
कैलाली । कैलाली कारागारमा भएको झडपमा घाइते भएकाहरूको विवरण सार्वजनिक भएको छ । शुक्रवार मध्यरातमा भएको घटनामा एक जनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
जसमध्ये दुई जनालाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिएका छन् । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । झडपमा घाइते एक जनालाई उपचारका लागि काठमाडौं लग्ने तयारी छ ।
नेपाली सेनाको स्काई ट्रकमार्फत गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो ।
घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म शव नउठाउने बताएका छन् । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।
यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो । कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनःशुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए ।
यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मत ऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एक सय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना छन् ।
यी हुन् घाइतेहरू
१. जनक देउवा–धनगढी–५ कैलाली
२. रोशन शाही–धनगढी– ५ कैलाली
३. जीवन खत्री–गोदावरी नगरपालिका–९ कैलाली
४. नविन नाथ–गौरीगङ्गा–७ कैलाली
५. शरद चौधरी–धनगढी–५ कैलाली
६. नरेश राना–धनगढी–१३ कैलाली
७. वसन्त खत्री–धनगढी–८ कैलाली
८. रामनिवास राना–धनगढी–१० कैलाली
९. कर्ण सलामी मगर–मोहन्याल–३, कैलाली
१०. अभिषेक चौधरी–घोडाघोडी–५ कैलाली
११. धिरज बम–बर्दगोरिया गाउँपालिका–१ कैलाली
१२. मेकेन्द्र गिरी–त्रिवेणी नगरपालिका–८ बाजुरा
१३. रन्जित सिंह–लखिमपुर कवेरी, भारत
१४. निरज जैशी–जानकी गाउँपालिका–९ कैलाली
१५. जगदिश राना–धनगढी–१० कैलाली
१६. हिमाल राना–धनगढी–८ कैलाली
१७. बल राना–धनगढी–५ कैलानी
१८. हर्क गिरी–धनगढी–१८ कैलाली
१९. जनक भण्डारी–लम्कीचुहा–१० कैलाली
२०. किशोर खडायत–भिमदत्त–८ कञ्चनपुर
२१. अमित भुल–टीकापुर–१ कैलाली
२२. कल्पेश विष्ट–टीकापुर–१ कैलाली
२३. दीपक खत्री–गोदावरी–१० कैलाली
२४. दिनेश साउद–लम्कीचुहा–१ कैलाली
२५. रवि चौधरी–धनगढी–४ कैलाली
२६. अङ्कित बानियाँ–पालिनन्दन–१ नवलपरासी
२७. सिद्धार्थ बडेला–गोदावरी–९ कैलाली
२८. बिवेक चौधरी–जोशीपुर–१ कैलाली
२९. मनिष चौधरी–कैलारी–८ कैलाली
३०. गौरब बम–शुक्लाफाँटा–८ कञ्चनपुर
३१. विवश चौधरी–घोडाघोडी–३ कैलाली
३२. शिव थापामगर–टीकापुर–१ कैलाली
३३. अर्जुन खड्का–धनगढी–१३ कैलाली
३४. पुष्पेन्द्र रानार–लखिमपुर खिरी वनगाउ भारत
३५. नरेन्द्र घरेडी–डिलासैनी गाउँपालिका–२ बैतडी
३६. देवेन्द्र सिंह–जानकी गाउँपालिका–२ कैलाली
३७. सन्जु दमाई–बर्दगोरीया–३ कैलाली
३८. वीरेन्द्र चौधरी–गोदावरी–१ कैलाली
३९. मानवीर चौधरी–धनगढी–८ कैलाली
४०. मिलन चन्द–धनगढी–५ कैलाली
४१. बीरबहादुर विष्ट
४२. आयुश भट्ट–गोदावरी–२ कैलाली
४३. एकेन्द्र भाट–धनगढी–६ कैलाली
४४. सुरेश राना–पुनर्वास–१ कञ्चनपुर
४५. पङ्कज चौधरी–धनगढी–२ कैलाली
४६. मिनबहादुर विष्ट–अमरगढी–४ डडेल्धुरा
४७. सुरेन्द्र बम–गोदावरी–८ कैलाली
काठमाडौँ । धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए ।
‘कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ’ उनले भने ‘झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।’
घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।
कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झड्पका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो । घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।
यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो ।
कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनःशुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए । यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एकसय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना रहेका छन् ।
काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।
सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ ।
काठमाडौँमा कुराकानी गर्दै महामन्त्री शर्माले नागरिकमाथि शंका गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे ।
उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताए । नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने बदनियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनको तर्क छ ।
