२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद डा. सुनिल शर्मा‍ले पार्टी नेतृत्वप्रति गहिरो प्रश्न उठाउँदै अबको दिशा स्पष्ट पार्न सबै नेताहरूलाई आव्हान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक विचार व्यक्त गर्दै उनले ‘वरमेको गुणी पुत्रो न त मूर्खशतोऽपि वा’ भन्ने उक्ति उद्धृत गर्दै, सयौँ स्वार्थी र दिशाहीन नेताको भिडभन्दा एकजना इमानदार, दूरदर्शी र राष्ट्रप्रेमी नेतृत्वको आवश्यकता औँल्याएका छन्।

डा. शर्माले बाह्रखरी अनलाइनमा प्रकाशित सुदर्शन आचार्यको लेखमा उठाइएका प्रश्नहरूमाथि समर्थन जनाउँदै ती विषयहरू केवल लेखकीय चिन्ता नभई आम कांग्रेस कार्यकर्ताको ‘अन्तरदाह’ भएको बताएका छन्। उनले लेखमा उल्लेख गरिएझैं, पार्टीभित्रको बेथिति, गुटबन्दी, भ्रष्ट्राचार र नेतृत्वको अकर्मण्यताले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाएको जिकिर गरेका छन्।

“गगन–विश्वजस्ता नेतामाथि प्रश्न उठ्नु भनेको केवल व्यक्तिविशेषको आलोचना होइन,” उनले लेखेका छन्, “यो त कांग्रेसभित्रको मौन पीडाको अभिव्यक्ति हो, जसले दललाई सिंगो राष्ट्रको दिशानिर्देशक बनाउने अवसर गुमाइरहेको छ।”

डा. शर्माले पार्टीका महामन्त्रीद्वय र समस्त पदाधिकारीहरूलाई स्पष्ट शब्दमा आग्रह गरेका छन्— “न आँखा चिम्लेर समर्थन गरौँ, न अन्धो विरोधमै रमाऔँ। विगत सम्झौं, वर्तमानको मूल्याङ्कन गरौं र भविष्यप्रति प्रतिबद्ध बनौं।”

उनले इमानदारी, विचार र जवाफदेहीतालाई आधार मानेर नेपाली कांग्रेसलाई पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरेका छन्। पार्टीको आन्तरिक संरचना, विशेषगरी नेविसंघ र तरुण दलमा देखिएको ‘हुक्का र ठेक्काको राजनीति’प्रति कटाक्ष गर्दै उनले सवाल गरेका छन्— “यी संस्थामा महामन्त्रीहरूको हस्तक्षेप किन देखिँदैन?”

साथै, उनले पार्टीलाई ‘असल कार्यकर्ताको खानी’ बनाउने संकल्प गर्न नेतृत्वलाई खुला चुनौती दिएका छन्। “दस–बीस जना अघि–पछाडि लगाएर भाषण गरेर वा गुटकेन्द्रित राजनीति गरेर नेतृत्व जन्मिँदैन,” उनले लेखेका छन्, “अब खुलेर भन्नुस्— हामी देश निर्माणमा लाग्छौं।”

डा. शर्माले कांग्रेसले फेरि बी. पी. कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता इमानदार र आदर्श नेताको बाटो समात्नुपर्ने आवश्यकता औंल्याएका छन्। “देशलाई अब ठूला भाषण होइन, सत्य, निष्ठा र प्रतिबद्धतामा अडिएका नेताको खाँचो छ,” उनको भनाइ छ।

डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. सुनिल शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपैयाँ दिने भएका छन् ।
आज बेलुकी यूएईमा हुने खेलको अन्त्यमा फ्लेक्स चेक २० लाख रुपैयाँ मैदानमै हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई नेपालले जितेको अवसरमा डा शर्माले नेपाली क्रिकेट टिमको सम्मानमा उक्त रकम दिने भएका हुन् ।
यस अवसरमा डा शर्माले नेपालको नाम उच्च बनाइरहेका खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको उत्साह र हौँसला अझ बलियो बनाउन योगदान दिने घोषणा गरेका छन् । सोमबार भएको नेपाल–वेस्ट इन्डिजको खेलमा खेल हेर्न डा शर्मा मैदानमै पुगेका थिए ।

