
काठमाडौं । ‘जेन–जी’ पुस्ताले आज काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वसम्म विरोध प्रदर्शन गर्दैछ ।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेको जेनजी पुस्ताले आज माइतीघर भेला भएर प्रदर्शन गर्न लागेको हो । जेनजीको आन्दोलनलाई विभिन्न संघसंस्था, नेता तथा सेलिब्रेटीहरूले समर्थन गरेका छन् ।
उनीहरूको प्रद्र्शनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन् । मेयर शाहले जेनजी पुस्ताले देशभर गर्ने आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताएका छन् । उनले उमेर हदको कारण सो आन्दोलनमा आफू जान नमिले पनि आफूलाई जेनजी पुस्ताको कुरा बुझ्न जरुरी रहेको र सो आन्दोलनमा भरपुर समर्थन रहेको बताएका हुन् ।
त्यस्तै उज्यालो अभियान्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले पनि समर्थन जनाएका छन्। उनले फेसबुकमार्फत जेनजीले निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन् ।
त्यस्तै, निर्देशक निस्चल बस्नेतले ‘आफू जेन–जीको साथमा रहेको’ बताउँदै टिकटक भिडियो सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको विरोध गरेका छन् ।
निश्चलले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाएका छन् । जेन–जीको युवापुस्ता भ्रष्टाचारलाई लिएर निराश रहेको उल्लेख गर्दै आन्दोलन हुनु नै थियो भनेका छन् । आफू जेन–जी आन्दोलनमा सहभागी भएर भ्रष्टाचारविरुद्ध बोल्ने समेत निश्चलले बताएका छन् ।
यता, अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिती झन् गम्भीर बनाएको भन्दै जेन–जी आन्दोलनलाई समर्थन जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् ।
त्यस्तै अभिनेता अनमोल केसी, गायक प्रकाश सपूत, हलमा चलिरहेको चलचित्र मोहरका टिम लगायत थुप्रैले समर्थन गरेका छन् । अम्रित गुरुङको नेपथ्या ब्याण्ड, गायिका रचना रिमाल, एलिना चौहान र प्रफमर तथा गायक दुर्गेस थापा लगायत थुप्रै सेलिब्रेटीले समस्थन गरेका छन् ।
नातावाद, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धबिरुद्ध जेन–जीले घोषणा गरेको देशव्यापी आन्दोलनमा सत्तारूढसहित विपक्षी दलहरूले भने केही बोलेका छैनन् । रास्वपाका सभापति रवि लामिछानेले भने कारागारबाटै ऐक्यवद्धता जनाएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि आन्दोलनमा समर्थन रहेको बताएका छन् ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ । ‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू मात्र सहभागी हुने बताइएको छ ।
विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन् ।
उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन् । आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी हुने उनीहरूको भनाइ छ ।