
काठमाडौँ । जनमत पार्टीभित्र नेतृत्वको शैलीप्रति असन्तुष्टि चुलिँदै गएको छ । पार्टीका अध्यक्ष डा. सीके राउतलाई पार्टीकै शीर्ष तहका नेताहरूले २४ घन्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् ।
पार्टीका उपाध्यक्ष अब्दुल खनासहित प्रवक्ता डा. शरद सिंह यादव, युवा संघका संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघका सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष राउतलाई स्वेच्छिक रूपमा पदबाट हट्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा पार्टी नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाइएको छ । ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरण आवश्यक छ । पार्टीभित्र पनि सोही अनुरूप समीक्षा अपरिहार्य भएको अवस्था छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेताहरुले अध्यक्ष राउतको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, तथा जनभावनासँग विमुख गतिविधिहरुले पार्टीको मूल उद्देश्यबाट पार्टीलाई विचलित बनाएको आरोप लगाएका छन् । उनीहरूको दाबी अनुसार, हालको नेतृत्वमा पार्टी आफ्नो विचार र मार्गदर्शनअनुसार अघि बढ्न असफल भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । जेन जी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।
संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३७३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले खुलासा गरेका हुन् । गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको जानकारी दिएका हुन् ।
उक्त पडकास्टमा बोल्दै गभर्नर पौडेलले भनेका छन्, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।’
जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको उनले जानकारी दिएका छन् । यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।
आन्दोलनकाक्रममा पेमेन्ट सिस्टमहरू कायम रहोस् भन्ने राष्ट्र बैंकको ध्यान रहेको समेत उनले बताएका छन् । त्यसबेला पेमेन्ट सिस्टमहरू बचाई राख्नका लागि समग्र बैंकिङ क्षेत्र तैनाथ रहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।
आन्दोलनकाक्रममा ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक रहेको गभर्नर पौडेलको भनाई छ ।
काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजीका नेता सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।
उनलाई मोटरसाइकल र गाडी प्रयोग गरेर लखेटिएको गुरुङले पुष्टि गरेका छन् । गुरुङका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर मोटरसाइकलमा सवार व्यक्तिहरूले उनलाई पछ्याउँदै आएका थिए ।
‘बीचमै दुई वटा गाडी पनि थपिएर पच्छ्याउन थाले,’ उनले भने, ‘सिनामंगलको गल्लीगल्लीमा समेत खोजिरहेका थिए रे, बानेश्वरसम्म लखेटे । ती को हुन् भन्नेचाहिँ थाहा भएन तर मार्ने उद्देश्यले नै आएका जस्ता देखिन्थे ।’
घटना लगत्तै आफू सुरक्षित स्थानमा पुगेको बताउँदै गुरुङले हाल आफ्नो अवस्थिति खुलाउन चाहेनन् । ‘म अहिले कहाँ छु भनेर भन्न चाहन्न, तर म सुरक्षित छु,’ उनले भने ।
यसबारे प्रहरीसँग सम्पर्क गरिए/नगरेको वा उजुरी दर्ता भएको/नभएको विषयमा भने उनले केही खुलाएका छैनन् ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।’ मन्त्री घिसिङले भनेका छन् ।
उनले विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।
मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरे ।
सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।
काठमाडौं । सडक डिभिजन काठमाडौंले आजदेखि पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिने भएको छ । सार्वजनिक कार्यालयलाई जनताप्रति जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले पहुँचका आधारमा राखिएका कर्मचारीहरूलाई बिदा दिने घोषणा गरिएको हो ।
डिभिजन प्रमुख सुबोधकुमार देवकोटाकाअनुसार उनीहरुलाई बिदा गर्दा मासिक १५ लाख रुपैयाँ राज्यकोषमा बचत हुनेछ । ‘हामीले सार्वजनिक कार्यालयलाई जनताको नासोको रूपमा जवाफदेही र पारदर्शी बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘ आज (असोज १ गते)बाटै लागु हुने गरी पहुँचका आधारमा अनावश्यक रूपमा रहेका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको छ, जसबाट मासिक १५ लाख राज्यकोषमा बचत हुन्छ ।’
यसका साथै, डिभिजनले ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी दुई दिनभित्र काठमाडौंभित्रका सडकमा रहेका खाल्डाखुल्डीहरूको यकिन विवरण संकलन गरी तीन सिफ्टमा काम गरेर पुर्ने योजना बनाइएको छ । ‘हामी खाल्डाखुल्डीरहित काठमाडौं बनाउँदैछौं। यसका लागि अभियान नै सञ्चालन गर्छौं । तत्काल कति खाल्डाखुल्डी छन्, त्यसको यकिन दुई दिनभित्र गर्छौं । बिहान, दिउँसो र रातिसमेत गरेर व्यवस्थित तरिकाले काम गर्नेछौं,’ देवकोटाले थपे, ‘यसका अतिरिक्त हामीले छुट्टै हेल्पलाइन खडा गरी गुनासो सुन्ने पनि तयारी गरेका छौं । उक्त गुनासो तत्काल सम्बोधन गरी त्यसबारे पनि जानकारी दिइनेछ ।’
