूले त्यो प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ।
प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए।
उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ। अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
काठमाडौँ । शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ ।
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिए पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
धान दिवस
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।असारमा एक पटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।