
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाएका छन् ।
नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेसँग बुधवार साँझ भेट गरेपछि यस्तो प्रतिक्रिया दिए । सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर फर्किएका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भैरहवा नै गएर भेट्न चाहेको भएपनि समय नमिलेर नगएको बताए ।
लामिछानेको भैरहवा कारागारको भन्दा बसाइँ यहाँको राम्रो पाइएको बताए ।
प्रचण्डले भने, ‘मेरै जस्तो केसमा अरूले चाहिँ उन्मुक्ति पाउने, मेरो भन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइयो, मलाई मात्रै लखेटियो भन्ने कुरा राख्नुभयो। मैले सदनदेखि सडकसम्ममा पनि बोलेको कुरा उहाँलाई थाहा छँदै थियो। अदालतले नै तोकेको बिगो बैङ्क धरौटी राखेर मुद्दा लड्छु भन्दा पनि सुविधा पाइनँ ।’
उनले गठबन्धन आफूप्रति अनुदार भएको गुनासो गरेको बताए। बिगो बुझाएर मुद्दा लड्न पाउने कुरालाई सबैले विचार गर्नुपर्ने बताए ।
उनले थपे, ‘उहाँमाथिको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने कुरा हो । तर मैले उहाँलाई राजनीतिक रूपमा कांग्रेस एमालेको आफूलाई गरेको व्यवहारले पार्टीलाई राम्रो फाइदा भएको बुझ्नुभएको रहेछ ।’
उनले लामिछाने आफू प्रधानमन्त्री हुँदा दुई पटक गृहमन्त्री भएको भन्दै अभिभावकको हिसाबले भेटेको बताए। लामिछाने पहिलाको भन्दा दुब्लाएको पाएको पनि सुनाए ।
काठमाडौँ। आधुनिक विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले गरिरहेको चमत्कारमा एउटा नयाँ अध्याय लेखिँदै छ ।
एक चिनियाँ कम्पनीले विश्वकै पहिलो मानव रोबोट तयार पार्दैछ, जसले भाडाको आमाको रूपमा अरूको बच्चा कोखमा राखेर जन्माइदिने छ ।
चिनियाँ रोबोटिक्स कम्पनीले विश्वकै पहिलो त्यस्तो सरोगेट रोबोटको निर्माण सम्पन्न गर्न थालेको समाचारले एकसाथ चर्चा तथा विवाद उत्पन्न गरेको छ ।
यहीँ अगष्ट ८ मा चिनियाँ विज्ञान तथा प्रविधि सम्बन्धी पत्रिका कुआई के झीले डा. झांङ क्विफेंगको अन्तर्वार्ता प्रकाशन गर्यो । सिंगापुरस्थित नानयांङग प्रविधि विश्वविद्यालयबाट विद्यावारिधि गरेका झांग काइवा टेक्नोलोजी नामक रोबोटिक्स स्टार्टअपका सिइओ हुन् । उक्त कम्पनीले गर्भधारण गरेर बच्चा जन्माउन सक्ने रोबोट निर्माणमा काम गरिरहेको छ ।
आफ्नो अन्तर्वार्तामा उनले आफ्नो कम्पनी विश्वकै पहिलो ह्युमानोइड प्रेग्नेन्सी रोबोटको निर्माण सम्पन्नको निकै नजिक पुगेको बताएका छन् । उक्त रोबोटको पेटमा कृत्रिम गर्भाशय हुनेछ ।
वास्तवमा रोबोटिक्स प्रविधिको क्षेत्रमा तथा समग्र मानव इतिहासमै क्रान्तिकारी परिवर्तन ल्याउने ठानिएको यो रोबोट सामान्य इन्कुबेटर भन्दा निकै फरक हुनेछ । यो रोबोटले महिलाले जस्तै आफ्नो गर्भाशयमा १० महिनासम्म गर्भधारण गरेर महिलाले जीवित बच्चा जन्माउन सक्नेछ।
यो सरोगेट रोबोटको सबैभन्दा महत्त्वपूर्ण अंग भनेकै कृत्रिम पाठेघर हो । उक्त कृत्रिम पाठेघरमा प्रत्यारोपित भ्रूणलाई वास्तविक पाठेघरभित्र जस्तै एम्नियोटिक तरलमा हुर्काइनेछ र बच्चाको नालसँग जोडिएको ट्युबमार्फत् पोषक तत्त्वहरू आपूर्ति गरिनेछ ।
डा. झांङका अनुसार यो कृत्रिम पाठेघरले हालसम्म जनावरहरूमा परीक्षण गर्दा राम्रो सफलता प्राप्त गरिसकेको छ । आगामी एक वर्षभित्रमा यो रोबोटको निर्माण सम्पन्न भएर बजारमा पठाइने र यसको मूल्य १ लाख युआन अर्थात् करिब १४ हजार डलर रहने बताइएको छ ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति अनुपयुक्त भएको टिप्पणी गरेका छन्।
सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका बेला कांग्रेस महामन्त्री शर्माले भने यस्तो तयारीप्रति विमति जनाएका हुन् । रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनको आन्तरिक तयारीका लागि भैरहवामा रहेका शर्माले भने, ‘उपसभामुख प्रकरणमा म यहींबाट आफ्नो असहमति जनाइसकेको छु ।’
उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताएका छन् । ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,’ शर्माले भने, ‘देशको प्रतिनिधित्व गरेर विदेशमा भएकै बेला हस्ताक्षर जुटाइ दिनु भनेको कति सुसंस्कृत कुरा हो ?’ ।
शर्माले पार्टी संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले नगरेको पनि बताए । उनले यस विषयमा काठमाडौं फर्किएर पार्टीका छलफल उठाउने समेत बताए । उपसभामुख रानामगर अहिले अमेरिकामा छिन् ।
काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरूमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरू थुनेर कुरा सुन्ने खालका रहेको टिप्पणी गर्दै उनले त्यसले निकास नदिने बताएका छन् ।
आज (बुधबार) अर्थ समितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनु पर्ने बताएका छन् । ‘यस्ता कानून बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि,’ सभापति चालिसेले भने, ‘कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइ दिनुपर्छ ।’
उनले २५ हजार बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताउँदै त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे । ‘उसले पैसा नपाएर रुवाबासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बदमासी गरेको छ भने सम्पति रोक्का गरेर भए पनि हामीले तिनैपर्छ भन्नु पर्छ । थुन्नु हुँदैन । बाहिर राख्नु पर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?,’ उनले भने ।
बुधवारको अर्थ समिति बैठकले वैकल्पिक वित्तसम्बन्धि विधेयकलाई सर्वसम्मति रुपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन् ।
काठमाडौँ । टप एण्ड टी–२० सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ । सिरिज अन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई पराजित गरेको हो ।
जितकालागि नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका सोमपालले १७ रन मात्रै खर्चिए ।
कुशल भुर्तेलले २० रन दिएर २ विकेट लिए । साहब आलम र रुपेश कुमार सिंहले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २७ रन बनाए भने लोकेश बमले २४ रन जोडे ।
भीम सार्कीले १७ रन बनाए । आरिफ शेखले १२ रन थपे । गुलसन कुमार झाले २ रनको योगदान दिए भने सोमपाल कामीले कुनै रन जोड्न सकेनन् ।
ओपनर कुशल भुर्तेलले १ रन मात्रै बनाउन सके । अलराउण्डर रुपेश सिंह १६ रनमा नट आउट रहे भने साहब आलम पनि शून्य रनमा नट आउट नै रहे । नेपालले १० रन अतिरिक्त पायो ।
जापानीज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापानीज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए ।
उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।
शाखा प्रमुख डा. गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको छ । सन् २०२४ मा जापानीज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।
उनले जापानीज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए । ‘हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ’, डा. गौतमले भने ।
उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानीज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ ।
कसरी सर्छ ?
