
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले बीपी कोइरालाको ११२औँ जन्मजयन्तीको तरखरमा राजधानीमा लोकतन्त्रको ‘कुरूप र नृशंस अभ्यास’ भएको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ।
उहाँले फेसबुकमार्फत वर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने माग प्रस्तुत गर्नुभएको छ।
महरले बीपी कोइराला र नेपालका लोकतान्त्रिक आन्दोलनका शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै भदौ २३ गतेको घटनाले लोकतन्त्रको मर्यादामाथि गम्भीर प्रश्न उठाएको बताउनुभएको छ।
उहाँले बीपी कोइरालाले नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र राज्य जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न जीवनभर सङ्घर्ष गरेको स्मरण गराउँदै आजको अवस्था बीपीले परिकल्पना गरेको समाजभन्दा ठीक उल्टो रहेको बताउनुभएको छ। “बीपीले परिकल्पना गरेको समाजमा नागरिक प्रश्न सोध्न डराउँदैन र सरकार जवाफ दिनबाट भाग्दैन। तर आज अवस्था ठीक उल्टो छ,” महरले भन्नुभयो।
जेन-जी आन्दोलन बीपीको चेतनाको प्रतिबिम्ब
महरले जेन-जी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको आवाजलाई बीपीको लोकतान्त्रिक र समाजवादी चेतनाको प्रतिबिम्बका रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार भदौ २३ गतेको त्रासदीले बीपी कोइरालाको सान्दर्भिकतालाई आज झनै प्रखर र आवश्यक बनाएको छ। “बीपीको सान्दर्भिकता उनको मेलमिलापको नीतिमा मात्र सीमित छैन। नागरिक सर्वोच्चता र विधिको शासनप्रतिको उनको अटुट निष्ठामा निहित छ,” महरले भन्नुभयो, “जबसम्म राज्य नागरिकसँग संवादको सट्टा बन्दुकको भाषा बोल्छ, तबसम्म बीपीको विचारले सत्तालाई निरन्तर प्रश्न गरिरहनेछ।”
निकासका लागि माग
वर्तमान विषम परिस्थितिको निकासका लागि महरले निम्न कुराहरूमा ध्यान दिनुपर्ने माग गर्नुभएको छ:
१. वर्तमान सरकारले राजीनामा दिने र नयाँ सरकारको निर्माण गर्ने।
२. महामहिम राष्ट्रपतिज्यूले राष्ट्रिय मेलमिलापका लागि पहलकदमी लिने।
३. तत्काल घाइतेको उद्धार र उपचारमा प्राथमिकता दिने।
४. जेन-जी आन्दोलनमा भएको हिंसा, धरपकडको छानबिन गर्ने।
५. २०१७ सालदेखि सार्वजनिक पद धारण गर्नेहरूमाथि छानबिन गर्न उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गर्ने।
६. नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मार्फत निकास खोज्ने।
७. सबै राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय, आम सञ्चार, नागरिक समाज र सरोकारवालासँग तारन्तार संवाद गर्ने।
८. राष्ट्रिय शोकको समयमा सबैलाई संयम अपनाउन सचेत गर्ने, प्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउने, भावी रणनीति निर्माण गर्ने र मानवअधिकारको वकालत तथा रक्षा गर्ने।
महरले यो गम्भीर परिस्थितिमा सबै सरोकारवालाहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँको यो अभिव्यक्तिले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।
काठमाडौं । देशव्यापी रूपमा चर्किएको युवा आन्दोलन र जनदबाबका सामु सरकार अन्ततः झुकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यसको पुष्टि गर्दै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको जानकारी दिए । सरकारले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएको थियो, जसमा विशेष गरी एक्स (पहिलेको ट्वीटर) लाई लक्षित गरिएको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नगरेको र नेपालमा दर्ता नहुने अडान लिएको भन्दै ब्रिफिङ गरेका थिए । उनले ‘डेढ वर्षदेखि सूचीकृत गर र नेपालको कानुन मान’ भन्दा पनि अटेरी गरेको आरोप लगाएका थिए ।
यद्यपि, सरकारको यो कदमले युवा वर्गमा ठूलो असन्तुष्टि पैदा गर्यो । जेनजी (Gen Z) हरूले सामाजिक सञ्जाल खुलाउन माग गर्दै देशका विभिन्न भागमा सशक्त प्रदर्शनहरू गरे । सोमबार मात्रै काठमाडौंमा १७ र इटहरीमा २ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । यसले सरकारमाथि थप दबाब सिर्जना गर्यो । चर्को जनविरोध र सत्तारुढ दलभित्रबाटै आएको दबाब थेग्न नसकेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा जारी गरेको कर्फ्युको समय थप गरेको छ । यसअघि मंगलबार बिहान ५ बजेसम्मका लागि लगाइएको कर्फ्यु बिहान साढे ८ बजेदेखि अनिश्चित कालका लागि लम्ब्याइएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।
काठमाडौँमा हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिनका लागि प्रशासनले यो कदम चालेको बुझिएको छ । सर्वसाधारणलाई तोकिएको समय र क्षेत्रमा आवागमन नगर्न र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।






