२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।

 

यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्‍याइदिने निर्णय गरेका थिए ।

 

प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

काठमाडौं । देशको हालको विषम परिस्थिति र जनदबाबलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक खर्चमा व्यापक मितव्ययिता अपनाउने नीति लिएको छ ।

 

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले सरकारी कर्मचारीको बैठक भत्ता कटौती गर्ने निर्णय गरेको हो ।

बैठकले औसत दरबन्दी २० प्रतिशत कटौती गर्ने र अनावश्यक संरचना तथा निकायहरू खारेज, गाभ्ने वा हस्तान्तरण गर्ने कार्य तत्काल अघि बढाउने निर्णयसमेत गरेको छ ।

 

चालु आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने निर्णय भएको छ । त्यस्ता आयोजनाहरूमा विनियोजित रकमलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत सम्भार र उपकरण खरिदतर्फ रकमान्तर/स्रोतान्तर गरिनेछ ।

आन्दोलनका क्रममा ध्वस्त भएका फर्निचर तथा सामग्रीको नयाँ खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

जेनजी युवा पुस्ताको माग अनुसार सार्वजनिक सेवा चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका तत्काल खारेज वा संशोधन गर्ने प्रक्रिया अघि बढाउन मुख्य सचिव अर्यालले निर्देशन दिएका छन् ।

त्यस्तै नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयमा रिक्त दरबन्दी तत्काल पूर्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

निकट चाडपर्वलाई ध्यानमा राख्दै खाद्यान्न आपूर्ति सहज बनाउने, कालोबजारी नियन्त्रण गर्ने र सार्वजनिक यातायात व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक कार्य सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

विभिन्न मन्त्रालय र सुरक्षा निकायको नियमित सेवा सुचारु गर्न सवारी साधन व्यवस्थापनका लागि विशेष कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ ।

सिंहदरबारभित्रका मन्त्रालयहरूले अनावश्यक प्रवेश पास खारेज गर्ने, तथा आगजनीका कारण नष्ट भएका कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः संकलन गर्न निजामती सेवा ऐन र नियमावली अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

काठमाडौँ । दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।

 

बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय समेत गरेको विभागले जनाएको छ ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणबाट-काठमाडौँ रुटमा चलाउन नपाउने गरी निर्णय भएको छ ।

आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।

काठमाडौँ । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

 

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्न नछाड्ने बताएका छन् ।

 

आज दिउँसो फेसबुकमा एक स्ट्याटस लेख्दै शाहले यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.’

आफूलाई प्रधानमन्त्री बनाउन सहयोग नगरेपछि साम्पाङ बालेनसँग रिसाएका थिए । साम्पाङ प्रधानमन्त्री बनाउन माग गर्दै समर्थकसहित काठमाडौँ आएका थिए । तर, जेनजी युवाहरूले उनलाई मतलब गरेनन् ।

बालेनकै समर्थनमा प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् ।

प्रधानमन्त्री र मन्त्री पदसमेत पाउन नसकेपछि मेयर साम्पाङ धरान फर्किएका थिए ।

उनले आज मात्रै धरानमा पत्रकार सम्मेलन गरेर भक्कानिएर रोएका थिए ।

छोटो समयमा नै साम्पाङ रोएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साम्पाङ रोएपछि बालेनले उनलाई सान्त्वना दिएका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको नियमित जाँच गराएकी छन् ।

आँखा परीक्षण गर्ने क्रममा उनको देब्रे आँखा धमिलो भई पीसीओ (Posterior Capsule Opacification) भएकाले सोका लागि Yag Laser गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको आँखा जाँचमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र चिकित्सक डा. रिता गुरुङ संलग्न थिए ।

यसैबिच डा. रुइतले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । मंगलबार अस्पताल परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले अस्पताल र बिरामी छाड्न नसक्ने बताए ।

काठमाडौं- नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।

जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बन्छ भनेर उनले खुलाएनन् ।

अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी लिन काठमाडौं पुग्दा भारतीय दूतावास जानुपर्ने भएपछि आफू मन्त्री खान हच्किएको बताएका छन्।

काठमाडौं आएर नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री पदका लागि गरेको डिलमा असफल भएपछि धरान फर्किएका हर्कले अहिले भने दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएको टिप्पणी गरेका हुन्।

उनले सामाजिक सञ्जालमा गएरातिदेखि नै राष्ट्रवाटी स्टाटस राख्दै यस्तो बताएका हुन्। उनले आफूलाई खानेपानी र श्रम तथा रोजगार गरेर दुई वटा मन्त्रालय दिएको तर भारतीय दूतावास जानुपर्ने भनेपछि हच्किएको बताएका हुन्। उनले हर्क साम्पाङ को हो भनेर पछि थाहा हुनेसमेत टिप्पणाी गरेका छन्।