चिकित्सकहरूका अनुसार जापानीज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।
यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।
जापानीज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा. गौतमले बताए ।
यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ ।
यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
काठमाडौं– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ। यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने छ। मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मेष : बोलिचाली, यात्रा र साहसमा वृद्धि आउनेछ । सामाजिक तथा सृजनात्मक कार्यमा लगाव बढ्नेछ । लेखन, प्रस्तुति वा सञ्चारमाध्यमका लागि लाभदायक समय हो ।
वृष : पारिवारिक मेलमिलाप र आर्थिक स्थायित्वमा सहयोग पुर्याउनेछ । विगतका वित्तीय असन्तुलन सन्तुलित गर्न सकिने समय हो । वाणीको प्रयोगले लाभ दिलाउनेछ ।
मिथुन : आत्मनिरीक्षण र नवचिन्तनका लागि उत्कृष्ट समय छ । विगतका अनुभवहरूबाट पाठ सिक्दै नयाँ दिशा तय गर्न सकिनेछ । पारिवारिक वा व्यक्तिगत विषयमा समाधानमुखी दृष्टिकोण आवश्यक हुनेछ । आज सुरु गरिएका योजना दीर्घकालीन लाभदायक हुनेछन् ।
कर्कट : खर्च, यात्रा वा मानसिक अस्थिरता ल्याउन सक्छ । एकान्त, अध्यात्म वा योगमार्फत आन्तरिक सन्तुलन कायम गर्न सकिनेछ । गोप्य कार्य वा अनुसंधानमा सफलता मिल्ने समय हो । आन्तरिक चिन्तनमा वृद्धि हुनेछ ।
सिंह : इच्छापूर्ति, मित्रता र सामाजिक लाभको संकेत देखिन्छ । पुराना योजना पुनः जीवित हुन सक्छन् । आर्थिक लाभका संकेत प्रबल छन् । सामाजिक सम्मान तथा सञ्जालमार्फत फाइदा प्राप्त हुने समय हो ।
कन्या : कर्तव्यप्रति जागरुकता र आत्मप्रेरणा देखिन्छ । जिम्मेवारी र नेतृत्वदायी भूमिकामा उन्नति सम्भव छ । सार्वजनिक छवि बलियो बन्न सक्छ । व्यवस्थित कार्यशैली सफलतामा सहायक हुनेछ ।
तुला : समय भाग्यप्रदायक रहेको छ । यात्रा, दर्शन वा उच्च अध्ययनको संकेत मिल्नेछ । गुरु वा अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । निर्णयमा दर्शन र संयमता राख्नु शुभ हुनेछ ।
वृश्चिक : अनावश्यक चिन्ता वा मानसिक गम्भीरता ल्याउन सक्छ । गोपनीयता र आत्मसंयम आवश्यक हुनेछ । रोग, ऋण वा विवादजन्य विषयमा सतर्कता आवश्यक छ । ध्यान वा साधनामा मन लगाउँदा मानसिक सन्तुलन आउनेछ ।
धनु : सम्बन्धहरू पुनर्निर्माणको समय देखिन्छ । प्रेम वा वैवाहिक जीवनमा संवादबाट सुमधुरता ल्याउन सकिनेछ । साझेदारीका क्षेत्रमा नयाँ सम्झौताका अवसर प्राप्त हुने सम्भावना छ ।
मकर : कार्यक्षेत्रमा सफलता, शारीरिक स्फूर्ति र समस्यामाथि विजयको सूचक देखिन्छ । पुराना समस्या पुनः उठ्न सक्छन् तर समाधानका उपायहरू पनि सँगसँगै आउनेछन् । अनुशासन र निरन्तरतामा केन्द्रित रहनुपर्छ ।
कुम्भ : प्रेम, सन्तान वा सिर्जनात्मक कार्यहरूमा पुनरारम्भको संकेत छ । सृजनात्मक अभिव्यक्तिमा राम्रो समय हो । विद्यार्थीहरूका लागि अध्ययनमा केन्द्रित हुने समय हो ।
मीन : घरपरिवार, माता वा स्थायी सम्पत्तिसम्बन्धी विषयमा विचार गर्न बाध्य पार्न सक्छ । विगतका अपूर्ण कार्यहरूमा आज ध्यान जान सक्छ । भावनात्मक स्थिरता र व्यावहारिक निर्णय आवश्यक हुनेछ ।