नेपालले यूएईमा जारी नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजमा शानदार प्रर्दसन गर्दै एक खेल अगावै युनिटी कपको सिरिज जितिसकेको छ । आज हुने अन्तिम खेल पनि नेपालले जितेमा सिरिज क्लिन स्विप गर्दै अर्को इतिहास रच्नेछ ।

डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

उनका यी मानवीय योगदानहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई अझ सशक्त बनाएको छ।

उनले भदौ २३–२४ गतेको जेन्जी आन्दोलनमा घाइतेहरूलाई नोबेल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरेका छन्। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म स्वास्थ्य शिविर सञ्चालन गर्दै, जटिल बिरामीलाई काठमाडौं र नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गराउने कार्य निरन्तर भइरहेको छ।

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ ।

निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाएको छ ।

आयोगले कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेकोले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको उल्लेख गरेको छ ।

निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ आयोगद्वारा जारी विज्ञप्तिमा छ ।

ELECTION-COMMISSION-release-1759754721.jpg

देशका विभिन्न जिल्लामा भएको भारी वर्षापछि आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ।

बाढी पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो।

इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको ज्यान गएको छ।

त्यस्तै सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला, सिन्धुलीमा १ जना महिलाको ज्यान गएको हो।

सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका-८, अरङ गाउँमा पाँच दलित परिवारको घर तोडफोड र लुटपाटको गरेको आरोपमा वडा अध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पीडित दलित परिवारले दिएको उजुरीका आधारमा वडा अध्यक्ष रामकिशोर यादवसहित तीन जनालाई प्रहरीले पक्राउ गरिएको हो । पीडितले दिएको जाहेरीमा १३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि आपराधिक उपद्रव अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

हालसम्म तीन जनालाई पक्राउ गरिएको र बाँकी अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार शुक्रवार साँझ करिब ५ बजेतिर ठुलो पोखरीको उत्तरपट्टी बसोबास गर्दै आएका दलित समुदायका पाँच परिवारमाथि योजनाबद्धरूपमा हमला गरिएको थियो । शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरमा तोडफोड र लुटपाट गरिएको हो ।

पीडित परिवारका अनुसार २०-२५ जनाको समूह आएर घरमा तोडफोड र लुटपाट गरेको थियो । प्रहरीकै सामु घटना भए पनि घर तोडफोड र लुटपाट गर्ने समूहलाई नियन्त्रणमा नलिएको पीडित परिवारको गुनासो रहेको छ ।

घटनाको सुरुवात असोज १ गतेको विश्वकर्मा पूजाका दिन भएको विवादबाट सुरु भएको हो । अरङ बजारमा आयोजित आर्केस्ट्रा कार्यक्रममा दलित समुदाय र प्रभाष सिंह समूहबिच विवाद भएको थियो । सो विवादकै प्रतिशोधस्वरूप यो हमला गरिएको पीडित र स्थानीयले आरोप लगाएका छन् । प्रहरी घटनाको विषयमा अनुसन्धान गरिहरेको छ ।

जेनजी आन्दोलनको क्रममा भाइरल बनेका ३० वर्षीय यमबहादुर कँडेल ५५ वर्षीया आमा राममाया कँडेलको हत्या आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानले आरोपितले आमालाई धारिलो हतियारले हत्या गरेको देखिन्छ । घटना धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–५ थापाकटेरीमा भएको हो ।

यमबहादुर भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका भिडिओहरूमा देखिएका थिए र ती भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए । प्रहरीले अहिले अभियुक्तलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीका अगाडि छाती देखाएर ‘मेरो छातीमा गोली ठोक्नुस्, मलाई डर छ ?’ भन्दै अग्र भागमा देखिएका थिए ।

