
काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।
कार्यालयद्वारा शुक्रबार जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ । यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
उनकाअनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। यस आर्थिक वर्षसम्ममा जागिर खाएका कर्मचारीले पेन्सन तथा उपदानको पाउँदै आएका थिए।
अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नव्यहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै एक ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्का प्रधान कार्यालय तानिएका हुन् । उनले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए ।
बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर गरेको तस्वीर भाइरल भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको हो । खड्काले ड्युटीकै क्रममा रास्वपाको अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए । प्रहरी ऐन २०१२ ले प्रहरी कर्मचारीलाई राजनीतिक तथा व्यापारिक गतिविधिमा सहभागी हुने छूट दिएको छैन ।
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि सरकारले आजदेखि यससँग सम्बन्धित सबै सेवा बन्द गरेको छ ।
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (शुक्रबार) दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति बिच्किएको हो। नाउपाले संघ सरकारबाट समेत बाहिरिने बताएको छ । संघीय सरकारमा राज्यमन्त्री अरुण चौधरीले राजीनामा राजीनामा दिने र प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् ।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ।
मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको छ। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको हो।
पत्रमा उल्लेख छ, ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनुहुन असार १५ गतेको (नेपाल सरकार सचिवस्तर) निर्णय अनुसार अनुरोध गरिन्छ।’
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पठाइएको बताए। उनले सो सम्बन्धमा अहिलेसम्म प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको जानकारी दिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले भने हराएको भनिएको गाडी मन्त्रालयका सचिवको घरमै रहेको र गाडी प्राप्त भइसकेको दाबी गरेका छन्। उनले यो कुरामा कुनै दम नरहेको र केही व्यक्तिद्वारा ‘स्टन्टबाजी’ गरिएको आरोप लगाए।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ कार्यान्वयनमा अन्योल देखिएको छ ।
२०८२ जेठ १ गते नियमावली राजपत्रमा प्रकाशित गरी निजी सवारी (रातो प्लेट) लाई पनि भाडाको सवारी (कालो प्लेट) सरह सञ्चालनको व्यवस्था गरिएको थियो तर यातायात व्यवसायीको आन्दोलन र केन्द्रीय सरकारको अनुरोधमा एक महिनाका लागि स्थगित गरिएको नियमावलीमा सहमति हुन नसकेपछि कार्यान्वयनमा अन्योल देखिएको हो ।
नियमावलीमा व्यवसायीसँग पटक पटक छलफल भए पनि सहमति हुन सकिरहेको छैन । मन्त्रालयका सचिव कमलकुमार अधिकारीले वार्ता र सहमतिबाटै अघि बढ्ने बताए । व्यवसायीसँग तीन चार चरण वार्ता भइसकेको छ । अदालतको आदेश राइड सेयरिङ स्थगत नगर्नू भन्ने छ । व्यवसायीको माग पनि सम्बोधन गरौँ र अदालतको आदेश पनि कार्यान्वयन गरौँ भन्नेमै छौँ । तर कहिले कार्यान्वयन हुन्छ भन्ने कुरा अन्योलमै छ ।
सहमति भएपछि कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ तर व्यवसायीले भने माग सम्बोधन नभए पुनः देशभर आन्दोलन गर्ने धम्की दिँदै आएका छन् ।
मन्त्रालयले भने ‘पठाओ’ लगायतका राइड सेयरिङलाई तत्काल नरोक्नू भन्ने उच्च अदालतको आदेश र हाल राइड सेयरिङ चलिरहेको अवस्थामा व्यवस्थापनका लागि ल्याइएको बताउँदै आएको छ । व्यवसायीले भने सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत सङ्घीय ऐनसँग बाझिने गरी नियमावली ल्याइएको दाबी गरेका छन् ।
कर्मचारी समायोजन विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश र प्रतिनिधि सभाबाट पारितको तयारी २०७५ फागुन ३ गते थियो।
अध्यादेश प्रतिस्थापन विधेयक भएकाले करिब एक सातामा सङ्घीय संसद्का दुवै सदनबाट पारित र प्रमाणीकरण हुनुपर्ने समयसीमाको दबाबमा संसद् थियो। राज्य व्यवस्था तथा सुशासन समितिले फागुन ३ गते नै विधेयकको प्रतिवेदन पारित गरेर सभामा पेशको निर्णय गर्यो तर अन्तिम समयमा प्रतिवेदनमा त्रुटि फेला पर्यो। समितिले गरेको सहमतिभन्दा थप बेहोराको प्रतिवेदन तयार भएको जानकारी सभापति शशी श्रेष्ठले पाएपछि बैठकमा पेशको कार्यसूची नै हेरफेर भयो।
