२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माण अघि बढाएको छ । क्षतिग्रस्त सरकारी र निजी संरचनाको पुनःनिर्माणमा सरकारले औपचारिक रूपमा काम अघि बढाएको सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार आन्दोलनका क्रममा करिब दुई हजार २०० घर एवं संरचनामा क्षति पुगेको थियो । जसमध्ये एक हजार ३०० सरकारी भवन छन् ।

मन्त्रालयले क्षतिग्रस्त संरचनामध्ये ६०० सङ्घीय भवन पुनःनिर्माणको जिम्मा लिएको छ । तीमध्ये २०० देखि २५० भवनको विस्तृत इञ्जिनियरिङ मूल्याङ्कन अघि बढाइएको हो । दुई महिनाभित्र डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन तयार हुने अपेक्षा मन्त्रालयको छ ।

सचिव सिग्देलले प्रतिवेदन प्राप्त भए लगत्तै पुनर्निर्माण प्रक्रिया सुरु हुने बताए । त्यसका लागि आवश्यक बजेट पुनःनिर्माण कोषमार्फत परिचालित हुनेछ ।

मन्त्रालयअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान फ्लडलाइट जडान र १० हजार दर्शक क्षमताको प्यारामिटर निर्माणको पहिलो चरण पूरा भएको छ । दोस्रो चरणका लागि अर्थ मन्त्रालयमा बहुवर्षीय ठेक्का स्वीकृतिका लागि प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।

यद्यपि बजेट अभावले धेरै आयोजना प्रभावित भएको सचिव सिग्देलले बताए । अहिले ६१ अर्ब ७६ करोड बराबरका आठ हजार १४० वटा आयोजना रोक्कामा परेपछि भुक्तानी, प्रगति र खरिद प्रक्रियामा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

पुराना क्रमागत आयोजनासमेत रोक्का सूचीमा परेकाले समस्या थप गम्भीर बनेको उनले बताए । उनका अनुसार सरकारले मूल्याङ्कन, डिजाइन र पुनःनिर्माण प्रक्रियालाई प्राथमिकतामा राखे पनि बजेट फुकुवाको प्रक्रिया चुनौती बनेको छ ।

काठमाडौँ प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्म १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले उजुरीको विवरण सार्वजनिक गरे।

उनका अनुसार दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा छन् । आन्दोलनको क्रममा हालसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । जसमध्ये सात जनाको पहिचान हुन सकेको छैन र पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको छ।

एसपी भट्टराईले सात वटा उजुरी तामेलीमा राखिएको र विभिन्न २२८ स्थानबाट क्षतिको विवरण सङ्कलन गरिएको जानकारी दिए।

अभियोग अनुसार, कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १५४ मुद्दा दर्ता भएको छ। दर्ता भएका मुद्दामा २६७ जनालाई पक्राउ गरिएको छ। तीमध्ये ८७ जना हाजिरी जमानीमा छोडिएका छन् भने ११३ जना न्यायिक हिरासतमा छन्। न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन्।

उनले जेनजी आन्दोलनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए । पुनः पक्राउ गरिएका थुनुवाहरू ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेका रहेको उनको भनाइ छ । उनले बाँकी १५ थुनुवा समेत आफूहरूको सम्पर्कमा रहेको जानकारी दिए ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगले यसबारे नयाँ निर्वाचन आचारसंहितामा स्पष्ट प्रावधान राखेको छ।

आचारसंहिताको बुँदा नम्बर १६ अनुसार राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन खर्चका लागि छुट्टै खाता खोल्नु अनिवार्य छ । साथै, उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा आफ्नो अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्ने नियम उल्लेख गरिएको छ ।

सो खाता मार्फत मात्र निर्वाचन खर्च व्यवस्थापन गर्न सकिने आचारसंहितामा भनिएको छ । पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्ने उद्देश्यका साथ आचारसंहितामा अनिवार्य गरिएको आयोगले जनाएको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। टियु क्रिकेट रंगशालामा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभर अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए। त्यस्तै मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ र गुल्शन झाले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै हर्मित सिंह र अविनाश बोहोराले २-२ र स्कटले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। त्यस्तै आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारी ११ र स्कटले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। त्यस्तै नन्दन यादवले २, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट लिए।

काठमाडौँ । जेन जेड मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेन जेड मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो ।

जेन जेड मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डिआइजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरो लगाएको छ ।

 

प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणविना सम्भव नहुने’ भन्दै राजीनामा माग गरिएको छ ।

साथै सुशीला कार्की नेतृत्वको सरकारको ‘राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको भन्दै उसले सार्वजनिक अवज्ञा गर्न सबैलाई आह्वान गरेको छ ।

काठमाडौँ । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु. दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।

विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकै पटक बजार अनुगमन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

ऐनको दफा ३९ मा ‘बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम रु दुई लाखदेखि रु. तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।

यस्तै विभागले तिरुपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रुपन्देहीलाई पनि रु. दुई लाख पाँच हजार जरिवाना गरेको छ ।विभागले पञ्चकन्या स्टीललाई सामान्य निर्देशन दिएको छ । विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।

काठमाडौँ । सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु. एक खर्ब बराबरको योगदान रकम पुगेको छ ।

कोषका अनुसार हालसम्म कूल योगदान रकम रु. ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ । कोषले हालसम्म रु. १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार छ सय ८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ ।

कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु. दुई अर्ब ५१ करोड २० लाख ९४ हजार आठ सय २२,  दुर्घटना तथा अशक्तता दाबी रु. २२ करोड ८६ लाख ५३ हजार चार सय ७५ बराबर रहेको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम रु. २९ करोड सात लाख ७२ हजार एक सय १६ र अवकाश दाबी रकम रु. १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार दुई सय ७१ बराबर छ ।

सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् ।

कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ ।

अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा आगजनी भएर ध्वस्त भएका अत्यावश्यक सवारीसाधनका स्थानमा नयाँ सवारीसाधन उपलब्ध गराउन अर्थ मन्त्रालयले स्रोत उपलब्ध गराएपछि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

गृह मन्त्रालयका अनुसार चुनावको वातावरण निर्माण तथा सुरक्षाका लागि आवश्यक सवारीसाधनको अभाव नहोस् भन्ने उद्देश्यले निर्वाचनपूर्व नै सबै सवारीसाधन खरिद गरिनेछ ।

अर्थ मन्त्रालयबाट नेपाल प्रहरीका लागि नियमित बजेटमार्फत १५६ सवारीसाधन खरिदका लागि रु ३५ करोड ११ लाख स्वीकृत भएको छ । अतिरिक्त १०६ सवारीसाधन खरिद गर्न रु ४५ करोड ३० लाख थप स्रोत अनुमतिसमेत उपलब्ध भइसकेको मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीले चालु आर्थिक वर्षमा कुल रु ८० करोड ४१ लाख बराबरका सवारीसाधन खरिद गर्ने तयारी गरेको छ । नियमित बजेटबाट खरिद गरिने १५६ सवारीसाधनमध्ये ७५ पिकअप भ्यान (नियमित गस्तीका लागि), एउटा प्रिजनर भ्यान, २८ वटा कार्यालय प्रयोजनका सवारीसाधन, ४१ वटा विद्युतीय सवारीसाधन तथा १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन् ।

यस्तै अर्थ मन्त्रालयले सशस्त्र प्रहरीका लागि कुल ५९ सवारीसाधन खरिद गर्न स्रोत अनुमति दिएको छ । जसअन्तर्गत तीनवटा विपद् उद्धारका सवारीसाधन, ५० बोलेरो पिकअप भ्यान, तीनवटा दङ्गा नियन्त्रण ट्रक तथा दुईवटा एम्बुलेन्स रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय अनुसन्धान विभागका लागि ६ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न रु दुई करोड ८० लाख स्रोत अनुमति प्राप्त भएको मन्त्रालयले जनाएको छ । जेनजी आन्दोलनका क्रममा मुलुकभर नेपाल प्रहरीका ४६५ कार्यालयमा क्षति पुगेकामा अहिले ४४९ कार्यालय मर्मत–सम्भारपछि पुनः सञ्चालनमा आइसकेका छन् ।

बाँकी १६ कार्यालय पनि मर्मतको अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले जानकारी दिएको छ । उक्त घटनामा ५७१ विभिन्न किसिमका प्रहरी सवारीसाधनमा क्षति पुगेको थियो ।

जेनजी आन्दोलनका क्रममा सशस्त्र प्रहरी बल, नेपालका ८४ कार्यालयमा क्षति पुगेको थियो भने ६१ सवारीसाधन पूर्ण रूपमा आगजनीमा परेका गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत दुई भवन तथा तीन जिल्ला कार्यालयका भवनमा क्षति पुगेको थियो । त्यस्तै ११ चारपाङ्ग्रे तथा ३० मोटरसाइकलमा क्षति पुगेको थियो । महाशाखाका अनुसार यी क्षतिको अनुमानित लागत करिब रु आठ करोड ९० लाख बराबरको छ ।

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्।

बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन्। दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।

दुई दुई खेल खेल्दा अहिलेसम्म सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ।

प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। जनकपुरले एक खेल मात्र खेलेको छ भने पोखराले दुई प्रतिस्पर्धामा दुवै गुमाइसकेको छ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिला गरेको कार्यबाट प्रशस्त लाभ रहनेछ। कृषिमा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। दाजुभाइमा आत्मियता बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ। सेवामूलक कार्यबाट विशेष लाभ रहनेछ। कार्यक्षेत्रमा विभिन्न अवसरहरूले पछ्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्यात्म भाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्यसम्पादनमा केही बिलम्ब होला। मेहनतले गर्दा लक्ष्यमा पुगिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पायक स्थानमा भ्रमणका योग छन्। विश्वास पात्रबाट धोखा पाइएला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा साथीभाइहरूको सहयोगले मनम उत्साह जाग्नेछ। बोलीले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पहिलाको सफलताले थप कार्यमा हौसला जगाउनेछ। शत्रु परास्त हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयत्न गर्दा विभिन्न अवसर जुटाउन सक्नुहुनेछ। सन्तान पक्षलाई लिएर मन चिन्तित रहनेछ। योजना बनाएर नयाँ कार्य थाल्नु सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रुहरू परास्त हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलीमा प्रभाव बढ्नेछ। उत्तम भोजनको प्राप्ति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन अनुकूल रहनेछ साथै सुख र आनन्दको प्राप्ति हुनेछ। विशिष्ट व्यक्तिहरूबाट उपहार पाइएला। आकस्मिक धन खर्चका योग छन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा लाभ रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग परामर्श लिनुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यर्थ कार्यमा समय र ऊर्जा खपत हुनेछ। फजुल खर्चबाट बच्नुहोस्। महत्वकांक्षी योजनाहरू सफल हुनमा बाधा आउनेछ। स्वास्थ्य लाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।