‘मलाई पदको लोभी भन्नेलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घर भित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुई वटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म ! भारतीय दूतावास जानुपर्ने भनेपछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो। हर्क साम्पाङको हो भन्ने।’

काठमाडौं । अन्तरिम सरकारका मन्त्रीहरूले सरकारी सेवा सुविधा र तलबभत्ता नलिने घोषणा गरिरहँदा यसप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रीहरूको यो कदमलाई ‘जनतामा भ्रम छर्ने’ र ‘घमण्ड’ को संज्ञा दिएका हुन् । 

सुशीला कार्की नेतृत्वको सरकार विस्तार हुँदै गर्दा विप्लव भने कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा व्यस्त थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले मन्त्रीहरूको घोषणाप्रति कटाक्ष गरेका हुन् । उनले भने, ‘मन्त्रीहरूले सोमबार भाषण गरेको सुनेँ- म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?’

विप्लव यतिमै रोकिएनन् । उनले भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाएको छ नि त । यो घमण्ड हो के। यो त जनतामा भ्रम छर्ने कुरा हो । यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’

विप्लवले यस्ता व्यक्तिहरूले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको आरोप लगाए । ‘हेर्नुस् धेरै कुराहरू छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ उनले भने । उनले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नुपर्छ,’ विप्लवको भनाइ थियो ।

विप्लवले नेताहरू जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा पनि असन्तुष्टि जनाए । ‘नेताहरू आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन्,’ उनले भने, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’

कार्यक्रममा विप्लवले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र अन्य मन्त्रीहरूलाई ‘राम्रो काम’ गर्न शुभकामना दिए । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नुभयो तपाईंले गर्नुस् न, अरू मन्त्रीहरूले पनि राम्रो गर्नुस्,’ उनले भने, ‘तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्ने तिरबाट सोच्नुपर्छ ।’

सोही कार्यक्रममा नेकपाका महासचिव विप्लवले शहीद परिवार देवीमाया वि.क.लाई तीनकोठे घर हस्तान्तरण गरेका थिए । देवीमायाले सशस्त्र युद्धमा आफ्ना दुई छोरा राजु र शंकर गुमाएकी थिइन् । उनका लागि नेकपा कपिलवस्तुले घर निर्माण गरिदिएको थियो । घर हस्तान्तरण कार्यक्रममा विप्लवले शहीदका सपनालाई बोकेर हिँड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हाम्रो प्रतिबद्धता छ, अन्तिमसम्म हाम्रा शहीदहरूका सपनालाई बोकेर हिँड्ने, हाम्रो देशको भविष्यलाई बोकेर हिँड्ने हाम्रो चाहना छ । त्यो अनुसार नै हामीले मिहिनेत गर्छौं ।’

विप्लवले सोमबार बेलुका नै एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएका थिए । उनले ‘विद्रोह जेनजीको तर सरकार जेन एक्सको’ भएको टिप्पणी गरेका थिए ।

काठमाडौं । भारतको हिमाचल प्रदेशको शिमलामा पिकअप गाडी दुर्घटना हुँदा ४ नेपालीसहित ५ जनाको मृत्यु भएको छ । मृतक नेपालीहरु सबै सल्यान जिल्लाका रहेको बताइएको छ । गाडीका चालकको पनि मृत्यु भएको छ । उनी भारतीय हुन् ।

जानकारी अनुसार दुर्घटना आज बिहान शिमला जिल्लाको कोटखाइमा भएको हो । दुर्घटनामा नेपालको सल्यानका डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट तथा गाडीका चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि ज्यान गएको हो ।

प्रहरीबाट प्राप्त जानकारी अनुसार पिकअपमा चालक बाहेक ६ जना थिए, जो नेपाली मजदुर थिए । यो पिकअप चालकको नियन्त्रण बाहिर गयो र पल्टियो । गाडी सडकबाट लगभग ५०–६० मिटर तल अर्को सडकमा खसेको छ । यस दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भयो भने अर्का एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भयो ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले दुर्घटनामा शोक व्यक्त गर्दै पाँच जनाको मृत्यु भएकोमा समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्रीले मृतकका परिवारसँग राज्य सरकार रहेको र उनीहरूलाई सरकारबाट सम्भव भएसम्म सबै सहयोग उपलब्ध गराउने बताएका छन् । साथै, मुख्यमन्त्रीले घाइतेहरूलाई उत्तम उपचार प्रदान गर्न निर्देशन दिएका छन् र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।