
गाजा । हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासको सशस्त्र शाखा अल-कसम ब्रिगेड्सले जारी गरेको विज्ञप्तिमा मृतक बन्दीहरूको पहिचान गाय इलुज, योसी शाराबी, विपिन जोशी र ड्यानियल पेरेजका रूपमा गरिएको छ ।
अल९कसम ब्रिगेड्सले सोमबार चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । विज्ञप्तिअनुसार, ती शवहरू हस्तान्तरण गरिनेछ । यो कदम इजरायल र हमासबीचको सम्झौताको एक हिस्साको रूपमा आएको हो, जसअनुसार इजरायलले प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्नेछ ।
यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको दाबी गरेको छ । तर, केही मृत इजरायली बन्दीका अवशेषहरू अझै हमासको नियन्त्रणमा रहेको बताइएको छ । इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका मृतक बन्दीका शवहरू फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
नियमित महाधिवेशन माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ।
कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापा लगायतले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेता रञ्जित कर्णले नियमित महाधिवेशन माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए। विशेष महाधिवेशन माग गर्दै कांग्रेसमा ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका बेला नियमित महाधिवेशनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको हो।
नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराईले अहिलेको अवस्थामा नियमित महाधिवेशन गर्नुपर्ने बताए।
यस्तो छ पत्र;
सभापतिज्यू,
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति
विषय: ध्यानाकर्षण सम्बन्धमा।
२०८२ साल असोज २४ गते शुक्रबार नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस सम्बद्ध युवा, विधार्थी तथा तरुण भेलामा, देशको विषम अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गर्नुपर्ने कार्यक्रम र कार्यदिशाको सम्बन्धमा भेलामा सहभागीहरूको तर्फबाट अभिव्यक्त विचार र अवधारणाको आधारमा तपसिल बमोजिमको विषयमा ध्यानाकर्षण तथा सुझावको रूपमा नेपाली कांग्रेस केन्द्रिय कार्य समितिमा पेश गरेको जानकारी गराउँदछौं।
१) राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक प्रणालीप्रति देशी, विदेशी षड्यन्त्रको वादल मडारिइरहेको वर्तमान संकटको अवस्थामा यही भाद्र २३ गते जेनजी युवाहरूको सहभागीतामा भएको सुशासन र भष्ट्राचार विरोधी कार्यक्रमले दिएको राजनीतिक सन्देश र युवाहरुले उठाएका विषयवस्तुहरू तथा भाद्र २३ गते भएको विधार्थी हत्या, भाद्र २४ गते शान्तिपूर्ण आन्दोलनको आवरणमा भएको हिंसा, अराजकता, विध्वंस र राज्य उपद्रवको कारण भएको भौतिक तथा मानवीय क्षति, शान्ति सुव्यवस्था कायम गर्न राज्य असफल भएको घटना, सूचना प्रवाहमा भएको कमी कमजोरीको समीक्षा र विश्लेषण गरी आवश्यक निर्णय लिन नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।
२) जेन्जी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संबैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसदको सवैभन्दा ठूलो दल तथा संविधान र लोकतन्त्रको पहेदार पार्टीको हैसियत कायम गरी संसदवादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।
त्यसै गरी यही २०८२ फाल्गुण २१ गतेको लागि घोषणा भएको निर्वाचनमा पार्टीको सक्रिय सहभागीता तथा प्रतिनिधिसभाको पुनर्स्थापनाको सम्बन्धमा राजनीतिक र एजेन्डागत छलफल गरी पार्टीको आधिकारिक धारणा निर्माण गर्न र नेपाली कांग्रेसको सो साझा अवधारणा कार्यकर्ता पंक्ति र जन समुदायमा सम्प्रेषण गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण गर्न चाहन्छौं।
३) नेपाली कांग्रेसको १५ औं महाधिवेशनका सम्बन्धमा विधिवत र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागीताको माध्यम हो।पार्टीको पुनर्गठन,पुस्तान्तरण र रुपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो।
तसर्थ १५ औं महाधिवेशनको सुनिश्चितताको लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र महाधिवेशन हुन सक्ने आधार र कार्ययोजना ल्याउन कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौं।
अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग समेत गर्दछौं।
४) यही भाद्र २३ र २४ गते जेन्जी विद्रोहको नाममा भएको जनधनको क्षति, तोडफोड, आगजनी र विध्वंसको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कार्वाही गर्न हामी जोडदार माग गर्दछौ।
आन्दोलनको नाममा नेपालको महत्वपूर्ण राजनीतिक र न्यायीक संस्थाहरु, सास्कृतिक सम्पदा र पुरातात्त्विक महत्वका धरोहरहरुमा भएको यस्तो विध्वंसात्मक गतिविधि, आगजनी र लुटपाटको घटनाले सम्पूर्ण नेपालीको शीर निउराएको छ।
यसक्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, नेपाली कांग्रेसका संस्थापक बी पी कोइरालाको निवास विराटनगर, सर्वोच्च नेता गणेशमान सिंह स्मृति भवन चाक्सिबारी, सन्तनेता किसुन जी आश्रम बाडेगाउँ जस्ता राजनीति धरोहरहरू तथा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्षस्थ नेताको निवासमा भएको आक्रमण, तोडफोड, आगजनी र लुटपाटको घटनालाई हामीले षड्यन्त्रको रुपमा लिएका छौं। सो अपराधिक कार्यको घोर निन्दा गर्दछौं।
यसै गरी भाद्र २४ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य आरजु देउवामाथी भएको बर्बरता पूर्ण आक्रमण र साङ्घातिक हमलाको घोर भत्सर्ना गर्दछौं। घाइते देउवा दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो हत्या गर्ने मनसायले गरिएको सो अमानवीय घटनामा सम्लग्न अपराधीक गिरोहलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछौं।
५) जेन्जी युवाहरूको भावना अनुरूप सुशासन, पारदर्शीता र भष्ट्राचारमा शुन्य सहनशीलताको मुद्दालाई भने पार्टीले गम्भीरतापूर्वक लिन आवश्यक छ,भन्ने हाम्रो ठम्याइँ हो।
यसका लागि पार्टीबाट सिफारिस भै राज्यका विभिन्न ओहदामा पुगेका, लाभको पदमा बसेका व्यक्तिको आर्थिक अनुशासनलाई पारदर्शी बनाउन केन्द्रीय समितिले “आन्तरिक अनियमितता छानबिन आयोग” गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न र भविष्यमा पार्टीभित्र कुनै पनि जिम्मेवारी प्राप्त गर्न तथा सार्वजनिक पदको लागि पार्टीबाट सिफारिस गर्दा पारदर्शीताको क्लिन चिट प्राप्त व्यक्ति हुनु पर्ने व्यवस्था गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं।
लोकतन्त्र भन्ने विधिको शासन मात्र होइन यसले नेता कार्यकर्तामा सोही अनुरूप लोकतान्त्रिक व्यवहार जीवन पद्धतिको अपेक्षा राख्दछ।
लोकतान्त्रिक शैली,भष्ट्राचारमुक्त आचारण, पारदर्शी जीवन पद्धतिको लागि केन्द्रदेखि स्थानीय तहसम्म लागू हुने गरी आचारण संहिता जारी गर्न समेतआग्रह गर्दछौं।
काठमाडौं । इजरायली डिफेन्स फोर्स (आइडिएफ) विपिन जोशी जीवित नरहेको जानकारी दिएको छ । विपिनको परिवार तथा इजरायलीस्थित नेपाली दूतावाससँग भिडिओ क्न्फरेन्स गरेर यो जानकारी दिइएको हो ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले आइडिएफका अधिकारीहरूले भिडिओ कन्फरेन्समार्फत विपिनको परिवार र दूतावासलाई जानकारी दिएको पुष्टि गरे । राजदूत पण्डितले भने, ‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो । परिवारकै सामु आइडिएफ ले यो जानकारी दिएको छ ।’
यो क्षणमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट भिडियो कन्फरेन्समा जोडिएका थिए । परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र इजरायली डिफेन्स फोर्सका अधिकारीहरू उक्त कुराकानीमा सहभागी थिए । आइडिएफले हमासले केहीबेरमा जीवित बन्धकहरूलाई छोड्ने जानकारी दिए पनि, मृतकहरूमध्ये केहीको शव अझै भेटिएको छैन ।
यसैबीच, नेपालको परराष्ट्र मन्त्रालयले भने आइडिएफको यो घोषणालाई आकलन मात्र हुनसक्ने बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘आइडिएफ को पनि आकलन मात्र हो । अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन । विगतमा आइडिएफले भनेका मानिसहरूका बारेमा पनि फरक विवरण आएको थियो । अन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा आशावादी छौं ।’
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै तत्काल पुनःस्थापनाको माग गरेको छ । आइतबार सम्पन्न सचिवालयको ५८ औं बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको यो स्पष्ट अडान सार्वजनिक गरेका हुन् ।
