नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले आफ्ना हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको स्मृतिमा धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको नाम परिवर्तन गराएका छन्।

विद्यालयको नाम अब ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम भएको छ। पुर्खाको नाम विद्यालयसँग जोड्दै डा. शर्माले विद्यालयको विकास तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि कुल पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
विद्यालयको नाम परिवर्तनका लागि डा. शर्माले २०८२ पुस २३ गते विद्यालय व्यवस्थापन समितिमा निवेदन दिएका थिए। आवश्यक प्रक्रिया पूरा भएपछि २०८३ असोज ५ गते विद्यालय, पाख्रीबास नगरपालिका र डा. शर्माबीच नाम परिवर्तनसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार नाम परिवर्तनका लागि आवश्यक तीन करोड रुपैयाँ उनले आजै एकाउन्ट पेयी चेकमार्फत विद्यालयलाई उपलब्ध गराएका छन्।

यसैगरी, काठमाडौं मेडिकल कलेज (केएमसी) मार्फत सोही विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीका लागि दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको छ।
कक्षा ६ देखि कम्तीमा पाँच वर्ष सोही विद्यालयमा निरन्तर अध्ययन गरेका, एसईई उत्तीर्ण तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गरी मेरिटका आधारमा केएमसीमा अध्ययनका लागि छनोट भएमा विद्यालयको सिफारिसमा छात्रवृत्ति पाउनेछन्।
छात्रवृत्तिअन्तर्गत केएमसीमा अध्यापन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रमको अध्ययन शुल्क निःशुल्क हुनेछ।
डा. शर्माले यो पहल आफ्ना पुर्खाको नाम विद्यालयसँग जोड्ने विषयमा मात्र सीमित नरहेको बताएका छन्। पुर्खाबाट प्राप्त संस्कार, मूल्य र जिम्मेवारीलाई आगामी पुस्ताका लागि अवसरमा रूपान्तरण गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा लगानी गरिएको उनको भनाइ छ।
आर्थिक अभावकै कारण कुनै प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको उनले बताएका छन्। शिक्षा समाजको दीर्घकालीन परिवर्तनको आधार भएकाले पुर्खाको सम्मानलाई शिक्षामा लगानी र सामाजिक उत्तरदायित्वसँग जोड्न पाउनु सन्तोष र गौरवको विषय भएको उनको भनाइ छ।
यस पहलले चुङमाङ तथा आसपासका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न प्रेरणा र अवसर प्रदान गर्ने विश्वास डा. शर्माले व्यक्त गरेका छन्।
शर्माले यसअघि पनि निजी लगानीमा आर्थिक रूपमा विपन्न तथा पिछडिएका हजारौँ विद्यार्थीलाई उच्च स्वास्थ्य शिक्षा अध्ययनमा सहयोग गर्दै आएका छन्। उनले निःशुल्क उपचारमा समेत सहयोग पुर्याउँदै आएको बताइएको छ।
सम्झौतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।
डा. शर्माले गत वर्ष मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको नाम आफ्ना बुबाआमाको नाममा परिवर्तन गर्न दुई करोड रुपैयाँ सहयोग गरेका थिए। उक्त सहयोगपछि विद्यालयको नाम ‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको थियो। उनले सो विद्यालयको भौतिक पूर्वाधार विकासमा समेत सहयोग गर्ने घोषणा गरेका थिए।









