२०८३ जेष्ठ १२ गते मंगलवार
२०८३ जेष्ठ १२ गते मंगलवार

धनगढी । कैदीबन्दीले कब्जामा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् । ३६ घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कारागारमा आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानवअधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । यसैबीच कैलाली कारागार प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई हतियारसहित भित्र पठाएर गणना गर्न लागिएको हो ।

मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ । यसअघि कैदीले नै कारागार नियन्त्रणमा लिएर कसैलाई पनि भित्र छिर्न दिएका थिएनन् । भर्खरै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली कागारको ब्लक ‘ए’ र ब्लक ‘बी’ मा प्रवेश गरी भित्रको स्थितिबारे खोजतलास थालेका छन् । कारागारमा रहेका कैदीबन्दीको संख्यामा समेत अन्यौल सिर्जना भएकाले कैदीबन्दीको गणना समेत सुरक्षाकर्मीको टोलीले गर्नेछ ।

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले जानकारी दिएका छन् । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप छ । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।

आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेको छैन । जसकारण अहिल्यै आरोप पुष्टि हुने खाले प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ ।

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानहरु सच्याउन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले आज संयुक्त विज्ञप्ति जारी गरी आफ्ना माग सम्बोधन नभए २९ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाउन माग गरेका छन् । अन्तिम चरणमा रहेको शिक्षा विधेयकबाट निजी विद्यालयहरूलाई क्रमश गैर नाफामूलक बनाइनेछ भन्ने वाक्याशं हटाइनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्नेलगायका विषयहरु तत्काल सच्याउन माग गरेका छन् ।

सबै सरोकारवालाका विषयमा कानुनी व्यवस्था र कानुन बमोजिम स्थापना भई सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गर्न माग गरेका छन् । श्रावण २८ गते भित्र यी मागहरु सम्बोधन गरी विधेयकमा संशोधन नगरिए २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दावी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने जिकिर गरेका छन् । उनले राप्रपा अब कहिल्यै विभाजन नहुने बताए । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेषहरू अझै भए पनि अब त्यो सम्भावना नरहेको उनले दाबी गरेका छन् ।

उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताएका छन् । चित्त नबुझेका विषयहरू पार्टीका समितिहरूमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने बताए । पार्टीका समितिहरूमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनको भनाई छ। तर पार्टीको आन्तरिक विषयहरू सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरूमा भ्रम पार्ने जस्ता कामहरू गर्न नहुने उनले बताए ।

उनले असन्तुष्ट पक्षहरूले अध्यक्षले विद्यान विपरीत काम गरेको भन्ने आरोपको खण्डन पनि गरेका छन् । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरू हेरफेर गरिएको उनको भनाइ छ । विधानले अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनको भनाई छ ।

यस्तै उनले नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागि अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताएका छन् । राप्रपाले निरन्तर रुपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उनले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताए । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमिलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उनको दाबी छ ।

उनले राजसंस्था पुनःस्थापना पक्षधरहरू पनि एकजुट हुँदै गएको बताए । गत जेठ १५ गते राजसंस्था पक्षधहरूले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरू एकठाउँ उभिएको संकेत गरेको उनको दाबी छ । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिए पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्न आफूहरू सफल भएको उनको भनाई छ ।

उनले पार्टीबाट कसैलाई निष्काशन नगरिएको पनि बताएका छन् । अध्यक्षले मनोनितत गर्न पाउने पदहरूलाई परिवर्तन गर्ने पुरानै परम्परा रहेको पनि उनको दाबी छ । उनले निर्वाचन आयोगमा उजुुरी दिएकाहरूप्रति लक्षित गर्दै पार्टीभित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्य क्षेत्र नै नभएको बताए । राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।

काठमाडौं। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। आज काठमाडाैं उपत्यकामा सार्वजनिक विदा दिइएकाे छ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

विकृतिका विरुद्ध हास्यव्यंग्यका रुपमा गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो। विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यंग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ। जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित गरिन्छ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ।

यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेमसम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूर्ण दिन छ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । घुमघाम र मस्तीमा खर्च बढ्नेछ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निर्णय तपाईंको सुखद अनुभवको कारक बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहनेछ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके(ताकेका काम पूरा गर्न सजिलो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।