ज्ञवालीका अनुसार, एमालेले गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनलाई संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको ठहर गरेको छ । ‘असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ ज्ञवालीले सञ्चारकर्मीहरूसँग भने ।
एमालेले वर्तमान सरकार निर्वाचनको कार्यादेश पाए पनि त्यसको पालना नगरी निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडेको आरोप लगाएको छ । ज्ञवालीले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूले यो सरकारलाई निर्वाचनको कार्यादेश दिनुभएको छ । तर, सरकार निर्वाचनको बाटोमा होइन, निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडिरहेको हामीले अनूभूत गरेका छौँ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि सृजित राजनीतिक घटनाक्रममा प्रतिनिधिसभा विघटन भएको थियो । यद्यपि, एमालेले सरकारले निर्वाचनको विश्वसनीय वातावरण तयार गरेमा त्यस विषयमा विचार गर्न सकिने संकेत दिएको छ । तर, हालको अवस्थामा भने एमालेको प्रमुख जोड प्रतिनिधिसभाको पुनःस्थापनामा नै रहेको ज्ञवालीले स्पष्ट पारे ।
इलाम । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।
उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । ‘सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू-संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन’, प्रजिअ नेपालले भनिन् ।
सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताइन् ।
तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भएपनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन् ।
‘तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम आइतबारदेखि नै सुरु गरिएको छ’, उनले भने, ‘सम्भवत सोमबार देखि सो सडक हुँदै साना सवारी सञ्चालन हुनेछन् ।’
ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताउइन् ।
सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनःनिर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्कालन वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताए ।
‘हामी अहिलेसम्म राजदुवाली खण्ड खुलाउने प्रयासमा लाग्यौँ, तर सफल हुन सकिनौं’, घिमिरेले भने, ‘अहिले वैकल्पिक मार्गमा स्रोतसधान र जनशक्ति परिचालन गरेका छौँ, त्यो सकेपछि पुनः राजदुवाली खण्ड पुनःनिर्माणमा लाग्नेछौँ ।’
पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण
इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरुले वैकल्पिक रुपमा काठको मोटरेबल पुल तयार गरेका हुन् ।
स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र आठ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानीयबासीले पाँच दिन लगातार श्रमदान गरेका थिए ।
बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्चाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताए ।
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको सुन तस्करी प्रकरणमा पुन र उनका दुई छोरा जितेन्द्र र दीपेशविरुद्ध पनि अनुसन्धान अघि बढाएको हो ।
तस्करीबाट सुन भित्र्याउन जितेन्द्रले बाबुको ओहदा दुरुपयोग गरी आफूलाई हुम्लावासी बनाई सीमा वारपार गर्ने परिचयपत्र बनाएका थिए ।
जितेन्द्रले हुम्लापारि चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको भिडियो र तस्बिरसहितको समाचार सार्वजनिक भएको थियो । पछि सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
उधारोमा तस्करीको सुन ल्याउन जितेन्द्रले आफू उपराष्ट्रपतिको छोरा भएको, उपराष्ट्रपतिको स्वकीय सचिव भएको देखिने कागजात चिनियाँ गिरोहलाई बुझाएका थिए । पछि सुनको भुक्तानी नदिएपछि चिनियाँले तत्कालीन उपराष्ट्रपति पुनसँगै कुराकानी गरेको तथ्य पनि खुलेको थियो । तर, पूर्वराष्ट्रपति पुनमाथि अनुसन्धान नै भएको थिएन ।
पुनका अर्का छोरा दीपेश असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा मुछिएका छन् ।
सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता किटान गर्दै सुन जाँचबुझ आयोगले पनि थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणका पनि आरोपित हुन् । हाल जितेन्द्र अमेरिकामा र दीपेश भारतमा रहेको प्रहरी अधिकारीहरूको दाबी छ ।