
शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।
इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् ।
यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन् ।
यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ ।
पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ ।
पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् । यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ ।
यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उहाँको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।
‘सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ’, कोइरालाले भने , ‘सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी लागिरहेका छौँ ।’
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताएका छन् ।
बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारे ।
आईतवार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गरे ।
उनले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताए । ‘हामी तत्काल अवरुड सडक खोल्नेतिर अगाडि बढछौं । अब मौसम पनि नेपालबाट बाहिरिदैछ । भोलीसम्ममा मौसम पनि क्लिएर हुन्छ भन्ने छ । अब हामी विस्तारै सडकहरु खोल्नेतिर हामी लाग्छौं । पूर्वको सडकहरुमा बढी क्षति भएको छ’ उनले भने ।
मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाईसकेको बताए ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आज बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ ।
काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।
शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी इलाममा १८ जनाको मृत्यु भएको छ ।
जिल्लाको विभिन्न ठाउँमा १८ जनाकाृ मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
इलामको मानेभञ्ज्याङमा सबैभन्दा धेरै पाँच जनाको मृत्यु भएको उनले बताए । त्यहाँ चार जनाको शव घटनास्थलमै भेटिएको र एक जनाकोको क्रममा भेटिएको उनले बताए । नेपाल–भारत सीमाना छेउमा भएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबीको सहयोगमा उद्धार गरिएको उनले बताए । मृत्यु भएको १८ जनाको पहिचान हुन नसकेको उनले बताए ।
विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।
मृत्यु हुनेमा सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच जना, माङसेवुङ गाउँपालिका– १ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका– ५ धारेमा एक जना, देउमाई नगरपालिका–५ धुसुने २ जना, फाकफोकथुम गाउँपालिका –३ रातमाटेमा एक जना र इलाम नगरपालिका– ५ घोसगाउँमा ६ जना गरी १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।
काठमाडौं । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ ।
काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंका सबै नाकाबाट लामो दुरीका गाडी आज नपठाइएको जानकारी दिए । ‘काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौं भित्रिएका पनि छैनन्,’ एसपी सुवेदीले भने ।
बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता गराइएको एसपी सुवेदीले जानकारी दिए । ‘जजसले बस टिकट काटेका थिए, उनीहरुको पैसा काउन्टरहरुबाट फिर्ता गराइएको छ र थप बुकिङ नगर्न भनिएको छ,’ सुवेदीले भने, ‘सडक यातायात सहज भएपछिमात्र टिकट काट्न सुरु गर्न भनेका छौं ।’
वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउे निर्णय गरेको थियो ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यसअघि गरिएको ठूलो वर्षाको पूर्वानुमानमा परिवर्तन आएको जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, पानी पार्ने प्रणाली कमजोर बन्दै गएकाले अब नेपालभर ठूलो वर्षाको सम्भावना नरहेको हो ।
यसअघि आज र भोलिसम्म नै ठूलो वर्षा हुने पूर्वानुमान गरिएको थियो । तर, अहिले उक्त प्रणाली कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि कमजोर हुँदै जाने अर्यालले जानकारी दिए । यद्यपि, ठूलो वर्षाको सम्भावना टरे पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहनेछ ।
विभागका अनुसार, बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो स्थानमा ठूलो पानी परेको थियो । मौसममा आएको यो परिवर्तनले जनजीवनमा केही राहत महसुस हुने अपेक्षा गरिएको छ । किसान तथा अन्य सरोकारवालाहरूलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।