
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।
मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।
निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ ।
यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।
सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।
सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो ।
काठमाडौं । जेनजी युवाहरूको एक समूहले अबका दिनमा देशको नेतृत्व सम्हाल्न र आगामी निर्वाचनको लागि अन्तरिम सरकारमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ ।
युवाहरूले सामाजिक सञ्जाल ‘डिस्कर्ड’मा करिब पाँच घन्टा छलफल गरेर कार्कीको नाममा सहमति गरेका छन् । यस छलफलमा सहभागी १० हजार भन्दा बढी युवाहरूले आफूहरूको विचार प्रस्तुत गरेका छन् ।
जेन–जी युवाहरूका अनुसार, संवेदनशील समयमा सरकारको नेतृत्व कानुन र विधिको रक्षा गर्न सक्षम र इमानदार व्यक्ति द्वारा चलाउनु पर्छ, र त्यसैले गहन विमर्श पछि सुशीला कार्कीको नाम प्रस्ताव गरिएको हो ।
छलफलमा अन्य थुप्रै नामहरू पनि उठेका थिए,जसमा कुलमान घिसिङ, बालेन शाह लगायतका व्यक्तिहरूको नाम सामेल थिए ।
तर, जेन–जी युवाहरूको सहमति अनुसार, कार्कीको नाममा नै समर्थन जनाइएको छ । यसै बीच, सुशीला कार्कीसँग पनि कुराकानी भइसकेको बताइएको छ ।
काठमाडौं । प्रधानसेनापति अशोक सिग्देलले राजसंस्था पुनस्र्थापनाका अभियन्ता र जनआन्दोलनका जनकमान्डर दुर्गा प्रसाईसँग अबको निकासको विषयमा छलफल गरेका छन् ।
सिग्देल र प्रसाईबीच छलफल भएको अभियन्ता गणेश घिमिरेले जानकारी दिए । घिमिरेले भोलि बिहान ८ बजे फेरि वार्ता हुने तय भएको बताए ।
वार्तामा विभिन्न पक्षका प्रतिनिधिहरूसँग पनि छलफल भइरहेको जनाइएको छ ।
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको आन्दोलनमा घुसपैठ भई अराजकता फैलिएको बताएका छन् । उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन् ।
जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ । ‘यस क्रममा दर्जनौंले ज्यान गुमाएका छन् भने खर्बौंको धनसम्पत्ति नष्ट भएको छ,’ महरले भने ।
सरकारी अकर्मण्यताका कारण डेढ दर्जनभन्दा बढी युवाहरूको ज्यान जानु बर्बरतापूर्ण कार्य भएको भन्दै उनले खेद प्रकट गरे । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता र सामाजिक व्यक्तित्वहरूमाथि भएको आक्रमण लोकतान्त्रिक आचरणविरुद्धको निन्दनीय कार्य भएको उनले बताए ।
‘लोकतन्त्रिक प्रणाली विश्वकै उच्चतम प्रणाली हो र यसै प्रणालीअन्तर्गत अहिलेको संविधान बनेको छ,’ महरले भने, ‘यस विषम परिस्थितिको निकास पनि अहिलेको संविधानभित्रै खोजिनुपर्छ ।’
थप निकासका लागि राष्ट्रपतिले सरोकारवाला विभिन्न पक्षसँग वार्ता र समन्वय गरिरहेको र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको अगुवाइमा सुरक्षा संयन्त्रले प्रधान भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।
‘यस कठिन घडीमा म समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न, एकताबद्ध भई एक अर्काको साथ दिन र सुरक्षित रहनका लागि विशेष आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो राष्ट्रिय एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो र यसले नै हामीलाई हरेक संकटबाट पार लगाउन सक्छ ।’
उनले निषेधाज्ञा तथा कर्फ्युमा एम्बुलेन्स, शव वाहन, दमकल, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनजस्ता अत्यावश्यक सेवालाई सहजता प्रदान गर्नसमेत आग्रह गरेका छन् ।
काठमाडौं । नेपालका विभिन्न कारागारबाट अहिले सम्म १३ हजार ५ सय ७२ भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।
यस घटनाले देशभरको सुरक्षा व्यवस्था र कारागार प्रणालीमा ठूलो चासो सिर्जना गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता र डीआईजी विनोद घिमिरेका अनुसार, हालसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका छन् ।
त्यसैगरी, हिरासतमा रहेका ५ सय ६० जना थुनुवा पनि फरार भएका छन् । यी थुनुवा विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा थिए ।
मंगलबार देशभरका विभिन्न स्थानमा जेनजी प्रदर्शनको क्रममा तोडफोज र आगजनीका घटनाहरु घटेका थिए, जसको क्रममा फरार भएका कैदीबन्दी र थुनुवाहरुको संख्या थपिएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र फरार व्यक्तिहरुको खोजीमा जुटेका छन् ।
अहिले सुरक्षा अधिकारीहरूले फरार कैदीबन्दी र थुनुवाहरुको ट्र्याकिङ र पक्राउ गर्नका लागि प्रयासलाई तीव्र पारेका छन् ।
