२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

नवलपरासी । नवलपरासीको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाखसम्म आम्दानी लिने गरेकी छन् ।

तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरेकी छन् । उनले बारीमा ४२४ वटा बोट रोपेकी छन् । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो । ‘युट्युब’ बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरुआत गरेकी थिइन् ।

सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाएकी थिइन् । कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उनले बताइन् । उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएकी छन् ।

‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थाले‌, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउनु हुन्छ । यसपालि करिब दुई लाखको त बिरुवा नै बेचे’, जिसीले भनिन् । गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छन् ।

असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसकेकी छन् । बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छन् ।

पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पीर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले लगायतका ठूला दलहरू निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै खासगरी एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको बताएका छन् ।

‘कांग्रेसमा तपाईहरुले हेर्नु भयो भने विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले खेलेको भूमिका या गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिएको छ,’ उनले भने ।

प्रचण्डले भने, ‘म योभन्दा बढी अहिले भन्दिनँ र त्यही कुरा एमाले भित्र झन् ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट अहिले देखिएको छ ।’ मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) को आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको संकट देखिएको प्रचण्डले तर्क गरे ।

‘तर आजको दिन संकट के भयो भने जबजको उत्तराधिकारी को हो ? जबजको प्रवर्तक नै को हो ? त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो । तपाईं हेर्नुस्, यो ठूलो संकट हो,’ उनले भने ।

एमालेमा देखिएको संकट गहिरिने संकेत गर्दै प्रचण्डले भने, ‘अस्ती प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका चार श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनेर कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्व राष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले उहाँ अगाडि आउनु भएको छ र यो संकट गहिरिने देखिएको छ ।’

उनले वैचारिक संकट नभएको एक मात्र पार्टी माओवादी केन्द्र भएको जिकिर गरे । ‘हामीलाई आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धि सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन’ उनले भने, ‘केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौं ।’

‘कुलिङ अफ पिरियड’ मा प्रधानमन्त्रीलाई नै छानबिनको दायरामा ल्याउनु पर्ने माग
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

उनले संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ बारे भएको छेडखानी पहिले नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका भए पनि त्यसबेला पर्याप्त आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसदहरूको गतिविधिबाट प्रधानमन्त्रीको संलग्नताको आधार पुष्टि भएको जिकिर गरे ।

उनले यो प्रकरणको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए । उनले नेकपा (एमाले) को नेतृत्वकै कारण ‘कुलिङ अफ पिरियड’ मा छेडखानी भएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरूले देख्नुभएको छ, अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ । अहिलेको सरकार भनेकै त्यस्तै हो । संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ दुई वर्ष सर्वसम्मत पारित भएको थियो । सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा संशोधन गरेर अब त्यो हुँदैन भन्न थाल्यो । अन्तिममा एमालेले ‘म्याउँ’ गर्‍यो । यसको नियत नै षड्यन्त्रपूर्ण रहेछ ।’

उनले संसदीय छानबिन समितिलाई पनि प्रधानमन्त्रीलाई दायरामा पार्न माग गरिएको बताए । उनले भने, ‘शंकाको सुई पहिल्यै प्रधानमन्त्रीतिर सोझिएको थियो । तर त्यस बेला ठोस आधार थिएन । अहिले एमाले सांसदहरूको संशोधन र गतिविधिबाट यो षड्यन्त्र नेकपा (एमाले) र यसको नेतृत्वकै नियतका कारण भएको पुष्टि भएको छ । छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पर्नुपर्छ भन्ने हाम्रो माग हो । हाम्रा माननीय सदस्यहरूले सदनमा पनि यो कुरा उठाउनु भएको छ ।’

 
 
 
 
 
 
 

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ ।

छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो । ‘गाउँमै धार्मिक आयाम थपिएको छ’, विश्वविश्रामेश्वर १०९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, ‘कतिपयले यो सबै मूर्ति एउटै ढुङ्गामा होइन होला ?, जोडेको होला भनेर शङ्का गर्छन् तर होइन, म आफैले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।’

सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताउनुभयो । मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए । यहाँ रु ३० हजार १०५ सहयोग गर्नेका नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ ।

हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए । घिमिरेले भने, ‘गोसाइँ स्नान गर्ने बेलामा एक दृष्टिले हेर्दा महादेव सुतेको देखिन्छ, त्यसैको स्वरुप यहाँ बनाइएको हो ।’

मुख्यगरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यसो त विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण छ । श्यामलाल श्रेष्ठका बुबा धनलालले सपनामा यहाँ भगवान् शिवलाई सुतेको देखिरहन्थे । त्यसकारण उनले यहाँ मन्दिर बनाउन अनुरोध गरेका थिए । उनको निधनपछि आमा न्हुच्छेमायालाई पनि त्यही दृश्य झल्झली आइरह्यो । भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरुलाई अनुरोध गरिन् ।

उनीहरुकै चाहना पूरा गर्न आफूले मन्दिर निर्माण थालेको श्रेष्ठले बताए । सो ढुङ्गामा कलाकार काजी लामाले छ महिना लगाएर मूर्ति कुँदेका हुन् । त्यसका लागि श्यामलालले रु ३७ लाख कलाकारका लागि पारिश्रमिक दिएका छन् । करिब रु सात लाख ढुङ्गा यहाँसम्म ल्याउन खर्च लागेको उनको भनाइ छ ।

तरकारी ढुवानी व्यवसाय गर्ने श्रेष्ठले आमाको जिउनीबाट प्राप्त पैसा र त्यसमा थप लगानी गरेर मूर्तिसहितको मन्दिर निर्माण गरिरहेको र हालसम्म कतैबाट सहयोग प्राप्त नभएको बताए । महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो मन्दिरको अवलोकन गरी नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय छिमेकी विष्णुप्रसाद लामिछानेले आफ्नो टोल छिमेकमा नयाँ मन्दिर निर्माण भएकाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । आफूले पनि मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

 
 
 
 

मकवानपुर । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् ।

लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेका हुन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार दिउँसो राजीनामा दिएका थिए ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँलाई नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेसबाट मन्त्री भएका ४ जनाले राजीनामा दिएका हुन् । कांग्रेस २१ सांसदले लामाविरुद्ध हस्ताक्षर गरी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यसका लागि ३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा २१ जनाले हस्ताक्षर समेत गरिसकेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।