
मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ ।
सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ ।
‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा सम्बोधन गरेका छन् ।
प्रधानसेनापति सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् ।
‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो । त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु’ उनले भिडिओ सन्देशमा भनेका छन् ।
उनले देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएका छन् ।
जेनजी प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेपछि प्रशासनले दबाबको बीचमा लामिछानेलाई रिहा गरेको हो ।
प्रदर्शनकारीहरुको बाक्लो उपस्थिति र बढ्दो दबाबपछि कारागार प्रशासनले रविलाई थुनामुक्त गर्न प्रहरीको समन्वयमा सहजीकरण गरेको हो ।
आन्दोलनको चर्को दबाबपछि स्थिति तनावपूर्ण बन्दै गएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
काठमाडौं । प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ ।
आन्तरिक उडान पूर्ण रुपमा ठप्प छ भने अन्तर्राष्ट्रियतर्फका आधा दर्जन विमान आकाशमा ‘होल्ड’ भएका छन् । हिमालय एयरलाइन्सको विमान ‘डाइभर्ट’ भएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आजका लागि आन्तरिक उडान बन्द गरिएको छ । अन्तर्राष्ट्रियतर्फका विमानबारे छिट्टै निर्णय लिइने उनले बताए । ‘फ्लाइट रार्डर’का अनुसार सिमरामाथिको आकाशमा ती विमानहरूले फन्को लगाइरहेका छन् । भारतको मुम्बईबाट आएको एयर इन्डिगो, नयाँ दिल्लीबाट आएको इन्डिगो र नयाँदिल्लीबाटै आएको भिस्तारा एयरलाइन्स होल्ड भएका छन् ।
यस्तै थाइल्यान्डको राजधानी बैङ्ककबाट आएको एयर एसिया, बैङ्ककबाटै आएको थाई लायन र बङ्गलादेशको राजधानी ढाकाबाट आएको विमान बङ्गलादेश होल्डमा बसेका हुन् ।
विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गदै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
पछिल्लो विकसित परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार आज राति १ बजेसम्मका लागि विमानस्थलको सम्पूर्ण उडान बन्द गरिएको हो । विभिन्न गन्तव्यबाट आएका अन्तर्राष्ट्रिय उडानका विमानहरू डाइभर्ट गरिएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १ बजेसम्ममा सञ्चालन हुँदै आएको थियो । विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गर्दै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । ‘जेनजी पुस्ता’को प्रदर्शनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आगजनी गरिएको छ ।
काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलन उग्र बन्दै जाँदा राजनीतिक नेतृत्वमाथि प्रत्यक्ष आक्रमण भएको छ ।
जेनजी प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई कुटपिट गरेका छन् ।
प्रदर्शनकारी समूहले देउवा दम्पतीलाई घरमै आक्रमण गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीले उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री ओली २०८१ असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
जेनजी आन्दोलनकारीहरुले आज मात्रै ओलीको घर जलाएका थिए ।

काठमाडौं । ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।
काठमाडौं । जेनजी प्रदर्शन चकिँएसँगै शीर्ष नेताहरुमाथि आक्रमण सुरु भएको छ । नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले उनीहरुलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

शीर्ष नेताहरुको सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित गरिएको उच्च सुरक्षा स्रोतले जनाएको छ । बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको स्रोतले दृष्टिन्यूजलाई बताएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ । सोमबार १९ जनाको मृत्यु भएपछि आक्रोशित आन्दोलनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन् ।
दोस्रो दिन आन्दोलनकारीहरुले सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन् ।
भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।