नेपालमा कानूनको दुरुपयोग, अपव्याख्या धेरै हुने हुँदा यस्ता कानूनहरु सत्ता र शक्तिमा बस्नेहरुले आफू अनुकूल प्रयोग गर्ने जोखिम रहेको महामन्त्री थापाको भनाइ छ । उनले सरकारले जनतालाई स्पष्ट रुपमा भनेर मात्र यस्ता कानूनहरु निर्माण गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले २०७६ केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यस्तै कानून ल्याउन खोज्दा धेरै विरोध भएपछि अगाडि बढ्न नसकेको उल्लेख गर्दै अहिले पनि सोही व्यक्ति प्रधानमन्त्री हुँदा ल्याउन खोज्दा शंकाको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
उनले भने, ‘यस विधेयकमा मैले दिने प्रथम प्रतिक्रिया के हो भने यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढंगले व्यवहार गर्ने विषयमा दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डको कुराकानीसम्म पनि सरकारको पहुँच देखियो । नेपालको संविधानले दिएको गोपनीयताको हक बमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो नि । यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ । विधेयकका दफा र उपदफामा आएका कुराहरुमा सरकारको अभीष्ट के हो ? क्लियर गर्नुपर्छ ।’
उनले भने, ‘अहिले बच्चाको सम्बन्धमा कानून बनाउँदा बहुविवाहसँग सम्बन्धित कानून भनेर अनर्थ गयो नि त । अब यसले थप जाने हो । त्यसैले यस विधेयकका सम्बन्धमा पार्टीको धारणा के हो भने २०७६ सालमा यस्तै कानून प्रस्तावित हुँदै गर्दा विरोध गर्दा बोलेको थिएँ । अहिले फेरि त्यही चिजलाई नयाँ कागजमा टाइप गरेर प्रस्तावित गरेको छ । यसमा गम्भीर पुनर्विचार गर्नुपर्छ । संविधान प्रतिकूल व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप पुग्ने गरी सरकारले गर्ने कार्य बिल्कुलै स्वीकार्य हुदैन । व्यक्तिको गोपनीयताको हकको सन्दर्भमा सरकारले व्यक्तिको आँगनसम्म पुग्ने हो व्यक्तिको बेडरुमसम्म होइन ।’
सरकारले मस्यौदा गरेको यो विधेयकले नेपालको संविधानको धारा १८ ले दिएको गोपनीयताको हक नै हनन गर्ने भन्दै चौतर्फी विरोध भइरहेको छ ।
काठमाडौं । जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ ।
एक जनाको ज्यान जाने गरी भएको झडपको विषयमा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।
शुक्रबार राति भएको झडपमा परी धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले झडमा परी घाइते भएकाहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएका छन् । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
मृतक चौधरी लागुऔषध मुद्दामा थुनामा थिए । कारागारको ए र बी ब्लकमा झडप भएको हो । अस्पताल र कारागारमा प्रहरी परिचालन गरिएको उनले बताएका छन् ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।
वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।
क्वाँटीको परम्परा
जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ।
काठमाडाैंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । तपाईंको आन्तरिक सामर्थ्य र तीक्ष्ण बुद्धिको प्रयोगले कुनै महत्त्वपूर्ण काम बन्ने समय छ । सन्तान वा भाइबहिनीको उन्नतिप्रगतिका लागि केही धनराशि खर्च गर्नुपर्ने हुन्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुख सुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पर्द्धाको दौडमा अग्रणी हुन सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुख- सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । लगनशील भएर काम गर्नसके पदप्रतिष्ठा, स्वाभिमान र सम्पत्ति फिर्ता आउनसक्छ, कुनै प्रशासनिक समस्या छ भने प्रयास गरेमा हल हुने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । परिश्रम र प्रयास गर्ने दिन हो, दृढ इच्छाशक्ति राख्नुपर्छ, नयाँ जिम्मेबारी वा दायित्व वहन गर्न पाइने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पद प्रतिष्ठामा बृद्धि हुनेछ, धनवैभव जुटाउने अनुकूलता मिल्नेछ, आफ्नो कुलघरान र खानदानको इज्जत बढाउने कुनै कार्यक्रममा सहयोग गर्न मन लाग्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । चिन्ता-शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मुख छुचो हुने दिन छ, देखेको कुरामा प्याच्च बोल्नु हुँदैन, नत्र बेकारको लफडा र तनावमा पर्न सक्नुहुन्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।





