२०८३ असार १ गते सोमबार
२०८३ असार १ गते सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् ।

शुक्रवार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले उक्त आग्रह गरेका हुन् ।

उनले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । उनले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पु¥याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाएकी छन् ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए ।

सो बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षमान पुन सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुषाल सहभागी थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए ।

कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दावी समेत गरे । लेखकले आफू र प्रधानमन्त्री केपी शर्माले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताए ।

गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरूमा सत्यता नरहेको उनको दाबी थियो । लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको बताए ।

जेनजी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए । लेखकले आन्दोलनको छानविन गर्न बनेको आयोगले मुलुकको संविधान र कानूनबमोजिम काम गर्नेमा विश्वस्त रहेको सुनाए । आन्दोलनको एक महिनापछि लेखकले सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

काठमाडौँ । सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन् ।

एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेतले यस्तो जनाकारी दिएका हुन् ।

‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन्’ उनले भनेका छन् ।

सरकारले पूर्वप्रधानमन्त्री लगायतका उच्चपदस्थहरूले राखेका सुरक्षाकर्मीहरू घटाएपछि पार्टीका कार्यकर्ताहरू नै सुरक्षामा बस्न लागेका हुन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षामा वाइसिएल र पूर्वजनमुक्ति सेना राख्ने निर्णय गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ ।

राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाइकल र्‍याली आयोजना गरेको थियो ।

तर काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले सूचनामार्फत र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रस्ट्याएका छन् ।

‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’ सूचनामा भनिएको छ ।

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्र सुधारका लागि पाँच बुँदे निर्देशन दिएका छन् ।

उनले उच्च अधिकारीहरूसँगको छलफलपछि तत्काल गर्न सकिने खालका निर्देशनहरू दिएका हुन् ।

शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत छलफल, निर्णय तथा निर्देशनबारे स्पष्ट पारेका छन् ।

यस्ता छन् मन्त्री पुनका निर्देशन
१) नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (रेडियो आइसोटप्स) औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने ।

२) सीटीईभीटीको पुनर्संरचना गरेर त्यहाँबाट सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने ।

३) नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुनर्संरचना गर्न कार्यदत तुरुन्त बनाउने ।

४) त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।

५) संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरूको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ती गर्ने ।

काठमाडौं । इजरायलसँग युद्धविराम गरेको हमासले सार्वजनिक गरेको बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात देखाइएको छ ।

हमासले जीवित २०, मृत २६ र अज्ञात २ गरी ४८ जना बन्धकको नाम सार्वजनिक गरेको हो । जसमा विपिन जोशीसहित दुई जनाको अवस्था स्पष्ट खुलाइएको छैन ।

इजरायल र हमासबिच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

हमास र उसका सहयोगीहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजा लगेको दुई वर्षभन्दा बढी समयपछि पनि ४८ जना बन्धक गाजामै छन् । ति मध्ये २६ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
तामिर निम्रोदी र बिपिन जोशीको अवस्था अझै अनिश्चित छ।

जीवित रहेको विश्वास गरिएका बन्धकहरू सबै पुरुष हुन् र एक जनाबाहेक सबै २० देखि ३० वर्षका छन्। अघिल्ला युद्धविराम सम्झौताहरू अन्तर्गत महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषहरूलाई रिहा गरिएको थियो। घोषित २६ मृतकहरूमध्ये इनबार हेम्यान नामक एक महिला पनि छिन्।

अझै जीवित रहेको वा अवस्था अज्ञात रहेकाहरूमध्ये ११ जनालाई नोभा म्युजिक फेस्टिभलबाट लगिएको थियो। आठ जनालाई दक्षिणी इजरायलका विभिन्न किबुत्जिम (साना समुदाय) बाट अपहरण गरिएको थियो।

बाँकी तीन जना इजरायली सैनिक छन्। दुई जनालाई सैन्य आधार शिविरबाट र एक जनालाई ट्याङ्कीबाट अपहरण गरिएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।