सडक डिभिजन काठमाडौंले पूर्वाधारको गुणस्तर सुनिश्चितताका लागि पनि महत्वपूर्ण कदम चालेको छ । डिभिजनमातहत रहेको इन्जिनियरिङ प्रयोगशालालाई अपग्रेड गरी व्यवस्थित गर्ने निर्णय गरिएको छ । आफ्नै प्रयोगशाला उपयोगमा ल्याई गुणस्तर परीक्षण गर्ने र उपलब्ध नभएका परीक्षण प्रणाली पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत् गर्ने तर निजीमा नलैजाने निर्णय भएको छ ।
सडक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ। ट्राफिक संकेत चिह्नहरूको मर्मत सम्भार, रोड मार्किङ र जेब्रा क्रसिङका लागि तत्काल बोलपत्र आह्वान गर्ने निर्णय भएको देवकोटाले बताए ।
काठमाडौँ । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईंलाई औपचारिक रुपमा राजीनामा बुझाएका छन् ।
सभामुख पाठकले आफ्नो राजीनामा नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ अनुसार प्रक्रिया पूरा गरेर दिइएको जानकारी दिएका छन् ।
उनले लेखेको पत्रमा भनेका छन्, ‘भाद्र २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेको थिएँ, तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज संविधान र नियमावली अनुरूप प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’
राजीनामा दिँदा सभामुख पाठकले जनताको भावनालाई प्राथमिकता दिएको र राष्ट्रको अवस्था र युवा पुस्ताको चाहनाको विपरीत पदमा बस्न अनौचित्य हुने टिप्पणी गरेका छन् । उनले भने, ‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने ठान्छु ।’ पाठक राप्रपा पार्टीबाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।
काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको अस्थिरताका कारण नेपाली सेनाको सुरक्षामा शिवपुरीमा बस्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तीन दिनभित्र भव्यताका साथ घर फर्काउने तयारी भइरहेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले दाबी गरेका छन् । भदौ २४ गतेदेखि शिवपुरीमा बस्दै आएका ओलीलाई नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर ल्याउने तयारी भइरहेको हो ।
देशमा नागरिक सरकार गठन भई कांग्रेस-एमाले गठबन्धनको सरकार ढलिसके पनि शेरबहादुर देउवालगायतका शीर्ष नेताहरू अझै घर फर्किने वातावरण बनिसकेको छैन । यसैबीच, नेता बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीको गृहप्रवेशको घोषणा गरेका हुन् । बस्नेतले लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र सानदार ढंगले गृहप्रवेश गराउँदै छौँ । यसका लागि सुरक्षा निकायसँगको समन्वय र आवास व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको छ ।’
सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले आन्दोलन विजय र सफलता नभई नेपालले जेनजी पुस्ताको नाममा हारेको दिन भएकोले बाजा नबजाइने स्पष्ट पारेका छन् । उनका अनुसार, यस आन्दोलनले सयौँ करोडको सम्पत्ति नष्ट गरेको र जनताको आँखामा आँसु ल्याएको छ । उनले अहिले बाजा बजाउने र दीपावली गर्ने समय नभएको बताएका छन् ।
बस्नेतले नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमको बाजा” सँग तुलना गर्दै वर्तमान अवस्था पुनर्निर्माण र ठण्डा दिमागले सोच्नुपर्ने बेला भएको जिकिर गरेका छन् । उनले दलहरूले गम्भीर गल्ती नगरेको र समयअनुसार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । ‘ओरालो लागेको बाघलाई मृगले पनि खेद्छ’ भन्ने उखान प्रयोग गर्दै बस्नेतले अहिले शीर्ष नेताहरूको विकल्प खोज्ने वा पार्टी पुनर्संरचना गर्ने बहस गर्नु अनुपयुक्त रहेको बताएका छन् ।
काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झैँ कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तु शास्त्री शिव पोखरेल बताउँछन्।
यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ ।
वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय: भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्त्व बढेको छ ।
आजदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने भएको छ । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग बुधवारदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।
कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढी पहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपाल थोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो ।
कार्यालयले पटक पटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।
उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपाल थोकमा रोकिएको थियो ।
यसअघि काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म तथा साउन महिनाभर साँझ ५:०० देखि बिहान ५:०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।
गत वर्ष असोजको बाढी पहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडाबाट सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढी पहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर कोटबाट नेपाल थोकसम्म ३४ किमी र चौथो खण्ड नेपाल थोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् ।