भदौ २३ गतेको जेनजी आन्दोलनमा के भनेका थिए उनले ?
‘महिनामा एक लाखसम्म कमाउने युवा हो तर मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन । सर मेरो आँखामा डर छ ? म बोलिराछु जान्न । ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस् । मैले भनिराछु त मेरो आँखामा डर छ ? एक इन्च डर छ मेरो आँखामा ? डर छ सर ? (पटक–पटक दोहोर्‍याए ।) म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग। त्यसैले तपाँइहरू पनि बेलैमा जनताका लागि सोच्नुस् । तपाईँहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस् । ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानु हुन्छ । जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन ।’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

 

सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् ।

यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।

त्यसैगरी अस्पतालमा आएका÷मृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना रहेको छ ।

काठमाडौँ । सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो ।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दुर्गा पक्षको समापन गर्दै धनधान्यकी देवी महालक्ष्मीको स्वागतमा विशेष पूजा आराधना गरी मनाइँदै छ । नेपालीहरूको महान् चाड बडादशैं आजैदेखि औपचारिक रूपमा सम्पन्न हुँदैछ ।

 

आजको रातभर जाग्राम बसी महालक्ष्मीको उपासना गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार, यस रात पृथ्वीको भ्रमणमा निस्किएकी महालक्ष्मीले जाग्राम बस्ने भक्तहरूको घरमा प्रवेश गरी धनऐश्वर्य प्रदान गर्नुहुन्छ । लक्ष्मीपूजाको पन्ध्र दिनअघि गरिने यस आराधनाले कोजाग्रत पूर्णिमालाई थप विशेष बनाएको छ । यस पूर्णिमालाई ‘कौमुदी’ नामले पनि चिनिन्छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीबाट सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार, आज साँझ ‘अखिल बलि पूर्ति’ नभएसम्म देवीको प्रसादका रूपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ ।

 

यस अवसरमा बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद र जमराका अवशेषहरू नजिकका नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा विसर्जन गरिन्छ । भोलिदेखि कात्तिक स्नान प्रारम्भ हुनेछ भने आकाशदीप दान गर्ने प्रचलन पनि छ । कोजाग्रत पूर्णिमालाई दशैं पर्वको सुखद अन्त्य र तिहारको उल्लासमय तयारीका रूपमा पनि लिने गरिन्छ ।

आजको दिनमा महालक्ष्मीको पूजा र जाग्राम बस्ने भक्तजनहरूको घरमा शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस् भन्ने कामना गरिन्छ ।

 
 

चितवन । अविरल वर्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यस सडकखण्ड हुँदै गन्तव्यतर्फ जाने सम्पूर्ण सवारी साधनहरूलाई अहिले निर्वाध रूपमा आवतजावत गर्न दिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

असोज १७ र १८ गतेको भीषण वर्षापछि यस सडकखण्डमा पहिरो खस्ने क्रम बढेको थियो, जसका कारण यात्रा जोखिमपूर्ण बन्नुका साथै पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । जमिन गलेर कमजोर भएकाले जुनसुकै बेला पनि ढुंगा खस्न वा पहिरो जान सक्ने जोखिम कायमै रहेकाले सडक प्रयोगकर्ताहरूलाई उच्च सावधानी अपनाएर यात्रा गर्न प्रहरीले विशेष आग्रह गरेको छ ।

प्रहरीका अनुसार, चितवन भएर यात्रा गर्ने यात्रुहरूलाई बेलुका ९ बजेभित्र चितवन प्रवेश गरिसक्न र पोखरा वा काठमाडौंतर्फ जाने यात्रुहरूलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट बाहिरिसक्न अनुरोध गरिएको छ । राति ९ बजेपछि चितवन आइपुगेका सवारी साधनहरूलाई हिजो बेलुका आँपटारी क्षेत्रमा रोकेर राखिएको थियो । उनीहरूलाई आज बिहान ६ बजेदेखि मात्र गन्तव्यतर्फ जान अनुमति दिइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।