२०८२ मंसिर २७ गते शनिबार
२०८२ मंसिर २७ गते शनिबार

निर्वाचन आयोगले मतदाता नामावली संकलनको ३६ दिनमा ८५ हजार १०७ नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार काठमाडौँमा सबैभन्दा बढी ११ हजार २३० जना नयाँ मतदाता थपिएका छन् । ललितपुरमा ४ हजार ९९३, भक्तपुरमा ३ हजार ४३७, मोरङमा ३ हजार २८४, चितवनमा ३ हजार ६३, रुपन्देहीमा ३ हजार ३२, झापामा २ हजार ९७८, सुनसरीमा २ हजार ६२३, सप्तरीमा २ हजार ३५५ र बारामा २ हजार ३३ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले विशेषगरी जेनजीलाई लक्षित गर्दै अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको थियो । मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहने आयोगले जनाएको छ ।

आयोगका अनुसार आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै संकलन जारी छ । १६ वर्ष पूरा भइसकेका नेपाली नागरिकहरूले आफ्नो प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेका रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्।

निर्वाचन आयोगमा पेश कागजातअनुसार नयाँ दलको अध्यक्षमा टिकापुरका जेनजी उमेर समूहका कबीर सोब भने चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ।

२७ वर्षीय ‘जेनजी’ कविर सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित यो दल दर्ताका निम्ति बिहीबार निर्वाचन आयोगमा निवेदन दिइएको हो ।

सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान यो दलको संस्थापक वरिष्ठ उपाध्यक्ष बनेका छन् । पार्टीभित्र परिवारवाद लादेको भन्दै खानले असोज २ गते जनमत त्यागेका थिए ।

नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकमा रेशमलाल चौधरी छन् । गएको भदौ २९ गते चौधरीले यो पार्टीको घोषणा गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैँ संरक्षण भएर पार्टी खोलेका थिए । उनले २०७८ पुसमा जेलभित्रै बसेर पार्टी गठन गरेका थिए।

उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका थिए । गम्भीर प्रकृतिको फौजदारी कसुर प्रमाणित भई कारावास रहेका बेला पार्टी खोलेकाले उनी अध्यक्ष बन्न पाएका थिएनन् । त्यसैले उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।

२०८० जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि उनले त्यही पुसमा पहिलो अधिवेशन गरेर अध्यक्ष निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले उनी नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गरिदिएन ।

गत साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी श्रेष्ठलाई अध्यक्षबाट हटाएर बाबु लालवीरलाई पार्टी नेतृत्वमा ल्याए पनि निर्वाचन आयोगले उक्त कमिटी पनि अद्यावधिक नगरेपछि उनले नयाँ पार्टी गठनको गृहकार्य थालेका थिए ।

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाललाई युएईले ५ विकेटले हराएको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।

रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

युएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।

यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।

 

भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

 

भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । आइएक्स मार्केटमा प्रतिश्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नविकरण भएको हो ।

काठमाडौँ । जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।

 

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग राजधानी काठमाडौँबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो । उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो ।

गत वर्षको बाढीपहिरोका कारण सो राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको थियो । विशेषगरी रोशी नदी आसपासका केही भागमा पूर्ण रुपमा क्षति भएको थियो । क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारबाट सहयोग प्राप्त भएको मन्त्रालयको भनाइ छ ।

सोही समारोहमा अनुदान सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापानका तर्फबाट जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच हस्ताक्षर भयो ।

समारोहमा अर्थमन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापनबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको बताए ।

जापानी राजदूत तोरुले जापानले प्रदान गरेको अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरु पुनःस्थापना गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनल ेनेपाल र जापानबीच रहेको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्ध स्मरण गरे । जाइकाका प्रमुख प्रतिनिधि मित्सुजाकीले नेपाल–जापान सम्बन्ध र सहयोगका विविध क्षेत्रबारे धारणा राखेका थिए ।

हस्ताक्षर समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँस्थित जापानी दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

 
 
 
 

काठमाडौं । राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदै छ । जसमा एमालेका आठ, नेकपा (माओवादी केन्द्र)का सात, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसद रहेका कार्यकाल सकिँदै छ । रिक्त हुन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।

कार्यकाल सकिएर बिदा हुन लागेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिँदै छ ।

एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदै छन् । सरकारले आज आगामी माघ ११ गते आइतबारलाई राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको छ ।

राष्ट्रियसभाका ५९ सदस्यीयमध्ये राष्ट्रियसभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिइरहेको भन्ने समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट गरेको छ।

सचिवालयले आज एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री बनाउने वा हटाउने अधिकार प्रधानमन्त्रीकै कार्यक्षेत्रमा पर्ने बताइएको छ। विज्ञप्तिमा भनिएको छ, “कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन।”

 

विज्ञप्तिमा गृहमन्त्री अर्याल जेनजी आन्दोलनबाट प्राप्त जनादेश अनुसार बनेको सरकारका जिम्मेवार सदस्य भएको उल्लेख गर्दै, उनले आगामी निर्वाचनका लागि आवश्यक वातावरण बनाउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयले यस्ता संवेदनशील समयमा अफवाह नफैलाउन र त्यस्ता भ्रमपूर्ण विवरणमा विश्वास नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।”

काठमाडौं । देशको मौसममा पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को संयुक्त प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशभर बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

आज बिहानैदेखि देशभर सामान्य बदली रहेको  छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र हिमपात भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात अनुभव गरिएको छ ।

आज दिउँसोको पूर्वानुमान : दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने तराई भूभागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ ।

 

आज रातिको पूर्वानुमान : राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा पूर्ण बदली रही तराई भूभागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना प्रबल छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

भारी वर्षा र हिमपातको चेतावनी

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको चेतावनी दिएको छ । यसैगरी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आम जनजीवनमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विशेषगरी यात्रामा निस्कनेहरूले मौसमको जानकारी लिएर मात्र अगाडि बढ्न सुझाव दिइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।