
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी मोर्चामा आबद्ध भएकाहरूसँग एकता वार्ता भइरहेको बताएका छन् ।
जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचार मिल्नेहरूसँग एकता गर्ने पार्टीको एजेण्डा नै भएको जानकारी दिए ।
उनले भने, ‘हामीले एकीकृत समाजवादी, नेकपा विप्लवसँग पनि कुराकानी गरिरहेका छौं । यसलाई हामीले नियमित काम गरिरहेका छौं । हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौं । असमझदारीलाई छलफलबाट टुंग्याउँछौं ।’
उनले माओवादी कुनै हालतमा नफुट्ने दाबी गरेका छन् । प्रचण्ड र जनार्दन शर्माबीच चलेको अन्तर संघर्षबारे उनले भने, ‘आएको विषयहरू पार्टीभित्र छलफल गर्छौ, मिडिया र अरू मान्छेले हल्ला गरेको कुरालाई हामी पूरा हुन दिँदैनौं । पार्टी फुट्दैन ।’
उनले आफ्नो कुरा राखेको र बोलेको भरमा कसैलाई पार्टीले कारबाही नगर्ने समेत बताएका छन् । पार्टीभित्र भएको गुटलाई अन्त्य गरेर जाने भन्दै आफ्नो गुट नभएको जिकिर गरे । अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने बैठकले निष्कर्ष निकाल्ने उनले दावी गरेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा पार्टी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचार उन्मूलन गर्न जरुरी रहेकामा उनले जोड दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै भ्रष्टाचारीको अनुहारै हेर्दिनँ भन्ने गरे पनि त्यसानुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे ।
भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको उनले बताए । करोडौं पैसा खर्च गरेर निर्वाचन जित्ने र मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडाध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको उनको भनाइ थियो ।
मन्त्रीहरूले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ । ‘नेताहरू जो आदेश दिन्छन् र त्यसबाट पैसा कमाउँछ, कहिले ७० करोड हान्दिएको छु भन्छ, कहिले के भनिरहेको छ’, उनले भने, ‘कति टेपकाण्डहरू भइरहेको हुन्छ, उनीहरू गिरफ्तार हुँदैनन् । जसले निर्णय गर्दछ, उसले नै जवाफदेहिता लिने हो भने नेताहरूले त्यस्तो गलत आदेश दिँदैनन् । यी कुराहरू सच्याएर जानुपर्छ ।’
अध्यक्ष श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ संकेत गर्दै हाल फलानो राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्नेमा बहस भइरहेको बताए । एउटा नेता परिवर्तन हुने विषयले खासै फरक नपार्ने तर एजेन्डा लिएर अघि बढ्दा राम्रो हुने उनले उल्लेख गरे । वर्तमान संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने उनले बताए ।
महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो ।
पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुने गरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । ‘अब चाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ,’ भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, ‘पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।’
यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतो बताउँछन् ।
‘खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगी जस्तो तीन दिनको वर्षाले निकै राहत दियो,’ महतो भन्छन्, ‘खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारी बालीलाई अमृत बर्सेजस्तै भयो ।’ लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् ।
पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनको पनि भनाइ छ । ‘लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादु जस्तै भएको छ, उखुका बोट फेरिँदै छन्,’ उनले भने ।
यो वर्षाले धान बाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ । धानको रोपोमा भने गर्हामा भरिने गरी पानी चाहिएको किसान बताउँछन् ।
पछिल्लो वर्षा महोत्तरीका सबै भेगमा धेरथोर परेको छ । यद्यपि दक्षिणतिरभन्दा उत्तरतर्फ बढी पानी परेको सर्वसाधारणसँगको कुराकानीबाट बुझिएको छ । पछिल्लो वर्षाले प्रचण्ड गर्मीको रापबाट राहत मिलेको सर्वसाधारणले बताएका छन् ।
यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ । जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ । तर साउन तेस्रो साता सुरु भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।
रोपाइँ थप बढाउने गरी पानी पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव बताउँछन् ।
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको टिप्पणी गरेका छन् ।
ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए ।
‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नु भएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनु भएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनु भएको छ’, उनले भने ।
महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए । उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे ।



