
काठमाडौं मेडिकल कलेजको शल्य चिकित्सा विभाग र सर्जन सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा ट्रमा तथा आकस्मिक शल्य चिकित्सा सम्बन्धी पोस्ट ग्राजुएट मास्टर क्लास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता काठमाडौं मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. रतिन्द्रनाथ श्रेष्ठले गर्नुभयो। सो अवसरमा सर्जन सोसाइटी अफ नेपालका अध्यक्ष डा. रोमियो कंसकार प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभयो।
कार्यक्रमको संयोजन काठमाडौं मेडिकल कलेजका शल्य चिकित्सा विभागीय प्रमुख डा. रोशन घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा पोस्ट ग्राजुएट विद्यार्थीहरू, सर्जन सोसाइटी अफ नेपालका सदस्यहरू तथा विभिन्न अस्पतालका सर्जन डाक्टरहरूको सहभागिता रहेको थियो।
७० भन्दा बढी सहभागीहरूको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन्।
महोत्तरी । उज्यालो र उमङ्गको रमाइलो चाड दीपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो ।
मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ ।
नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्र जस्तै यमपञ्चक एक दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको भोग घटबढले छ दिन भएको हो । यसपालिको शारदीय नवरात्र १:१० दिनको भएको थियो ।
महोत्तरीसहित मधेसका प्राचीन मिथिला क्षेत्रमा चाडपर्व र तिथिको टुङ्गो मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्बाट निधो गरिन्छ । यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज अपराह्न १:२३ बजेपछि त्रयोदशी सुरु भइ भोलि आइतबार दिउँसो १:५६ बजेसम्म रहने पञ्चाङ्गमा उल्लेख रहेको पण्डित महेशकुमार झा बताउँछन् ।
‘त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइन्छ’, झा भन्छन्, ‘तर त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने भोलि आइतबार मध्याह्नसम्म गरिनुपर्छ ।’ धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उहाँको कथन छ ।
यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा पर्सी सोमबार साँझ नै गरिने छ । सो दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँसी सुरु हुने हुँदा लक्ष्मीपूजा सोही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ ।
दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा सुरु गरिन्छ । यस्तै, यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँसीको रातमा गरिने लक्ष्मीपूजा सोमबार गरिए पनि सोही तिथिमा गरिने गौपूजा भने मङ्गलबार बिहान गरिने झाले जानकारी दिए ।
मैथिल परम्पराको दीपावली पर्वको गोधनपूजन कात्तिक शुक्ल प्रतिपदा र भैयादुज द्वितीया तिथिमा गरिन्छन् । यसअनुसार यसपालि गोधन बुधबार र भैयादुज बिहीबार सम्पन्न गरिनुपर्ने उनले बताए ।
सामान्यतः शारदीय नवरात्रको तिथिको भोग घटबढको प्रभाव त्यसलगत्तैको दीपावली पर्वमा पनि पर्ने गरेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् ।
‘यसपालि शारदीय नवरात्र चौथी (चतुर्थी) तिथि दुई दिन भोगमा रहँदा १० दिनको परेको थियो’, उनी भन्छन्, ‘यसैगरी यमपञ्चक तिथिको भोग घटबढले छ दिनको भएको छ ।’
दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् ।
काठमाडौँ । जेन जी प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।
सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ भइरहेको सेनाले जनाएको छ । प्रदर्शनबाट सिर्जित आगजनी, तोडफोड र दंगा जस्तो अप्ठ्यारो परिस्थितिमा छदेखि आठ घण्टाको तैनाथीमा उक्त अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाका उपरथी एवं युद्र्धकार्य महानिर्देशक अनुपजंग थापाले जानकारी दिए ।
उनले भने, “अत्यन्त चुनौतीपूर्ण अवस्थामा शून्य मानवीय क्षतिका साथ शतप्रतिशत उद्धार गर्न सफल भएका छौँ । जसका कारण अत्यावश्यक सेवा तथा वस्तुको प्रवाहमा तत्कालै सहयोग पुगेको छ ।”
सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको पहलबाट त्यहाँभित्रका रणनीतिक महत्त्वका कागजातको राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’ आगजनीबाट जोगाउन सफल भएको उपरथी थापाले जानकारी दिए । मुलुकको समग्र सुरक्षा अवस्थाको जिम्मेवारी सम्हालेपछि सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’मा प्राप्त चोरी, लुटपाट र आगजनीजस्ता गुनासाको तत्काल सम्बोधन गरी सुरक्षाको प्रत्याभूति दिइएको सेनाले जनाएको छ ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आक्रमण गर्ने उद्देश्यका साथ भेला भएका करिब दुई हजार जना प्रदर्शनकारीलाई रोकी भदौ २५ गतेदेखि नै विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिएको थियो”, महानिर्देशक थापाले भने, “विमानस्थलमा फसेका विदेशी पर्यटककोसमेत यथोचित सुरक्षा गरिएको थियो । साथै उपत्यकामा रहेका विभिन्न कूटनीतिक नियोग तथा विदेशी नागरिकको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको थियो ।”
यसअघि पहिलो चरणमा सिंहदवारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सेनाले रोक्न सफल भए पनि ठूलो सङ्ख्यामा थपिएको भीडलाई रोक्न घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यसबाट हुनसक्ने मानवीय क्षति रोक्न विशेष सचेतता अपनाइएको सेनाको प्रष्टीकरण छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ।
विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरूमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म निषेध गरिएको छ।
हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, केशर महल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटेलको सिमानासम्म नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा भेला प्रदर्शन गर्न निषेध गरिएको छ।
त्यसै गरी केशर महल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि निषेध गरिएको छ।
सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्याण्ड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म भेला प्रदर्शन निषेध गरिएको आदेशमा उल्लेख छ।
पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म, पुरातत्त्व विभागको चोकदेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म कुनै पनि भेला प्रदर्शन गर्न निषेध गरिएको छ।
जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेध गरिएको छ।
राष्ट्रियसभा अध्यक्षको निवास, प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास तथा राष्ट्रबैङ्क चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म भेला प्रदर्शन निषेध गरिएको आदेशमा उल्लेख छ।
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद विघटनमा भूमिका खेल्नेले अहिले पुनः स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संसद पुनः स्थापनाको माग वर्तमान राजनीतिक सन्दर्भमा हास्यास्पद रहेको बताएका हुन् ।
उनले आउँदो माघ २१ गते तय भएको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक अभ्यासको निरन्तरता भएको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रयास राष्ट्रका लागि घातक हुने बताए । ‘निर्वाचन नहुने हो भने देश फेरि अराजकतामा जाने खतरा छ,’ उनले भने।
प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे । उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफूलाई रहेको बताए । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए।
साथै, उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिए । प्रचण्डले जेनजीलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पारे । त्यस्तै उनले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह समेत गरे ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल सकिएको छ।
शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए। बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए। उनीहरूले यो भन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताएका थिए ।