कर्मचारी समायोजन अध्यादेशले संसद् सेवाका कर्मचारीलाई प्रदेशमा समायोजनको विकल्प दिएको थियो। प्रतिस्थापन विधेयक समितिमा छलफलका क्रममा स्थानीय तहमा पनि जान सक्ने व्यवस्थामा सहमति भयो तर अन्तिम प्रतिवेदनमा सहमतिविपरीत सङ्घमा समेत समायोजन हुने व्यवस्था घुसाइयो। सोही प्रतिवेदनमा सभापति श्रेष्ठले हस्ताक्षरसमेत गरेका थिए।
हतारमा प्रतिवेदन तयार भएकाले सभापति श्रेष्ठले उक्त प्रतिवेदन गाडीमा नै अध्ययन गर्दै सिंहदरबारबाट बानेश्वर पुग्नुभयो। सहमतिविपरीत प्रतिवेदन लेखिएको आशङ्का सभापतिलाई भयो। त्यही बेला सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियाले सभापति श्रेष्ठलाई फोन गरेर प्रतिवेदनमा त्रुटि भएको जानकारी दिनुभयो। संसद्मा पेसको कार्यसूची रोकेर श्रेष्ठ सिंहदरबार फर्किए र समिति सचिव सुदर्शन खड्कासमेतलाई बोलाएर केरकार गरे।
खड्काले अन्य कोही कर्मचारीले शब्द थपिदिएको जवाफ दिए। सभापति श्रेष्ठले अनधिकृत रूपमा प्रतिवेदन तयार भएको भन्दै आपत्ति जनाएर प्रतिवेदन सुधार गरी सचिवको जिम्मेवारी खोसे। प्रतिवेदन सोही दिन दोस्रो बैठक राखेर सभामा पेश गरी तेस्रो बैठकबाट विधेयकसमेत पारित भयो।
यसअघि पनि सकस
सङ्घीय संसद्को कालखण्ड मात्र होइन, कर्मचारी सम्बद्ध विधेयक पारितमा संसद्लाई सधैँ सङ्घर्ष गर्नु परेका उदाहरण छन्। निजामती सेवा ऐनको पहिलो संशोधन २०५५ र जनआन्दोलनपछिको संशोधनमा पनि उत्तिकै सकस परेका थिए। त्यसबाहेक निजामती कर्मचारी विधेयकमा सामान्यबाहेकका ठूला संशोधन भएका छैनन्।
राष्ट्रिय सभामा उत्पत्ति भएको निजामती सेवा विधेयक २०५२ साल मङ्सिर २७ गते सभामा प्रस्तुत भएको थियो। २०५३ साउन २० गते राष्ट्रिय सभा र २०५५ वैशाख २४ मा प्रतिनिधि सभाबाट पारित भएका थिए। दर्तापछि प्रतिनिधिसभाबाट पारित गर्न करिब तीन वर्ष नै लागेको थियो। अन्तर्वस्तुमा विवाद र कर्मचारी सङ्गठनको दबाबका कारण पहिलो संशोधन प्रतिनिधि सभाले एकै दिन तीन वटा बैठक राखेर सम्पन्न गरेको थियो। पहिलो संशोधन विमलेन्द्र निधि सामान्य प्रशासनमन्त्री भएका वेला गरिएको थियो।
२०६२र६३ को आन्दोलनपछिको पुनस्र्थापित प्रतिनिधि सभाले पनि निजामती कर्मचारी कानुन परिमार्जन गर्यो। त्यो बेला विधेयकका केही प्रावधानलाई लिएर कर्मचारीले सिंहदरबारभित्रै नाराबाजीसमेत गरे। कर्मचारी युनियनको दबाबका कारण राज्य व्यवस्था समिति बैठकलाई मर्यादापालकको सहायताले सञ्चालन गरिएको थियो। राज्य व्यवस्था समितिका पूर्वसभापति हृदयराम थानी कर्मचारी विधेयकमा सधैँ सकस नै पर्ने बताउँछन्। थानी भन्छन्, ‘जनआन्दोलनलगत्तै पनि हामीलाई निकै कठिन भएको थियो। म त्यो बेला समिति सदस्य थिएँ। २४ (घ) बढुवाको चर्को दबाब थियो, समिति सहमतिमा पुगेको थिएन। त्यो बेला मेरै प्रस्तावमा ५–६ दिनसम्म बैठक रोकिएको पनि थियो। पछि छलफलबाटै त्यो समस्या सुल्झायौँ तर विधेयकका विषयलाई लिएर कर्मचारीले सिंहदरबारभित्रै नारा लगाए।
२०७२ सालमा निजामती सेवा ऐन संशोधनमा पनि माथापच्चिसी भयो। विशेष गरी कर्मचारीले विदेशी मुलुकको स्थायी अनुमतिपत्र लिन पाउने वा नपाउने तथा ट्रेड युनियनको विषयमा विवाद भएको थियो। २०७२ सालमा तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित थिए। डीभी, पीआरलाई कानूनले बन्देज गर्न सफल भए पनि ट्रेड युनियन दबाबकै कारण बिराम लाग्न सकेन। गोरखापत्र दैनिकमा समाचार छ
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली विलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति जोड्न सकिनेछ । आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । तरपनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गलत लेखाइ अथवा गलत बुझाईले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । तरपनि माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । तरपनि लामो दुरीको विदेश यात्राको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार होईनेछ । पढाइ लेखाइमा भने विद्यार्थी वर्गहरूले अलि बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङ्ग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।