काठमाडौं । देशको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । बढ्दो अराजकता र हिंसात्मक गतिविधिको नियन्त्रणका लागि आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू घोषणा गरिएको हो ।
सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगका लागि नेपाली सेना सबै राष्ट्रवासीहरूप्रति कृतज्ञता ज्ञापन गर्दछ ।’
आन्दोलनको नाममा भइरहेका विभिन्न अराजक गतिविधिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले यस्ता अपराधजन्य कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सेनाका अनुसार, आन्दोलनको आडमा विभिन्न अराजक व्यक्ति तथा समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित हिंस्रक आक्रमण र बलात्कार प्रयासजस्ता जघन्य क्रियाकलाप गरिरहेको तथा यस्ता गतिविधि अझै बढ्न सक्ने सम्भावना रहेको छ । सेनाले यस्ता कार्यलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने स्पष्ट पारेको छ ।
कर्फ्यूको समयमा पनि अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू) भने सञ्चालन हुन पाउनेछन् । सेनाले आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सबैलाई अनुरोध गरेको छ ।
यस क्रममा, नेपाली सेनाले सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न आग्रह गरेको छ । सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वमा निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
सेनाले विषम परिस्थितिमा सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहेको भन्दै परिस्थितिको जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुऱ्याउन हार्दिक अपिल गरेको छ ।

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार लगाइएको आगो अझै निभेको छैन । बुधबार बिहानसम्म पनि सिंहदरबारमा आगो बलिरहेको छ । रातभर सिंहदरबार जलिरह्यो ।
सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ । अहिले नेपाली सेनाले सिंहदरबार कब्जा गरेको छ । सिंहदरबारको भव्य संरचना खण्डहरमा परिणत भएको छ । आगोमा जलेर अधिकांश संरचना ध्वस्त भएको छ । सवारी साधन, फर्निचर, कागजपत्र केही बाँकी रहेका छैनन् ।
जेनजी प्रदर्शनकारीको क्रममा केही समूह सिंहदरबारभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । राणाकालीन सम्पदा सिंहदरबार आगोमा दन्किरहेको दश्ष्य कहालीलाग्दो थियो । आगो जलिरहेका बेला पानी हाल्ने प्रयाससमेत भएन । प्रदर्शनकारीले मंगलबार सिंहदरबार परिसरमा रहेको गृहमन्त्रालयमा पनि आगो लगाइदिएका थिए ।
प्रदर्शनकारीले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं विशेष अदालत, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डय प्राधिकरण, उपत्यका ट्राफिक प्रहरी कार्यालयलगाउतमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवनमा समेत आगोमा जलेर ध्वस्त बनाएका छन् ।
काठमाडौं । जेनजीको दुई दिनको आन्दोलनपछि काठमाडौंको अवस्था केही सामान्य बन्दै गएको छ । बुधबार बिहानैदेखि काठमाडौंका सडकमा केही गाडी र नागरिक देखिएका छन् ।
काठमाडौंका प्रमुख सडकहरुमा नेपाली सेनाले गस्ती गरिरहेको छ । सेनाले पैदल यात्रु र सवारीहरुलाई सोधपुछ गर्दै छाड्ने गरेका छन् । पुरानो बानेश्वर, नयाँ बानेश्वर, पुतली सडक, सिंहदरबार क्षेत्रका सडकमा सामान्य आवतजावत देखिएको छ । किराना पसल, तरकारी पसल, डेरीलगायत पसलहरु सञ्चालनमा आएका छन् ।
मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनका कारण फोहोर भएका केही सडकमा ब्रुमरले सफा गर्ने काम पनि सुरु भएको छ ।
काठमाडौं । नेपाली सेना र जेनजी प्रतिनिधिसँग आज औपचारिक वार्ता हुँदै छ । गएराति भएको अनौपचारिक छलफलमा वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ ।
सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ । उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन् ।
यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको छ ।
काठमाडौं । बाँकेको एक बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।
मंगलबार जेनजी आन्दोलनका क्रममा डुडुवा गाउँपालिका-६ नौबस्तास्थित बाल सुधार गृहमा रहेकाहरु भाग्न खोज्दा प्रहरीसँग भएको झडपमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरकाे मृत्यु भएकाे हाे ।
घटनामा घाइते अन्य दुई जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजदा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधारगृहभित्रै रहेको सुरक्षा स्रोतले जानकारी दियो ।




